अनौठो जीव

जसले वर्षमा ७ करोड धमिरा र कीरा कमिला खान्छ
हरिहरसिंह राठौर

काठमाडौं — धमिराले के गर्छ ? प्राय:लाई थाहा छ– वरपरका धेरै चिज नोक्सान गर्छ । तर कमैलाई मात्र थाहा होला– धमिरालाई नियन्त्रण गर्न सक्ने अर्को जीव हो– सालक । सालक धमिराको शत्रु हो । यौटा सालकले वर्षमा ७ करोडभन्दा बढी धमिरा र कीरा कमिला खान्छ ।


सालक विश्वमै लोपोन्मुख प्रजातिको जंगली जीव हो । सालकले किसानहरूको बालीनाली नोक्सान गर्ने कीरा, कमिला र धमिरा खान्छ । हामीलाई नोक्सान गर्न सक्ने कीरा धमिरालाई प्राकृतिक तरिकाले नियन्त्रणमा लिने हुँदा सालक मानव समुदायका लागि हितकारी जीव हो । तर केही वर्षयता यो जीव संकटमा छ । आकारमा न्याउरी मुसोजस्तो देखिने सालकका शरीरभर बाक्ला र कडा कत्ला हुन्छ । रातिमा मात्रै चर्न निस्कने हुनाले यसलाई कमैले देख्ने गरेका छन् ।


राष्ट्रियनिकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले सालकलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । साइटिसले यसको व्यापार व्यवसायलाई दण्डनीय बनाएको छ । तर केही वर्षअघिसम्म मासुका लागि मारिने सालक पछिल्लो समय कत्लाका लागि विदेश चोरी निकासी हुने गरेको छ । तस्करहरू सालकको पिछा गर्दै यसलाई मारेर छाला र कत्ला बेच्छन् । कैयौं तस्कर समातिएका पनि छन् । यसले गर्दा सालकको संख्या घट्दै गएको छ ।


सालक एसियाको नेपाल चीन, भारत र श्रीलंकाका साथै अफ्रिकामा पाइन्छ । यो धादिङलगायत नेपालका विभिन्न जिल्लामा फेला परेको छ । नेपालमा समुद्र सतहदेखि दुई हजार मिटर उचाइको क्षेत्रमा सालक भेटिएको छ । काठमाडौं उपत्यका, धादिङ, चितवन, सुर्खेत, बर्दियालगायत ४३ जिल्लामा यसबारे अध्ययन थालिएको छ । विश्वमा ८ जातिका सालक छन् । तीमध्ये नेपालमा दुई जातिका मात्र पाइन्छन् । यहा पाइने सालक कालो र तामे रंगका हुन् । आईयूसीएनले सालकलाई जोखिमपूर्ण र लोपोन्मुखजीवको सूचीमा राखेको छ । यसको संरक्षणमा चेतना जगाउन हरेक वर्ष सालक दिवस पनि मनाइन्छ । सालक मारेमा वा यसको अंगको व्यापार गरेमा ४० देखि ७५ हजार रुपैयाँसम्म जरिवाना, एकदेखि १० वर्षसम्म कैद या दुवै सजाय हुन सक्ने निकुञ्ज ऐनमा व्यवस्था छ ।

तस्बिर : तुलसीलक्ष्मी सुवाल

प्रकाशित : कार्तिक १२, २०७४ ०८:२४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

हिउँ चितुवा च्यालेन्ज

विजय तिमल्सिना

काठमाडौं — हामीमध्ये धेरैले हिउँ चितुवा तस्बिरमा मात्रै देखेका होलाऔं । उच्च हिमाली क्षेत्रमा बस्ने हुनाले धेरैले यसलाई आफ्नै आँखाले देखेका छैनौं । हिउँ चितुवा समुद्री सतहबाट तीन हजारदेखि पाँच हजार पाँच सय मिटरको उचाइमा बस्छ । नेपालमा यो उचाइ भएका धेरै स्थान भएकाले हिउँ चितुवाका बासस्थानमध्ये नेपालको हिमाली क्षेत्र पनि हो ।

हिउँ चितुवा कहाँ बस्छ त ? हिउँ चितुवा रहने १२ देशका २३ स्थान छनोट गरिएका छन् । तीमध्ये तीनवटा नेपालमै पहिचान गरिएका छन् । हिउँ चितुवा नेपालसहित, भारत, चीन, भुटान, अफगानिस्तान, काजकिस्तान, कीर्गिस्तान, मंगोलिया, पाकिस्तान, रूस, ताजकिस्तान, उज्ज्वेकिस्तानजस्ता देशका हिमाली प्रदेशमा पाइन्छ । 


 नेपालमा हिउँ चितुवा पाइने स्थानलाई तीन ब्लकमा विभाजन गरिएको छ । यिनलाई पूर्वी, मध्य र पश्चिम ब्लकमा विभाजन गरिएको हो । पूर्वी ब्लकअन्तर्गत कञ्चनजंघा संरक्षण क्षेत्र, मकालु बरुण, सगरमाथा र लाङटाङ राष्ट्रिय निकुञ्ज पर्छन् । मध्य क्षेत्रअन्तर्गत ढोरपाटन सिकार आरक्ष, से–फोक्सुण्डो, रारा र खप्तड निकुञ्ज क्षेत्र पर्छन् । कञ्चनजंगा संरक्षण क्षेत्रमा केही हिउँ चितुवाको घाँटीमा रेडियो स्याटलाइट झुन्डयाएर उनीहरूले चर्ने र खेल्ने ठाउँको पहिचान पनि भइरहेको छ । नेपालमा कति हिउँ चितुवा छन् भन्ने यकिन तथ्यांक छैन । अनुमानअनुसार नेपालमा तीन सयदेखि पाँच सय हिउँ चितुवा छन् । यिनीहरू हिमाली क्षेत्रमा रहने भएकाले यिनीहरूको संख्या गन्न कठिन हुने गर्छ ।
वास्तवमा हिउँ चितुवा कस्तो हुन्छ त ? हामीले पढेको, फोटो र भिडियो हेरेको आधारमा यसबारेमा धारणा बनाउँदै आएका छौं । अघिल्लो सोमबार पाटन संग्रहालयमा विद्यार्थीहरूबीच हिउँ चितुवाबारेको डिजाइन प्रतिस्पर्धा भएको थियो । यसलाई ‘डिजाइन च्यालेन्ज’ नाम दिइएको थियो । अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवसको अवसरमा काठमाडौं, ललितपुर र भक्तपुरका विद्यालयका विद्यार्थीहरूबीच प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा ४० विद्यालयका १ सय २० विद्यार्थी सहभागी थिए । एक समूहमा तीन विद्यार्थी सहभागी थिए ।


उनीहरूलाई हिउँ चितुवा कहाँ बस्छ ? त्यसको डिजाइन तयार पार्नुपर्ने जिम्मेवारी दिइएको थियो । साथै, आफूले बनाएको डिजाइन सम्बन्धमा कथासमेत लेखेर वाचन गर्न लगाइएको थियो । दुई घण्टाको अवधिमा उनीहरूले आफूलाई भएको जानकारीको आधारमा हिउँ चितुवा बस्ने स्थानको डिजाइन र त्यसबारे कथा बनाएका थिए । उनीहरूले यसको लागि कार्डबोर्ड पेपर, काठका टुक्रा, रंग, कपासजस्ता सामान प्रयोग गरेका थिए । 
प्रतिस्पर्धामा समूहमा राम्रो काम गर्ने, राम्रो कथा लेख्ने, राम्रो डिजाइन बनाउने र अरूभन्दा फरक खालको आइडिया निकाल्ने एक–एक समूहलाई विजेता बनाइएको थियो । उक्त प्रतिस्पर्धामा सहभागी भएका विद्यार्थीहरूले आफूले जानेको कुराको आधारमा बनाएको डिजाइन र कथाले आफूले हिउँ चितुवाको बारे धेरै जानकारी पाएको बताए ।

प्रकाशित : कार्तिक १२, २०७४ ०८:२३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT