१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बिदाको सदुपयोग

कथा
कमल कोइराला

काठमाडौँ — कृपा र कीर्तन दिदीभाइ हुन्  । उनीहरू घरनजिकै रहेको एउटा विद्यालयमा पढ्छन्  ।

बिदाको सदुपयोग

कृपा कक्षा तीनमा अध्ययनरत छिन् भने कीर्तन नर्सरीमा । उनीहरूका बुबा रोजगारीका सिलसिलामा विदेशमा हुनुहुन्छ । आमा घरकी सामान्य गृहिणी । उनीहरू पहाडको एउटा सुन्दर गाउँमा बस्छन् । वरिपरि सुन्दर चौरहरू भएकाले उनीहरूको गाउँँको नाम नै सुन्दरचौर राखिएको छ । उत्तरतिर दन्तलहर खोलेर मुस्कुराइरहेका हिमाल र दक्षिणतिरको समथर फाँटले सुन्दरचौरलाई थप आकर्षक बनाएको छ । सुन्दरचौर पहिले सामान्य गाउँ थियो । समयक्रममा अहिले यो बिस्तारै पर्यटकीय गाउँँमा रूपान्तरित हुँदै छ । कृपा र कीर्तन त्यस गाउँका असल बालबालिकामा गनिन्छन् । उनीहरूलाई सबैले माया गर्छन् । पढाइमा पनि तेज भएकाले दुवै सबैका प्रशंसापात्र बनेका छन् ।

सुन्दरचौरमा मात्रै नभएर वरिपरिका गाउँसम्म उनीहरूको फरक पहिचान फैलिएको छ । गाउँमा आफ्नै उमेरसमूहका अरू साथीहरू खेल्न निस्कँदा पनि उनीहरू घरभित्रै हुन्छन् । जे खेल खेले पनि दिदीभाइ मिलेर खेल्छन् । घरभित्रै उनीहरूको आफ्नै खेलसंसार छ । उनीहरूकी आमा निर्मला घरका काममा व्यस्त हुनुहुन्छ । घाँस काट्ने, गाईवस्तुको स्याहार गर्ने, मेलापात जाने, भान्साको काम गर्ने उहाका प्रमुख दैनिकी हुन् । दिदीभाइ पनि आफ्ना काम सकेर आमालाई सघाउन तम्सन्छन् । गाउँमै बसे पनि उहाँ सरसफाइमा निकै ध्यान दिनुहुन्छ । घरआँगन र सेरोफेरो सधै सफा राख्ने उहाँको स्वभाव छ । आमाकै स्याहारका कारण कृपा र कीर्तन सधैं स्वस्थ, निरोगी, हँसिला र सुकिला देखिन्छन् । अरू साथी दिनभरि माटामा खेली धुलाम्मे शरीर लिएर घर फर्कंदा सधैं आमाबुबाको गाली खानुपर्छ । तर उनीहरूले गालीका नाममा कसैको एक शब्द सहनुपरेको छैन आजसम्म ।

सधैं रचनात्मक काममा रमाउने दुवै दिदीभाइको स्वभाव छ । यो उनीहरूको नानीदेखिकै बानी हो । कृपा सिर्जनात्मक लेखनमा सधै अगाडि छिन् । लेखन सीपसम्बन्धी प्रतियोगितात्मक कार्यक्रममा उनी आजसम्म दोस्रो हुनुपरेको छैन । सुन्दर हस्ताक्षरमा विचित्रको शब्दजाल बुन्न सक्ने उनको विशेष खुबी छ । कीर्तनको चित्रकारितामा विशेष झुकाव छ । उनी सुन्दर चित्र बनाउँछन् । आफूले बनाएका चित्रमा आकर्षक रङ भरी सबैलाई चकित पार्छन् । चित्रहरूमा कलात्मक रङ–संयोजन गरी उनले आफ्ना घरका भित्ता सजाएका छन् । दिदीको लेखनकलाको सुवास चारैतिर फैलिएको छ भने भाइको चित्रकलाले घर धपक्कै बलेको छ ।

अलग पहिचान भएका मानिसको सोच सधै सिर्जनात्मक हुँदो रहेछ । दसैंतिहारको बिदा सुरु भएलगत्तै गाउँका अरू सबै साथी आफ्ना सबै काम बिर्सिएर खेल्न व्यस्त रहे । विद्यालयमा दिइएका गृहकार्य गर्ने जाँगर कसैले देखाएनन् । धुलोमैलो खेलेर सबैका दिन बिते । बिहान उज्यालो भएपछि घरबाट निस्किएकाहरू फाल्तु काममा दिनभरि हराउँथे । बेलुकी साँझ परेपछि मात्र टुप्लुक्क घर पुग्थे । आफ्ना कापीकिताब र झोला कहाँ छन् भन्नेसम्म पनि उनीहरूलाई थाहा भएन । उता कृपा र कीर्तनका बिदाका दिनहरू अत्यन्त रचनात्मक रहे । जरुरी काम पर्दाबाहेक बिदाका अधिकांश समय व्यस्त भए उनीहरू । कृपाले दसैंतिहारको ऐतिहासिक, धार्मिक, सामाजिक र सांस्कृतिक महत्त्वका विषयलाई समेटेर लेख लेखिन् । कीर्तनले दिदीका लेखका भाव सुहाउने सुन्दर चित्रहरू बनाए । चित्रहरूमा कुची भरेर आकर्षक बान्की दिए । दुवै दिदीभाइका काममा आमाको सहयोग रह्यो ।

बिदामा कीर्तन र कृपा बाहिर नदेखिए उनीहरूका साथी छक्क परे । अरूले यमपपञ्चक सुरु नहँ‘दै देउसीभैलो खेल्न सुरु गरे । तर उनीहरू भने लक्ष्मीपूजाको साँझदेखि मात्र भैली खेल्न बाहिर निस्के । अरू अंग्रेजी र हिन्दीका अनावश्यक गीत बजाएर गाउँभरि होहल्ला मच्चाउने गरी देउसीभैलो खेले । तर उनीहरूले नेतृत्व गरेको देउसीभैलोमा भने मौलिकता थियो । मादल र खैंजडी उनीहरूका वाद्ययन्त्र थिए । व्यावहारिक सन्देशले भरिपूर्ण गीत गाउँदै आफैं देउसीभैलो भट्टयाए । अरूले देउसीभैलोबाट संकलित रकम तुरुन्त बाँडे । खानेकुरा किनेर उत्तिखेरै सिध्याए । लंगुरबुर्जा खेलेर स्वाहा पारे । पटाका किनेर त्यसैको बारुदसँगै पड्काएर सके । कसैले भोलिपल्टै वनभोज गई उठेको रकम झ्वाम पारिहाले । तर दिदीभाइले उठेको रकमलाई बडो जतनसाथ सुरक्षित राखे ।

दसैं–तिहारको लामो बिदा सकियो । गाउँका सबै केटाकेटी कोठामा छरपस्ट भएका कापीकिताब खोजेर झोला बोकी विद्यालय पुगे । बिदामा दिइएको गृहकार्य शिक्षकले मागेपछि गाउाँछिमेकका अरू साथीहरू झसंग भए । कसैले पनि दिइएका गृहकार्य बुझाउन सकेनन् । आ–आफ्ना कक्षाभरिमा कृपा र कीर्तन मात्र गृहकार्य बुझाउने विद्यार्थी थिए । आफ्नो कर्तव्य पूरा गर्न नसकेपछि लाजले सबैका शिर निहुरिए ।

छठपर्वका दिन सार्वजनिक बिदा थियो । सोही दिन बिहानैदेखि उनीहरूको आँगन र नजिकैको खाली भाग सिंगारियो । उनीहरूको शृंगारकलाले सुन्दर गाउँको सौन्दर्यमा सुगन्धै थपिएझैं भयो । त्यस दिन दिदीभाइले गाउँभरिका मानिसलाई आफ्ना घरमा निम्त्याएका थिए । अचानक घरआँगन सिंगारिँदा गाउँलेलाई कौतुहल बढ्दै गयो । एकैछिनमा राम्रा कपडामा चिरिच्याँट्ट भई कृपा र कीर्तन बाहिर निस्के । कार्यक्रमस्थलको भित्तामा दिदीभाइले बिदामा गरेका रचनात्मक सामग्रीहरूको प्रदर्शनी गरियो । निर्देशन, नीति, सिद्धार्थ, सिद्धान्त र अनुष्काले आन्तरिक काममा उनीहरूलाई सहयोग गरे । दिउँसो एउटा कार्यक्रम आयोजना गरियो । त्यो कार्यक्रममा कृपा र कीर्तनले आफ्ना बिदाका रचनात्मक अनुभव बाँडे । तिहार बिदामा देउसीभैलोबाट संकलित रकम पनि आफ्नै गाउँको पुस्तकालयलाई दिने घोषणा गरे । उनीहरूलाई पढाउने ध्रुव सरले दुवै दिदीभाइको बिदा मनाउने रचनात्मक कार्यको सराहना गर्न‘भयो । साथीहरूले बिदामा उनीहरू बाहिर ननिस्कनुको कारण बल्ल बुझे । ससाना केटाकेटीले गरेका सिर्जनशील कार्यक्रमको सर्वत्र प्रशंसा भयो ।

प्रकाशित : आश्विन २८, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?