कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वस्थ मन

प्रा.डा. धनरत्न शाक्य

काठमाडौँ — हामी सबैको मनोस्वास्थ्य बाल्यकाल र किशोरावस्थादेखि नै अनुकूल हुनुपर्छ । मनोस्वास्थ्य ठीक भएन भने पढाइलेखाइ राम्रो हुँदैन । शारीरिक वृद्धि र मानसिक विकास हुन पाउँदैन । स्वस्थ किसिमले मनोरञ्जन लिन सकिँदैन । फुर्सदको समय सदुपयोग हुन गर्न पनि मुस्किल हुन्छ ।

स्वस्थ मन

अरूसँग सहयोगात्मक र सुमधुर सम्बन्ध बनाउन हाम्रो मानसिक स्वास्थ्य ठीक हुनुपर्छ । यसो भयो भने मात्रै हामी कुसंगत, कुलत, कुसंस्कार र तनावबाट टाढा रहन सक्छौं । बालबालिकाको व्यवहार, भावना र मनोवैज्ञानिक विकासलाई असर गर्ने मानसिक रोग २० जतिलाई हुने गर्छ । मानसिक रूपले स्वस्थ रहन परिवार, समाज र विद्यालयको वातावरण पनि अनुकूल हुन आवश्यक हुन्छ ।

अचेलको समाज छिटो–छिटो बदलिँदो छ । अस्वस्थ प्रतिस्पर्धा बढ्दो छ । बालबालिकामाथि अनुचित दबाब पनि उत्तिकै छ । देखासिकी, इन्टरनेटमा पहुँच, कुलत, कुसंगत, हिंसा र तनावजस्ता खतरनाक तत्त्व बढ्दै छन् । अभिभावक र परिवारजनको साथ सहयोग, समय र सामाजिक चालचलनजस्ता बचाउका तत्त्व घट्दा छन् ।

यी सबै कारणले गर्दा बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्यमा केही खास चुनौती देखा परेका छन् । तीमध्ये मुख्य चुनौती यस्ता छन् :

-जाँड–रक्सीजस्ता मादक पदार्थ र चुरोट, गाँजाजस्ता नसालु पदार्थको लतमा फस्न सक्छन् ।
-इन्टरनेट, सामाजिक सञ्जाल, मोबाइल, टेलिभिजन र फिल्मको लतमा पर्न सक्छन् ।
-कुसंगत र कुसंस्कारले गर्दा अनुुचित सम्बन्ध र विपरीतलिंगीप्रति अनुचित आकर्षणमा फस्न सक्छन् ।
-अल्छी भएर काम, व्यायाम र अध्ययनमा बेवास्ता गर्न सक्छन् ।
-कमजोरलाई हेप्ने, अरूसित झैझगडा गर्ने, धाक, धम्की देखाएर समस्या निम्त्याउने गर्न सक्छन् ।
-अरूको अपरिपक्व देखासिकी गर्न, अनुशासनहीन, उदण्ड, विध्वंसकारी र असामाजिक हुन सक्छन् ।
-खेलकुद, संगीत, साहित्य र कलाको ठाउँमा जुवातास, डान्सबार आदिको पछि लाग्न सक्छन् ।
-अस्वस्थ यौनसम्बन्ध राख्ने वा अश्लीलता फैलाउनेतर्फ लाग्न सक्छन् ।

विद्यालयको नाफामुखी वातावरण, नैतिक शिक्षाको कमी, अनावश्यकभन्दा बढी जानकारी लाद्ने शिक्षणविधि र खराब साथीको प्रभावले असल र जेहेनदार विद्यार्थी पनि विद्यालयमा गएर उल्टै बिग्रिन सक्छन् । च्यानल, इन्टरनेट, चलचित्र र विज्ञापनका सामग्रीमध्ये बालमस्तिष्कले सही/गलत छुट्टयाउन नसक्दा उनीहरू दिग्भ्रमित हुन सक्छन् । बालबालिका र किशोरकिशोरीमा आउन सक्ने यस्ता जोखिममा अभिभावक र शिक्षकले लापरबाही गर्दा मनस्थितिमा विचलन, छट्पटी, उदासी, अनिद्रालगायत समस्या आउन सक्छन् । उनीहरूको पढाइ, दैनिकी, खेलकुद्, सामाजिक अन्तरक्रिया आदिमा असर पर्न सक्छ । यस्तो अवस्था आउन नदिन हरेक बालबालिका र किशोरकिशोरीले निम्न पक्षमा ध्यान पुर्‍याउनुपर्छ ।

हरेक बालबालिका र किशोरकिशोरीले आफू के–कस्तो बाटोमा लागिरहेको छु भनी हर्दम होसियार रहनुपर्छ ।अध्ययन, खेलकुद, व्यायाम, संगीत, साहित्य, कला, तालिम, सामाजिक सेवाका काममा समय सदुपयोग गर्नुपर्छ । अरूसँग सम्बन्ध बनाउँदा राम्ररी बुझेर, अभिभावकको सल्लाह र जानकारीमा मात्र बनाउनुपर्छ । कलिला बालबालिका र किशोरकिशोरीबाट अनुचित फाइदा उठाउने र गलत बाटोमा लगाउनेहरू पनि समाजमा हुन्छन् भन्ने बुझ्नुपर्छ । कुनै कुरा गर्न, निर्णय लिन वा अन्योलको स्थितिमा आफ्नो कुरा सुन्ने–बुझ्ने आमाबुबा, शिक्षक, साथीसंगीलाई जानकारी दिएर, सल्लाह लिएर अघि बढ्नुपर्ने हुन्छ । हतार र अन्योलमा कुनै पाइला चालेर पछुताउने स्थिति नआओस् भनी सचेत रहनुपर्छ । आमा–बुबा र अभिभावकका असल आनीबानी, आदर, सद्भाव र समझदारीलाई ग्रहण गर्नुपर्छ । अश्लील खालका श्रव्य–दृश्य सामग्री, च्यानल, टिभी, इन्टरनेट र चलचित्रमा भुल्नु हुँदैन । सामान्यजस्ता लाग्ने समस्या बढ्दै गएर मानसिक समस्याको रूप लिएको छ भने मनोपरामर्शदाता र मनोचिकित्सकको सल्लाह लिनुपर्छ ।

प्रकाशित : आश्विन १४, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?