उकालो बाटो

माधव सयपत्री

कुसुम र लता दिदीबहिनी हुन् । कुसुम आठ कक्षामा पढ्छिन् । लता सातमा । सुधांशु कुसुम र लताका काकाको छोरा हुन् । उनी एक कक्षामा पढ्छन् । सुधांशु एकदमै जिज्ञासु छन् । मनमा लागेका कुरा दिदीहरूलाई सोधिरहन्छन् । पढाइमा पनि उत्तिकै मन लगाउँछन् ।

उकालो बाटो

कुसुम, लता र सुधांशु सधैँ सँगसँगै विद्यालय जान्छन् । विद्यालय जाने बाटो निकै उकालो छ । एक घण्टाभन्दा बढी नै हिँड्नुपर्छ । स्कुल जाँदा रमाइला रमाइला कुरा गर्दै उनीहरू उकालो काट्छन् ।
बर्खा सुरु भइसकेको थियो । बाटोछेउका खेतमा धानको बीउ राख्न किसानहरू खेत जोत्न लागेका थिए । कोही गोरु धपाउँदै खेततिर लाँदै थिए । स्कुल जाँदा बाटोछेउका यस्ता दृश्य उनीहरू हेर्दै हिँड्थे ।
आकाशेपानीले बाटो पनि बिगारेको थियो । ठाउँठाउँमा खाल्टाखुल्टी परेका थिए । हिँड्दा निकै विचार पुर्याउनुपर्ने भएको थियो । खाल्टोमा खुट्टा पर्ला भन्ने डर । सधैंझैं त्यो दिन पनि आमाले सुधांशुलाई भात खान दिनुभयो । लुगा लगाइदिएर स्कुल जान तयार पार्नुभयो । उनलाई बाटोसम्म ल्याइदिनुभयो । आमाले भन्नुभयो, ‘भाइलाई राम्ररी स्कुल लैजाओ है नानी हो, पानीले स्कुल जाने बाटो बिगारेको छ रे ।’
सुधांशुले भने, ‘आमा, म ठूलो भैसकेँ । ठमठमी हिँड्न सक्छु । अप्ठेरो ठाउँमा दिदीहरूले हात समातेर लैजानुहुन्छ नि ।’ लताले भनिन्, ‘ल भाइ आऊ । हामी पनि आइसक्यौँ । कुसुमले भनिन्, ‘हस् अन्टी । भाइलाई हामी लगिहाल्छौँ नि, तपाईंले चिन्ता गर्नै पर्दैन ।’
आकाशमा छिनमा बादल लाग्थ्यो । छिनमा घाम चर्कंन्थ्यो । बादल लाग्दा शीतल हुन्थ्यो । एकछिनपछि घाम लाग्दा जीउमा पसिना आउन थालिहाल्थ्यो ।
उकालोमा सुधांशुलाई निकै थकाइ लाग्यो । थकाइले उनी ‘खुई खुई’ गर्न लागे । कुसुमले सोधिन्, ‘भाइ, तिमीलाई गर्मी भएको हो ?’ सुधांशुले भने, ‘गमी भयो नि कुसुम दिदी । भएर के गर्नु ? स्कुल नगई भाको छैन ।’ लताले भनिन्, ‘गर्मी भए छाता ओढ न त भाइ । तिम्रो झोलामा छाता छ होला नि ।’
सुधांशुले बाटाको ढुंगामाथि बसेर झोला खोले । त्यो दिन उनले छाता बोक्न बिर्सेछन् । उनले भने, ‘ला, आज मैले छाता ल्याउनै बिर्सेछु दिदी । अब के ओड्ने ? झन् पानी पर्यो भने के गर्ने होला ?’
कुसुमले भनिन्, ‘भाइ, छाता मसँग छ नि । यै ओढ न अहिले ।’ कुसुमले झोला खोलिन् । झोलामा छाता खोजिन् । छाता भेटिनन् । उनले पनि छाता झोलामा हाल्न बिर्सिछन् ।
कुसुमले लतालाई भनिन्, ‘लता, तिम्रो छाता झिक त । भाइलाई गर्मी भयो रे ।’ लताले झोला खोलिन् । लताको झोलामा पनि छाता थिएन । उनको पनि छाता घरमै छुटेछ । लताले भनिन्, ‘मेरो झोलामा पनि छाता रहेनछ दिदी । आज हामी सबैजना हुस्सु भएछौँ ।’
सुधांशुलाई भित्रैबाट हाँसो उठ्यो । उनले भने, ‘एकै दिन सबैजनाले छाता किन बिर्सेको होला ? एकै दिनमा तीनतीन जना हुस्सु भाको ।’
कुसुमले भनिन्, ‘कहिलेकाहीं यस्तै हुन्छ भाइ । उ: आकाशमा फेरि बादल लागिसक्यो । अब गर्मी हुँदैन । किन चाहियो र छाता ?’
एकैछिनमा आकाशलाई बादलले ढाक्यो । सिरसिर बतास चल्न थाल्यो । बाटोमा केहीबेर बसेर गफ गरेको हुनाले अलि ढिलो भएछ । पालेदाइले घण्टी लगाइसकेका थिए । चउरमा साथीहरू लाइन बस्न लागेका थिए । उनीहरू हतारहतार गर्दै प्रार्थना लाइनमा बसे । अर्को दिन सुधांशु दिदीहरूभन्दा अलिअघि हिँडेका थिए । उनी दिदीहरूसँग बोलेका पनि थिएनन् । कुसुम र लता थकाइ मार्न चौतारोमा बसे । लताले भनिन्, ‘भाइ, तिमी आज किन दौडेको हँ ? हिजोअस्ति त हिँड्न गाह्रो मान्थ्यौ ।’ सुधांशुले नसुनेझैं गरे । उनी अझ छिटोछिटो उकालो लागे । कुसुमले लतालाई भनिन्, ‘सुधांशु आज किन कुदेको होला ? उसलाई एक्लै छाड्नुहुँदैन है । बाटो अप्ठेरो छ । लड्न सक्छ । ल, हामी पनि जाऊँ ।’
अलि माथि पुगेर हेर्दा सुधांशु कुटोले बाटोमा खनिरहेका थिए । कुसुमले सोधिन्, ‘भाइ, तिमीले बाटो किन खनेका ? पानीले बाटो बिगारेको छ भनेर हो ?’
सुधांशुले भने, ‘दिदी, यो बाटोलाई ओरालो बनाऊ न है, हामी सबैले मिलेर खन्यौँ भने उकालो बाटोलाई ओरालो बनाउन सक्दैनौँ र ? उकालो हिँड्न मलाई गाह्रो भयो क्या ।’ सुधांशुको कुरा सुनेर दिदीहरू मरीमरी हाँस्न लागे । सुधांशु अलमल्ल परे । लताले भनिन्, ‘अहिले उकालो बाटोलाई ओरालो बनायो भने भरे घर जाँदा यो बाटो उकालो हुँदैन र भाइ ?’
सुधांशुले सोचे, ‘जाँदा उकालो, आउँदा ओरालो । जाँदा ओरालो आउँदा उकालो । हो त नि ।’ सुधांशुका गाला राता भए । उनी फिस्स हाँसे । सुधांशुले कुटो झोलामा राखे । उनी केही नभनी उकालो लागे । दिदीहरू फेरि बेस्सरी हाँसे । सुधांशु उकालोमा पनि छिटोछिटो हिँडे । दिदीहरू स्कुलमुनिको डिलमा पुग्दा सुधांशु प्रार्थना लाइनमा बसिसकेका थिए ।

प्रकाशित : असार ११, २०७४ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?