१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रदर्शनीसँगै प्रतिस्पर्धा

राजाराम पौडेल

काठमाडौँ — प्रदर्शनीमा लहरै मिलाएर राखिएका विभिन्न चित्रकला । हरेक कृतिले कला पारखीलाई तानिरहेझंै । यस्तै माहोल थियो– पोखरा आर्ट ग्यालरी महेन्द्रपुलमा आयोजित आठदिने राष्ट्रिय कला प्रदर्शनीमा । शान्ति, पर्यटन र कला प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रदर्शनीमा सातै प्रदेशको प्रतिनिधित्व थियो ।

प्रदर्शनीसँगै प्रतिस्पर्धा

मन्टेश्वरीमा अध्ययनरत स–साना बाबुनानीदेखि स्कुलमा अध्ययनरत विद्यार्थीसमेतले सिर्जना गरेका कलाकृति त्यहाँ थिए । यसका अलावा युवा कलाकार र वरिष्ठ कलाकारका सिर्जनालाई पनि एकै ठाउँमा राखेर हेर्ने व्यवस्था मिलाइएको थियो । प्रतियोगिता सहितको यो कला प्रदर्शनीका लागि देशैभरिबाट कलाकृति संकलन गरिएको प्राज्ञ नगेन सिंहले जनाए । चित्रलाई इमेल, पत्रपत्रिका, फोन, चिठीमार्फत पनि जानकारी गराई मगाइएको थियो ।

प्रतिस्पर्धीमध्ये मन्टेश्वरीतर्फ कक्षा १ मा पढ्ने मान्यता तिवारी प्रथम भइन् । सुर्खेतका वैभब चन्द द्वितीय बने । यूकेजीमा अध्ययनरत नज्योशा सिंह तृतीय भइन् । प्राथमिक तहतर्फ कक्षा ५ का सुसम्पन्न गुरुङ प्रथम, अनमोल गिरी दोस्रो र प्रतीक पोखरेल तृतीय भए । माध्यमिक तहतर्फ कक्षा १० मा पढ्ने बाँकेका आश्विन कोइराला, कक्षा ८ की एन्जिला गुरुङ र कक्षा ६ की अन्जिला तिवारी क्रमश: प्रथम द्वितीय र तृतीय बने । क्याम्पस तहमा अविल गुरुङ प्रथम, निश्चल गुरुङ द्वितीय र सागर क्षेत्री तृतीय भए । कलाकारहरू लोकप्रसाद गुरुङ, डीबी गुरुङ र झविन्द्र गुरुङले प्रदर्शनमा राखिएका कलाकृति छनोट गरेका थिए । विजेता सबैले नगदसहित प्रमाणपत्र र पदक प्राप्त गरे । प्रतियोगितामा समावेश कलाकृतिमध्ये सुर्खेतका विक्रमश्रीको कलाकृति प्रथम भयो । विक्रमले नगद १५ हजारसहित १५ हजार बराबरको पेन्टिङ, सम्मानपत्र र स्वर्णपदक प्राप्त गरे । प्रदर्शनीमा २८ कलाकारले सिर्जना गरेका चित्र राखिएका थिए ।

पछिल्लो समयमा कलाकृतिमार्फत राम्रो आम्दानीसमेत हुन थालेकाले व्यावसायिक रूपमै चित्रकलामार्फत अगाडि बढ्न खोज्नेहरूसमेत बढ्दै छन् । एनएस क्लब नेसनल आर्ट एप प्रदर्शनी आयोजक सदस्य रेविका थापा चित्रकलाप्रतिको लगावका कारण आफू यस क्षेत्रमा अगाडि बढेको बताउँछिन् ।

स्याङ्जा घर भई पोखरा बस्दै आएकी थापा अहिले चारवटा विद्यालयमा चित्रकला अध्यापनसमेत गराउँछिन् । हिल पोइन्ट स्कुलका अविल गुरुङ पनि चित्रकलाप्रतिको मोहका कारण यो क्षेत्रमा अगाडि बढ्न खोजेको बताउँछिन् । प्राज्ञ नगेन सिंहले हरेक सरकारी विद्यालयमा अनिवार्य ललितकलाको पढाइ हुन सके यो क्षेत्रमा नयाँ प्रतिभाको आगमन हुने बताए ।

प्रकाशित : मंसिर २३, २०७५ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?