कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साउन पन्ध्र

कान्तिपुर संवाददाता

काठमाडौँ — ए नानी ! शारदा, एकछिन भित्र आऊ त’ भित्र भान्साबाट हजुरआमाले बोलाउनुभयो । शारदा बाहिर सिकुवामा खेल्दै थिइन् । ‘किन हजुरआमा ? किन बोलाउनुभएको ?’ भन्दै शारदा पनि भित्र गइन् ।

साउन पन्ध्र

हजुरआमा अँगेनाका डिलमा बसेर कुँडेभरि दूध उमाल्दै हुनुहुन्थ्यो । ‘नातिनी ! आज तिम्रो र मेरो खाजा पकाउने पालो छ । मलाई सहयोग गर्दिनौ ?’ ठूला डाडुले कुँडेको दूध ध्वार्रध्वार्र पार्दै हजुरआमाले भन्नुभयो ।

‘गर्छु नि आमा, किन नगर्नु ? बरु भन्नु न मैले के सहयोग गर्नुपर्छ ?’ शारदाले फूर्तिली भएर भनिन् ।
‘यी आलु ताछिदेऊ न छोरी,’ हजुरआमाले उसिनेका आलु राखेको तपेस शारदातिर सार्दै भन्नुभयो । ‘किन आमा ? किन दिउँसो दूध उमाल्नुभएको ? हिजोअस्ति त बिहानबेलुका मात्र दूध उमाल्नुहुन्थ्यो । मैले त केही बुझिनँ नि,’ हजुरआमाको काम अनौठो मान्दै शारदाले सोधिन् ।

‘आज साउन पन्ध्र हो । खीर खाने दिन । खीर पकाउन लागेको नि । आज हामी खीरकै खाजा खाने है,’ हजुरआमाले नातिनीलाई सम्झाउँदै भन्नुभयो । दूध निकै बेर उम्लिसकेको थियो । हजुरआमा आगो ओझाएर उठ्नुभयो । उहाँ भर्सेलीतिर जानुभयो । भर्सेलीमाथि सराङबाट एउटा नाङ्लो निकै जतन गरी झिक्नुभयो । काकीले केलाएर त्यस नाङ्लामा पोखरेली धानको चामल राख्नुभएको रहेछ । एक अँजुली तिनै चामल झिकेर हजुरआमाले दूध उम्लादै गरेका कुँडेमा हाल्नुभयो । अनि पुन्यूले चलाउन थाल्नुभयो । शारदा हजुरआमाका छेउमा बसेर आलु ताछिरहेकी थिइन् ।

‘आमा † साउन पन्ध्रमा किन खीर खाने ? अघिपछि खानु हुँदैन र ?’ मनकी सफा शारदाले नबुझेको कुरा सोधिन् ।‘किन नहुनु, जत्ति हुन्छ । तर साउन पन्ध्रमा खीर खाने परम्परा छ । हामी किसानहरू समयअनुसारका खानेकुरा खान्छौँ । अस्ति असार पन्ध्रमा दहीचिउरा खायौँ । त्यतिखेर हामीलाई कामको हतारो थियो । झटपट दहीचिउरा छिटो, मीठो र शीतल पनि । अहिले त्यस्तो हतारो छैन । त्यसैले सुरैसँग खीर पकाएर खाने नि,’ हजुरआमाले बुझाउनुभयो ।

लामो लेग्रो तानेर शारदाले बुझेझैं गरी भनिन्, ‘ए !’
‘नानी † अर्को पनि कुरा छ,’ एकैछिन यताउता हेरेर हजुरआमाले भन्नुभयो, ‘पहिले उ: त्यो खोपामा भएका हर्पे, गुप्ते र त्यहाँ देखिएका ससाना पोका ल्याऊ त ।’
कुँडेमा खीर छड्कँदै थियो । नडढोस् भनेर हजुरआमा त्यसलाई चलाइरहनुभएको थियो । हर्पेको घ्यू कर्केलीले झिकी हजुरआमाले खीरमा हाल्नुभयो । गुप्तेमा मिस्री रहेछ । मिस्रीका डल्ला सिलौटोमा राखी लोहोराले फुटाएर छड्कँदै गरेका खीरमा थप्नुभयो । ससाना पोकाबाट झिकी अलैँची, ल्वाङ, सुकमेल, मरिच, दालचिनी पनि खीरमा मिस्नुभयो । सबै मसला
हालिसकेर हजुरआमाले खीर राम्ररी चलाउनुभयो । एकछिनमा खीर पाक्न लागेको देखियो । हजुरआमाले आगाको आँत अलिक कम पार्नुभयो ।

‘आमा ! अर्को पनि के कुरा छ भन्नुभएको ?’ शारदाले कुरा कोटयाइन् ।‘ए, अघिको कुरा ? के भने नि, हामी किसानले बर्खामा घामपानी नभनी काम गर्नुपर्छ । दिनभरि हिलामा डुबिन्छ । कहिले झरीमा भिजिन्छ, कहिले घाममा सुकिन्छ । जीउ गलेर हैरान हुन्छ । बर्खाभरिको सर्दी मेट्न र शरीरमा तागत ल्याउन पनि साउन पन्ध्रमा खीर खाने गरिन्छ,’ हजुरआमाले भन्नुभयो ।
‘उसो भए यो त गाउँमा बसेर खेती गर्ने किसानले मात्र खानेकुरा रहेछ । सहरमा बस्ने, मेरा बाबाजस्तै जागिरे, मजस्तै विद्यार्थीले खीर खानु पर्दैन होला हैन र आमा ?’ हजुरआमासँग ठट्टा गर्दै शारदाले भनिन् । शारदाको कुरा सुनेर एकछिन त हजुरआमा जिल्ल पर्नुभयो ।

शारदाले आलु ताछिसकेकी थिइन् । चुलेसीले काटेर हजुरआमाले आलुलाई ससाना टुक्रा बनाउनुभयो । अकबरे खोर्सानी, नुन र तीनचार दाना टिम्मुर पिसेर हाल्नुभयो । सम्पटमा राखेको तिलको छोप र चौंठोमा राखेको कागतीको अमिलो पनि हाल्नुभयो । गरियोमा राखेको तोरीको तेल डाडुमा तताउनुभयो । त्यसमा अलिकति जिराका दाना र बेसार फुराएर आलुको अचार झान्नुभयो । तिलको छोप हालेर हातले मोल्दा आलुको अचार खाऊँखाऊँ लाग्ने भयो । उसमाथि पोखरेली चामलको खीर † हरर्र बासना आइरहेको थियो । शारदालाई भने सहरका मानिसले साउन १५ मा खीर खानुपर्छ कि पर्दैन होला त भन्ने लागि नै रहेको थियो । उनले सोधिन्, ‘साँच्चै भनेकी आमा सहरमा बस्नेले त नखाए पनि हुन्छ होला नि । झरीमा भिजिँदैन, हिलामा काम गरिँदैन अनि किन खानुपर्‍यो त खीर ?’

हजुरआमाले कुराको सिलसिला मिलाउँदै भन्नुभयो, ‘त्यसो होइन नातिनी । बर्खामा जहाँ बसे पनि पानीझरीले सताउँछ । दिन लामा हुन्छन् । आराम पुग्दैन । जीउ थाक्छ । गर्मीमा आफ्नै शरीरका पसिनाले पनि सर्दी हुन्छ । फेरि हेर न यत्रो दूध, घ्यू, मरमसला हालेर बनाएको खीरमा औषधि र तागत दुवै कुरा हुन्छन् । गाउँसहर जहाँसुकै बस्ने मानिसले पनि यस समयमा तात्तातो खीर खानु राम्रो हुन्छ । त्यसैले होला उहिल्यै बाजेबराजुका पालादेखि साउन पन्ध्रमा खीर खाने चलन चलेको ।’

‘उफ् ! के बिघ्न गर्मी !’ बाहिर सिकुवाको खाटमा बस्दै हजुरबाले भन्नुभयो । ‘छोरी ! शारदा पानी ल्याऊ न बा ! साह्रै तिर्खा लाग्यो,’ अनुहारको पसिना पुस्दै काकाले भन्नुभयो । काका र हजुरबा बाघे खेतमा जानुभएको थियो । त्यहाँबाट एकएक भारी घाँस ल्याउनुभयो । उकालो बाटो, तरतरी पसिना काढ्दै बोकेका घाँसका भारी मतानमा देखिन्थे । अम्खोराभरिको चिसो पानी खाँदा आँतै शीतल भयो ।

‘के गर्दै छौ हँ, यतिखेर ? पेटमा मुसा दौडन थाले ।’ हजुरबा बोल्दै भित्र पस्नुभयो । काकीले वस्तुभाउलाई घाँसपानी र बेलुकाको खोलेको व्यवस्था मिलाएर आउनुभयो । हातखुट्टा धोएर सबै जना भान्साकोठामा भेला भए । हजुरआमाले सबैलाई खीरको भाग लाउनुभयो । भागका छेउमा आलुको अमिलो अचार राखिदिनुभयो । खीरमा कर्केलीले थपीथपी घ्यू हालिदिनुभयो । सबै जनाले मीठो मानीमानी खाए । शारदालाई त्यस दिन खीर साह्रै मीठो लाग्यो । उनले भनिन्, ‘आमा ! अब सधैं म मामुलाई साउन पन्ध्रमा खीर पकाउन लाउँछु ।’

हजुरबाले भन्नुभो, ‘नानी ! तिमीलाई खीर साह्रै मीठो लाग्यो ?’ ‘हो हजुरबा, अघिपछिको भन्दा साउन पन्ध्रको खीर निकै मीठो हुँदो हरेछ,’ शारदाले हाँसेर उत्तर दिइन् । हजुरआमाले शारदालाई खीर थपिदिनुभयो । शारदाले चाटिचुटी पारेर खाइन् ।

प्रकाशित : श्रावण १३, २०७५ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?