चराहरुको स्वर्ग

वेदराज पौडेल

काठमाडौँ — चराहरूको चिरबिर कसलाई मन नपर्ला ? त्यो पनि एक हैन, अनेक प्रजातिका । चराहरूको स्वर्गसरह छ कोसीटप्पु वन्यजन्तु आरक्ष । यति बेला आरक्षमा चरा हेर्नेहरूको भीड छ ।

कोसीटप्पु सीमसार क्षेत्र भएकाले यहाँ आउने चराहरूले सहजै खान र बस्न पाउँछन् । चराहरूको सहज बासस्थान भएकैले कोसीटप्पुलाई चराएको स्वर्ग भनिएको हो ।

यस पटक कोसी पन्छी समाजले कोसीटप्पुमा चराको गणना सुरु गरेको छ । विश्वभरि नै डिसेम्बरदेखि जनवरीसम्ममा चराको गणना गरिन्छ । नेपालमा ८ सय ८७ प्रजातिका चरा पाइन्छन् । कोसीटप्पुमा मात्रै ५ सय २७ जातिका चरा छन् । कोसी नदीमा प्रत्येक वर्ष रूस, चीनलगायत देशबाट चराहरू हिउँदमा आउने गर्छन् । जाडोमा आउने चरालाई विन्टर बर्ड भनिन्छ । ती देश र बासस्थानमा जाडो महिनामा तालहरू जम्ने र खानेकुरा नपाइने भएकाले यी चरा हजारौं माइल यात्रा गरेर नेपालसम्म आउने गरेका हुन् । त्यसरी लामो दूरी तय गरेर आउने चराहरू हाँस प्रजातिका हुन् । कतिपय चरा हिमाल पारिबाट हिमाल नाघेरसमेत आउँछन् । बारहेडेड गुज यस्तै चरा हो । यसलाई नेपालीमा खोया हाँस पनि भनिन्छ । यो चरा सगरमाथाभन्दा माथिबाट उडेर आउँछ । यो चरा १३ हजार मिटर माथिबाट उडेर आउने अनुमान छ ।

कोसीटप्पुको आसपासका सुनसरीको बर्जुताल, मोरङको बेतना सीमसार क्षेत्रमा पनि आगन्तुक चराहरूले पछिल्लो समयआफ्नो बासस्थान बनाएका छन् । नेपालमा पाइने गरुड प्रजातिका चराहरू नै सबैभन्दा ठूला चरा हुन् । फिस्टो प्रजातिका चराहरू सबैभन्दा साना हुन् । कोसीटप्पुमा मात्र नभएर नेपालका विभिन्न स्थानका सीमसारमा पानीमा बस्ने चराहरूको गणना हिउँद महिनामा गरिँदै आएको छ । निजी क्षेत्रको पहलमा हुँदै आएको गणनाले चराको बासस्थान, बच्चा कोरल्न सक्ने/नसक्ने अवस्था, चराहरूको संख्यामा हुने घटबढ र त्यसको कारण पहिल्याउने गर्छ ।

कोसी पन्छी समाजका अध्यक्ष अनिस तिम्सिनाले पछिल्ला वर्षहरूमा जलवायु परिवर्तन र आहाराको कमीका कारण चराहरूको हाँच (समूहको संख्या) मा कमी आउन थालेको बताए । खेतबारीमा छरिने र पानीमा हालिने विषादीका कारण चरालाई आहाराको कमी भएको छ । प्राप्त आहारापनि विषाक्त हुनाले चराको संख्या घट्न थालेको हो ।

प्रत्येक बर्ष हिमाली नेचर, कोसीटप्पु वन्यजन्तु आरक्ष, कोसी पन्छी समाजले कोसी र आसपासका क्षेत्रमा चराको गणना गर्दै आएको छ । यस्तो गणनाबाट चराको संख्या घटेको, बढेको थाहा हुन्छ ।

सन् १८९० मा बेलायतमा अत्यधिक जाडोका कारण चराहरू संकटमा परेको तथ्य सार्वजनिक भयो । आम नागरिकलाई चराहरूको चारोको व्यवस्था गरिदिन आग्रह नै गरियो । त्यसपछि सर्वसाधारणले चराका लागि आहाराको व्यवस्था गरे । अत्यधिक जाडोका बेला चरा उडेर टाढा गएर आहारा खोज्न नसक्ने हुन्छन् । आज पनि बेलायतमा अधिकांशले घरको छत र बगैंचामा चराका लागि खाने कुरा र पानी झुन्डयाउने चलन छ । अमेरिकामा पनि आममानिस चरालाई खानेकुरा बाँडेर उत्सव मनाउने गर्छन् । चरालाई आहारा खुवाउनु अमेरिकीहरूको दोस्रो सोखको रूपमा पर्छ । अमेरिकीहरू बढी क्यालोरी भएका खानेकुरा चराका लागि साँच्ने गर्छन् र बगैंचामा लगेर त्यसलाई झुन्डयाइदिन्छन् । चराले खाइसकेपछि पुन: भाँडो भरेर राखिदिन्छन् ।

हामीमा पनि चराहरूको संरक्षणबारे चेतना आउन जरुरी छ । हामीले पनि चराका लागि छतमा, छानामा, बगैंचामा खानेकुरा र पानी राखिदिन सक्यौं भने उनीहरूलाई आहाराको कमी हुन पाउँदैन ।

संसारमा चरा सकिए भने के हुन्छ ? चराविद् डा.हेमसागर बराल भन्छन्, ‘पृथ्वीमा प्रलय हुन्छ ।’ विषादीको प्रयोगका कारण चराहरू नासिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले भने, ‘यो विषयमा बेलैमा कदम चाल्न आवश्य छ नत्र पछि निकै ढिलो हुन सक्छ ।’ खेतबारीमा विषादीको प्रयोगले कीराफटयांग्रा, मुसा, सर्प सबै सखाप हुने भएकाले चरालाई आहाराको कमी हुने गरेको छ ।

नेपालमा वनमा आश्रित, सीमसारमा आश्रित, घाँसेमैदान र कृषिजन्य भूमिमा आश्रित गरी तीन वर्गमा चरालाई
वर्गीकरण गरिएको छ । वनजंगल विनाश, सीमसार र घाँसेमैदान घट्नु र कृषिजन्य भूमिमा बढी विषादीको प्रयोग चराको आहाराका लागि संकटका कारण हुन् ।

पृथ्वीमा भएका कतिपय चराले अन्न र फलफूल मात्र खान्छन् । कतिपय मांसाहारी छन् । एउटै प्रजातिभित्र पनि कुनै मांसाहारी र कुनै शाकाहारी हुन्छन् । अर्जुनक, फिस्टा, बकुल्लाले कीराफटयांग्रा खान्छन् । हाँस प्रजातिका चराहरूले पानीमा माछा मारेर खान्छन् । गिद्ध, चिल, गरुढले सिनो खान्छन् । घुँघीफोर गरुढले घुँघी खान्छ । गौंथली, पानी गौथली, मुरली चराले उडेका कीराफटयांग्रा खान्छन् । कुथुर्केले धनेष, जुरेलीले फलफूल मात्र खान्छ । मुसी चिल, बौगाई, गोठ लाटकोसेरोले मुसा खान्छन् । काकाकुलले सर्प खान्छ ।

अर्का चराविद् टीकाराम गिरी खेतबारीमा प्रयोग भइरहेको विषादी घटाउन स्थानीय सरकारले अब पहल थाल्न आवश्यक रहेको बताउँछन् । रसायनयुक्त मलभन्दा जैविक मल र विषादीको स्थानमा जैविक विषादी प्रयोग गर्न किसानलाई सचेतनासँगैअनुदानको व्यवस्था गर्न सके चरासँगै मानिसको बिग्रँदो स्वास्थ्य बचाउन सकिने गिरीले बताए ।

प्रकाशित : पुस २९, २०७५ ०९:०२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

फिदा हुसेनको हत्याका चार अभियुक्त पक्राउ 

वेदराज पौडेल

इनरुवा — दुहवी नगरपालिका ९ छातावेलीका व्यावसायी फिदा हुसेनको गोली हानी हत्या गर्ने समूहका चार अभियुक्तलाई प्रहरीले घटनाको ५१ औं दिनमा पक्राउ गरी सार्वजनिक गरेको छ ।

रिसइवी र आर्थिक लेनदेन नमिलेपछि फिदाको हत्या भएको प्रहरीले जनाएको छ। प्रहरीले हत्याका मुख्य योजनाकार छाताबेलीका मोहमद शाकीम हुसेन, दुहवी १२ सीतापुरका विसम्बर यादव, त्यस्तै छाताबेलीकै मोहमद जाबीर हुसैनलाई क्षेत्रीय अनुसन्धान ब्यूरो र सुनसरी प्रहरीको सक्रियतामा पक्राउ गरी सार्वजनिक गरिएको छ। अर्का अभियुक्त छाताबेलीकै जफर मियालाई बाँके प्रहरीले पक्राउ गरी सुनसरी प्रहरीलाई बुझाउने क्रममा रहेको छ।

प्रहरीले उनीहरुले प्रयोग गरेको कटुवा पेस्तोल खोकासहितको एक थान, गोली २ राउन्ड र चक्कु एकथान बरामद गरेको छ। घटनापछि दुहवी १२ मा रहेको लक्ष्मीनारायणको मन्दिर परिसरमा रहेको नरिवलको रुखमुनि हतियार खनेर लुकाएको अवस्थामा अभियुक्तको बयानका आधारमा प्रहरीले बरामद गरेको सुनसरीका एसपी राजन अधिकारीले जानकारी दिए।

प्रभात भ्रमणका बेला फिदालाई मंसिर ५ गते विहान सात बजे जयबाबा इटाभट्टा जाने सुनसरी मोरङ सिँचाइ आयोजनाको शाखा नहरमा गोली हानिएको थियो। मोटरसाइकलमा आएका एक व्यक्तिले गोली प्रहार गरी भागेका थिए। फिदाको घटनास्थलमै मृत्यु भएको थियो। हत्याका अभियुक्त पक्राउ गर्नु पर्ने र फिदालाई सहिद घोषणा गर्नु पर्ने माग राखी उनको शव नै सडकमा राखेर दुहवीवासीले आन्दोलन गरेका थिए।

प्रकाशित : पुस २६, २०७५ १८:२८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×