१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

संक्रमण रोक्ने हो भने काठमाडौंलाई तत्काल सिल गर्नुपर्छ : मेयर शाक्य

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं उपत्यकामा कोरोना संक्रमितमध्ये ६५ प्रतिशतभन्दा बढी काठमाडौं महानगरभित्र बसोबास गर्छन् । केही समयअघिसम्म काठमाडौं बाहिर र विदेशबाट फर्केकालाई संक्रमण देखिए पनि अहिले समुदायस्तरमा फैलिन थालेको अनुमान गरिएको छ ।

संक्रमण रोक्ने हो भने काठमाडौंलाई तत्काल सिल गर्नुपर्छ : मेयर शाक्य

एकजना संक्रमित देखिँदा डिसइन्फेक्सन छर्कने र जनचेतनामा जोड दिएको काठमाडौं महानगरले संक्रमण फैलिँदा काम गर्न नसकेको आरोप छ । यसै विषयमा कान्तिपुरका मकर श्रेष्ठले महानगरपालिका मेयर एवं उपत्यका मेयर फोरमका संयोजक विद्यासुन्दर शाक्यसँग गरेको कुराकानी :

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ व्यवस्थापन गर्न काठमाडौं महानगरले के गरिरहेको छ ?

महानगरलाई मात्रै होइन उपत्यकालाई नै एउटा यूनिटको रुपमा हेरेका छौं । हामी उपत्यकाका १८ जना मेयरहरु एकै ठाउँमा छौं । कोरोना नियन्त्रण गर्न संयुक्तरुपमा प्रयास जारी छ । कतिपय निर्णय महानगरले मात्रै पनि गरेको हुन्छ । लकडाउनको बेला हामीले गरेको कामको प्रशंसा गर्दै सरकार र स्थानीय जनताले धन्यवाद दिएका छन् । हाम्रो प्रयासले विगतमा कोरोना संक्रमण फैलिन पाएन तर अहिले बढेको छ । काठमाडौं महानगरभित्र मात्रै ३ सयजना भन्दा बढी संक्रमित छन् । सिंगो उपत्यकामा संक्रमण बढ्दोछ । उपत्यका सिल गरौं भनेर हामीले पहिलादेखि भन्दै आइरहेका छौं । जोखिमको अवधिमा सिल गर्दा काठमाडौं बचाउन सकिन्छ भनेका थियौं । लकडाउन अवधिमा धेरै हदसम्म यो काम भयो । पूर्ण रुपमा भने भएन । उपत्यकाभित्र लकडाउन हुने तर बाहिरबाट आएको आयै भयो । यसको असर अहिले देखिएको हो ।

अब के गर्ने ?

संक्रमण रोक्ने हो भने उपत्यकालाई सिल गर्नुपर्छ । अत्यावश्यक कामका लागि आउने व्यक्तिलाई मात्रै प्रवेश दिनुपर्छ । सरकारले एउटा जिल्लाबाट अर्को जिल्लामा जान पाउँदैन भनेको छ । बाहिरका व्यक्ति काठमाडौं आउँदा मैले चिन्ता लिएजस्तै यहाँका मान्छे बाहिर जाँदा अरुले चिन्ता लिएको हुन्छ । त्यसैले एक ठाउँबाट अर्को ठाउँको आवतजावत बन्द गरौं । अहिले लकडाउन खुलेको छ । सरकारले लामो दूरीको सवारी चलाउन अनुमति दिएको छैन । अहिले स्थानीयलाई खासै संक्रमण देखिएको छैन । पेशा व्यवसाय गर्न काठमाडौं बाहिरबाट आउने बढी संक्रमित छन् । त्यसैले बाहिरबाट आएकालाई रोक्नु पर्छ । नत्र नियन्त्रण गर्न गाह्रो हुन्छ ।

कोरोना नियन्त्रण गर्न कस्तो निर्णय गर्नुहुन्छ ?

उपत्यका नगरपालिका फोरमले केही दिनमा संयुक्त निर्णय गर्दैछ । सीसीएमसी र स्वास्थ्य मन्त्रालयसँग पनि छलफल भइरहेको छ । शंकास्पद व्यक्तिलाई हामीले पीसीआर गर्न पठाएका छौं । भारतबाट रोजगारी गुमाएर लुकिछिपी काठमाडौं भित्रिएर घरघरमा तरकारी बेच्न जाने, फलफूल बेच्ने, ठेला चलाउने, कवाडी उठाउनेलाई नियन्त्रण गर्न सकेनौं भने झन् संक्रमण बढ्छ । उपत्यका मेयर फोरममा पनि यसलाई छलफलको विषय बनाउँछौं ।

आवश्यक निर्णय गर्न ढिलाई भएन ?

ढिला कहिलेलाई भन्ने हो । हामीले गरेको निर्णय मानेको भए संक्रमण फैलिने थिएन । हाम्रो कुरा सरकारले सुन्यो तर, जनताले मान्दिएनन् । हामीले नाकामा कडाई गर्न माग गरेका थियौं, गृहले परिपत्र गर्‍यो । त्यही अनुसार काम पनि भयो । तर, अहिले लुकिछिपी आउने प्रवृति रह्यो । काठमाडौंमा जात्रा रोकेका छौं । मन्दिरमा पूजा रोकेका छौं । धर्मशाला रोकेका छौं । त, अनसन र नारा जुलुस रोकिएन । यो रोक्नु पर्छ । सत्याग्रह भएको ठाउँमा भीडभाड भइरहेको छ । त्यहाँ क्याटवाक भइरहेको हुन्छ ।

सत्याग्रह बस्नेले पीसीआर बढाउ भन्ने माग गरेका छन् के उनीहरुको माग गलत हो र ?

पीसीआर औषधि होइन । बुझेर वा नबुझेर पीसीआर बढाउनु पर्ने भनिरहेका छौं । खाना नपाएका मान्छे बिरामी भएका छन् । भएका स्रोत साधनले नभ्याउने गरी पीसीआर गर्न सकिदैन । पीसीआर परीक्षणले आजको अवस्थामात्रै जनाउँछ । औषधिको काम त गर्दैन । एकपटक कोही मान्छेको पीसीआर गरेर समुदायमा गएपछि फेरि संक्रमण नहोला भन्न सकिदैन । थानकोट नाकामा १० हजारको पीसीआर गराएको छ । खर्च कति होला ? हामी डिफेन्सिभ होइन कि अफेन्सिभ भएर जानुपर्छ । सत्याग्रह बसेर पीसीआर बढाउ चाहिँ भन्ने अनि मान्छे भेला गराउँदा रोग फैलिदैन ? पीसीआर गर्दा हाम्रै पैसा जाने हो । हेर्दा सरकारको खर्च भएजस्तो हुन्छ । सरकारको पैसा भनेको हाम्रै हो । त्यसैले दुरुपयोग गर्नुहुँदैन । पीसीआर बढाएरमात्रै हुँदैन । यो नै रोगको निदान होइन । एकजनाको पीसीआर गर्दा १० हजार खर्च हुन्छ रे । त्यसैले धेरै पीसीआर गराएर राज्यको खर्च नगरौं ।

महानगरले एकजना संक्रमित देखिँदा सडकमा डिस्इन्फेक्सन छर्किने देखि सावधानी अपनाउन जनचेतना जगाउने तदरुकता देखाएको थियो । अहिले देखिँदैन नि ?

अहिले पनि डिसइन्फेक्सन भइरहेको छ । मूख्य सहरमा सबै मेसिन चलाएका छौं । उबेला केही गाडी भाडामा लिएर पनि चलायौं । अहिले हामीसँग भएका गाडीबाट मात्रै गरिरहेका छौं । सबैभन्दा जोखिम भएको तरकारी र फलफूल बजारलाई केन्द्रित गरेर डिस्इन्फेक्सन गरिरहेका छौं ।

काठमाडौंमा आइसोलसनको अभाव छ । यो बेला संक्रमितको व्यवस्थापन कसरी गर्ने ?

देशभरी भेन्टिलेटरको संख्या न्यून छ । आइसोलेसनमा राख्न अस्तपालको क्षमता कम छ । भेन्टिलेटर र आइसालेसन बढाउने कि रोग नियन्त्रण गर्ने ? मेरो प्राथमिकता रोग नियन्त्रण गर्नेमा हुन्छ । आइसोलेसनको व्यवस्थापन गर्ने जिम्मा सरकारले लिएको छ । कोरोना संक्रमितको संख्या वृद्धि भइरहेकै छ । सरकारले गरेन भनेर गाली गर्नेमात्रै होइन राम्रो काम गराउन आफ्नो भूमिका र जिम्मेवारी पूरा गर्नुपर्छ । यसको लागि सरकारले ल्याएको मापदण्ड पालना गरौं । निर्णय कार्यान्वयन गर्ने हो भने संक्रमण नियन्त्रण गर्न सकिन्छ । आइसोलन व्यवस्थापन गर्न हामीसँग पर्याप्त जनशक्ति छैन । सरकारले ल्याएको कार्यक्रमको आर्थिक दायित्व महानगरले व्यहोर्न तयार छ भनेका छौं ।

बाहिरबाट हेर्दा त संक्रमित पत्ता लगाउने देखि व्यवस्थापन गर्नेसम्मको सबै काम संघले गरेको देखिन्छ । जनताले त हाम्रो मेयरले केही गरेनन् भनेर खोज्नु पर्ने अवस्था छ । तपाईले महानगरबासीको लागि चाहिँ के गर्नु भयो ?

कोरोना संक्रमण नियन्त्रण गर्न सबैभन्दा १० करोडको कोष काठमाडौं महानगरले बनाएको हो । त्यसबेला काहीे पनि भोकै बस्नु पर्दैन भनेका थियौं । लकडाउनमा कसैले भोकै बस्नु परेन । काठमाडौं महानगरले संघ र प्रदेशसँग बजेट मागेको छैन । हामी आफैं गरिरहेका छौं । सुरुको दिनमा जनचेतना जगाउने काम गर्‍यौं । मास्क र स्यानिटाइजर प्रयोग गर्न सिकायौं । ठाउँ ठाउँमा पानी ट्याङकीको व्यवस्था गर्‍यौं । डिस्इन्फेक्सन छयाप्छ्याप्ती बनायौं । घरघरमा राहत बाड्यौं । कुनै घर पनि छुटाएनौं । सरकारसँग हात फैल्याएनौं । प्रदेश र संघले निर्णय गर्दा हाम्रो सहभागिता छ । काठमाडौंलाई बचाउन संघ र प्रदेशका मन्त्रीलाई भेटेका छौं । सीसीएमसीको बैठकमा सहभागि भएका छौं । काठमाडौंमा दैनिक आवतजावत हुन्छ । त्यसको लगत हामीले राख्न सक्दैनौं । बाहिर मान्छे आउँदा मैले चाहेर पनि सकिदैन । संघीय सरकारलाई गुहार्नु पर्ने हुन्छ । अझ काठमाडौं छिर्ने नाका मेरो क्षेत्र होइन । नागढुङ्गामा अर्कै मेयर छन् भक्तपुरको नाकामा अर्कै मयर । विभिन्न जिल्लाबाट गाडीमा ल्याएर नाकामा छाड्दिने अनि त्यहाँको मेयरलाई गाली गरेर केही हुँदैन । जिल्लाबाट रोक्नु पर्छ । बाहिरबाट आउने मान्छेलाई हामीले रोक्न सक्दैनौं । संघीय सरकारकै भर पर्नु पर्ने हुन्छ । संक्रमित अवस्थामा जो जहाँ छन् त्यहीं बसेर सहयोग गरिदिनुस् । गृह प्रशासन हाम्रो मातहतमा छैन । यो कुरा नबुझ्दा मेयरले केही गरेन भन्ने बुझाई भएको हो । सबैसँग सहकार्य र समन्वय गरेर चलाउनु पर्ने हुन्छ ।

केन्द्रले गरेको काम चित्त बुझेको छ ?

संघले कोरोना नियन्त्रण गर्न जे निर्णय गरिरहेको छ, हामीले कार्यान्वयन गरिरहेका छौं । त्यो निर्णय हामीले मान्नु पर्ने हुन्छ । संघीय सरकारले निर्णय गरे पनि कार्यान्वयन हामीले गर्ने हो । संघले गर्ने निर्णय देशैभरी हुन्छ । मैले गरेको निर्णय मेरो महानगर क्षेत्रभित्र मात्रै हुन्छ ।

महानगरबासीलाई साह्रो–गाह्रो हुँदा समाधान गरिदिने अभिभावक तपाई हो तर, प्रमुख जिल्ला अधिकारीहरुको बैठकले पो तपाईको क्षेत्रमा के गर्ने ? के नगर्ने निर्णय गरिरहेको छ । यो हस्तक्षेप हो कि तपाईले गर्न नसक्नु भएको ?

कतिपय निर्णय क्याबिनेटले गर्छ । पछिल्लो समय कोरोना सम्बन्धी निर्णय क्याबिनेटभन्दा पनि सीसीएमसीले गरिरहेको छ । जिल्लामा डीसीएमसीले निर्णय गर्छ । जुन बैठकमा हामी पनि सहभागि हुन्छौं । उहाँहरुले गरेको निर्णय मैले नमान्ने होइन । ऊ को हो र भन्ने होइन । डीसीएमसीले गरेको निर्णय सबैले मान्नु पर्ने हुन्छ । जसले जे निर्णय गरे पनि सिंगो काठमाडौं बचाउन गर्ने हो । राम्रो निर्णय जसले गरे पनि कार्यान्वयन गर्न सघाउनु पर्छ । मैले गरेको निर्णय पनि गृह प्रशासनले कार्यान्वयन गर्नुपर्छ । गृह प्रशासनले गरेको पनि हामीले कार्यान्वयन गर्नु पर्ने हुन्छ ।

संघीय सरकारले अब उपत्यकाको कोरोना नियन्त्रण गर्न के गर्नुपर्छ ?

काठमाडौंमा संक्रमण फैलिन नदिन सिल गर्न ढिलाई हुँदैन । यो हामीले गर्न सक्दैनौं । अहिले तरकारी, एम्बुलेन्सको गाडीमा पनि बाहिरबाट आएको सुनिन्छ । यो रोकिनुपर्छ ।

बाहिरबाट आएका व्यक्तिलाई काठमाडौं महानगरले बनाएको क्वारेन्टाइनमा राख्न सकिदैन ?

कति जनालाई क्वारेन्टाइनमा राख्ने ? दैनिक लाखौं व्यक्ति आउँछन कसरी व्यवस्थित गर्न सकिन्छ ? काठमाडौंमा खुला ठाउँ छैन । क्वारेन्टाइन बनाउने ठाउँ कहाँ छ ? हरेक वडामा क्वारेन्टाइन बनाउने होइन । टाढा खुला ठाउँमा बनाउने र खर्च हामी मिलेर गरौं भन्ने मेरो मान्यता हो । कसले के गर्‍यो गरेन भन्दा पनि सुरक्षित हुन अपनाउनु पर्ने सतर्कता र मापदण्ड पालना गरौं ।

कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङ गर्ने काम स्थानीय तहको हो । तर, यसमा काठमाडौं महानगरले आफ्नो जिम्मेवारी पूरा गरेको छैन भन्ने आरोप छ नि ?

कन्ट्याक ट्रेसिङ गर्ने दायित्व हाम्रो हो । गरिरहेका छौं । हजारौंको कन्ट्याक ट्रेसिङ गरिरहेका छौं । कन्ट्याक्ट ट्रेसिङ गाह्रो होइन तर यो समाधान होइन । महाबौद्धमा ५ जना पोजेटिभ देखिएपछि उपचारको लागि पठायौं । ३ सय २ जनाको कन्ट्याक्ट ट्रेसिङ गर्‍यौं । पीसीआर गरायौं । तर, प्रभावकारी भएन । कोही मान्छेको कन्ट्याक्टमा पुगेको सात दिनपछि पीसीआर गर्दा मात्रै प्रभावकारी हुन्छ ।

यसरी संक्रमितको संख्या हवात्तै बढ्नुको कारण के होला ?

लकडाउनको बेला उपत्यका शान्त नै थियो । संक्रमित देखिएको थिएन । लकाउन खुलेपछि भारत र विभिन्न जिल्लाबाट आएपछि संक्रमित भएको हो ।

संक्रमित बढेपछि वडास्तरबाट बजार पसल बन्द गराउने निर्णय गरिरहेको छ । अब के जहाँ संक्रमित देखियो त्यो वडाले बन्द गर्ने नीति हो ?

हिजो उही व्यापारीले पसल खोल्न दिएन भनेर आन्दोलन गरे । अहिले त्यही व्यापारीले बन्द गरिदिनु पर्‍यो भनिरहेका छन् । एक ठाउँमा बन्द गरेर सिल गरेर केही हुँदैन । गर्ने हो भने काठमाडौं उपत्यका सिल गर्नुपर्छ । महानगरभित्रै कोरोना संक्रमण फैलिएको छ । वडा कार्यालय बन्द गरेर समाधान हुँदैन । सील गर्ने भनेको क्षणिकमात्रै हो । कन्ट्याक्ट ट्रेसिङको लागि मात्रै हो । काठमाडौं बन्द गरेर ललितपुर बन्द समाधान होइन । क्षणिक मात्रै हो । नाका नै बन्द गर्नुपर्छ ।

प्रकाशित : श्रावण २५, २०७७ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?