चिनियाँ नयाँ वर्ष

चेतनाथ आचार्य

काठमाडौँ — परम्परागत पात्रोअनुसार चिनियाँहरूको नयाँ वर्षलाई वसन्त चाड भनिन्छ ।

नेपालमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकालीहरूले ल्होसार मनाएर सुँगुर वर्ष भित्र्याएजस्तै चिनियाँहरूले पनि यही माघ २२ गतेदेखि कुकुर वर्षलाई बिदा गरेर सुँगुर वर्ष भित्र्याउँदै छन् ।


परम्परादेखि चिनियाँहरूको रातो रङसँग घनिष्ट सम्बन्ध छ । चिनियाँ नयाँ वर्षमा घर र सडक तथा गल्लीको सजावट पनि राता रङका लालटिन र फूलहरूले गरिएको हुन्छ । चीनमा रातो रङलाई शक्ति, खुसी, असल भाग्य र शुभ संकेतका रूपमा लिइन्छ । वसन्त चाडमा सडक, गल्ली, घर, बजार, कार्यालय, विद्यालय, कलकारखाना सबैतिर लालटिन (रातो गोलाकार सजावटमा भित्रपट्टि बिजुली बत्ती) र भाग्यशाली गाँठो (रातो धागोबाट बनाइएको कलात्मक गाँठो) सजाइएको हुन्छ । चिनियाँहरू यो चाडमा रातो रङको भित्री पोसाक लगाउँछन् र रातै सजावटले घर सिँगार्छन् । विशेषगरी सुँगुर वर्षमा जन्मिएका मान्छेले यो वर्षको वसन्त चाडमा भित्री पोसाक अनिवार्य रूपमा रातो रङको लगाउनुपर्छ । राता पोसाकले बजार पनि राताम्मे देखिन्छ । अब सुँगुर वर्ष सुरु हुने भएकाले बजारभरि सुँगुरकै खेलौनाहरू बेच्न राखिएका हुन्छन् ।


वसन्त चाड चिनियाँहरूको सबैभन्दा ठूलो पर्व हो । यो पर्व मनाउने चलन नेपालको दसैं र तिहारसँग कतिपय कुराहरू मिल्दाजुल्दा हुन्छन् । नयाँ वर्षमा चीनमा बालबालिका र आफूभन्दा सानालाई रातो खाम (होङपावो) मा पैसा राखेर दक्षिणा दिने चलन छ । दक्षिणा राख्ने खाम रातै हुनुपर्छ । चिनियाँ भाषामा ‘होङ’ भनेको रातो हो भने ‘पावो’ भनेको खाम हो ।


वसन्त चाडमा रातो खाममा पैसा राखेर दिनेबारेमा चीनमा एउटा कथा छ । परापूर्व कालमा कुनै गाउँमा राक्षसले सुतिरहेका बालबालिकाको टाउकामा छुने गर्दथ्यो । राक्षसले छोएपछि बालबालिकाहरू सिकिस्त बिरामी हुन्थे वा मर्थे । दु:ख पाएपछि त्यहाँका मानिसले भगवान्को प्रार्थना गरे । भगवान्ले ८ वटी अप्सरालाई बालबालिकाको रक्षा गर्न पठाए । ती ८ अप्सरा आफ्नो रूप बदलेर सिक्काको रूप लिई बालबालिकाको सिरानीमुनि पसे । जब राति राक्षस आयो, सिक्काको रूपमा रहेका ती अप्सराले चम्किलो प्रकाश छरेर राक्षसलाई भगाए । त्यो दिन नयाँ वर्षको दिन थियो । त्यसपछि वसन्त चाडमा बालबालिकालाई पैसा दिने चलन सुरु भएको हो । नयाँ वर्षमा राक्षसलाई भगाउन पटाका पड्काउने चलन पनि सुरु भएको चिनियाँहरू बताउँछन् ।


चिनियाँ नयाँ वर्षमा लामो बिदा हुने भएकाले टाढा रहेका आफन्तहरू भेट गर्न आउँछन् । आफन्तहरू भेट गरेर आपसमा शुभकामना तथा आशीर्वाद आदानप्रदान गर्ने काम नेपालको दसैंमा जस्तै हुन्छ । यो समयमा चीनमा धेरै पटाका पड्काइन्छ । घरमा बिजुली बत्ती झिलिमिली बनाएर पटाका पड्काउँदाचाहिँ यो पर्व नेपालीको तिहारजस्तै हुन्छ । हिजोआज वातावरण प्रदूषण रोकथाम गर्नका लागि पटाका पड्काउने चलन धेरै कम भएको छ ।


वसन्त चाडको समयमा विभिन्न पार्क र मन्दिरहरूमा मेला लागेको हुन्छ । त्यस्ता मेलामा मानिसको घुइँचो छिचोल्न नसक्ने खालको हुन्छ । मेलामा विभिन्न सांस्कृतिक कार्यक्रम, सर्कस, जादू, खेलहरू, एक्रोब्याटिक, प्रदर्शनी र प्रतियोगिताहरू आयोजना हुने गर्छन् । यसका साथै चिनियाँ ओपेरा, सिंह नृत्य र लौरीखुट्टी नृत्यको पनि प्रदर्शन गरिन्छ । हाम्रो दसैंजस्तै चिनियाँहरूको वसन्त चाड खर्चिलो हुन्छ । चिनियाँहरू वर्षभरिको एक तिहाइ खर्च यही वसन्त चाडमा गर्दछन् ।


वसन्त चाडमा चिनियाँका केही अनौठा चलन पनि छन् । चिनियाँ नयाँ वर्षको अघिल्लो साँझलाई छु सी भनिन्छ । यो रात बत्ती निभाउनु हुँदैन र चाँडै सुत्नु पनि हुँदैन । नयाँ वर्षको स्वागत गर्नका लागि घरपरिवारका सबै व्यक्ति रातको १२ बजेसम्म बसेका हुन्छन् । सो साँझ नेपालको लक्ष्मीपूजासँग ठयाक्कै मिल्ने खालको हुन्छ । यो साँझ कचौरा, प्लेट, कप फुटाइयो भने त्यसलाई सबैभन्दा ठूलो अशुभ मानिन्छ । भुलेर पनि कुनै व्यक्तिलाई गाली गर्ने वा हप्काउने गर्नु हुँदैन । विशेषगरी बालबच्चालाई गाली गर्नु हुँदैन भन्ने विश्वास छ । यो दिन घरमा बडारकुँडार गर्ने र घरको फोहोर बाहिर फाल्नु पनि हुँदैन । फोहोरसँगै नयाँ वर्षका लागि साँचिएको धनसम्पत्ति पनि फयाँकिन्छ भन्ने विश्वास चिनियाँमा छ ।


चिनियाँहरूको नयाँ वर्षको पहिलो दिन गर्न नहुने ठानिएका केही प्रचलन यस्ता छन्– घर सर्नु हुँदैन । बिरामी भए पनि सकेसम्म डाक्टरलाई देखाउनु हुँदैन । लुगाकपडा र सिरकका खोल तथा बेड कभर धुनु हुँदैन । कपाल काट्नु हुँदैन । कुराकानीका क्रममा कसैसँग पनि मृत्यु र रोगका प्रसंग उठाउनु हुँदैन । यसो गरे वर्षभरि नै यस्तै समस्याका विषय आइलाग्ने विश्वास छ । अझ अनौठो कुरा, नयाँ वर्षको पहिलो दिन बिहे गरेर घर गएकी छोरी माइतीघरमा आउनु हुँदैन ।


नयाँ वर्षको दोस्रो दिन बिहे गरेकी छोरी कोसेली र उपहार लिएर माइतीघर आउने चलन छ । तेस्रो दिनमा कोही पनि घरबाहिर जानु हुँदैन र आफ्ना साथीहरूलाई पनि घरमा भेट्न निमन्त्रणा गर्नु हुँदैन । चौथो दिन परिवारका सदस्यहरू घरमै बसेर रमाइलो गर्छन् । पाँचौँ दिनमा सबैजनाले एक हप्तादेखिको फोहोर सफाइ र घर बडारकुँडार गर्छन् । छैटौँ दिन आफन्तसँग भेटघाट गर्ने, साथी तथा आफन्तकोमा जाने र आफ्नो घरमा पनि निमन्त्रणा गर्ने चलन छ । वसन्त चाडको अन्तिम दिन अथवा नयाँ वर्षको सातौँ दिन पनि सक्केसम्म घरबाहिर जानु हुँदैन भन्ने विश्वास छ ।


वसन्त चाडको एक हप्ताभरि कुनै पनि हतियार चलाउनु हुँदैन, मारकाट गर्नु हुँदैन । जनावर मार्नाले घरमा प्रकोप उत्पन्न हुने ठानिन्छ । त्यसैले चिनियाँहरू एक हप्ता अगाडि नै मासु किनेर फ्रिजमा राख्ने गर्छन् । बजारबाट किनेर ल्याएको मासुलाई समेत टुक्रा गर्न नहुने भएकाले सबै हातहतियार लुकाएर राख्छन् । कपाल काट्ने कैचीदेखि नङ काट्ने नेलकटर पनि यो अवधिमा चलाउन पाइन्न ।


वसन्त चाडका अवसरमा परिवार भेला भएर खाइने सबैभन्दा लोकप्रिय खानेकुरालाई चिनियाँ भाषामा ‘चिआवो च’ भनिन्छ । यो एक प्रकारको म:म हो तर पानीमा डुबाएर पकाउने गरिन्छ ।

प्रकाशित : माघ २०, २०७५ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्

तातोपानी नाकाको तात्पर्य

बेइजिङ डायरी
रातारात पहाड छेडेर सुरुङ निकाल्ने, समुद्रमाथि विमानस्थल र चन्द्रमा नक्कली बनाउने क्षमता राख्ने चीनका लागि तातोपानी नाका खुलाउन चार वर्ष लाग्नु आश्चर्यको विषय हो ।
चेतनाथ आचार्य

काठमाडौँ — कार्यकाल सकेर चीन फर्कनु अगाडि गृहमन्त्री रामबहादुर थापासँगको बिदाइ भेटमा तत्कालीन चिनियाँ राजदूत यु होङले वैशाखदेखि चीन सरकारले तातोपानी नाका सञ्चालनमा ल्याउने जानकारी दिइन् ।

त्यससँगै चीनले सिन्धुपाल्चोकमानिर्माण गरिरहेको बन्दरगाह निर्माणको कामलाई अन्तिम चरणमा पुर्‍याएको समाचारले नेपालीलाई खुसी बनायो ।

भूकम्पपछि तातोपानी नाका बन्द भएपछि त्यस क्षेत्रका हजारौँ मानिस अलपत्र बनेका थिए । वैशाखदेखि नाका खोल्ने समाचारले ऊर्जा थपे पनि मितेरी पुलदेखि नेपालपट्टिको अरनिको राजमार्गको अवस्थाले पनि चिन्ता जगाएको छ । चीनले आफ्नो क्षेत्रमा धमाधम निर्माण काम गरिरहे पनि नेपालको तयारी छैन । हरेक चिनियाँ नेतालाई तातोपानी नाका खोल्नुपर्छ भन्ने अनि चीनले समयसीमा तोकेरै तयारी गरिरहँदा नेपालले आफ्नो क्षेत्रको सडक सुधार कहिले गर्ने हो, कुनै आँकलन छैन ।

रातारात पहाड छेडेर सुरुङ निकाल्ने, समुद्रमाथि विमानस्थल बनाउने, चन्द्रमा नक्कली बनाउने क्षमता राख्ने चीनका लागि तातोपानी नाका खुलाउन चार वर्ष लाग्नु आश्चर्यको विषय थियो । किन बन्द भयो त यो नाका ? चिनियाँ सहयोगमा बनाइएको अरनिको राजमार्ग २०२३ सालदेखि सञ्चालनमा आएको हो । यही यही मार्गकै कारण चीनले ल्हासादेखि खासासम्मको ८०६ किलोमिटर लामो राजमार्गको नाम चीन–नेपाल मैत्री राजमार्ग राखेको छ । बन्द समाजमा रहेको चीनलाई पाँच दशक अगाडि अरनिको राजमार्गले नै दक्षिण एसियामा प्रवेश गराएको थियो । यो राजमार्ग नेपाल र चीनलाई जोड्ने सबैभन्दा द‍ह्रो कडीका रूपमा छ । भारत र पश्चिमा मुलुकको दबाब सहँदै तत्कालीन राजा महेन्द्रले अरनिको राजमार्ग बनाउन चीनसँग सहमति गरेका थिए ।
त्यसयता दुई देशबीचको सम्बन्ध अझ झाँगिएको छ । तर केही नेपाली नेताका स्वार्थ र गलत कार्यले चीनलाई झस्का दिने काम पनि गर्न थाल्यो । बहुदल आएपछि नेपाल आएका तत्कालीन भारतीय रक्षामन्त्री जर्जफर्नान्डिज अनधिकृत रूपमा तातोपानी नाकाबाट चीनको भूभागमा छिरे । २०५६ सालमा सत्रौँ कर्मापा लामा तिब्बतबाट भागेर नेपाल हुँदै भारत पुगे । यी काममा पक्कै पनि नेपालीको सहयोग थियो । तिब्बतबाट भागेर मुस्ताङ पुगेका कर्मापालाई २०५६ पुस १६ गते मनाङबाट हेलिकप्टरमा नगरकोट लगी त्यहाँबाट जिपमा राखेर रक्सौल हुँदै भारत प्रवेश गराइएको कर्मापाले एउटा अन्तर्वार्तामा भनेका छन् ।

यस प्रकारका गतिविधिलाई चीनले गम्भीर रूपमा लियो । चीनले नेपाललाई अवैध रूपमा तिब्बतबाट नेपाल प्रवेशलाई नियन्त्रण गर्न बारम्बार अनुरोध गरिरह्यो । सन् २००५ भन्दा अगाडि तिब्बतबाट अवैध रूपमा नेपाल प्रवेश गर्ने तिब्बतीको संख्या वार्षिक सरदर २ हजार थियो । यस्ता तिब्बती केही नेपालमा शरणार्थीको रूपमा बसेर चीन विरोधी गतिविधिमा संलग्न हुने गरेका छन् भने केही भारत जाने गरेका छन् । नेपालले सीमानाका कडाइ नगरेकाले त्यसरी अवैध रूपमा तिब्बती नेपाल प्रवेश चिनियाँ बुझाइ थियो । चीनले नेपाललाई सीमा क्षेत्रमा कडाइ गर्न बारम्बार आग्रह गर्‍यो । नेपालको सशस्त्र प्रहरीको क्षमता वृद्धि कार्यक्रममा सघाउन हात अगाडि बढायो ।

चीनले आफ्नो सीमा क्षेत्रमा सशस्त्र प्रहरीका सुरक्षा चौकी स्थापनार्थ पूर्वाधार निर्माण गरेपछि अवैध रूपमा नेपाल प्रवेश गर्ने तिब्बतीको संख्यामा कटौती भयो । चीन–नेपाल सम्बन्धमा अध्येताहरूका अनुसार सन् २००५ पछि अवैध रूपमा नेपाल प्रवेश गर्ने तिब्बतीको संख्या २ सयमा झ‍र्‍यो । क्रमश: यो संख्या घट्दै अहिले वार्षिक सयभन्दा तल झरिसकेको छ । नेपालले सीमा सुरक्षा व्यवस्थालाई अझै कडाइ गरी कुनै पनि तिब्बतीलाई अवैध रूपमा नेपाल प्रवेश गर्न नदिओस् भन्ने चीनको चाहना छ ।

चीनले नेपालसँग मात्र हैन, सबै अन्तर्राष्ट्रिय जगतसँग तिब्बतको सुरक्षा संवेदनशीलतालाई गम्भीर रूपमा उठाउँदै आएको छ । केही समय अगाडि अमेरिकी सिनेट र प्रतिनिधिसभाले पारित गरेको ‘रेसिप्रोकल एक्सेस टु तिब्बत एक्ट’ ऐनले चीनमाथि हस्तक्षेप भएको भन्दै चीनले कडा प्रतिवाद गरेको छ । अमेरिकी कंग्रेसले पारित गरेको ‘रेसिप्रोकल एक्सेस टु तिब्बत एक्ट’लाई ‘तिब्बत यात्रा सम्बन्धी पारस्पारिक पहुँच’ पनि भनिन्छ । चिनियाँ कूटनीतिक कार्यालयमा कार्यरत अधिकारीले अमेरिकीलाई तिब्बत भ्रमणमा भिसा दिएनन् भने ती चिनियाँ अधिकारीलाई अमेरिकाको भिसा नदिने कानुनी प्रावधान यो ऐनमा छ । चीनको स्वायत्त प्रदेश तिब्बत भ्रमण गर्न चीनको भिसाले मात्र पुग्दैन । छुट्टै अनुमति लिनुपर्छ ।

त्यसकारण चीनको भिसा लिएर भ्रमण गर्ने जोसुकैले स्वायत्त प्रदेश तिब्बत भ्रमण गर्न पाउँदैन । विभिन्न मुलुकले आफ्ना विशेष स्थानमा विशेष प्रकारका सुरक्षा समस्याका कारण यात्रा सीमित गराउने गरेका छन् । अमेरिकाकै सिलिकन भ्यालीमा सबै चिनियाँले प्रवेश पाउँदैनन् । अमेरिकाले अन्तर्राष्ट्रिय कानुनभन्दा आफ्नो कानुन बढी शक्तिशाली मान्दै प्रभुत्व लाद्न खोजेको र चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप चीनले लगाएको छ ।

सन् २०१६ मा तिब्बत भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ३ लाख २१ हजार ९ सय पुगेको थियो भने सन् २०१७ मा ३ लाख ४३ हजार ५ सय विदेशी पर्यटकले तिब्बत भ्रमण गरेका थिए । सन् २०१८ मा ३ लाख ८१ हजार ४ सय विदेशी पर्यटकले तिब्बत भ्रमण गरेका छन् । अहिलेसम्म अमेरिकाबाट तिब्बत भ्रमण गर्नेको संख्या ९५ हजारभन्दा बढी पुगेको छ ।

एकातिर चीनले तिब्बतलाई अन्तर्राष्ट्रिय जगतमा खुला गर्दै आएको छ भने अर्कोतर्फ यसको सुरक्षा संवेदनशीलतामा चीन अत्यन्त गम्भीर छ । तसर्थ एउटा असल छिमेकी मुलुकका नाताले नेपालले चीनको सुरक्षा चासोलाई गम्भीर रूपमा लिनुपर्छ । भूकम्प त कारक तत्त्वमात्र हो । तातोपानी नाका बन्दका पछाडि चीनका गुनासा धेरै छन् ।

लेखक चिनियाँ अन्तर्राष्ट्रिय रेडियो, नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन् ।

प्रकाशित : माघ १२, २०७५ ०८:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्