चरा चिनाउँदै
काठमाडौं — उनी नेपाली होइनन् । तर नेपालका चरा, वन्यजन्तु र उच्च हिमशृंखलाले उनलाई नेपालसँग साइनो जोडेको छ । उनी बर्सेनि दुईपटक नेपाल आउँछन् ।
टाढाटाढा चरा, वन्यजन्तु, हिमशृंखला र मनोरम दृश्य क्यामेरामा कैद गर्छन् । बडेमाको लेन्स फैलाउँदै क्षणभरमै सुन्दर र मनमोहक तस्बिर मेमोरीमा सेभ गर्छन् । उनी हुन्, ६६ वर्षे अस्ट्रियन वाइल्ड लाइफ फोटो पत्रकार क्लाइड ओडोनेल ।
उनको जोसजाँगर कुनै युवाको भन्दा कम छैन । यति खारिएका छन् कि चरा र वन्यजन्तु देख्नासाथ लामो लेन्स सोझयाइहाल्छन् । सीप र अनुभवले गतिलो एंगलमा स्न्याप कैद गरिहाल्छन् ।
५० वर्षसम्म ल्यान्डस्केप फोटोग्राफीमा अनुभव सँगालेका क्लाइड पछिल्लो डेढ दशकदेखि वाइल्ड लाइफ फोटोग्राफीमा रमाएका छन् । १६ वर्षको उमेरदेखि क्यामेरा चलाउन थालेका उनी अहिले चल्तीका वाइल्ड लाइफ फोटो पत्रकार हुन् । उनै फोटो पत्रकार अहिले नेपालको पर्यटन प्रवद्र्धनमा लागेका छन् ।
उनी यहाँका वन्यजन्तु, चरा र रोमाञ्चक हिमशृंखलाबाट पर्यटकलाई लोभ्याउँछन् । नेपालमा फोटोग्राफी गर्दा पाएको ज्ञान, अनुभव, सूचना र जानकारी अस्ट्रियाका प्रकृतिप्रेमीलाई बाँड्छन् । अस्ट्रियामा नेपाली पर्यटन प्रवद्र्धन गरिरहेका छन् । उनले वर्ड ग्यालरी एसिया वेबसाइट पनि सञ्चालन गरेका छन् । चराप्रेमीका लागि उक्त वेबसाइट निक्कै लोकप्रिय छ । नेपालका तराईदेखि हिमालमा पाइने चरा पनि वेबसाइडमा राखेका छन् । ‘विश्वका ३० भन्दा बढी मुलुक घुमे पनि यहाँ जस्तो आनन्द अन्त कतै पाइनँ,’ उनी भन्छन्, ‘त्यही भएर नेपाल मेरो दोस्रो घरजस्तै भएको छ । यसैले नेपालप्रति मेरो लगाव बढेको छ ।’
२१ वर्षको अवधिमा उनी ४४ पटक नेपाल आइसकेका छन् । ‘अद्वितीय र रमाइलो संस्कृति, नजिकबाट देखिने हिमशृंखला, रोमाञ्चक पदमार्ग, वन्यजन्तु र चराको मनमोहक दृश्यावलोकन यहाँका मुख्य आकर्षण हुन्,’ उनी भन्छन् । उनले नेपालमा ३ सय ८० प्रजातिका चरा र ६५ वन्यजन्तुका रमाइला र चित्ताकर्षक तस्बिर खिचेका छन् । पुतली, फूल र प्राकृतिक मनोरम स्थलका तस्बिर पनि लिएका छन् । क्लाइड नेपालका अधिकांश राष्ट्रिय निकुञ्ज, आरक्ष र पर्यटकीय स्थलबारेका ठूला जानकार पनि हुन् । उनमा कला, संस्कृति र परम्पराको पनि गतिलो ज्ञान छ । त्यसैले उनी अस्ट्रियामा नेपालको संरक्षण क्षेत्रका गतिला जानकार मानिन्छन् । वर्षको दुई/दुईपटक उनी नेपालका वाइल्ड लाइफ र चराबारे अस्ट्रियन एबीसी रेडियो र टेलिभिजनलाई अन्तरवार्ता दिन्छन् ।
अस्ट्रेयाबाट निस्केका एक हजारभन्दा बढी संरक्षणसम्बन्धी पुस्तक, ब्रोस्योर, क्यालेन्डर, जर्नल र डायरीमा उनले नेपालमा खिचेका वन्यजन्तु र चराका तस्बिर प्रकाशित छन् । उनले खिचेका नेपालका तस्बिरले अस्ट्रियामा धेरै वाइल्ड लाइफ पुरस्कार र सम्मान पाइसकेका छन् ।
‘नेपालका बाघ, हिउँ चितुवा र गैंडासँग रमाउन धेरै विदेशी आकर्षित हुन्छन्,’ उनको अनुभव छ, ‘डाँफे, मुनाल, खरमुजुर, काँडे भ्याकुर र हिमालय कुटिया चराले विदेशीलाई लोभ्याउँछन् ।’
अस्ट्रियाको भिक्टोरियामा बस्ने उनी हिँड्दा सधैं १२ किलोको झोला बोक्छन् । झोलमा दुइटा क्यामेरा हुन्छन् । अहिलेको चल्तीका महँगो सेभेन डी मार्क सेकेन्ड र फाइभ डी मार्क । त्यसमा टु प्वाइन्ट एटको सय–चार सय जुम र द–िअठारको वाइड लेन्स हुन्छ । अनि गतिलो ट्राइपोट । उस्तै झोला । करिब १८ लाख रुपैयाँका उपकरण बोकेर उनी सधंै राम्रा राम्रा चरा र प्राकृतिक छटाको खोजीमा डुलिरहेका हुन्छन् ।