कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

रमाइलो नाम्चे

मनोज पौडेल

काठमाडौँ — घरको झयालबाटै देखिन्छ हिमाल । सबै घरमा छन् हरिया छाना । ढुंगा छापिएका सिनित्तै गोरेटा बाटा । पानीले घुमाइरहेका माने र नयाँ नयाँ छोर्तेन । देख्दै मनमोहक । मनै फुरुङ्ग हुने यो ठाउँ हो– सोलुखुम्बुको नाम्चे बजार ।

रमाइलो नाम्चे

चारैतिर अग्ला हिमालको फेदीमा चिटिक्क परेका सुन्दर बस्ती छन् यहाँ । खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्ने नाम्चे रमाइलो ठाउँ हो । यहाँबाट पूर्वमा ६ हजार ८ सय ८ मिटर अग्लो थम्सेर्कु हिमाल छ । पश्चिममा ६ हजार १ सय ८७ मिटर अग्लो कोङ्गदे हिमाल देखिन्छ ।

बाटोभरि रंगीचंगी ध्वजापताका देखिन्छन् । ठाउँठाउँमा बुद्धका मूर्ति र अभिलेख पनि छन् । आरोहणको मौसममा त नाम्चे भएर सगरमाथा चढ्न हिँडेका पर्वतारोहीको लस्कर बेहुली लिएर फर्केको जन्तीजस्तै देखिन्छ ।

पदयात्री र आरोहीका लागि अर्को नयाँ आकर्षण हुन्छ– शेर्पा जातिको संस्कृति । बर्सेनि हुने ल्होसार, डुम्जी र माणिरुम्डु पर्व बाहिरबाट पुग्नेका लागि नौला लाग्छन् । यही हेर्न पनि कति पर्यटक लाखौं खर्चेर विदेशबाट यहाँ आउने गरेको नाम्चे आमा समूहकी अध्यक्ष लाक्पाडोमा शेर्पा बताउँछिन् ।

तराई र पहाडका बासिन्दा नाम्चेमा चौंरीगाई र याक देख्न पाउँदा अझ रमाउँछन् । खुम्बु क्षेत्रमा एभरेस्ट–डे मे २९ मा ४२ किमि लामो म्याराथन दौड हुन्छ । यो दौड सगरमाथा बेस क्याम्पबाट सुरु भएर नाम्चेमा आइपुगेर सकिन्छ । ‘विश्वमै सबैभन्दा अग्लो ठाउँमा हुने यो दौडले संसारकै ध्यान तान्ने गरेको छ । यो साहसिक दौडमा भाग लिन बर्सेनि २ सयभन्दा बढी विदेशी नाम्चे आउँछन् ।

नाम्चे समुद्र सतहदेखि ३ हजार ४ सय ४० मिटर उचाइमा पर्छ । त्यहाँबाट नाकै ठोकिने उकालो चढेपछि ३ हजार ७ सय ९० मिटर अग्लो ठाउँ खुम्जुङ उपत्यका पुगिन्छ । ‘सगरमाथा प्रवेशद्वार लुक्लाबाट माथि छिचोलिँदा मनै रमाउन थाल्छ,’ प्रथम आरोही तेन्जिङ नोर्गे शेर्पाका नाति टासी जाम्बु शेर्पा भन्छन्, ‘४ हजार ३ सय मिटर माथि छिचोलेपछि पर्यटक
औधि खुसी हुन्छन् । नाम्चेबाट हिमालै हिमालले घेरिएको देख्दा आफूलाई भाग्यमानी ठान्छन् ।’

सगरमाथा र गोक्यो आरोहणमा जानेका लागि नाम्चे मुख्य बिसौनी हो । रेन्जो र छो भञ्ज्याङ हुँदै पदयात्रामा निस्कन पनि नाम्चे नै पुग्नुपर्छ । नाम्चे बजार अहिले सगरमाथा आरोही र बेस क्याम्पसम्म जाने पर्यटकको किनमेल गर्ने थलो पनि हो । विगतमा सर्वोच्च शिखर र बेसक्याम्प पुग्न चाहिने सबै सामान राजधानीबाटै लिएर जानुपथ्र्यौ । नाम्चे बजार सफा छ । बिजुलीका तार असरल्ल छैनन् । भूमिगत वायरिङ छ । सफा घोडेटो बाटो छ । घर निर्माणमा नियम पालना गरिएको छ ।

लोडसेडिङ छैन । नाम्चे युवा र आमा समूहले फोहोर–मैला व्यवस्थापन र सरसफाइको काम गर्छन् । २०७२ को भूकम्पपछि पुनर्निर्माण सँगसँगै बजार बिस्तार भएको छ । यहाँ ल्याइने सबै सामान लुक्लासम्म जहाजमा र त्यहाँबाट भरिया, याक र खच्चडले ढुवानी गर्छन् । कतिपयले फाप्लुबाटै भरिया र खच्चडबाट ढुवानी गरेर पनि ल्याउँछन् । यहाँ ट्रेकिङ पसल, बार, बेकरी, क्याफे, लज र ट्रेकर स्टोर खुलेका छन् । आधुनिक खाजा र कफी घरका साथै ६० भन्दा बढी लज पनि छन् ।

प्रकाशित : श्रावण २०, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?