आँखाबारे बुझौं

आँखा एकदमै संवेदनशील अंग हो । आकाशको नीलोपन होस् वा इन्द्रेणीका सात रंग । बगैँचाका रंगीचंगी फूल हुन् वा डाँफेको नौरंगी शरीर । संसारका सबै वस्तु हेर्ने काम आँखाले नै गर्छ । हाम्रो आँखामा विभिन्न भाग र तह हुन्छन् । आँखाको सेतो र नानीसहितको कालो भाग हामी बाहिरबाटै देख्न सक्छौं ।

आँखाबारे बुझौं

कुनै पनि वस्तु हेर्नर्े क्रममा बाहय वातावरणमा उपलब्ध उज्यालोको मात्रालाई ठिक्क मात्रामा भित्र पठाउने काम क्यामेरामा जस्तै आँखाको आइरिस एवं लेन्सले आपसी सामञ्जस्यतामा गर्छ । लेन्सका माध्यमबाट आँखाको भित्री तहको पर्दा (रेटिना) मा प्रकाश पुग्छ । यसबाट प्राप्त हुने संकेत स्नायुका माध्यमबाट मस्तिष्कमा पुग्छ । मस्तिष्कमा दृश्यचित्रको विश्लेषण हुन्छ । आँखाको गेडाबाहिर टाँसिएका ६ वटा मांसपेशीले आँखालाई यताउति घुमाउन सघाउँछन् । यी मांसपेशीले सही तरिकाले काम गरेनन् भने आँखा डेडो देखिन्छ । आँखाको आकार भने जीवनभर उत्रै हुन्छ ।

राति किन कालो मात्र देखिन्छ ?

रेटिनामा हुने विभिन्न स्नायुकोषले विभिन्न रंगप्रति प्रतिक्रिया जनाएअनुसार हामी रंग छुट्टयाउन सक्छौं । आँखामा हुने धेरै कोषले कालो, सेतो र खैरो रंग मात्र देख्छ । आँखाको भित्री तहमा हुने कोणले विभिन्न रंग छुट्टयाउन मद्दत गर्छ । रातिको समय कोणले आफ्नो कार्य क्षमता गुमाउने हुनाले अँध्यारोमा कालोबाहेक केही देख्दैनौं । कोणले उज्यालोमा मात्र काम गर्छ । अँध्यारोका लागि जिम्मेवार रंगले राति मात्रै काम गर्छन् ।

रंग किन फरक ?

नानीवरिपरि हुने आइरिस भनिने रंगीन खालको गोलो घेरामा हुने मेलानिनको मात्राअनुसार आँखाको रंग निर्धारण हुन्छ । खैरो आँखामा मेलानिन बढी हुन्छ । युरोपेली तथा अमेरिकीहरूको आँखामा मेलानिन कम हुन्छ । त्यसैले उनीहरूको आँखा नीलो देखिन्छ ।

नानीको आकार किन फरक–फरक ?
आइरिसले सानो रेटिनालाई असर पर्ने काम गर्न दिँदैन । चहकिलो प्रकाशलाई रोक्न नानी सानो हुन्छ भने मधुरो वा अँध्यारो अवस्थामा प्रकाश बढी छिराउन नानी ठूलो हुन्छ । त्यसो भएर वरिपरिको प्रकाशको मात्राअनुसार आँखाभित्रको मांसपेशी (आइरिस) ले स्वचालित रूपमा नानी ठूलो र सानो पार्छ ।

आँसु किन आउँछ ?

आँसुले धुलो, कसिंगर र कीटाणु पखाल्छ । आँखामा फोहोर कसिंगर पर्दा आँसु उत्पादन गर्ने ग्रन्थी अधिक रूपमा सक्रिय भई आँसु आउँछ । आँसु उत्पादन गर्ने ग्रन्थी आँखाको बाहिरपट्टिको माथिल्लो परेलाभित्र हुन्छ । कुनै संवेदनशील परिस्थिति, दु:खद घटना वा निकै खुसीमा पनि यो ग्रन्थी सक्रिय हुन्छ ।

किन दुइटा ?

दुइटा आँखाले वस्तु कति टाढा छ भनेर अनुमान लगाउन सकिन्छ । एउटाले अलि फरक दृश्य देखिन्छ । दुइटा आँखाको मद्दतले थ्रिडी इमेज बनाउँछन् । र, थ्रिडी इमेजले कुनै पनि वस्तुको गहिराइ, उचाइ र चौडाइ थाहा पाउन सहज हुन्छ ।

परेला किन झिमझिम गर्छ ?

धेरैजसो मानिस प्रत्येक २ देखि १० सेकेन्डको अन्तरालमा आँखा झिम्क्याउँछन् । आँखा सफा गर्न र बचाउन झिमझिम गर्नुपर्छ । प्रत्येक आँखालाई पातलो नुनिलो पानीको तहले ढाकेको हुन्छ । प्रत्येक झिम्काइसँगै आँखाको गेडामा रहेको धुलो, कसिंगर र कीटाणु पखालिन्छन् । यी फोहोर नाकतिरको कुनामा रहने प्वालबाट निख्रिई सिंगान वा खकारका रूपमा बाहिरिन्छन् । कुनै वस्तु निकै अगाडि हुँदा आँखा बचाउन स्वचालित रूपमै परेला झिम्किन्छ ।

चस्मा र कन्टयाक्ट लेन्स किन ?

नजिक वा टाढाको वस्तु स्पष्ट नदेख्ने मानिसले आँखा जँचाएर आवश्यकताअनुसार चस्मा लगाए प्राकृतिक तवरमा जस्तै बाहय वातावरणबाट आएको प्रकाश आँखाको भित्री तहको पर्दा (रेटिना) मा खस्न मद्दत पुग्छ । चस्माको विकल्पचाहिँ कन्टयाक लेन्स हो । काम गर्ने तौरतरिका भने एउटै हो ।

प्रकाशित : वैशाख १७, २०७४ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?