विद्याकी दाता

कमल कोइराला

काठमाडौँ — वीणा–पुस्तक हातमा लिई
बसेकी छ्यौ हाँसमाथि
हामीलाई विद्याबुद्धि दिने
छ्यौ है तिमी कति जाती ?


जतन गर्छाैं किताबकापी
लगाई सुरक्षित गाता
लगनशील भई लेखपढ गर्छाैं
ज्ञान देऊ सरस्वती माता ।

पढ्छौँ, सिक्छौँ, मनन गर्छाैं
पल्टाई पुस्तकका पाता
श्रद्धापुष्प चढाई भन्छौँ
सद्बुद्धि देऊ माता ।

तिम्रै शरण पर्छाैं हामी
ओढाइदेऊ ज्ञानको छाता
विद्यामृत पिलाइदेऊ
हे सरस्वती माता १

प्रकाशित : माघ २७, २०७५ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्

पछुतो

कमल कोइराला

काठमाडौँ — नाइँ, जेसुकै गर्नुस्, म विद्यालय जाँदै जान्नँ १’ लगाइसकेको जुत्तामोजा ओछयानमाथि फाल्दै आज पनि सृजल एक्कासि बम्कन थाल्यो ।

उसका बुवा बिहानै उठेर कार्यालय गइसक्नुभएको थियो । बुवा घरमा हुँदा ऊ केही नबोली सरासर विद्यालय जान्छ । तर बुवा नहुँदा आमालाई धम्क्याएर दिक्दार पार्छ ऊ । आमाले सृजल नउठ्दै ओछयानमै दूध र अम्लेट पुर्‍याइदिनुहुन्छ दिनदिनै । उठेर गृहकार्य सिध्याउनेबित्तिकै उसको खाना तयार भइसकेको हुन्छ । खानामा उसले भनेअनुसारका परिकार हुन्छन् । दिउँसो पनि उसैले रोजेको खाजा हालिदिनुहुन्छ आमाले । भनेका कुरा सधैं पुगेकै हुन्छन् सृजललाई । तर पनि ऊ विद्यालय जाने बेलामा सधैं आमासँग एउटा निहुँ झिकेर झगडा गर्न तम्सन्छ ।

एक हप्ताअघि बजार जाँदा सृजललाई आमाले नयाँ झोला किनिदिनुभएको थियो । हिजो मात्र उसको साथी असीमले विद्यालयमा नयाँ झोला ल्याएछ । त्यो देख्नासाथ उसलाई पुन: त्यस्तै झोला चहियो रे । अघिल्लो दिन विद्यालयबाट घर फर्कनेबित्तिकै उसले आमासँग एकोहोरो त्यही माग राखिरहेको छ । सम्झाउँदै आमाले भन्नुभयो, ‘बाबु, यो झोला पनि नयाँ नै छ । फुर्सदमा सहर जाँदा फेरि अर्काे झोला पनि किनिदिउँला । अनि दुइटा झोला पालैपालो बोकेर विद्यालय जाउला, हुँदैन ?’ ‘नाइँ, असीमको जस्तै जताततै गोजी नै गोजी भएको झोला नकिनिदिएसम्म म विद्यालय जाँदै जान्नँ ।’ कोठमा भएका सामानहरू भताभुङ्ग पार्दै र झोलाका किताब भुइँभरि छर्दै सृजल थप अराजक बन्न थाल्यो ।

आमाले जतिसुकै सम्झाउने प्रयास गरे पनि सृजलले आफ्नो ढिपी छाडेन । उसको प्रतीक्षामा रहेका साथीहरू पनि अबेर भइसकेकाले विद्यालयतिर बाटो लागे । स्कुल बस पनि छुटिहाल्यो । सृजलले बिहानको खाना पनि खाएन । घोसेमुन्टो लगाएर ऊ कोठाको कुनामा बसिरहयो । आमाले उसले छरेका सामान सम्हाल्न थाल्नुभयो । दिउँसो आमाले टीभी हेर्न रिमोट खोज्नुभयो । तर सृजलले झोला नकिनिदिएको झोँकमा त्यही रिमोट पनि कता लुकाइदिएछ । अनि आमाले सृजलका बुवालाई फोन गर्न खोज्नुभयो । तर मोबाइलले कामै गरेन । उसले त मोबाइलको सिम पनि झिकिदिएछ । सृजलले थाहा नपाउने गरी आमा सुटुक्क पसलमा पुग्नुभयो । सृजलका बुवालाई फोन गरेर उहाँले धेरै गोजी भएको एउटा राम्रो झोला ल्याइदिन अनुरोध गर्नुभयो ।

बेलुकी नयाँ र आकर्षक झोला लिएर बुवा टुप्लुक्क घर आइपुग्नुभयो । बुवा घर आउँदा दिउँसोभरि रोएर थाकेको सृजल निदाइसकेको थियो । आमाले विद्यालय नगई सृजलले दिउँसोभरि गरेका क्रियाकलापहरूको बेलीबिस्तार लगाइदिनुभयो । छोराका क्रियाकलाप सुनेर बुवालाई झनक्क रिस उठ्यो । तर केही प्रतिक्रिया नदिई खाना खाईवरी उहाँ सुत्न जानुभयो ।

भोलिपल्ट कोही पनि नउठ्दै सृजल उठ्यो र नयाँ झोलाको माग गर्दै रुन थाल्यो । आमा केही बोल्नुभएन । तर छोराको रुवाइ सुनेपछि अर्काे कोठामा मस्त सुतिरहनुभएको बवा ब्युँझनुभयो । अरू दिन राम्ररी उज्यालो पनि नहुँदै बुवा उठेर कार्यालय गइसक्नुहुन्थ्यो । तर अघिल्लो दिनको छोराको चर्तिकला सुनेर चिन्तित हुनुभएको उहाँ त्यस दिन कार्यालय गइसक्नुभएको थिएन । ‘के भो ? के पुगेन ? एकाबिहानै किन रुँदै छ यो हँ ?’ सायद बुवा कार्यालय गइसक्नुभयो होला भन्ठानेर सृजलले आमालाई सताउन खोज्दै थियो । तर अचानक पल्लो कोठाबाट बुवाको आवाज सुनेपछि ऊ चुइँक्क गर्न सकेन । शान्त भयो । हतारहतार कापीकलम निकालेर धमाधम गृहकार्य गर्न थाल्यो ऊ । हिजो बजारबाट किनेर ल्याएको झोला उसका अगाडि राखिदिँदै बुवाले भन्नुभयो, ‘ल आजदेखि आमालाई नसताई सरासर विद्यालय जानू नि  ।’ सृजलले कुनै मौखिक प्रतिक्रिया दिएन । केवल मुन्टो हल्लायो । अनि एकातिर फर्केर भुइँमा छरिएका किताबहरू फटाफट नयाँ झोलामा हाल्न थाल्यो । छोराको खुसी नै आमाको खुसी थियो । त्यसैले सृजलकी आमा पनि अर्कातिर फर्केर मुस्कुराउन थाल्नुभयो । अघिल्ला दिनभन्दा त्यस दिन अलि हतार गरेर सृजल घरबाट निस्क्यो ।
अरू दिन साथीहरू उसको प्रतीक्षामा हुन्थे । तर त्यस दिन भने ऊ अन्य साथीको प्रतीक्षामा थियो । बस चढेर सबै विद्यालय पुगे । कक्षाकोठामा झोला राखेर असीम आउने बाटो हेर्न थाल्यो सृजल । ऊ आउनासाथ ‘मैले पनि तिम्रो जस्तै झोला किनेँ नि’ भनुँला भनेर हतारिरहेको थियो ऊ । असीम टुप्लुक्क आइपुग्यो । तर उसले अस्तिको जस्तो नयाँ झोला बोकेको थिएन । अन्य दिन बोक्ने उही पुरानो झोला उसको पिठिउँमा झुन्डिएको थियो । ऊ आश्चर्यचकित भयो । सोध्यो, ‘अस्तिको नयाँ झोला खोइ त ? आज मैले पनि तिम्रो जस्तै नयाँ झोला ल्याएको छु नि, झन तिमी त उही पुरानो झोला बोकेर पो आएछौ ?’ ‘होइन, अस्ति विद्यालयबाट घर फर्कंदा म अचानक हिलामा लडेँ । झोला पूरै हिलाम्मे भयो । आमाले त्यो झोला धोइदिनुभएको थियो । भोलिपल्ट विद्यालय आउने बेलासम्म झोला सुकेन । त्यसैले एक दिनका लागि काकाको झोला बोकेर आएको नि,’ असीमले एकै स्वरमा आफ्नो भनाइ सक्यो ।

साथीको कुरा सुनेर सृजल एकाएक अवाक् भयो । नयाँ झोला पाएर असाध्यै फुर्किएको उसको उत्साह त्यसै सेलायो । टाउकामा हात राखेर विद्यालय नआई घरमा हिजो आफूले गरेका गलत क्रियाकलापहरू झलझली सम्झयो उसले । साथीहरूले नयाँ झोलका बारेमा अनेक जिज्ञासा राखे । तर ऊ निरुत्तर भयो । दिनभरि सृजलले पढाइमा पनि ध्यान दिन सकेन । छुट्टी भएपछि ऊ सरासर घर आयो र आत्मग्लानिले लत्याकलुतुक भई आमासँग माफी माग्यो । उसलाई व्यर्थै आफूले जिद्दी गरेकामा पश्चात्ताप भइरहेको थियो ।

प्रकाशित : माघ १३, २०७५ ११:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×