मुगुदेखि स्पेनसम्म

नरेन्द्र रौले

काठमाडौँ — असार अन्तिम साता उपराष्ट्रपति कार्यालयको मिटिङ हलमा उपराष्ट्रपति नन्दकिशोर पुनले सोधे, ‘स्पेन कस्तो लाग्यो त ?’‘हामी त भाग्यमानी रहेछौं । १४ वर्षको उमेरमै स्पेन घुम्न पायौं ।

ठूलो समुद्र, जमिनमुनि गुड्ने रेल देख्न पाइयो,’ मुगुको रारा छायानाथ नगरपालिका ५ की १४ वर्षीया रिता रोकायाले भनिन्, ‘स्पेनमा मेस्सीले फुटबल खेलेको ग्रान्ड नोउ फुटबल स्टेडियम र सुनको जुत्ता देख्दा त कम्ती खुसी लागेन ।’

सोही नगरपालिका १ छत्यालबाडाका विपना मल्ललाई स्पेन पुगिएला भन्ने सपनामा पनि लागेको थिएन । गाउँमा मानिस भन्थे, ‘तिमीहरूलाई कहाँ विदेश लग्छन् ? बरु बेच्न लग्छन् ।’

पासपोर्टमा भिसा लागेपछि गाउँका सबै जना छक्क परे । ‘हामीलाई पनि ए, साँच्चै पो रैछ भन्ने लाग्यो,’ विपनाले सुनाइन्, ‘त्यसपछि पनि गाउँमा कतिले विश्वास गरेकै थिएनन् ।’ सुनमति बूढाको घरमा त भिसा लागेपछि पनि धामी, झाँक्री देखाइयो । देउताले ‘राम्रो हुन्छ जाऊ’ भनेपछि मात्र उनी स्पेन जान राजी भइन् ।

मुगुकी रिता रोकाया र विपनासहित १७ किशोरीले हालै मुगुदेखि स्पेनसम्मको यात्रा गरे । फर्केपछि उनीहरूले एउटा भेटघाटमा उपराष्ट्रपतिलाई आ–आफ्नो अनुभव सुनाए ।

मुलुककै विकटमध्येको जिल्लाका यी किशोरीले जीवनमै पहिलोपल्ट गाडी चढे । पहिलोचोटि विमान चढे । उनीहरू सबैले अचम्मको अनुभव बटुले । मुगुदेखि नेपालगन्ज आउँदा रितालाई डर लागिरहयो । ‘पहिलोचोटि प्लेन चढ्दा कुन खोलामा खसिने हो कि भन्ने लागिरहयो,’ उनले भनिन्, ‘जहाज चढ्नुअघि झाँक्रीले दिएको चामल पनि छर्कियौं ।’ जहाज चढेपछि सबैजना चिच्याए । कतिले त बान्ता पनि गरे । कतिले पछिसम्मै कान दुखेको सुनाए ।







काठमाडौंबाट टर्कीको राजधानी इस्तानबुल पुग्न ८ घण्टा लाग्यो । टर्कीदेखि स्पेनको बार्सिलोना साढे ३ घण्टामै पुगियो । जहाजमा खानेकुरा दिइँदो रहेछ भन्ने कुरा उनीहरूले पहिलोपल्ट थाहा पाए । तर रिंगटा चलेर कसैलाई खानै मन लागेन । ‘दुई दिनसम्म भोकै बस्यौं,’ अर्की छात्रा सत्यलक्ष्मी बूढाले भनिन्, ‘बरु जुस मात्रै पियौं ।’

मुलुककै विकटमध्येको जिल्ला हो मुगु । हिउँमा फुटबल खेल्ने बानी परेका किशोरीले सुरु गरेको क्लबको नाम हो, टिम रारा । उनीहरूले फुटबल खेल्न थालेको धेरै भएको छैन । ६ महिनाअघि मुगुको एउटा एफएम रेडियोमा सूचना बज्यो । १४ वर्षमुनिका छात्राहरूको फुटबल प्रतियोगिता हुँदै छ । जिल्ला स्तरमा छनोट हुनेले स्पेनमा हुने फुटबल प्रतियोगितामा भाग लिन पाउनेछन् । यो सूचना धेरै किशोरीका कानमा पर्‍यो । तर सुरुमै विश्वास लागेको थिएन । धेरै किशोरीका अभिभावकले फुटबल खेल्नै दिएनन् । ‘फुटबल नखेल, छोरी मान्छे बिग्रन्छ भन्थे,’ महाकाली मावि, रोबामा कक्षा ६ मा पढ्ने रोशनी कामीले भनिन् ।

तर जसले जे भने पनि मुगुका यी किशोरीले हिम्मत हारेनन् । उनीहरू स्कुल र घरबाट भागेर फुटबल खेल्न जान्थे । मुगुमा ६ महिनाअघि भएको फुटबल प्रतियोगितामा जिल्लाभरिबाट १० टिमका १ सय ४० जनाले भाग लिए । त्यसमध्ये सुरुमा ३१ जना छानिए । त्यसबाट पनि अन्त्यमा स्पेन जानका लागि १७ जना टनौटमा परे । उनीहरूलाई स्पेनमा आयोजित ‘डोनास्टिक कप फुटबल’ प्रतियोगितामा भाग लिने बन्दोबस्त ‘सुनाकली’ डकुमेन्ट्रीका निर्माता पत्रकार भोजराज भाटले मिलाएका हुन् ।

मुगुमा फुटबल मैदान छैन । भिरालो जमिनमा, जाडोयाममा हिउँमै उनीहरू फुटबल खेल्छन् । काठमाडौं आउनुअघि उनीहरूले मुगुकी फुटबलर सुनाकलीलाई मात्र चिन्थे । यता आएपछि मेस्सी, रोनाल्डो, नेयमारका बारेमा थाहा पाए । टेलिभिजनमा हालैको विश्वकप फुटबल हेरे । त्यसपछि त खेलमा झन् चासो बढ्न थाल्यो ।








गएको असारमा स्पेनमा आयोजित ‘डोनास्टिक कप’ प्रतियोगितामा उनीहरूले भाग लिए । त्यहाँ विश्वका ३४ देशका ६ सय ३० टिमबाट ७ सय खेलाडी सहभागी थिए । नेपालका १७ किशोरीमध्ये संगीता थापा र विपना मल्ल किपर हुन् भने बाँकी सबै खेलाडी । उनीहरूले ४ टिमसँग खेले । जित हात पार्न नसके पनि उनीहरू अर्को पटक जित्ने हिम्मत बटुलेर फर्किए ।

स्पेनमा पुगेका बेला सबैले समुद्र किनारमा पौडी खेले । नुनिलो पानी चाखे । ‘समुद्रको छालले हुत्याउँदा निकै डर लाग्यो,’ रिताले सुनाइन्, ‘पौडी खेल्न भने रहर लाग्छ ।’ उनीहरूले मेस्सी र रोनाल्डोले फुटबल खेलेको ग्रान्ड नोउ फुटबल स्टेडियम र खेलाडीले लगाउने गोल्डेन बुट, जर्सी आदि देखे । पुराना चर्च पनि देखे । स्पेन पुग्दा पनि रारा घुमेको र हिउँमा खेलेको सम्झिए ।

स्पेन यात्राले मुगुका किशोरीलाई धेरै कुरा सिकाएको छ । अरू मानिससँग बोल्न, व्यवहार गर्न, आफ्नो कामप्रति जिम्मेवार बन्न र असल नागरिक बन्न सिकाएको छ । ‘घर पुगेर स्पेनमा देखेका, बुझेका कुराहरू सुनाउन आतुर छु,’ सुनमतिले आफ्नो इच्छा सुनाइन् । मुगु फर्केर गर्नै पर्ने धेरै योजना छन्, यी किशोरीका । जस्तो कि गाउँघरमा बालविवाह अझै छ ।
‘सडक नाटक र खेलकुदमार्फत पनि यस्तो कुरीति हटाउन जनचेतना जगाउनेछौं,’ उनीहरूले भने, ‘अब त हामी पनि बाठा भइसक्यौं ।’ मुगुका यी सबै किशोरीको मुहारमा पहिलाभन्दा अझ उज्यालिएको छ । मनमा पनि आत्मविश्वास बढेको छ ।

प्रकाशित : श्रावण १३, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

फेरिएन घरेलु कार्यालय

शाखा बनाइए पनि पूर्वाधार र जनशक्ति अभावले अघि बढ्न सकेन
वीरेन्द्र केसी

अर्घाखाँची — हतारमा कार्यालयको नाम उल्लेख गरिएको बोर्ड फेरियो । काम नभएपछि फेरि पुरानै नाम कायम गरियो । संघीय संरचनाअनुसार स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयलाई सन्धिखर्क नगरपालिकामा गाभियो ।

प्रदेश संरचनामा जानुअघि घरेलु कार्यालयको बोर्ड (बायाँ) र नयाँ संरचनाअनुसार स्थानीय तहमा समायोजन भएपछिको बोर्ड । तस्बिर : वीरेन्द्र । कान्तिपुर

कार्यालयलाई नगरपालिकामा उद्योग विकास शाखा बनाएर ०७४ साउन १ गते बोर्ड परिवर्तन गरियो । माघमा शाखा हटाएर पुरानै नाम यथावत् गरिएको छ । शाखाको रूपमा नयाँ काम भएन ।

उद्योग विभागले विनियोजन गरेको बजेटमा रहेर पुरानै काम गरियो । सन्धिखर्क नगरको शाखा बनाइए पनि अरू पाँच स्थानीय तहमा कर्मचारी अभावले शाखा खुलेन । ‘पालिकामा गाभिँदा कोष तथा लेखा नियन्त्रक कार्यालयले रकम भुक्तानी गरिदिएन,’ कार्यालय प्रमुख कमल कार्कीले भने, ‘त्यसैले बोर्ड फेर्यौं । शाखा भएपछि नयाँ काम केही भएन ।’ सन्धिखर्क नगर प्रमुख कमलप्रसाद भुसाल, उपप्रमुख ठाकुर विकसँग सामान्य छलफल भए पनि नयाँ योजना अघि सारिएन । पालिकाले खासै वास्ता पनि गरेनन् ।

घरेलु विभागसँग परामर्शपछि नयाँ बोर्ड फालेर पुरानै राखिएको उनले बताए । जिल्लामा तीन नगर र तीन गाउँपालिका छन् । कुनैले पनि एक रुपैयाँ छुट्याएनन् । अघिल्लो आवमा विभागबाट एक करोड २७ लाख ७३ हजार रुपैयाँको बजेटमा चार सय ८३ जनालाई घरेलुसम्बन्धी तालिम दिइएको उनले बताए । सिलाइ, बुटिक, सल, झोला, बाँसका हस्तकला र उद्यमशीलता कार्यक्रम पालिकासँगको समन्वयमा गरिएको उनले बताए । ‘नगर र गाउँसभामा अन्य विकास योजनामा बजेट विनियोजन गरे पनि घरेलुका लागि नछुट्याएपछि कसरी काम गर्ने ?’ उनले भने, ‘राजस्व उठाउन पनि समस्या भयो ।’ पहिले त विभागबाटै समितिलाई बजेट आएको थियो । यो आवमा केही कार्यक्रम आएन ।

‘प्रदेश सरकारमार्फत बजेट आउँछ भनिएको छ,’ उनले भने, ‘हामी कुरेरै बसेका छौं । अब फेरि बोर्ड फेरिन्छ कि फेरिँदैन थाहा छैन ।’ सन्धिखर्क नगरमा गाभिएर शाखा भए पनि काम पुरानै तरिकाले गरिएको थियो । लेटरप्याड पनि समितिकै नाममा चलेको थियो । काम केही नभएपछि विकास शाखाको लेटरप्याड बनाइएन । दुई कार्यालय सहयोगी, एक लेखापाल, एक प्राविधिक, एक खरिदार र कार्यालय प्रमुख रहेका छन् । घरेलुले गर्ने उद्यमशीलता, लघुवित्तसहित विभिन्न तालिम पालिकाले घरेलुलाई सम्पर्क नै नगरी आफ्नै तरिकाले सञ्चालन गरेका छन् ।

‘नाम के छ थाहा छैन,’ सन्धिखर्क नगर उपप्रमुख विकले भने, ‘समन्यव गरी काम गरेका छौं । घरेलुका आफ्नै कारण होला नाम फेर्ने तालिमका लागि व्यवस्थापकीय काममा आवश्यकताअनुसार छलफल भएको छ ।’ भूमिकास्थान नगरपालिका प्रमुख रेशम थापाले सिलाइ कटाइ, ढाका बुनाइलगायतमा महिला लक्षित शीर्षकमा बजेट छुट्याएर कार्यक्रम गरिरहेको बताए । युवा स्वरोजगारमा पनि युवा लक्षित कार्यक्रम छन् । पालिकामा घरेलुको विकास शाखा छैन । अहिलेसम्म घरेलु समितिसँग कुनै समन्वय छैन, उनले भने ।

पालिकाले आफ्नै ढंगले कार्यक्रम सञ्चालन गरेपछि समितिले फर्म दर्ता, नवीकरणलगायतमात्रै गरेको छ । पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले पालिकामा घरेलु विकास शाखा स्थापना नभए पनि ढाका बुनाइ, सिलाइकटाइ र सीपमूलक कार्यक्रम सञ्चालन गरिएको बताइन् । स्वरोजगार र सीपमूलक तालिम गर्न घरेलुसँग कसरी काम लिने भन्ने आइडिया जनप्रतिनिधिमा नभएको बुद्धिजीवीको भनाइ छ ।

प्रकाशित : श्रावण १३, २०७५ १०:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×