कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

साथीसँग घुम्दा...

अनुभूति

काठमाडौँ — परिवारभन्दा बाहिरका साथीसँग म घुम्न गएकी थिइनँ । एसओएस स्कुलबाट कक्षा ९ मा पढ्ने विद्यार्थीलाई शैक्षिक भ्रमणका लागि पोखरा, लुम्बिनी, सौराहालगायत ठाउँमा जाने निर्णय भयो ।

यस्तो अवसर पाउँदा एकदमै उत्साहित थिएँ । यात्राका लागि चाहिने सामग्री तयार पारेर घरबाट हिँडेँ । यात्रामा हामी ४१ विद्यार्थी साथी र तीन जना शिक्षकशिक्षिका हुनुहुन्थ्यो । हामी करिब ७ बज्दा थानकोट पुगिसकेका थियौँ । बाटामा हामी गाउँदै, नाच्दै र रमाउँदै अघि बढ्यौँ । हामी ३ बजे गोर्खा पुग्यौँ ।

गोर्खामा संग्रहालयको अवलोकन गर्ने मौका पायौँ । विशेष गरेर नेपालको एकीकरण ताका प्रयोग भएका खुकुरी, भाला र अरू हतियार देख्यौं । त्यसपछि गोर्खा दरबार गयौँ । गोर्खा घुमेपछि हामी पोखरातिर लाग्यौं । पोखरामा पुगेर बास बस्यौँ । बिहानै चाँडै उठेर साराङकोट गयौँ । त्यहाँबाट सूर्योदयको दृश्य पनि अवलोकन गर्ने मौका पायौँ ।

त्यसपछि फेवातालमा डुंगा चढ्यौं । चमेरे गुफा, महेन्द्र गुफा, डेबिट फल्स, पताले गुफाको अवलोकन गर्‍यौं । त्यहाँका गुफा घुम्दा मलाई निकै रमाइलो र चुनौतीपूर्ण लाग्यो । फेवातालमा धेरै रमाइलो गरियो । त्यहाँ हजारौं पर्यटक पनि रमाइरहेका थिए । त्यसबेला मलाई आफू नेपाली हुनुको गर्वबोध भयो । अर्को दिन हाम्रो यात्रा पाल्पातिर मोडियो । हामी बाटाका अनेक मनोरम दृश्य देखेर निकै रमाएका थियौं ।

पाल्पामा हामीले ठूलो करुवा भएको ठाउँमा तस्बिर खिच्यौं । त्यसपछि पाल्पा दरबार गयौं । त्यहाँ पाल्पाली ढाकाको अवलोक गर्‍यौं । भोलिपल्ट हामी लुम्बिनी गर्‍यौं । भगवान् गौतमबुद्धको जन्मस्थल पुग्दा रमाइलो लाग्यो । लुम्बिनीस्थित एसओएस पनि गयौं । त्यहाँ पुग्दा आफू पनि एसओएसको एक हिंस्सा भएको महसुस भयो । त्यहाँका गुम्बाको अवलोकन गर्दा असाध्यै खुसी लाग्यो । मैले पाठयपुस्तकमा मात्र पढेको, सुनेको मायादेवीको मन्दिर प्रत्यक्ष देख्न पाउँदा दंग भयौं । त्यसपछि हामी सीजी धाम पनि गयौं । केही फोटो खिच्यौं ।

लुम्बिनी अवलोकनपछि हामी चितवन आएर बास बस्यौं । त्यहाँ हामीले थारूनृत्य र थारू संस्कृतिबारे बुझ्ने मौका पायौं । भोलिपल्ट बिहान हात्ती चढ्यौं । हामीले गैंडा पनि देख्यौं । हात्ती सयर गर्‍यौं । हामीले चढेको हात्तीको नाम एलिसा कली रहेछ । हामीले धेरै

जंगली जनवारलाई नजिकबाट अवलोकन गर्ने मौका पायौं । चितवनबाट हाम्रो यात्रा काठमाडौंतिर मोडियो । फर्कने क्रममा बाटोमा साथीहरूसँग हाँस्दै, रमाउँदै र नाच्दै मनोरञ्जन गर्‍यौं । यसरी हाम्रो शैक्षिक भ्रमण निकै रमाइलो र अविस्मरणीय रहयो ।

-अदिति आचार्य, कक्षा–९

एसओएस हर्मन माइनर स्कुल, काभ्रे

प्रकाशित : मंसिर १६, २०७५ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?