१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

कान

डा. अंकल भन्नुहुन्छ

मानव शरीरमा दुइटा कान हुन्छन् । कानको बनावट मानिसैपिच्छे फरकफरक हुन्छ । नाकले जस्तै कानले पनि मानिसको पहिचान दिलाउन मद्दत गर्छ । त्यसैले पनि होला कतिपय अवस्थामा फाराम भर्ने फोटो बेलामा दुइटै कान देखिनुपर्छ भनिन्छ ।

कान

कान सुन्नका लागि मात्र नभएर आँखा कमजोर भएर चस्मा लगाउनुपर्ने व्यक्तिका लागि चस्मा अडयाउन पनि मद्दत मिल्छ । प्रकृतिले दुइटा कान अनि एउटा मुख दिएका कारण भाइबहिनीहरूले पनि सदैव धेरै सुन्ने र कम बोल्ने बानीको विकास गर्नुपर्छ । कम बोल्ने भन्नाले आफूलाई मनमा लागेको तर आवश्यक कुरा भन्न खोजिएको हो । यस क्रममा अरूको विचारलाई पनि कदर गर्नुपर्छ भन्न खोजिएको हो । नाक र कान जिन्दगीभर वृद्धि भइरहने अंग हुन् ।
बालबालिकाहरूको भित्री घाँटीको माथिल्लो भाग र कानको मध्य भाग जोड्ने नली छोटो, सिधा र फराकिलो हुने हुनाले यिनी कान पाक्ने समस्या बढ्ता हुन्छ । रुघाखोकी तथा श्वासनलीसम्बन्धी संक्रमण छिट्टै मध्य कानमा पुग्छ ।
बालबालिकाहरूमा नाक बन्द हुने, नाकभित्र र घाँटीका माथिल्लो भागमा मासु पलाउने, रुघाखोकी, पिनासको समस्या भयो भने पनि कान पाक्न सक्छ । त्यसमाथि नवजात शिशुलाई आमाले सुतेरै दूध खुवाउँदा सक्र्याे भने वा बच्चाले उल्टी गरेको दूध कानमा पर्‍यो भने पनि कान पाक्ने सम्भावना हुन्छ ।
कतिपय बालबालिकाले जिज्ञासा लागेर हो वा हेलचेक्रयाइँ गरेर नाकमा जस्तै कानमा पनि इरेजर, मकै, भटमास, केराउको दाना अड्काउने गर्छन् । उनीहरू आफैंले वा उनका अभिभावकहरूले प्वाँख, साँचो वा सिन्काले कान कोटयाइदिने गरेको पाइन्छ । यसरी कानमा बाहय वस्तु अड्काउँदा वा जथाभावी कान कोटयाउँदा कानको सुन्ने क्षमतामा असर पुगी बहिरो हुन बेर लाग्दैन ।
मध्य कानको काम शारीरिक सन्तुलन ठीक राख्ने पनि हुनाले कान पाक्ने समस्या हुँदा शारीरिक असन्तुलन हुने तथा रिंगटा लाग्ने पनि हुन्छ । १२० डेसिबलभन्दा माथिको ध्वनिले कानलाई तुरुन्तै असर पुर्‍याउन सक्छ । निरन्तर रूपमा ९० डेसिबलभन्दा माथिको ध्वनिले पनि असर गर्छ ।

जिज्ञासा
कानले कसरी काम गर्छ ? अर्थात् हामीले कसरी सुन्छौं ?
बाहय, मध्य र भित्री गरी कानका तीन भाग हुन्छन् । बाहय कानले बाहिरी वातावरणमा रहेको ध्वनिका तरंगहरू ग्रहण गर्छ । यी तरंगहरूलाई कानको जालीले कम्पनमा परिणत गर्छ । कानको जालीको कम्पन मध्य कानका स–साना हड्डीमा सर्छ । यी कम्पनहरूले ध्वनिका संकेतहरू उत्पन्न गर्छन् । भित्री कानमा तरल भरिएको कक्लिया हुन्छ । मध्य कानका हड्डीको ध्वनि संकेत रूपी कम्पन कक्लियामा ठोक्किएपछि यस भित्रको तरलमा छाल उत्पन्न हुन्छ । जुन भित्री कानमा रहेको रौंजस्ता संरचनाले ग्रहण गर्छ । ती संकेतहरू मस्तिष्कमा पुर्‍याउँछ र ध्वनिको प्रकृति चिन्न र छुट्टयाउन मद्दत गर्छ । 
कान किन दुइटा चाहिन्छ ?
कुन दिशाबाट ध्वनि आइरहेको थाहा पाउन र सोहीअनुरूप सचेत हुन मद्दत पुग्छ ।
कानेगुजी किन आउँछ ?
कानभित्र रहने पहेंलो खैरो मैनजस्तो कानेगुजी कानको सतहमा रहेको ग्रन्थीले उत्पादन गर्छ । यसले धुलो, कसिंगर र कीटाणुलाई अड्काउँछ । यी फोहोरलाई बंगारा चलाउने, खाना चपाउने क्रममा बिस्तारै बाहिर निष्कासन गर्छ ।

प्रकाशित : वैशाख ३१, २०७४ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?