१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

‘कम खर्चिलो भएकाले प्लाज्मा थेरापी नेपालका लागि उपयुक्त’

अतुल मिश्र

काठमाडौँ — कोभिड–१९ संक्रमणपछि स्वास्थ्य अवस्था जटिल भई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको आईसीयूमा भर्ना भएका ६० वर्षीय चिकित्सकको प्लाज्मा थेरापीबाट उपचार भएको छ । 

‘कम खर्चिलो भएकाले प्लाज्मा थेरापी नेपालका लागि उपयुक्त’

कोरोना संक्रमितको उपचारमा प्लाज्मा थेरापीको प्रभावकारिता र नेपालमा यसको सान्दर्भिकताका सम्बन्धमा त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समिति प्रमुख एवं छाती रोग विशेषज्ञ डा. सन्तकुमार दाससँग अतुल मिश्रले गरेको कुराकानीको सम्पादित अंश :

नेपालमा प्लाज्मा थेरापी कति प्रभावकारी छ ?

प्लाज्मा थेरापी कोभिड–१९ का लागि नयाँ उपचारको विकल्प हो । हाल यो उपचार पद्धति जति मुलुकमा प्रयोगमा ल्याइएको छ, सबै अध्ययनका लागि मात्रै हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आकस्मिक उपयोगका लागि यो पद्धतिलाई सिफारिस गरेको छ । धेरै ठाउँमा यसको राम्रो प्रभाव देखिएको छ । यसै सन्दर्भमा नेपालमा समेत नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को समन्वयमा अनुसन्धान उद्देश्यका लागि प्लाज्मा थेरापीलाई अघि बढाइएको छ । यसका लागि हामीले परिषद्सँग सम्पर्क गरेर प्लाज्मा दान गर्ने दाता खोज्यौं र नतिजा पनि धेरै राम्रो आयो ।

नेपाल जस्तो राष्ट्रका लागि यो थेरापी उपयुक्त छ । किनभने एन्टिभाइरल औषधि धेरै महँगो हुन्छ । एक मात्राको ८० हजार रुपैयाँसम्म पर्छ । बिरामीलाई १० देखि ११ मात्रासम्म दिनुपर्छ । त्यसको प्रभाव पनि त्यति राम्रो देखिएको छैन । हामीले प्लाज्मा थेरापीबाट उपचार गरेका बिरामीमा एन्टिभाइरल औषधिसमेत चलाएका थियौं । ५ दिन रेमडिसिभिर एन्टिभाइरल चलाएपछि पनि राम्रो सुधार देखिएन । हाम्रा ९० प्रतिशतभन्दा बढी जनता यस्ता औषधि किन्न सक्दैनन् । नेपालजस्तो मुलुकमा औषधिको मूल्यले धेरै महत्त्व राख्ने भएकाले अत्यन्त न्यून खर्च लाग्ने प्लाज्मा थेरापी नै हाम्रा लागि महत्त्वपूर्ण हो ।

यसबाट उपचार गर्न कति खर्च लाग्छ ?

प्लाज्मा थेरापी खासमा रक्तदान हो । नेपालको कानुनअनुसार कसैले रकम लिएर रक्तदान गर्न पाउँदैनन्, इच्छाले मात्र गर्न सक्छन् । यसैले यो थेरापीमा रुचि राख्ने व्यक्तिले रक्तदान गर्न सक्छन् । रक्तदान गर्न शुल्क लाग्दैन । रगतको ‘प्रोसेसिङ’ मा विभिन्न रोगको संक्रमण नभएको सुनिश्चित गर्न ‘स्क्रिनिङ’ गरिन्छ । यसका लागि ६ सयदेखि ७ सय रुपैयाँसम्म खर्च हुन्छ । त्यसपछि रगतबाट प्लाज्मा छुट्याउनुपर्छ । ब्लड बैंकमा यो छुट्याउने प्रक्रियाका लागि स्वास्थ्य अनुसन्धान परिषद्ले शुल्क तिर्छ । यसैले बिरामीले प्लाज्मा थेरापीमा कुनै खर्च गर्नु पर्दैन, निःशुल्क हुन्छ ।

संक्रमितलाई कतिपटक प्लाज्मा चढाउनुपर्छ ?

हामीले पहिलो केसमा एकपटक मात्र प्लाज्मा दिँदा नै संक्रमितमा राम्रो सुधार देखिएको थियो । धेरैजसो संक्रमितलाई एक मात्रा प्लाज्माले नै सुधार हुन्छ भने कसै–कसैलाई दोहोर्‍याउनुपर्छ ।

कस्ता बिरामीलाई प्लाज्मा थेरापी आवश्यक पर्छ ?

प्लाज्मा थेरापी १८ वर्षमाथिका कोभिड–१९ संक्रमितमा गर्न सकिन्छ । यसका लागि बिरामी अस्पतालको आईसीयूमा भर्ना भएको हुनुपर्छ । स्वास्थ्य अवस्था गम्भीर वा अक्सिजन धेरै चाहिने र ज्यान नै खतरामा पर्ने खालको निमोनिया भएको हुनुपर्छ । फोक्सोको एक्सरेमा २४ देखि ४८ घण्टाभित्र ५० प्रतिशतले निमोनियाको दाग बढेको, श्वास फेर्ने दर प्रतिमिनेट ३० पटकभन्दा बढी भएको र अक्सिजन स्याचुरेसन ९३ प्रतिशतभन्दा कम भएको बिरामीमा मात्र यो पद्धतिबाट उपचार गर्न सकिन्छ ।

कस्ता व्यक्तिले प्लाज्मा दान गर्न सक्छन् ?

१८ वर्षभन्दा धेरै उमेरका कोरोना संक्रमणमुक्त व्यक्तिले प्लाज्मा दान गर्न सक्छन् । दातामा कोरोनाको लक्षण नहुनुका साथै दोहोर्‍याएर पीसीआर परीक्षण गर्दा नतिजा नेगेटिभ आएको हुनुपर्छ । कोरोनामुक्त भएको १४ दिन पुगेपछि दान गरिएको प्लाज्मालाई थेरापीका लागि उपयुक्त मानिन्छ । एकपटक प्लाज्मा दान गरेको व्यक्तिले दुई साताको अन्तरमा फेरि रक्तदान गर्न सक्छन् । तर रक्तदाता र ग्रहणकर्ताबीचको रक्त समूह मिल्नुपर्छ ।

यस पद्धतिको कुनै खराब पक्ष त छैन ?

प्लाज्मा थेरापीको मुख्य खतरा ‘ट्रान्सफ्युजन रिलेटेड एक्युट ल‌ंग इन्ज्युरी’ हो । अर्थात् कहिलेकाहीँ ट्रान्सफ्युजन भएपछि प्रतिक्रियास्वरूप फोक्सोको अवस्था झन् बिग्रिने सम्भावना रहन्छ । विशेष गरी कोरोनामुक्त सुत्केरीको रगत अरू बिरामीलाई दिँदा यसको सम्भावना रहन्छ । यो सम्भावना कम गर्न हामीले पुरुष र सुत्केरीबाहेकका महिलाको मात्र रगत दानमा लिने गरेका छौं ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण १९, २०७७ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?