कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जन्मदिन

कथा
कमल कोइराला

काठमाडौँ — ल बाबु अल्छी नगरी छिटो उठेर मसँग हिँड त,’ कपाल मुसार्दै अरू दिनभन्दा एक घण्टा सबेरै आमाले अंकितलाई उठाउनुभयो । आमाको कुरा सुन्नेबित्तिकै अंकित निद्राबाट जर्‍याकजुरुक उठ्यो ।

जन्मदिन

भान्सामा पुगेर एउटा ग्यालिन हातमा लियो, जसमा उसले विगत दुई वर्षदेखि पानी बोकेर ल्याउने गरिरहेको थियो । गाग्री र कपडा बोकेर आमा अघि लाग्नुभयो । आमाकै पछिपछि लागेर अंकित पनि सिस्नेखोलाको पँधेरातिर लाग्यो । नुहाइधुवाई सकेर दुवै आमाछोरा घरतिर फर्के । घर आएपछि आमाले अंकितलाई बाकसबाट नयाँ कपडा झिकेर लगाइदिनुभयो । कपालमा चिल्लो लगाई सर्लक्क पारेर कोरिदिनुभयो । उसका खुट्टामा पनि नयाँ जुत्ता सजिए । जिउमा सबै कुरा नयाँ भएपछि अंकित खुसीले फुरुङ्ग थाल्यो ।

आमा भान्साको तयारीमा जुट्न थाल्नुभयो । अन्य दिनभन्दा त्यस दिन उसको घरको चहलपहल अलि बेग्लै थियो । तर त्यसको कारणचाहिँ उसले बुझेको थिएन । अंकित गाउँका साथीलाई बदलिएको आफ्नो रूप देखाउन आतुर थियो । दिउँसोतिर बुबाले उसलाई बारीमा लैजानुभयो । बुबाको हातमा केही बिरुवा थियो । एउटा हातमा सानो कुटो र अर्काे हातमा हजारी बोकेर आमा पनि पछिपछि बारीमा पुग्नुभयो । घरमुन्तिरको बारीमा दुई डोकाजति मल थुपारिएको थियो । बुबाले ५/७ मिटरको फरकमा पाँचओटा एक हात जति गहिरो खाल्डो खन्नुभयो । खाल्डाको माटो निकाल्नमा आमाले सहयोग गर्नुभयो । बारीको छेउमा टुक्रुक्क बसेर अंकितले बुबाआमाका क्रियाकलाप नियाल्न थाल्यो ।

खनेर सिध्याएपछि प्रत्येक खाल्डामा मल हालियो । ‘बाबु १ त्यो बिरुवा यता लेऊ त,’ माटोसहितको प्लास्टिकमा बेरिएको बिरुवातिर संकेत गर्दै बुबाले भन्नुभयो, ‘ल बाबु अब आफ्नै हातले यी बिरुवाहरू यहाँ रोप ।’ आमाबुबाको निर्देशनअनुसार अंकितले पाँचओटा बिरुवा रोप्यो । माटाले खाल्डो पुर्दै आमाले भन्नुभयो, ‘अंकित १ आज तिम्रो जन्मदिन हो । आजदेखि तिमी पाँच वर्षका भयौ । त्यसैले तिम्रो जन्मोत्सवको अवसर पारेर यहाँ पाँचओटा सुन्तलाका बिरुवा रोपिएका हुन् । आजदेखि यी बिरुवा संरक्षण गर्ने दायित्व तिम्रो भयो ।’ मुसुक्क हाँस्दै अंकितले टाउको हल्लायो । गाईवस्तुले नखाऊन् भनेर बुबाले बिरुवावरिपरि बाँसका कप्टेराको गोलो बारले घेरिदिनुभयो ।

भोलिपल्टदेखि आँगनको डिलमा निस्केर अंकितले सुन्तलाका बिरुवा नियाल्न थाल्यो । ऊ बिरुवा बोट भएर कहिले रसिलो सुन्तलाको स्वाद चाख्न पाइएला भनेर रातदिन सोचिरहन्थ्यो । समय बित्दै गयो । विस्तारै सुन्तलाका बिरुवा पनि बोटमा रूपान्तरित हुन थाले । अंकित दिनमा एकपटक सुन्तला हेर्न बारीमा पुगेकै हुन्थ्यो । नियमित पानी हाल्ने र समय समयमा गोडमेल पनि गर्ने गथ्र्यो । आफ्नै जन्मोत्सव पारेर वर्षैपिच्छे बुबाआमाको सहयोगमा उसले सुन्तलामा मल पनि हाल्दै गयो । यसरी नै बारीमा सुन्तला लगाएको पनि ६ वर्ष बिते । सुन्तलाका बिरुवा रोप्दा पाँच वर्ष भएको अंकित पनि एघार वर्ष पुग्यो । अंकितको मिहिनेत दिनानुदिन बोट बनेर हलक्क बढ्दै गयो । छैटौँ वर्षको वर्षायाममा ती सुन्तलाका बोटमा ढकमक्क फूल फुले । उसलाई आफ्नो सपना तिनै फूलमा फक्रेझैँ अनुभूति भयो ।

साउन लागेपछि बोटका फूलहरू विस्तारै फलमा रूपान्तरित भए । अंकितमा हर्षको सीमा रहेन । बारीमा जाँदा प्रत्येक दिन तिनै सुन्तलाका दाना सुम्सुम्याउँथ्यो ऊ । एक दिन बुबाले सुन्तलाको फेदमा गोडमेल गर्दै हुनुहुन्थ्यो । त्यही बेला अंकितले प्रश्न गर्‍यो, ‘बाबा ! अब यी सुन्तला कहिले खान पाइन्छ ?’ ‘पाकेपछि बाबु !’ फेदका झार उखेल्दै बुबाले छोटो उत्तर दिनुभयो । अंकितको मनको जिज्ञासा अझ मेटिएन । उसले फेरि सोध्यो, ‘कुन महिनामा पाक्छ त बाबा ?’ ‘मंसिर–पुसमा बाबु,’ छोराको जिज्ञासा शान्त पार्दै बुबाले थप्नुभयो, ‘दाना पहेँला भएर नपाकुन्जेल कहिल्यै टिपेर नखानू है बाबु !’ ‘हुन्छ’ सहमतिमा अंकितले टाउको हल्लायो । दसैँमा देवीलाई प्रसाद चढाउन बुबाले दुई/चार दाना सुन्तला टिप्नुभयो । दुर्गापूजा सकिएपछि आमाले केही केस्रा अंकितलाई दिनुभयो । मुखमा हालेर निलेपछि दसैँको जखमले पाठाले झैँ टाउको हल्लायो उसले । छोराले मुख बिगार्दै टाउको हल्लाएको देखेर बाबाआमाले हाँस्दै भन्नुभयो, ‘नपाकी खाँदा यस्तै अमिलो हुन्छ र दाँत पनि कुँडिन्छ बाबु ! त्यसैले पाकेपछि मात्र खानुपर्छ ।’ अंकितले ‘हवस्’ भन्दै फेरि टाउको हल्लायो ।

हिउँद याम सुरु भयो । विस्तारै चिसो बढ्दै गयो । हरिया सुन्तलाका दाना पहेँलपुर भएर पाक्न थाले । लटरम्म फलेका सुन्तलाका कारण हाँगाले निहुरिएर भुइँ छुनै लागेका थिए । सुन्तला अंकितको सर्वप्रिय फल थियो । उसले सुन्तला चाखेको मात्र थियो । तर धितमरुन्जेल कहिल्यै पनि खान पाएको थिएन । त्यसैले पनि अघाउन्जेल फलफूल खान पाइने दिनको कल्पनामा हराइरहन्थ्यो ऊ । पुसको दोस्रो शनिबार अंकितको ११ औँ जन्मोत्सव परेको थियो । त्यस दिन बिहानै नुहाइधुवाई सकीवरी नयाँ कपडामा सजियो ऊ । दिउँसोतिर बुबाले भन्नुभयो, ‘बाबु १ जाऊ तिम्रा सम्पूर्ण साथीहरूलाई बोलाएर ल्याऊ ।’ ऊ खुसीले मख्ख हुँदै साथीलाई बोलाउन गयो । सिद्धार्थ, कृपा, सिद्धान्त, सुशील, प्रज्वल, आरती, आकृति, हेमराज, कला, आशुतोष, सीमा, कृतिका, मनीषा, निरज, अनुष्का, मिलन, ममता, असीम, आशिष, गरिमा र किस्मत उसका मिल्ने साथी थिए ।

एकैछिनमा उसका आँगनमा साथीहरूको भीड गुजुम्म भइहाल्यो । आमाले आँगनभरि गुन्द्री र त्यसमाथि गलैँचा बिछयाउनुभयो । बुबाको आग्रहमा साथीहरू लहरै गलैँचामा बसे । ‘अरू वेला त साँझमा जन्मोत्सव मनाउने कार्यक्रम राखिन्थ्यो र रात्रिभोज गरिन्थ्यो तर आज किन हामीलाई दिउँसै बोलाइएको होला ?’ भन्ने खुलदुलीले भरिएको थियो सबैको मन । यत्तिकैमा बुबाले डालाभरि सुन्तला टिपेर ल्याउनुभयो । आमाले सबैलाई पुग्ने गरी भाग लगाएर अघिल्तिर राखिदिनुभयो । ‘हेर बाबुनानी हो १ अंकितले पाँच वर्ष गरेको मिहिनेतको फल आज बल्ल सबैलाई चखाउन पाइयो ।’

सुन्तला कोटयाउँदै बुबाले भन्नुभयो । ‘यस वर्ष अंकितको जन्मदिनको पार्टी नै सुन्तलाको भोज हो । ल अघाउन्जेल खाओ है १’ अंकितकी आमा लक्ष्मीले थप्नुभयो । साथीहरू मस्त हाँसे । परिश्रमको मीठो फल चखाएकोमा अंकितलाई सबैले धन्यवाद दिए । केही महिनाअघि अमिलो भएर मुख बिगारेको अंकितले पनि त्यस दिन आमासँग मागीमागी सुन्तला खान थाल्यो । पारिलो घाममा बसेर सबैले अघाउन्जेल सुन्तलाको रसिलो स्वाद लिए । सामूहिक तालीको पर्राले घरै गुन्जियो । अन्त्यमा सबैले एकै स्वरमा भने, ‘हयाप्पी बर्थ डे टु यु अंकित !’

प्रकाशित : पुस ८, २०७५ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?