अन्तर्वार्ता

'पुराना दलहरु परिस्कृत नभए काम नलाग्ने अवस्थामा पुग्छन्'

काठमाडौँ — कमजोर स्वास्थ्य अवस्थाकाबीच पनि चुनावी अभियानमा खटिएका माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन यतिबेला रोल्पामै छन् । गठबन्धन चुनावी अभियानअन्तर्गत उनी रोल्पाको चुनावी अभियानका कमान्डर हुन् । जटिल प्रकारको जण्डिसबाट पीडित उनी चुनावी धपडीकै बीच थप कमजोर बनेका छन् । 

'पुराना दलहरु परिस्कृत नभए काम नलाग्ने अवस्थामा पुग्छन्'

एकातिर गठबन्धनप्रति विश्वास दिलाउनु उनका लागि चुनौती छ भने अर्कातिर त्यसो गर्दा आफ्नै दलभित्र कार्यकर्ता विभाजित छन् । माओवादीको मुख्य आधार क्षेत्र मानिएको रोल्पामा कांग्रेसलाई साथमा लिँदा आफ्नै कार्यकर्ता विरोधमा उत्रिए । प्रदेश क्षेत्रमध्ये एउटामा कांग्रेसलाई उम्मेदवार बनाउँदा पार्टी नीति नमानेर आफ्नै दलका नेता पोलिटब्युरो सदस्य दीपेन्द्रकुमार पुनले बागी उम्मेदवारी दिए । त्यसको व्यवस्थापनमा खटिएका पुन सफल भएनन् । अन्ततः कडा चुनौती पार गर्दै चुनावी अभियानमा खटिनै पर्ने अवस्था आयो । यस बीचमा गठबन्धनलाई असहयोग गरेको आरोपमा पार्टीले करिब आधा दर्जन नेता, कार्यकर्तामाथि कारबाही गरेको छ ।

एक पटक रोल्पाबाट र एक पटक ललितपुरबाट निर्वाचित भएर सरकार र संसद्‌मा प्रतिनिधित्व गर्दै अर्थ, उर्जा, शान्ति तथा पुनःनिर्माणमन्त्री भएका ५१ वर्षीय पुन प्रतिनिधिसभा सदस्यका लागि रोल्पाबाट उम्मेदवार छन् । उनै वर्षमान पुनसँग निर्वाचन, पार्टीको योजना र सत्ता गठबन्धनका सन्दर्भमा कान्तिपुरका काशीराम डाँगीले गरेको कुराकानी ।

गठबन्धनको चुनावी अभियान कसरी चलाउनुभयो ?

गठबन्धनमा पहिलो र दोस्रो दल मिलेको छ । तेस्रो दल प्रतिपक्षी छ । त्यसो हुँदा हाम्रो पक्षमा प्रभाव पनि राम्रो हुने नै भयो । गठबन्धनलाई आउँदो ५ वर्षसम्म लैजाने निर्णय भएको छ । दोस्रो कुरा, डेढ वर्षदेखि सत्ता गठबन्धन सरकारमा पनि छ । राजनीतिक स्थिरता, सुशासन र विकासका लागि काम गर्छौं भनेकाले जनतामा विश्वास पैदा भएको छ ।

तपाईं प्रतिनिधिसभा उम्मेदवार भएकाले जिल्लाको विकास योजनाबारे के भन्नुहुन्छ ?

पहिलो कुरा, अहिलेको संविधानले कार्यविभाजन गरेअनुसार सांसदले नीति, निर्माण गर्ने हो । त्यसो गर्दा संघीयता संरक्षणतर्फ ध्यानदिने कुरा आउँछ । कानुन निर्माण गर्ने, कानुन बदल्नेलगायतका थुप्रै काम छन् । पहिलो पटक बनाइएका कानुन बदल्नुपर्ने कतिपय अवस्था छ ।

दोस्रो कुरा, विकासका लागि ठूल्ठुला आयोजना ल्याउने हो । मदन भण्डारी आयोजना, सहिदमार्ग आयोजना, १ सय ५६ मेगावाटको माडी जलाशययुक्त आयोजनालाई ५ वर्षभित्रै पूरा गर्ने लक्ष्य छ । शिक्षा, स्वास्थ्यलगायतका आधारभूत सेवालाई थप प्रभावकारी बनाउने योजना छ । समग्रमा संघ, प्रदेश र स्थानीय तहको समन्वयमा विकास गर्ने नीति बनाउने र लागू गर्नेतर्फ ध्यानदिने छौं ।

गठबन्धन कार्यान्वयन गर्दा तपाईंको पार्टीभित्र विवाद सिर्जना भयो । पार्टी नै छिन्नभिन्न हुने अवस्था देखियो । कसरी समाधान गर्नुहुन्छ ?

गठबन्धनको निर्णयअनुसार एउटा प्रदेश क्षेत्र कांग्रेसलाई छोड्दा पार्टीभित्र जितिराखेको सिट किन छोडियो भन्ने प्रश्न उब्जियो । नेता र कार्यकर्तामा असन्तुष्टि देखियो । तत्कालीन प्रदेश सदस्य दीपेन्द्रकुमार पुन अहिले स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । हामीले उहाँलाई सम्झाउने र उम्मेदवारी निष्क्रिय बनाउने धेरै प्रयास गर्‍यौं । अन्तिमसम्म प्रयास गरिरहे पनि सकेनौं । त्यसो गर्न नसक्दा राजनीतिक रुपमा कारबाही गर्नुपर्ने अवस्था सिर्जना आयो । गठबन्धनको बारेमा जनतामाझ स्पष्ट गर्ने, गठबन्धनप्रति विश्वास पैदा गर्ने काम पनि गर्‍यौं । अहिले हामीले गठबन्धनले जित्ने आधार बनाएका छौं ।

गठबन्धन पछिसम्मै जैलाने भनेर यहाँले भन्ने गर्नुभएको छ । अबको राजनीतिकअवस्था कस्तो होला ?

हामीले अहिलेको गठबन्धनलाई ५ वर्षसम्म लैजान्छौं । दलहरु एकैसाथ अघि बढ्छौं । सरकारको नेतृत्व फेरिन सक्छ वा एउटैले नेतृत्व गर्ने अवस्था पनि आउन सक्छ । यसमा हामी खुला नै छौं । मुख्य कुरो हामी राजनीतिक स्थायित्वका लागि ५ वर्ष संसद् चलाउँछौं । संसद्‌लाई विघटन गर्दैनौं । यो हाम्रो प्रतिबद्धता हो । सत्ताका लागि नयाँ-नयाँ गठबन्धन बनाउँदैनौं । बरु सुशासन, स्थिरता र समृद्धि कायम गर्ने हाम्रो प्रतिबद्धता हो ।

संविधानमै मिश्रित निर्वाचन प्रणाली अपनाइएकाले स्थिरताका लागि निर्वाचनबाट कुनै दललाई मत आउने अवस्था छैन । स्थिरता कसरी रहन सक्ला र ?

संविधानअनुसार एक्लै सरकार बनाउन कसैको बहुमत पुग्दैन । संविधानको मिश्रित प्रणालीकै प्रभाव हो यस्तो हुनु । प्रायःजसो नेपालमा निर्वाचनपछि मात्रै सरकार बनाउन गठबन्धन बनाउने चलन छ । यही जटिलतालाई ध्यान दिएर हामीले निर्वाचन अघि नै गठबन्धन बनाउने योजना बनायौं । स्थिरताका लागि बलियो र आवश्यक जनमत प्राप्त हुन सकोस् भन्ने उद्देश्यले नै अहिलेको गठबन्धन बनाइएको हो । त्यसो हुँदा बिस्तारै २०७४ मा पनि निर्वाचनअघि नै गठबन्धन बनाइएको थियो । अहिले पनि निर्वाचन अघि नै गठबन्धन बनाइएको छ । विस्तारै गठबन्धनको संस्कार बस्दै गएको छ ।

यसरी हेर्दा निर्वाचन प्रणाली अनुसारको उचित परम्परा निर्माण भएको छ । ५ वर्ष सरकार टिकाउने र संसद्‌ले कामगर्न सक्ने गरी उचित संस्कारको निर्माण गर्ने अवस्था रहृयो ।

लामो समय सरकार र संसद्‌मा प्रतिनिधित्व गर्नुभयो । जनचाहना र अपेक्षा के पाउनुभएको छ ?

जनताले विकास र परिवर्तन खोजेका छन् । परिवर्तन भनेको दलहरु भित्रैको परिवर्तन हो । दलहरुमा नयाँ नेतृत्व र रुपान्तरण खोजेका छन् जनताले । जनताले दलहरुको गतिशीलता र परिस्कृत संस्कार चाहेका छन् । त्यसैले अबको ५ वर्षमा दलहरुले नयाँ ढंगले परिस्कृत रुपमा काम गर्न सक्नुपर्छ । त्यसो गर्न सकिएन भने पुराना दल वा ठूला दलहरु विस्तारै काम नलाग्ने अवस्थामा पुग्छन् । नयाँ दलहरुको संख्या बढ्ने तर स्थापित हुन नसक्ने अवस्था आउनेछ । त्यसो हुँदा अराजकता बढ्ने अवस्था रहन्छ । राजनीतिक शून्यताको खतरा छ । यस्तोमा हाम्रो प्रतिबद्धता ५ वर्षका लागि चुनाव जित्ने मात्र होइन, हामी रुपान्तरित भएर काम गर्नेछौं । विकासमैत्री र सुशासनमैत्री पार्टी बनाएर काम गर्ने हाम्रो प्रतिबद्धता रहन्छ ।

प्रकाशित : मंसिर १, २०७९ २२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?