सानी पुतली

कथा
जानुका खतिवडा

काठमाडौँ — शनिबारको दिन थियो । बाबाले चिडियाखानामा थरीथरीका जनावर देखाउन लैजान्छु भन्नुभएको थियो त्यसैले उपासना दङ्ग थिइन् । बिहान उठेदेखि नै उनी फर्‍याकफुरुक गर्दै यताउता गरिरहेकी थिइन् । छिटोछिटो खाना खाएर निस्कने योजना भएकाले आमा भान्सामा व्यस्त हुनुहुन्थ्यो । हजुरआमाको पूजापाठ सकिएको थिएन । त्यतिकैमा डोरबेल बजेको सुनेर बुवा ढोका खोल्न जानुभयो । ढोकामा नचिनेका मान्छे उभिएको देखेर उपासना आफ्नो कोठाभित्र पसिन् । बुवाले पाहुनालाई बैठक कोठामा लैजानुभयो । निकैबेर उहाँहरूको भलाकुसारी चल्यो ।

आमा भान्सामा मीठामीठा पक्वान्न तयार पार्न व्यस्त हुनुहुन्थ्यो । उपासनाले कोठामै बसीबसी मीठो बास्ना थाहा पाइन् । उनलाई दौडिएर आमा भए ठाउँमा जान मन लाग्यो । बिस्तारै उनी ढोकासम्म आइन् । बैठकमा बसेका अपरिचित पाहुना देखेर उनलाई बाहिर निस्कने हिम्मत आएन ।

ढोकाको च्यापबाट अलिकति टाउको निकालेर उनले चारैतिर हेरिन् । हजुरआमा पनि पूजापाठ सिध्याएर पाहुना भएतिरै जानुभयो । उनलाई भने कसैले बोलाएनन् । ढोकासम्म पुग्दै फर्किंदै गरेको चौथो पटकसम्म पनि कसैले उनलाई नदेखेकाले उनको मन खिन्न भयो । उनी फर्किएर ऐना अगाडि गइन् । आफूलाई नै एकछिन टुलुटुलु हेरिरहिन् ।

‘नरिसाऊ है मेरी पुतली अर्को शनिबार पक्का लैजान्छु चिडियाखाना.. ।’ उनले बुवाले भनेझैं गरेर आफैंलाई जवाफ दिइन् । बुवाले अर्कोपल्ट जाऊँला है भन्नुभएको पनि यो समेत तीनपटक भइसकेको थियो ।कहिले के कामले बुवालाई बाहिर जानुपर्ने त कहिले पाहुना आइपुग्ने । सम्झिँदासम्झिँदै उनको अनुहार अँध्यारो भयो । आँखामा आँसु रसाएर भरियो ।

‘नरोऊ नरोऊ नानु...।’ उनले आफैंलाई ढाडस दिँदै आँसु पुछिन् । उनको पछाडि टेबलमा राखिएका खेलौनाहरू ऐनामा पनि छर्लङ्ग देखिएका थिए । तिनै खेलौनाहरूतिर उनको ध्यान खिचियो अनि उनी फर्किएर खेल्न थालिन् । तीन/चारओटा खेलौनालाई लस्करै मिलाएर राखिन् । उनको मनपर्ने पुतलीलाई भने हातमा लिइन् ।

‘ल हेर त मैले अस्तिदेखि देखाउँछु भनेको एकसिङे गैंडा... ।’ उनले पुतलीलाई टुकुटुकु हिँडाउँदै एउटा खेलौनाको अगाडि उभ्याइन् । लस्कर लगाएका खेलौनालाई एक–एक जनावरको नाम दिँदै उनी पुतलीसँग चिडियाखाना खेलिरहेका बेला अचानक पुतली उनको हातबाट खस्यो र त्यसको एउटा खुट्टै भाँचियो । आफ्नो प्यारो पुतली भाँचिएको देखेर उनलाई साह्रै नरमाइलो लाग्यो । उनले मन थाम्न सकिनन् र रुन थालिन् ।

उनी रोएको आवाजतिर सबैको ध्यान खिचियो । हजुरआमा उठेर उनी भए ठाउँमा आउनुभयो । पाहुनाहरू पनि उनलाई नै हेर्न थाले । ‘के भो मेरी नानीलाई...।’ हजुरआमाले प्याउले पारामा बोल्दै उनलाई बोकेर आँसु पुछिदिनुभयो ।‘मेरो पुतलीको खुट्टा भाँचियो,’ उपासनाले सुँक्कसुँक्क गर्दै भुइँको पुतलीतिर देखाइन् ।

‘भैगो नरोऊ अर्को नयाँ किनुम्ला,’ हजुरआमा उनलाई फकाउँदै बैठक कोठातिर जानुभयो । सबैका आँखा उपासनातिरै तानिएका थिए ।‘ज्ञानी मेरी पुतली अंकल आन्टीलाई नमस्कार गर,’ हजुरआमाले पाहुनातिर संकेत गर्नुभयो । उनले लजाउँदै नमस्कार गरिन् । पाहुना आन्टीले आफ्नो ब्यागबाट निकालेर उनका हातमा चकलेट राखिदिनुभयो ।

‘म त चकलेट नखाने, टिचरले भन्नुभाको चकलेट खायो भने दाँतमा कीराले खान्छ ।’‘ओहो ∕ कति ज्ञानी नानी, अरू केके सिकाउनुभएको छ नि टिचरले,’ पाहुना आन्टीले सोध्नुभयो । उपासनाले लजाएर हजुर–आमातिर हेरिन् । ‘लौ अस्तिको गीत सुनाइदेऊ त आन्टीलाई .. ।’ हजुरआमाले उपासनालाई काखबाट ओरालेर भुइँमा राख्दै थप्पडी बजाउन थाल्नुभयो । उपासनाले लजाउँदै दुई लाइन गीत गाइन् ।

‘नाच्न पनि आउँछ नि मेरी नानीलाई ल नाचेर देखाइदेऊ मेरी गुडिया,’ उनले मन नलागी नलागी पनि नाचेर देखाइदिइन् । अनि लजाएर हजुरआमाको कुममा मुख लुकाउन गइन् । त्यसपछि बुवाले उनलाई फुक्र्याउँदै अंग्रेजीमा बोल्न पनि लगाउनुभयो । चाबी भरेको गुडियालेझैं उनले केही बेर सबैको अनुरोधअनुसारको काम गरिन् । सबैजना दङ्ग पर्नुभयो ।
मदारीले नचाउन ल्याउने जमुरेजस्तै बन्नुपरेकाले केहीबेर पछि उनलाई झर्को लाग्न थाल्यो । भोक पनि लाग्न थालिसकेको थियो । चिडियाखाना जान पाउने उनको आशा पनि मरिसकेको थियो ।

‘कत्ति सिपालु रहिछिन् नानी त, ठूली भएर के बन्ने छोरी ?’ पाहुना अंकलले सोध्नुभयो तर यसपटक उपासना केही बोलिनन् । के बन्ने भन्नु खै..? उनले निकैबेर सोचिन् । दिमागमा केही आएन ।

‘भनिदेऊ न त के बन्छे हाम्री गुडिया ?’ हजुरआमाले पनि फुक्र्याउनुभयो तैपनि उपासना बोलिनन् ।
‘भनिदेऊ न ठूली भएर म त काकाजस्तै डाक्टर बन्ने हो,’ बुवाले उनलाई तानेर काखमा बसाउनुभयो । अस्तिका पाहुनाले सोध्दा बुवाले पाइलट बन्ने हो भन्न लगाउनुभएको थियो । फेरि यसपल्ट डाक्टर बन्छु भन्न लगाउनुभयो । उपासनाले अलमल्ल परेर बुवातिर हेरिन् ।
भनिदेऊ मेरी छोरी के बन्ने रे ? बुवाले फेरि उक्साउनुभयो ।

‘म त ठूली भएर काकाजस्तै डाक्टर बन्ने अनि बिरामीको उपचार गर्ने हो,’ उपासनाले जवाफ दिइन् । पहिले धेरैचोटि पाहुनाको अगाडि बुवाले भन्न लगाउनुभएकाले उनलाई कण्ठस्तै थियो । उनको जवाफ सुनेर बुवाको अनुहार उज्यालो देखियो ।
उपासना बुवाको काखबाट ओर्लिएर दौडिँदै भान्सातिर गइन् अनि आमाको हात सामातिन् ।
‘एकछिन उता बस त छोरी चियाले पोल्छ ।’ आमा कपमा चिया खन्याउन लाग्नुभएकोरहेछ ।
‘चियाले पोल्यो भने घाउ हुन्छ अनि हस्पिटल जानुपर्छ हगि आमा ?’
‘हो नि ।’ आमा उपासनातिर फर्किनुभयो ।
‘आमा म त डाक्टर नबन्ने । मलाई हस्पिटलमा बिरामी देखेर कस्तो रुन मन लाग्छ,’ उपासनाले आमाको नजिकै गएर सानो स्वरमा भनिन् । अनि खुर्रर दौडिएर आफ्नो कोठातिर गइन् । उनको कुरा नबुझेर आमाले एकतमासले उनी गएकातिर हेरिरहनुभयो ।

प्रकाशित : जेष्ठ ६, २०७५ ०८:४०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

स्नेहा मिस प्रिन्सेस कास्की

राजाराम पौडेल

काठमाडौँ — किशोरीहरूको कला र प्रतिभा प्रोत्साहन गर्न पोखरामा मिस प्रिन्सेस कास्की–२०१८ आयोजना गरिएको छ । स्कुलस्तरका किशोरीबीच गराइएको प्रतिस्पर्धामा ८ देखि १४ वर्ष उमेरका १४ जनाले ग्रान्ड फिनालेमा आ–आफ्नो प्रतिभा प्रदर्शन गरे ।

पोखरा उद्योग वाणिज्य संघको सभा हलमा भएको अन्तिम प्रतिस्पर्धामा मेरिजन गुरुङ, विपाशा थापा, स्नेहा श्रेष्ठ, सञ्चिता थापा, जसिका गुरुङ, पालना थापा, एन्जल गुरुङ, आस्था कायस्थ, रोसनी गुरुङ, सलिना बगाले, सृजना थापा, सिम्रन सिग्देल, सुस्मिता बञ्जरा र तमन्ना श्रेष्ठले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

मिस प्रिन्सेस कास्की–२०१८ उपाधि स्नेहा श्रेष्ठले हात पारिन् । डाइमन्ड बोर्डिङ स्कुलकी कक्षा ९ मा अध्ययनरत उनले मिस फोटोजेनिकको एवार्डसमेत जितिन् । उनले चाँदीको क्राउनका साथै ट्रफी, मेडल र म्युजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त गरिन् । सरगम सांस्कृतिक कला केन्द्रको आयोजनामा भएको प्रतियोगितामा मोस्ट हार्डवर्करसहित फस्ट रनरअप सृजना थापा बन्न सफल भइन् । मिस पपुलरसहित सेकेन्ड रनरअप सुस्मिता बञ्जरा बनिन् ।

प्रतियोगितामा बेस्ट फिगर सुस्मिता बञ्जरा, बेस्ट हेयर तमन्ना श्रेष्ठ, ब्युटी विथ प्रपोज आइस्मा कायस्थ, बेस्ट स्किन मेरिजन गुरुङ, बेस्ट अडिसन जेसिका गुरुङ, मोस्ट डिसिप्लिन सिम्रन सिग्देल, ब्युटिफुल फेस सलिना बगाले, मिस फ्रंयाक रोशनी गुरुङ, मिस पन्चुवल एन्जल गुरुङ, मिस ट्यालेन्ट सञ्चिता थापा, प्रिटेस्ट स्माइल विपाशा थापा र मिस युनिकको एवार्ड पालना थापाले प्राप्त गरे ।

प्रतियोगीलाई एक महिनासम्म व्यक्तित्व विकास, नेतृत्व तथा क्याटवाक तालिम दिइएको आयोजक संस्था सरगम सांस्कृतिक कला केन्द्रकी प्रीति गुरुङले बताइन् ।निर्णायकमा सञ्चारकर्मी सुशील नेपाली, इन्जिनियर पुकार श्रेष्ठ, गुरुङ फिल्म निर्देशक जसु गुरुङ, ब्युटिसियन रुपकला श्रेष्ठ र कलाकार रोहित गुरुङ थिए । कार्यक्रममा नृत्य र गायन पनि प्रस्तुत गरिएको थियो ।

प्रकाशित : जेष्ठ ६, २०७५ ०८:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×