१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अनौठो तरकारी

कथा
देवकी केसी

काठमाडौं — आमाले भाँडोमा सिस्नो बोकेर भान्सामा पस्दै गरेको देख्दा सुविन छक्क पर्‍यो । उसले मनमनै सोच्यो– आमाले सिस्नो के गर्न ल्याउनुभएको होला ? सुविन पनि आमाको पछिपछि भान्सामा गयो ।

 अनौठो तरकारी

सिस्नोतिर हेर्दै उसले सोध्यो, ‘आमा यो सिस्नो किन ल्याउनुभएको, यसले त पोल्छ नि ?’ आमाले हाँस्दै नपोल्ने गरी मीठो तरकारी बनाउँछु है भन्नुभयो । सुविनले डराउँदै भन्यो, ‘आमा, सिस्नोले त पोल्छ नि, म त यसको तरकारी खान्नँ के ।’ 

सुविन भान्सामा नै बसेर आमाले सिस्नो पकाउँदै गरेको हेरिरहयो । आज आमाले अनौठो तरकारी पकाउन लाग्नुभो भन्ने लाग्यो उसलाई । सुविनले सोध्यो, ‘आमा, तपाईंले यस्तो पोल्ने सिस्नो कसरी ल्याउनुभयो ?’ आमाले चिम्टा देखाउँदै भन्नुभयो, ‘यसैले समातेर टिपेको नि ।’
सिस्नोको तरकारी नौलो लागेको सुविनले आमासँग झगडा गर्दै भन्यो, ‘सिस्नोको तरकारी किन बनाउनुपर्‍यो ? म त सिस्नोको तरकारीसँग भात खान्नँ, पोल्छ । सबै जनाले यसले पोल्छ भनेर डराउँछन् । सिस्नो छुन त डर मान्छन्, सिस्नोको तरकारी खाने रे ।’ ‘आमा यो सिस्नोलाई फयाँकिदिनुस् न क्या,’ उसले रुन्चे स्वरमा भन्यो ।
सुविनले कराएको देख्दा आमालाई रिस 
उठ्यो । सुविनलाई गाली गर्दै भन्नुभयो, ‘सुविन, चुप् लागेर बस त ।’ आमाले कडा स्वरमा गाली गरेपछि सुविन रिसाएर भान्सामा नै बसिरहयो । सुविनलाई मनमनै आमासँग रिस उठे पनि आमाले सिस्नो पकाउनुभएको हेरिरहयो । आज उसलाई सिस्नोको तरकारी बनाएको देखेर अनौठो लागिरहेको थियो ।
‘सुविन, पढ्नुपर्दैन, आमासँग भान्सामा बसेर सबै काम सिक्न लागेको हो कि क्या हो,’ बाबाले हाँस्दै भन्नुभयो । अनि भान्सामा गएर सुविनसँगै बस्नुभयो । बाबालाई देख्नेबित्तिकै सुविनले भन्यो, ‘बाबा, हेर्नुस् त आमाले सिस्नोको तरकारी पकाउँदै हुनुहुन्छ, पोल्छ यस्तो तरकारी नपकाउनु भनेको मान्नु हुँदैन ।’
‘अघिदेखि सिस्नोले पोल्छ, यस्तो तरकारीसँग म भात खान्नँ भनेर झगडा गरिराख्या छ सुविन,’ आमाले कुरा थप्नुभयो । बाबाले सुविनलाई काखमा राख्दै भन्नुभो, ‘सुविन, सिस्नोको तरकारी मीठो हुन्छ, पकाएपछि यसले पोल्न पनि छाड्छ । सिन्नोको तरकारीले हाम्रो शरीरलाई निकै फाइदा गर्छ । विभिन्न रोगहरू जस्तै: रक्तचाप, नसा जोर्नी, बाथको रोग, जीउ झमझमाउने आदि रोगमा त सिस्नोले निकै फाइदा गर्छ । सिस्नोबाट विभिन्न औषधि पनि बनाइन्छ । सिस्नोलाई सुकाएर धुलो पारेर बजारमा बेच्न पनि राखिएको हुन्छ ।’ बाबाले सिस्नोको असल काम बताउँदै गर्दा सुविनले बाबाको कुरा सुन्दै आमाले पकाउँदै गर्नुभएको सिस्नोको तरकारीलाई पनि हेरिरहयो ।
बाबाले फेरि भन्नुभयो, ‘सिस्नो र सिस्नोजस्तै ठूलो ठूलो पात र डाँठ हुने अल्लोको बोटबाट रेशा निकालेर लुगा, झोला, जुत्ता बनाएर बजारमा बेच्न राखिएको हुन्छ ।’ सुविनले बाबाले भन्नुभएको सिस्नोका फाइदाको कुरा र सिस्नोको तरकारी दुवै चाख मानेर सुन्दै र हेर्दैै थियो । यस्तो पोल्ने डरलाग्दो सिस्नोले पनि धेरै फाइदा गर्दाे रहेछ भन्ने कुरा सुविनले बुझयो तैपनि सिस्नोको तरकारी खाँदा अघिपछि सिस्नो छँुदा पोलेझंै पोल्ने हो कि भन्ने डर लागि नै रहेको थियो ।
‘बाबु–छोराको गफ सकियो ? अब हात धोएर खाना खान आउनुस् त,’ आमाले सिस्नोको तरकारीको भाँडो झिक्दै भन्नुभयो । सुविनलाई सिस्नोको तरकारी अनौठो लागेकाले तरकारी चाख्न निकै हतारिएको थियो । आमाले थालमा सिस्नोको तरकारी र भात राखेर दिनुभयो । सुविनले हत्तपत्त थालमा हात हाल्न खोज्यो । आमाले सुविनलाई रोक्दै भन्नुभयो, ‘पर्ख सुविन, पोल्छ ।’ सुविनले अलि डर मान्दै आमासँग सोध्यो, ‘तरकारी बनाएपछि सिस्नोले पोल्दैन भन्नुभएको होइन त ?’ फेरि आमाले हाँस्दै भन्नुभयो, ‘सुविन भर्खरै आगोमा पकाएको तातो छ, पोल्छ पो भनेको त, अघिपछि सिस्नो छोएर पोलेझंै पोल्छ भनेको होइन क्या १’ 
सुविन आमा–बाबासँगै बसेर सिस्नोको तरकारीसँग भात खान थाल्यो । सुरुमा नमीठो नमानेझैं गरी खाए पनि पछि सुविनलाई सिस्नोको तरकारी साह्रै मीठो लाग्यो । आमासँग उसले सिस्नोको तरकारी थप्न पनि भन्यो । सुविनले मीठो मान्दै सिस्नोको तरकारीसँग भात खाएको देख्दा आमा–बाबा दुवै खुसी हुुनुभयो । ‘यो पोल्ने सिस्नोलाई पनि आमाले तरकारी बनाएर नपोल्ने बनाइदिनुभएछ । साहै मीठो पो हुँदो रैछ । अनौठो यस्तो फाइदाजनक सिस्नोको तरकारीलाई खान्नँ, पोल्छ भनेर डराएर आमासँग व्यर्थै रिसाएछु,’ सुविनले आमासँग भन्यो । ‘आमा अबदेखि तपाईंले पकाउनुभएको सबै खानेकुरा मीठो मानेर खान्छु अनि मेरा साथीहरूलाई सिस्नोको तरकारीको कुरा पनि भन्छु,’ सुविनले खुसी हुँदै भन्यो ।

प्रकाशित : कार्तिक १२, २०७४ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?