कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

१७ दिन गुफामा थुनिँदा....

काठमाडौँ — पछिल्ला दुई साता विश्वका प्रमुख सञ्चारमाध्यमको ध्यान एकपटक एसियाली देश थाइल्यान्डतर्फ तानियो । घटना दुस्खद् भए पनि त्यसको अन्त्य भने सुखद रहयो । गत जुन २३ मा थाइल्यान्डको उत्तरी प्रान्त चियाङराईको एक विद्यालयका १२ विद्यार्थी आफ्ना फुटबल प्रशिक्षकसहित नजिकैको गाउँमा फुटबल खेल्न गए ।

१७ दिन गुफामा थुनिँदा....
  • बालबालिका थुनिएको गुफाको अगाडिको भाग ।
  • थुनिएका बालबालिका उद्धारपछि ।
  • थुनिएकाको सकुशल फिर्तीको कामना गर्दै अरू बालबालिका ।
  • थुनिएका बालबालिकाको उद्धारपछि खुसी भएका अन्य बालबालिका ।

विद्यार्थीहरू ११ देखि १६ वर्ष उमेरका थिए भने उनीहरूका प्रशिक्षक २५ वर्षका । तर फुटबल खेल स्थगित भएपछि उनीहरू केही समय तालिम गरे । फर्कने बेलामा उनीहरू नजिकैको थाम लुआङ नाङ नन गुफा घुम्न गए । करिब १० किलोमिटर लामो गुफा थाइल्यान्डको प्रमुख पर्यटकीय स्थलमध्येको एक हो । तर वर्षायामको सुरुवातसँगै उक्त क्षेत्रमा पर्यटकहरू आउने क्रम रोकिएको थियो ।

विद्यार्थीले गुफा घुमे र निकै रमाइलो पनि गरे । तर फर्कने बेलामा निकै ठूलो पानी पर्‍यो । घण्टांैसम्म पनि पानी पर्न नरोकिएपछि गुफा क्षेत्रमा निकै ठूलो बाढी आयो । पानी गुफामा पस्न थालेपछि विद्यार्थी सुरक्षित रहन जमिनको अग्लो स्थान खोज्दै जान थाले । यस क्रममा उनीहरू गुफाको प्रवेशद्वारबाट करिब साढे चार किलोमिटर टाढा पुगे । उनीहरू त्यहाँको पानीले नडुबेको अग्लो स्थानमा बसे । तर ३र४ दिनको भीषण वर्षाका कारण गुफामा पसेको पानीको सतह घट्नुको साटो झन् बढ्दै गयो । फलस्वरूप, उनीहरू गुफाबाट बाहिर निस्कन असमर्थ भए । घुम्न जाने क्रममा बोकेको केही खानेकुरा र पानीको भरमा केही दिन बिताए ।

यता थाइल्यान्डका सञ्चारमाध्यममा १२ विद्यार्थीसहित उनीहरूका प्रशिक्षक हराएको खबर छापिएपछि खोजी कार्य सुरु भयो । तर उनीहरू कतै भेटिएनन् । त्यस क्रममा थाइल्यान्डका सुरक्षाकर्मीले उनीहरू गुफाभित्र फसेको हुन सक्ने अनुमान गरे । यतिन्जेल उनीहरू हराएको समाचार विश्वभर फैलिइसकेको थियो । बाढीग्रस्त गुफाभित्र खोजी गर्नका लागि बेलायतबाट २ जना गोताखोर मगाइए । जोन भोलानाथन र रिक स्टान्टनले गुफाभित्र विद्यार्थीहरूको खुट्टाको डोब भेटेको जनाउँदै जीवितै उद्धार गर्न सकिने आशा व्यक्त गरे ।


उनीहरूले गुफाका अधिकांश जलमग्न स्थानमा खोजी गर्दै जाँदा नवौं दिनमा उनीहरू गुफाको एक अग्लो स्थानमा बसिरहेको देखे । ९ दिनसम्म उनीहरू निकै भोकाए । आफूसँग भएको केही खानेकुरा र पानी पहिलो दिन नै सकिइसकेको थियो ।

तर पनि प्रशिक्षकले सबै कुरा ठीक हुने भन्दै नआत्तिईकन बस्न हौसला दिने गर्थे । गोताखोरलाई देख्नेबित्तिकै एक बालकले आफूलाई निकै भोक लागेको संकेत गरे । तर गोताखोरले आफूसँग खानेकुरा नभएको र त्यसका लागि भोलिपल्टसम्म कुर्नुपर्ने बताएपछि उनले हुन्छ भन्दै टाउको हल्लाए । भोलानाथनको ‘कतिजना छौ रु’ भन्ने एक प्रश्नमा विद्यार्थीले जवाफ दिए– ‘१३ जना ।’ गुफाको प्रवेशद्वारबाट विद्यार्थी बसेको स्थानमा पुगेर फर्कन करिब ११ घण्टा लाग्थ्यो । भोलिपल्ट गोताखोरसहित थाइल्यान्डको जलसेनाका अधिकारीहरू पानी, खानेकुरा, अक्सिजन सिलिन्डर र ओड्ने, ओछयाउनेसहित विद्यार्थी बसेको स्थानमा पुगे । उनीहरूसँग सेनाका एक चिकित्सक र औषधिसमेत थियो ।

त्यसलगत्तै सुरक्षाकर्मीले उक्त गुफामा पानीको सतह निकै बढिरहेको बताए । उनीहरूले उक्त पानी घट्न करिब ४ महिना लाग्ने आंकलन गरे । उनीहरूलाई तत्काल गुफाबाट बाहिर ल्याउन पनि सम्भव थिएन । किनकि गुफाका विभिन्न स्थानमा पानीमा पौडिँदै, अग्लो स्थानमा चढ्दै तथा कतिपय स्थानमा घस्रिएर निस्कनु पथ्र्यो । गुफामा फसेका विद्यार्थीमध्ये अधिकांश पौडन जान्दैनथे । त्यसैले विद्यार्थीलाई करिब ४ महिना पुग्ने खाद्यान्न तथा पानीको व्यवस्था गर्न लागियो । तर निरन्तरको वर्षासँगै पानीको सतह बढ्न थालेपछि थाइल्यान्डका सुरक्षाकर्मीहरू जोखिम भए पनि विद्यार्थीको उद्धार गर्ने निर्णयमा पुगे । त्यसका लागि उनीहरूले गुफाको पानी तानेर फाल्न थाले । ४ दिनमा उनीहरूले पम्प प्रयोग गरी करिब १४ करोड लिटर पानी गुफबाट बाहिर ताने ।

पानीको मात्रा केही घटाएपछि सुरक्षाकर्मीले गुफाको प्रवेशद्वारबाट उनीहरू बसेको स्थानसम्म डोरी टाँगे । गुफामा अक्सिजनको मात्रा १५ प्रतिशतमा झरेपछि अभाव हुन नदिन विभिन्न सय स्थानमा माथिबाट प्वालहरू पारे । त्यसैगरी अक्सिजन सिलिन्डर, अनुहार तथा टाउको सुरक्षित राख्न लगाइने मास्क, विद्यार्थीलाई पानीमा माथि तैराउन प्रयोग गरिने हावा भरेको प्लास्टिकका सिलिन्डरलगायत आवश्यक सामग्री तयार पारे । सबै तयारी पूरा गरिसकेपछि सुरक्षाकर्मीहरू १६ औं दिन अर्थात् गत आइतबार र सोमबार चाररचार जना विद्यार्थी उद्धार गर्न सफल भए । उद्धारकर्ताहरूले सोमबार थप ४ विद्यार्थीसहित उनीहरूका प्रशिक्षकलाई गुफाबाहिर ल्याए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार गुफामा फसेकाको उद्धार गरिएलगत्तै स्थानीयले उनीहरूलाई राखिएको अस्पतालअघि खुसी मनाएका थिए ।

प्रकाशित : असार ३१, २०७५ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?