हाम्रो देश, हाम्रा प्रदेश- कोपिला - कान्तिपुर समाचार

हाम्रो देश, हाम्रा प्रदेश

दुर्गा खनाल

काठमाडौँ — ठूलो भएपछि के बन्छौ ? कसैले सोध्यो भने धेरैको जवाफ हुन्छ– डाक्टर, इन्जिनियर, पाइलट, समाजसेवी...। तर राजनेता, राष्ट्रपति, प्रधानमन्त्री वा मन्त्री बन्छु भन्ने कमै हुन्छन् । जब कि मुलुकलाई कता लैजाने भन्ने मुख्य जिम्मेवारी उनीहरूमै हुन्छ । 

यस्तो किन ? किनकि हाम्रो मुलुकमा सबैजसो क्षेत्र राजनीतिबाट प्रभावित छ । तर राजनीति आफैंचाहिँ त्यति सफा छैन । सफा नभएकैले तिमीहरूजस्ता नयाँ पुस्तालाई यतातिर लाग्नु राम्रो होइन भन्ने लागेको हुन सक्छ ।

अक्सफोर्ड डिक्सनरीका अनुसार राजनीति भनेको ‘कुनै पनि देश वा भूभागको शासन सञ्चालनसम्बन्धी गतिविधि हो ।’ यसलाई देश सञ्चालनको मूल नीति पनि भन्न सकिन्छ । राजनीतिशास्त्रका दार्शनिक एरिस्टोटलले यसलाई समाज विज्ञानकै एउटा अंगका रूपमा व्याख्या गरेका छन् ।

मुलुक कसरी सञ्चालन हुन्छ भन्ने कुरा त्यहाँको राजनीतिक व्यवस्था कस्तो छ भन्नेमा भर पर्छ । हाल संसारमा तीन प्रकारका राजनीतिक व्यवस्थाको अभ्यास भएको पाइन्छ । अधिनायकवादी व्यवस्था, कम्युनिस्ट व्यवस्था र लोकतान्त्रिक व्यवस्था । अधिनायकवादी व्यवस्थामा जनतालाई स्वतन्त्रता हुँदैन । एउटै व्यक्तिले शासन सञ्चालनमा आफ्नो हैकम चलाउँछ । कम्युनिस्ट व्यवस्थामा कम्युनिस्ट विचारधारा राख्ने पार्टीहरूले नै शासन चलाउँछन् । लोकतान्त्रिक व्यवस्थामा वैयक्तिक स्वतन्त्रता हुन्छ । निर्वाचनमार्फत जनताले भोट हालेर आफ्ना प्रतिनिधि छान्छन् । त्यसरी छानिएका प्रतिनिधिले मुलुकमा शासन गर्छन् । नेपाल पनि ‘लोकतान्त्रिक’ शासन व्यवस्था भएको मुलुक हो ।

राजनीतिक व्यवस्था राम्रो अपनाउँदैमा मुलुकमा प्रगति हुन्छ भन्ने छैन । प्रगतिका लागि त्यसलाई सञ्चालन गर्ने तरिका र नेताहरू पनि असल हुनुपर्छ । राजनीति सही ढंगले चलेन भने जनताले आन्दोलनबाट त्यस्तो शासन व्यवस्था परिवर्तन गर्छन् । नेपालमा पनि पटकपटक यस्ता परिवर्तन भए । २००७ साल, २०४६ साल र २०६२/०६३ सालमा जनताले राजनीतिक परिवर्तनका लागि आन्दोलन गरे । २००७ सालको आन्दोलनले राणाशासन ढालेर प्रजातन्त्र स्थापना गर्‍यो । २०४६ को जनआन्दोलनले पञ्चायती शासन ढालेर पुन: प्रजातन्त्र स्थापना गरेको थियो । २०६२/६३ सालको आन्दोलनले राजतन्त्र ढालेर नेपालमा गणतन्त्र स्थापना गर्न भूमिका खेलेको थियो । पुराना शासन व्यवस्थामा गलत कामहरू बढ्दै जान थालेपछि जनताले आन्दोलनबाट नयाँ व्यवस्था ल्याएका हुन् ।

मुलुक चल्ने मुख्य आर्थिक स्रोत त्यस देशका जनताले तिरेको कर हो । तिमीहरू सबैका बाबुआमा वा अभिभावकले कमाएको रकमको केही प्रतिशत राज्यलाई करका रूपमा तिरिरहनुभएको छ । राष्ट्रको सम्पत्तिमा प्रत्येक जनताको श्रम जोडिएको हुन्छ । त्यसैले शासन सञ्चालन गर्ने राजनीति राम्रो भयो भने मात्र हामीले तिरेको करको सही उपयोग हुन सक्छ ।

हाम्रो देशमा अब संघीय लोकतान्त्रिक गणतन्त्र पूर्ण रूपमा कार्यान्वयन हुन लागेको छ । मुलुकमा ७ प्रदेश र ७५३ स्थानीय तह भएका छन् । ती सबैमा जनप्रतिनिधिहरू पनि चुनिइसकेका छन् ।

प्रकाशित : माघ १४, २०७४ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्

बुर्ज खलिफा विश्वकै अग्लो टावर 

अब्दुल्लाह मियाँ

काठमाडौँ — हाजिरी जवाफमा पटक–पटक सोधिने प्रश्नमध्ये एक हो– विश्वको सबैभन्दा अग्लो टावरको नाम के हो र कुन देशमा छ ? तिमीहरूमध्ये धेरैले ट्वाक्कै जवाफ मिलाएका पनि हौला– बुर्ज खलिफा भनेर । हो, यो विश्वकै अग्लो टावर युनाइटेड अरब इमिरेट्स (यूएई) मा पर्छ । बुर्ज अरबी शब्द हो । यसको अर्थ टावर हो । टावरको नाम चाहिँ खलिफा हो । 

५ वर्ष लगाएर बनाइएको बुर्ज खलिफा यूएईको पर्यटकीय सहर दुबईमा पर्छ । २००४ को जनवरी ६ बाट सुरु गरी सन् २००९ को अक्टोबर १ मा यसको निर्माण सकिएको थियो । सन् २०१० को जनवरी ४ देखि खुला गरिएको यसको उचाइ २ हजार ७ सय २७ फिट (करिब ८२८ मिटर) छ ।
यो टावर करिब सय किलोमिटर परबाट समेत देखिन्छ । यसको निर्माणमा करिब ८ सय अर्ब अमेरिकी डलर खर्च भएको छ । यो टावर भएको क्षेत्रलाई अहिले दुबई डाउन टाउन भनिन्छ । सन् २००४ अघिसम्म यो क्षेत्रमा बालुवा र समुद्रबाहेक केही स–साना संरचना मात्र थिए । १० वर्षमै यूएईले डाउनटाउन बनाएर विश्वलाई आश्चर्य दिने संरचना खडा गरेको हो ।
यति अग्लो टावरभित्र के होला भन्ने जिज्ञासा सबैलाई हुन सक्छ । योभित्र एउटा संसारै छ भन्दा हुन्छ । योभित्र पाँचतारे होटल, अपार्टमेन्ट, रेस्टुरेन्ट, नाइट क्लब, सिनेमा घर, पौडी पोखरी, बैंकहरू, पार्किङलगायत अत्याधुनिक पसल, मस्जिदलगायत छन् । टावरको ७६ औं र ४३ औं तलामा पौडी पोखरी छ । १ सय ४४ तलामा नाइट क्लब छ । यो विश्वकै अग्लो स्थानको नाइट क्लब पनि हो । १२२ औं तलामा रेस्टुरेन्ट छ । तोकिएको पैसा तिरेर यहाँ लन्च र डिनर गर्न सकिन्छ । टावरभित्र पाँचतारे अरमानी होटल पनि छ । यसभित्र ९ सयवटा व्यक्तिगत अपार्टमेन्ट छन् । विश्वका चर्चित व्यक्तिले यहाँ अपार्टमेन्ट किनेका छन् । एक भारतीय व्यापारी जर्जको मात्र २२ वटा अपार्टमेन्ट छन् । भारतीय नायिका शिल्पा सेट्टी, सलमान खान, अनुष्का शर्मा, खेलाडी विराट कोहली, व्यापारी रोहित कोचर, बीआर सेट्टी, फुटबल खेलाडी डेभिड बेक्यामलगायत सेलिब्रिटीका फ्ल्याट छन् ।
इमिरेट्स सरकारले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यो टावर बनाएको हो । अहिले यो टावर दुबईको मुख्य आकर्षण केन्द्र बनेको छ । टावर तल्लो तहमा फराकिलो छ । माथिल्लो भाग मसिनो हुँदै गएको छ । टावरसँगै करिब १२ सयभन्दा बढी पसल रहेको दुबई मल जोडिएको छ । टावरसम्मै दुबई मेट्रो जोडिएको छ । बस, टयाक्सीबाट पनि यहाँ पुग्न सकिन्छ । बुर्ज खलिफामा १ सय ६३ तला छन् । १ सय ५४ तलासम्म मान्छे जान सकिने भए पनि १ सय ४८ तलासम्म मात्र प्रवेशका लागि खुला गरिएको छ । टावरमा उक्लिन ५७ वटा लिफ्ट छन् । ती लिफ्ट १ सय ४० तलासम्म छन् । ओटिस कम्पनीले निर्माण गरेका यी लिफ्ट विश्वमै सबैभन्दा छिटो गतिमा चल्छन् । टावरको भुइँमुनिका दुई तलामा सवारी पार्किङ छ ।
बुर्ज खलिफा सिसा, स्टिल र आलमुनियम प्रयोग गरेर बनाइएको हो । टावर बनाउन आवश्यक सिसा उत्पादनका लागि भुइँमै कारखाना खोलिएको थियो । ती सिसा हावा र उच्च तापक्रम थेग्न सक्ने गरी बनाइएका छन् । टावरमा २६ हजार सिसाका प्यानल छन् । सिसा सफा गर्न १२ वटा मेसिन जडान गरिएका छन् ।
टावरमा हजाईजहाज बनाउन प्रयोग गरिने विशेष किसिमको आलमुनियम प्रयोग गरिएको छ । टावरको तौल करिब एक लाखवटा हात्तीको तौल बराबर छ । यो टावर अमेरिकाको इम्पायर स्टेट बिल्डिङभन्दा ठीक दोब्बर र पेरिसको आइफिल टावरभन्दा तीनगुना अग्लो छ ।
यो टावरको आर्किटेक इन्जिनियरिङ अमेरिकाको सोफियान अल ज्याब्रीको हो । इड्रिएन स्मिथ र बिल बेकर यसका मुख्य इन्जिनियर हुन् । सुरुवातको चरणमा कोरियाको सामसुङले यसको निर्माणको जिम्मा लिएको थियो । अल गुह्रेर इन्भेस्टमेन्ट ग्रुपले यसको निर्माण सम्पन्न गरेको हो । बुर्ज खलिफामा एक दिनमा झन्डै ९ लाख ५० हजार लिटर पानी खपत हुन्छ । त्यो पानी एक सय किलोमिटर टाढाबाट ल्याइएको छ ।
टावरको फेदमा वरिपरि पानीका तलाउ छन् । त्यहाँ पानी नाच (वाटर डान्स) हुन्छ । हरेक आधा–आधा घण्टामा संगीतसहितको पानी नाच हेर्न लाखौं मानिसको घुइँचो हुन्छ । महिनामा करिब दुई लाख जनाले बुर्ज खलिफाको अवलोकन गर्ने गरेका छन् ।

प्रकाशित : माघ १४, २०७४ ०८:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×