१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जो सानैदेखि हौसिए...

सुबास हुमागाईं

काठमाडौँ — नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान रेनुका नगरकोटेले १५ वर्षकै उमेरदेखि राष्ट्रिय टोलीबाट डेब्यु गरेकी थिइन् । यसै साता सम्पन्न उपराष्ट्रपति महिला लिग फुटबल प्रतियोगितामा एपीएफले उपाधि जित्दा उनी प्रतियोगिताकै उत्कृष्ट मिडफिल्डर घोषित भइन् ।उनले राष्ट्रिय टोलीबाट खेलेको ८ वर्ष भइसकेको छ ।

जो सानैदेखि हौसिए...

उनले राष्ट्रिय टोलीमा स्थान बनाउन रौतहटको प्रतिनिधित्व गर्दै खेलेको एक प्रतियोगिता नै पर्याप्त थियो । विभागीय टोलीबाट नखेल्दै राष्ट्रिय टोलीमा स्थान बनाउने पछिल्लो दशकमा दुई खेलाडी मात्र छन् ।

रेनुकापछि दुई वर्षअगाडि रौतहटकै अञ्जना रानामगरले पनि सोही उपलब्धि हासिल गरिन् । रौतहटलाई त्यस वर्षको प्रधानसेनापति कपको फाइनलसम्म पुर्‍याउँदा उत्कृष्ट प्रदर्शन गरेकी अञ्जनाले राष्ट्रिय टोलीबाट पहिलो सहभागितामै डेब्यु पनि गरिन् । उनले पनि १५ वर्ष छँदै राष्ट्रिय टोलीको जर्सी लगाउने अवसर पाएकी थिइन् । हाल उनी त्रिभुवन आर्मी क्लबको पहिलो रोजाइको गोलरक्षकका रूपमा खेलिरहेकी छन् । राष्ट्रिय टोलीमा पनि उनले पहिलो रोजाइकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बालाई पहिलो रोजाइमा पर्न कडा चुनौती दिइरहेकी छन् ।

हाल नेपालको राष्ट्रिय टोलीमा युवा खेलाडीहरू आउने क्रम जारी छ । मञ्जली तामाङ र सरु लिम्बू पनि अहिले १८ वर्ष पुग्दै छन् । दुवै खेलाडी केही वर्षअघिसम्म विद्यालयस्तरको प्रतियोगितामा व्यस्त देखिन्थे । गोलरक्षक एन्जिला पनि सानो उमेरमै राष्ट्रिय टोलीबाट खेल्दै आएकी हुन् ।


गत साता सम्पन्न राष्ट्रिय लिगमा रौतहटले विभागीय टोली नेपाल पुलिस क्लबलाई पनि पराजित गरेको थियो । विभागीय टोलीविरुद्ध लिगमा रौतहटको यो नै पहिलो जित थियो । प्रशिक्षक नुरराज काफ्ले लगातार मिहिनेत गरेको कारण नै यस्तो सफलता हात लागेको बताउँछन् । ‘यसअघि नकआउट प्रतियोगितामा विभागीय टोलीलाई हराए पनि लिगमा पहिलोपटक सफल भयौं । हामीले गरेको नियमित प्रशिक्षणका कारण हाम्रो पहिलो चरणको प्रदर्शन राम्रो भएको थियो । लिगमा पनि त्यसलाई निरन्तरता दिएका दियौं,’ उनले भने ।

रौतहटले लिगमा तेस्रो स्थान हात पार्दै ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो । यस क्रममा रौतहटले काठमाडौंलाई ४–० र पुलिसलाई १–० ले पराजित गर्‍यो । आर्मी र एपीएफविरुद्ध पराजित भए पनि टोलीको प्रदर्शन प्रशंसनीय रहयो । युवा खेलाडीले भरिपूर्ण रौतहटले अनुभवी खेलाडीको वर्चस्व रहेका विभागका टोलीलाई खुलेर खेल्न दिएनन् । रौतहटकी युवा फरवार्ड रश्मिकुमारी घिसिङले प्रतियोगिताको उत्कृष्ट फरवार्डको उपाधि हात पारिन् । १६ वर्षीय रश्मिले ट्रफीसँगै नगद १० हजार पनि पाइन् । शारीरिक रूपमा निपुण रश्मि विगत केही वर्षयता राष्ट्रियस्तरमा आफ्नो छाप बसाउँदै आएकी छन् । अब हुने यू–१८ उमेर समूहको प्रतियोगितामा उनले नै नेपालको आक्रमण सम्हाल्ने प्रबल सम्भावना रहेको छ ।

रश्मिसँगै यू–१८ को अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न एन्फाले खेलाडी छनोट गर्न सुरु गरिसकेको छ । देशभरका उत्कृष्ट खेलाडी जम्मा गरेर युवा टोली बन्ने गर्दछ । यस्तै युवा टोलीमा राम्रो प्रदर्शन गर्ने खेलाडी भविष्यमा राष्ट्रिय टोलीबाट खेल्ने अवसर पाउँछन् । सानो उमेरमै ठूलो प्रतियोगिता खेल्न पाउँदा खेलाडीको विकासमा पनि सहयोग पुग्छ । यसले उनीहरू सिनियर टोलीमा खेल्न पाउँदा थप सहज हुन्छ । नेपालकै फुटबल लिगलाई थप रोमाञ्चक बनाउन पनि यसले मद्दत गर्छ ।

नेपालले यसअघिका वर्षहरूमा १४ वर्षमुनिका प्रतियोगिता मात्र खेल्दै आएकोमा यस पटकबाट १६ र १९ वर्षमुनिका प्रतियोगिता पनि खेल्दै छ । यसले कम उमेरमा प्रतिभा बोकेका खेलाडीलाई अगाडि बढ्न सजिलो हुन्छ । विद्यालयस्तरमा राम्रो फुटबल खेल्ने खेलाडीले चाँडै राम्रो मौका पाए भने राष्ट्रका लागि पनि खेल्न पाउँछन् । विद्यार्थीले पढाइसँगै खेलकुदमा लागेर पनि राम्रो प्रगति गर्न सक्छन् ।

प्रकाशित : श्रावण २०, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?