२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

नेपाली भाषा पाठशाला

अमेरिका
शिव शर्मा

काठमाडौँ — जयाश्री भट्टराई ८ वर्षकी भइन् । उनी अमेरिकाको टेक्सास राज्यको डालस सहरमा बाबा–आमासँगै बस्दै आएकी छन् । ८ वर्षअघि पूर्वी झापाबाट अमेरिका आइपुगेकी उनी स्थानीय विद्यालयमा कक्षा २ मा पढ्छिन् ।

नेपाली भाषा पाठशाला

अंग्रेजी माध्यमको पढाइका कारण नेपाली भाषा तथा संस्कृति बिर्सने चिन्ताले उनलाई बाबाआमाले नेपाली भाषा पाठशालामा पढ्न पठाएका हुन् ।

दुई महिनादेखि नेपाली समाज टेक्सासले डालसको अर्भिङमा सञ्चालन गरेको कक्षामा उनी सहभागी हुँदै आएकी छन् । ‘नेपाली भाषा लेख्न र पढ्न आएकी हुँ,’ कक्षामा भेटिएकी उनले फुर्तिलो पारामा भनिन्, ‘पढ्न थालेपछि नेपाली बोल्न र लेख्न सक्ने भएकी छु ।’ उनी नेपाली वर्णमाला, व्याकरणबारे ज्ञान बटुलेपछि फुरुङ्ग परेकी छन् । उनी मात्र हैन, उनीजस्तै अमेरिकामा बसोबास गर्ने नेपाली बालबालिकाहरू नेपाली भाषा र संस्कृति सिक्नका लागि यसरी नै लागिपरेका छन् । यतै जन्मेका र नेपालबाट सानै उमेरमा अमेरिका आएका बालबालिकाले नेपाली भाषा बोल्न र लेख्न छाड्दै गएपछि समाजले केही वर्षदेखि नियमित रूपमा नेपाली भाषा पाठशाला सञ्चालन गरेको हो । ‘विदेशमा रहेर पनि नेपाली भाषा र संस्कृतिलाई बिर्सन नदिन सानैदेखि बालबालिकालाई लक्षित गरी भाषा पाठशाला सञ्चालन गरेका हौं,’ समाजका अध्यक्ष सुमन थापाले भने, ‘पाठशालाले नेपाली समुदायका बालबालिकालाई सघाउ पुर्‍याउने अपेक्षा राखेका छौँ ।’ पाठशालामा भाषा र संस्कृति सिक्न आउने बालबालिकाहरू अधिकांश यतै जन्मेका र सानैमा अभिभावकसँग अमेरिका आएकाहरू नै अधिक छन् । उनीहरूले राम्रोसँग नेपाली भाषा बोल्न सक्दैनन् । झन्डै चार महिनाको यो कक्षामा बालबालिकाले नेपाली भाषा, व्याकरण, गणित, वर्णमालादेखि नैतिक शिक्षा र अतिरिक्त क्रियाकलापमा नेपाली सांस्कृतिक नृत्य र संस्कृति सिकाइने गरेको पाठशाला संयोजक अनुपराज घिमिरेले जानकारी दिए । नेपाली पर्यटन तथा जानकारीमूलक वृत्तचित्रसमेत बालबालिकालाई देखाइने गरिएको छ । नेपाली चाडपर्व, नेपाली खानादेखि संस्कार पनि पाठशालामा सिकाइन्छ । नेपाली संस्कार र संस्कृतिलाई थप परिचित गराउन पनि मन्दिर परिसरको सभाहलभित्र पाठशाला सञ्चालन हुँदै आएको उनले बताए ।

पाठशालाले धेरैलाई उत्साही बनाएको छ । ‘नेपाली पाठशालाले राहतको अनुभव दिएको छ,’ अभिभावक गोविन्द पौडेलले भने, ‘यसले नेपाली भाषा र संस्कृति संरक्षणका लागि पनि सहयोग पुर्‍याउनेछ ।’नेपाली भाषा र संस्कृतिलाई नयाँ पुस्तासम्म जीवित राख्न थालिएको यो अभियानमा नेपाली अभिभावकले बालबालिकालाई पाठशालामा पठाएका छन् । काठमाडौं कपनका १३ वर्षीय प्रसिद्ध केसी सेमहिस्टन स्कुलमा कक्षा ६ मा अध्ययन गर्छन् । पाँच वर्षअघि अभिभावकसँगै अमेरिकाको टेक्सास आइपुगेका उनी पनि पाठशालामा भेटिए । ‘आफ्नो संस्कृतिलाई भुल्न नदिन यहाँ सिक्न आएको हँु,’ उनले भने, ‘हामीले हाम्रो संस्कृति जोगाएनौं भने पछि कसले जोगाउँछ ?’


अमेरिकाको टेक्सास राज्यमा नेपाली समाज टेक्सासले झन्डै १५ वर्षदेखि नेपाली बालबालिकालाई लक्षित गरी डालस सहरको अर्भिङमा नेपाली भाषा पाठशाला सञ्चालन गदै आएको छ । यो अमेरिकाको पहिलो नेपाली भाषा पढाउने स्कुलका रूपमा समेत चिनिन्छ । पाठशालामा ५ देखि १३ वर्ष उमेर समूहका ५५ जना बालबालिकाले अध्यनन गर्दै आएका छन् । उनीहरूलाई स्वयंसेवकका रूपमा नेपाली शिक्षकले पढाउँछन् । ‘नेपाली भाषा र संस्कृतिको संरक्षणका लागि स्वंसेवीका रूपमा पढाउँदै आएका हौँ,’ नैतिक शिक्षा पढाउँदै आएका शिक्षक रामराज विष्टले भने ।

अमेरिकाका विभिन्न राज्यमा नेपालीको बसोबास बाक्लिँदै गइरहेका बेला दोस्रो पुस्ताले नेपाली भाषा बोल्न र लेख्नसमेत बिर्संदै गएका छन् । यसैलाई सहयोग पुर्‍याउन अमेरिकाका नेपाली बसोबास गर्ने राज्यमा भाषा पाठशाला कक्षा सञ्चालन हुँदै आएको छ ।


प्रकाशित : वैशाख १७, २०७५ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?