१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘सिटी नेटले स्थानीय सरकारसँग मात्रै काम गर्छ’

कान्तिपुर संवाददाता

सहरहरुको सञ्जाल (सिटी नेट) एसिया प्रशान्त क्षेत्रका विभिन्न नगरपालिका र संघसंस्था आबद्ध गैरनाफामूलक संस्था हो । सञ्जालको ३८औं कार्यसमितिको बैठक र सम्पदा तथा दिगो पर्यटन विकास विषयक अन्तर्राष्ट्रिय तीनदिने गोष्ठी शुक्रबार ललितपुरमा सकियो । बैठकमा विभिन्न देशका १४ नगरप्रमुखसहित ८८ विदेशी सहभागी थिए । बैठकमा भएका छलफललगायत विषयमा सिटी नेटका महासचिव विजय जगन्नाथनसँग गरिएको कुराकानी :

‘सिटी नेटले स्थानीय सरकारसँग मात्रै काम गर्छ’

अरू देशको तुलनामा यहाँको व्यवस्थापन कस्तो लाग्यो ?

यहाँको आतिथ्यले निकै खुसी तुल्यायो । दुइटा भ्रमण अत्यन्त रमाइला भए । अरू देशमा बैठक सकेर हामी फर्कन्छौं तर यहाँ स्थानीय सम्पदा, संस्कृतिको अवलोकन गर्न पायौं ।

पाटन र बुङमती अवलोकनमा पनि जानुभयो, त्यहाँ के पाउनुभयो ?

यहाँ थुप्रै मूर्त–अमूर्त सम्पदा छन् । यहाँको परम्परागत संस्कृति र झाँकीहरू हेर्न पायौं । नेवारी परिकार, पहिरन र विभिन्न कलाहरूको प्रदर्शन गरिएको थियो । त्यसले यहाँको मौलिकता बुझ्न सघायो । यहाँ पुनर्निर्माण सुरु भएको रहेछ, मौलिक स्वरूपमा यसलाई पूरा गर्न सके पर्यटनलाई झन् आकर्षण गर्न सकिन्छ ।

ललितपुर महानगरका जनप्रतिनिधिले नगरको विकासमा केके गर्न सक्छन्, सिटी नेटको कस्तो सहयोग रहन्छ ?

नगरमा अबको पाँच वर्षमा केके गर्न सकिन्छ, भिजन बनाउनुपर्‍यो । भिजन भयो भने योजना बन्छ, योजना बन्नु भनेको आधा काम सकिनु हो । त्यसका लागि समुदायलाई समेट्न जरुरी छ । सिटी नेटले क्षमता अभिवृद्धि विकास र सदस्य संस्थाहरूबीच समन्वय गर्छ । ललितपुर महागरले छुट्टै कार्यक्रम चाहेमा अनुरोध गर्नुपर्‍यो । नेपाल च्याप्टरलाई सक्रिय बनाउनुपर्‍यो । हामी आइडिया दिन्छौं । जता राम्रो काम भइरहेको छ, हामी लिंक गराइदिन सक्छौं ।

नगरको विकासमा दातृ निकाय र नगरपालिकाबीच सिटी नेटले प्रभावकारी समन्वय गर्न सकिरहेको छैन भन्ने सुनिन्छ नि ?

दातृ निकाय सरकारसँग सम्बन्धित हुन्छ । जस्तै: जीआईजेड जर्मन सरकार, यूएसएआईडी अमेरिकन सरकार मातहत छन् । उनीहरूको आफ्नै एजेन्डा हुन्छ । केन्द्रीय सरकारसँग समन्वय हुने भएकाले उनीहरूलाई आकर्षण गर्न गाह्रो छ । सिटी नेटले समष्टिगत रूपमा सोच्छ । हामी ठूलो स्केलमा काम गर्ने संस्था पनि होइन । ठूलो प्रोजेक्टका लागि जुन देशमा काम गर्ने हो, त्यहाँको सरकार नै प्रमुख हुन्छ ।

सिटी नेटमा आबद्ध सदस्य संस्थाको विकास गर्न तपाईंका के योजना छन् ?

सिटी नेटले आफ्ना सदस्यलाई चार विधामा सहयोग गर्छ । विपद् व्यवस्थापन, जलवायु परिवर्तन, पूर्वाधार विकास र दिगो विकास । जलवायु प्रदूषण कसरी न्यूनीकरण गर्ने र त्यसबाट कसरी बच्ने भनेर हामी प्रोजेक्ट सञ्चालन गर्दैनौं । तर, कसैले प्रस्ताव ल्याए सिटी नेटले समन्वय गरिदिन्छ । दातृ निकाय खोज्नेभन्दा पनि धनी नगरपालिकासँग अन्य नगरपालिकाको सम्बन्ध गाँस्न प्रयास गरिदिने हो ।

सिटी नेटसँग अबको भिजन के छ ?

हाम्रो मुख्य काम नै सदस्य संस्थाहरूलाई सहयोग गर्ने हो । क्षमता विकास र सम्बन्ध विस्तार गराइदिने हो । कुनै एउटा देशको सहरमा राम्रा प्रगति भएका छन् भने अर्को सहरसँग सम्बन्ध गराएर ‘एक्सप्लोजर भिजिट’ गराउने हो । एक हिसाबले भन्ने हो भने हामी लमीको काम गर्छौं ।

सिटी नेटको सदस्य हुन कुनै पनि नगरमा एक लाखभन्दा बढी जनसंख्या हुनुपर्छ । थोरै जनसंख्या भएका नेपालजस्तो विकासोन्मुख देशका नगरपालिका तथा संघसंस्थाले कसरी फाइदा लिन सक्छन् ?

सदस्य नभएर फाइदा लिन सकिँदैन भन्ने होइन । ललितपुर महानगरपालिका सदस्य हो, तर अरू वरिपरिका नगरलाई पनि सहयोग गर्न सकिन्छ । त्यसबाहेक पनि सिटी नेट नेपाल च्याप्टर नामक संस्था छ, च्याप्टरमा आबद्ध ३४ सदस्य छन् । च्याप्टरलाई अलिकति राम्रोसँग अगाडि लानुपर्‍यो । ताकि अरू नगरपालिकाले गरेका राम्रा काम तिनले पनि सिक्न सकून् । नेपाल च्याप्टर सिटी नेटबाट मान्यताप्राप्त संस्था हो । त्यसको अध्यक्ष हेटौंडा उपमहानगरका मेयर छन् । च्याप्टर जति बलियो हुन्छ, त्यति फाइदा लिन सकिन्छ ।

संस्था स्थापनाको ३२ वर्षको अवधिमा स्मरणयोग्य काम केके भएका छन् ?

प्रत्येक वर्ष विभिन्न कार्यक्रम हुन्छन् । विपद् व्यवस्थापनमा धेरै काम भएका छन् । जलवायु परिवर्तनमा पनि थुप्रै काम गरेका छौं । अहिले स्मार्ट सिटीको विषयमा छलफल भइरहेको छ । मुख्य कुरा यसको दायरा फराकिलो भएको छ । पहिला सिटी नेट भन्ने कुरा कसैलाई थाहा थिएन, अहिले धेरैले थाहा पाएका छन् ।

नेपालमा तीन तहको सरकार छ । सिटी नेटको कार्ययोजनाअनुसार अगाडि बढ्न प्रदेश र केन्द्रसँग के कस्तो सहकार्य गर्नु आवश्यक छ ?

सिटी नेटले काम गर्ने स्थानीय सरकारसँग हो । त्योभन्दा पनि समुदायसँग काम गर्ने भएकाले समुदाय नजिकको नगरपालिका अथवा गैरसरकारी संस्थासँग समन्वय गर्छ । प्रदेश र केन्द्र सरकारसँग काम हामी काम गर्दैनौं । आफ्ना सदस्यहरूसँग मात्र जोडिन्छौं ।

ललितपुर महानगरपालिकालाई के सुझाव दिनुहुन्छ ?

‘गो ग्रिन, गो ब्लु’ अनुसार पानीका स्रोत बढी प्रयोग गरेर फाइदा लिन सकिन्छ । विद्युतीय गाडी सञ्चालनमा ल्याउन सकिन्छ । प्रदूषण बढिरहेको अवस्थामा यसले यहाँका मान्छेलाई फाइदा पुर्‍याउँछ ।

प्रस्तुति : प्रशान्त माली

प्रकाशित : कार्तिक २४, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?