कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५
अन्तरवार्ता

‘जनताले गरेको विश्वास नै मेरो जितको आधार हो’

कान्तिपुर संवाददाता

काठमाडौँ — रुपन्देहीमा पाँच निर्वाचन क्षेत्रमध्ये चारवटामा चुनावी माहोल तातेको देखिँदैन । अधिकांश सहर र बजार क्षेत्र भएकाले धेरै कार्यक्रम र भेटघाट पार्टी प्यालेसमा केन्द्रित छन् । घरदैलो र टोल भेलामा उल्लेख्य सहभागिता देखिँदैन । अरु क्षेत्रमा सुनसान माहोल भए पनि रुपन्देहीको मर्चवार क्षेत्रमा फरक रौनक देखिन्छ ।

‘जनताले गरेको विश्वास नै मेरो जितको आधार हो’

दलको प्रचारमा नागरिकको सहभागिताले उक्त क्षेत्रमा चहलपहल छ । रुपन्देही-४, मा गरिने घरदैलोमा ठूलो सहभागिता देखिन्छ । सीमावर्ती यस क्षेत्रमा दलबीच गठबन्धन छैन । सबै दल आ-आफ्ना उम्मेदवारसहित मित्रवत् प्रतिस्पर्धामा छन् । यहाँ सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार प्रमोद यादव र लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्लाबीच मुख्य प्रतिस्पर्धा छ । जनमत पार्टीका भोपेन्द्र यादव र जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका ओमप्रकाश यादवले चुनौती पेश गरिरहेका छन् । ०७४ सालमा प्रमोद यादवले यस क्षेत्रका पुराना राजनीतिज्ञ शुक्लालाई पराजित गरेका थिए । यसपटक दुईबीच टक्कर छ । रुपन्देही-४ मा भइरहेको चुनावी अवस्थाबारे कांग्रेस उम्मेदवार यादवसित कान्तिपुरकर्मी दीपेन्द्र बडुवालले गरेको कुराकानी :

चुनावी प्रचार कस्तो भयो ?

रुपन्देहीका अरु क्षेत्रभन्दा मर्चवार फरक छ । यहाँका मतदातासित भेटघाट गर्नैपर्छ । अन्य माध्यमभन्दा भेटघाट प्रभावकारी हुने भएकाले आफ्नो क्षेत्रका अधिकांश घरमै पुगेर आफ्नो कुरा सुनाएको छु । भेट्न सम्भव नहुँदा स्थानीय टोलमा कोणसभा आयोजना गरियो । ४ दिनअघि निर्वाचन क्षेत्र समेटेर आमसभा पनि आयोजना गरिसक्यौं । मतदाताको जोशपूर्ण सहभागिताले प्रचार कार्यक्रम सफल भएजस्तो लाग्छ । मनोनयनको दिनदेखि जनताको साथ पाइरहेको छु ।

तपाईंको जितको आधार के हो ?

यस क्षेत्रबाट पहिले धेरैले चुनाव जिते । चुनाव जितेपछि फर्केर विकासका काम गरेनन् । त्यसैले मर्चवार सधैं अविकसित क्षेत्रका रुपमा रहेको थियो । यहाँ आउन डराउने अवस्था थियो । बाटोघाटोको सुविधा थिएन । ०७४ सालमा मैले निर्वाचन जितेपछि यहाँ विकासका काम सुरु भएका छन् । जनताले भेटेर सुखदुःख बाँड्न पाएका छन् । नेता गाउँमा नफर्किने समस्या अन्त्य भएको छ । स्थानीय तहसित मिलेर सडक पूर्वाधारका कामलाई अगाडि बढाएका छौं । कोरोना महामारीले धेरै प्रभाव पार्‍यो । धेरै विकास आयोजनाको बजेट फ्रिज भयो । तैपनि मर्चवारका सडक पिच भएका छन् । सार्वजनिक यातायातका साधन चल्न थालेका छन् । यस अवधिमा सुरु गरेका विकासका काम र यहाँका जनताले गरेको विश्वास नै मेरो जितको आधार हो ।

तपाईंका चुनावी एजेन्डा के-के हुन् ?

रुपन्देही-४ को मुख्य एजेन्डा भनेको कृषि हो । कृषिलाई सुधार गर्न सिँचाइ जरुरी छ । त्यसका लागि लिफ्ट र ओभर ट्याङ्क सिँचाइका लागि पहल गरिरहेका छौँ । यहाँका बासिन्दाले मल र बीउ पाइरहेका छैनन् । मल र बीउ सहज उपलब्ध गराउनुपर्नेछ । यहाँ शिक्षाको अवस्था राम्रो छैन । त्यसैले कन्या र प्राविधिक विद्यालय निर्माण गर्ने मेरो योजना छ । यस क्षेत्रमा एउटा अस्पताल आवश्यक छ । अहिले एउटा पालिकामा १५ शय्याको क्षमता भएको अस्पतालको शिलान्यास गरिसकेका छौं । यातायातको व्यवस्थापनमा जोड दिइरहेका छौं । विद्यालयको भौतिक पूर्वाधार सुधार गर्ने योजना छ । यस क्षेत्रका अधुरा काम पूरा गर्न अवसर दिनुस् भनिरहेको छु ।

मित्रवत् भनिएको छ, तपाईंको प्रतिस्पर्धा कोसित छ ?

रुपन्देही-४ मा दलबीच गठबन्धन छैन । यहाँ नेपाली कांग्रेससित कसैको प्रतिस्पर्धा छैन । लोसपाका सर्वेन्द्रनाथ शुक्ला, जनमतका भोपेन्द्र यादव र जसपाका ओमप्रकाश यादवबीच दोस्रो हुनका लागि प्रतिस्पर्धा छ । मसित मुख्य प्रतिस्पर्धामा शुक्लाजी नै आउनुहुन्छ जस्तो लागेको छ । स्थानीय तहको मतका आधारमा पनि अगाडि छौं । यहाँबाट प्रदेशसभा ४ (१) अष्टभुजा पाठक र र ४ (२) बाट वसिउद्दिन खाँनले जित्नुहुन्छ । यसमा कुनै शंका छैन ।

तपाईंले विकास नगरेको आरोप पनि छ नि ?

त्यो विपक्षीले लगाएको आरोप हो । मैले जितेपछि मर्चवारमा विकासको लहर आएको हो । नपत्याए जनतालाई सोध्नुस् । मैले त्यो परम्परा तोडे । यहाँ समस्या पर्दा समाधानका लागि उपलब्ध भए । अर्को कुरा म युवा हुँ । युवालाई अवसर दिए काम गर्छन् भन्ने विश्वास मतदातामा बढ्दै गएको छ । निर्वाचनपछि नेपाली कांग्रेस नेतृत्वमा सरकार बन्छ । मेरै पालामा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकासमा केही योजना यहाँ परेका छन् । त्यसैले पनि मलाई चुन्नेछन् भन्ने विश्वास छ ।

मर्चावारका मतदाताका अपेक्षा कस्ता छन् ?

रुपन्देही-४ का समस्याबारे मैले अघि बताइसके । यहाँका जनताका धेरै ठूला अपेक्षा छैनन् । पूरा गर्न सकिने अपेक्षा छन् । सदरमुकाम भैरहवासित जोडिएर पनि सधैँ ओझेलमा परेको क्षेत्र हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हाम्रै क्षेत्र नजिक छ । लुम्बिनी यहीँ नजिक छ । तर, मर्चवार सधैँ अन्धकारमा रह्यो । यसको कारण यहाँ नेताको अभाव भयो । यो कुरा यहीँका जनताले भनिरहेका छन् । मतदाताको ठूलो अपेक्षा भनेको मल र बीउ हो । त्यसपछि स्वास्थ्य, शिक्षामा सुधार हुनुपर्छ भनिरहेका छन् । यहाँ उच्च शिक्षा अध्ययनका लागि राम्रो क्याम्पस छैन, त्यो बनोस् भनिरहेका छन् । रोजगारीका लागि तड्पिनुपर्ने अवस्था छ । त्यसको अन्त्य होस् भन्ने मतदाताको अपेक्षा छ । यी सबै अपेक्षा पूरा गर्न सकिन्छ । स्थानीय सरकारसित सहकार्य गरे यस्ता अपेक्षा पूरा गर्न सकिने ठानेको छु ।

प्रकाशित : कार्तिक ३०, २०७९ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?