१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

हाम्रो संस्कृति

कमल कोइराला

काठमाडौं — इन्द्रजात्रा काठमाडौं उपत्यकामा मनाइने पर्व हो । यो पर्व पर्सि (मंगलबार) परेको छ । स्वर्गका राजा इन्द्रसँग सम्बन्धित जात्रा प्रदर्शन गरिने भएकाले यो पर्वलाई इन्द्रजात्रा भनिएको हो ।

हाम्रो संस्कृति

विशेष गरी नेवारी समुदायले यो पर्व धुमधामसँग मनाउँछन् । उपत्यकाका आदिवासीका रूपमा मानिएका नेवारहरूकै विशेष अग्रसरतामा लिच्छवी वंशका राजाहरूको शासनकालदेखि नै इन्द्रजात्रा मनाउन थालिएको हो । इन्द्रजात्रालाई नेवारी भाषामा ‘ययाँ पुन्ही’ भनिन्छ । भाद्र शुक्ल द्वादशीदेखि आश्विन कृष्ण चौथीसम्म सप्ताहव्यापी रूपमा यो पर्व मनाउने चलन छ । किम्वदन्तीअनुसार यो पर्वलाई औपचारिक रूपमा मनाउने प्रचलन लिच्छवी राजा गुणकाम देवले थालेका हुन् ।
ऐतिहासिक मान्यताअनुसार लिच्छवी कालीन समयमा नेपालमा ठूलो संकट आएको थियो । राजा गुणकाम देवले भगवान् इन्द्रको पूजा गरीे देश र जनतलाई त्यो संकटबाट बचाएका थिए रे । त्यसपछि देशमा वर्षभरि हुन सक्ने संकट निवारण गर्न यो पर्व मनाउने परम्परा बसेको हो ।
हिन्दु धार्मिक मान्यताअनुसार भगवान् विष्णुका विभिन्न १० अवतारहरूमध्ये वामन अवतारलाई पनि एक प्रमुख अवतारका रूपमा मान्ने गरिन्छ । भाद्र शुक्ल द्वादशीका दिन धर्तीभरि मौलाएको अन्याय, अत्याचारलगायत अन्य दानवीय व्यवहार नाश गर्नका लागि विष्णुले वामन अवतार धारण गरेकाले यो दिनलाई वामन द्वादशी पनि भनिन्छ । इन्द्रजात्राको अवसर पारेर काठमाडौं दरबार डबलीमा भगवान् विष्णुका दसै अवतारको नृत्य प्रस्तुत गर्ने परम्परा पनि छ ।
भाद्र शुक्ल द्वादशीकै दिन हनुमानढोकाको कालभैरव मन्दिरअगाडि काठमाडौं उपत्यकाका मानन्धर समुदायले विधिपूर्वक लिंगो ठडयाउने काम गर्छन् । परापूर्वकालमा भगवान् इन्द्र र दैत्यहरूबीच घमासान युद्ध हुँदा इन्द्रले ती दैत्यहरूमाथि विजय हासिल गरेको खुसियालीमा लिंगो ठडयाउने गरिएको किम्वदन्ती छ । त्यस लिंगोलाई इन्द्रको झन्डाको प्रतीकका रूपमा सम्मान गर्ने प्रचलन छ । यसरी ठडयाइने लिंगो काभ्रेको सल्लाघारीबाट बोकेर ल्याइन्छ ।
इन्द्रजात्राका अवसरमा भैरव, गणेश र कुमारीको रथयात्रा गर्ने प्रचलन पनि छ । चतुर्दशीका दिन हनुमानढोकाको घरबाट साइत जुराएर कुमारीको रथलाई सिँगारी टोल परिक्रमा गराइन्छ । यसरी भगवान्–का मूर्तिलाई सिँगार्ने क्रममा क्रमश: गणेश, कुमारी र भैरवलाई रथमा राखेर उपस्थित जात्रालुसमक्ष प्रदर्शन गरिन्छ । नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले इन्द्रजात्राकै अवसर छोपेर काठमाडौं उपत्यकालाई आफ्नो नियन्त्रणमा लिएका थिए । लगातार तीन पटकसम्म पराजय भोगेका पृथ्वीनारायण शाहले उपत्यकाबासी इन्द्रजात्राको रमाइलोमा चुर्लम्म डुबिरहेको मौका छोपेर काठमाडौंमाथि आक्रमण गरेका थिए । यसबाट पनि यहाँका बासिन्दा इन्द्रजात्राप्रति कति मोहित हुँदा रहेछन् भन्ने स्पष्ट हुन्छ ।

प्रकाशित : भाद्र १८, २०७४ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?