१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पसिना फन्ड बनाउँछु : कुल आचार्य

कान्तिपुर संवाददाता

८१ देशमा शाखा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चुन्दैछ । घोषणा भएअनुसार अध्यक्षका लागि उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा हुँदैछ । पन्त जर्मनीमा बसेर व्यवसाय गरिरहेका छन् भने आचार्य बेलायतका व्यवसायी हुन् ।

पसिना फन्ड बनाउँछु : कुल आचार्य

मंगलबार सुरु सम्मेलनमा सहभागी करिब २५ सय प्रतिनिधिले सम्भवतः बुधबार साँझसम्म उनीहरुमध्ये एकलाई अध्यक्षमा निर्वाचित गर्नेछन् । विभिन्न एजेन्डासहित निर्वाचन प्रचार–प्रसार, छलफल तथा सहमतिको प्रयासमा व्यस्त आचार्यसँग कान्तिपुरका कृष्ण आचार्यविजय तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :


एनआरएनए अध्यक्षमा तपाईंको उम्मेदवारी किन ?

गैरआवासीय नेपाली संघ (एनआरएनए) व्यक्तिको भन्दा पनि संस्थाको बनाउनुपर्छ । म १२ वर्षदेखि कार्यसमितिमा बसेर काम गरिरहेको छु । कार्यसमितिको तल्ला पददेखि यूकेको एनआरएनए सदस्य, उपाध्यक्ष, अध्यक्ष र त्यसपछि अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य भएँ । अनि युरोप संयोजक हुँदै उपाध्यक्ष भएँ । त्यसकारण अहिले अध्यक्ष पदमा मेरो उम्मेदवारी स्वाभाविक हो ।


तपाईंका एजेन्डा के–के छन् ?

मैले क्षेत्रगत रूपमा १० बुँदे एजेन्डा सार्वजनिक गरेको छु । पत्रकार सम्मेलनमार्फत ती सार्वजनिक पनि गरिसकेको छु । हामीले विदेशमा पाएको जस्तो दु:ख पछिका सन्ततिले नपाऊन् । नेपालीहरू संसारभर पसिना बगाइरहेका छन् । तर त्यो पसिना र श्रमसित विभिन्न समस्या जोडिएका छन् । त्यसकारण म पहिलो काम ‘पसिना फन्ड’ बनाउँछु । दोस्रो, डायस्पोरामा रहेका समस्यामा केन्द्रित छन् । नागरिकताका सवाल छन् । त्यसको समाधाननिम्ति पहल गरिरहेको छु, गरिनै रहनेछु । आफूले सिकेको ज्ञानलाई डायस्पोरा समक्ष मजबुत बनाउँदै नेपालमा सदुपयोग गर्ने एजेन्डा पनि छन् । नेपाल सरकारले तय गरेको पर्यटन वर्ष २०२० लाई सहयोग गर्ने नयाँ कार्यक्रम तर्जुमा गर्नेछु । वैदेशिक रोजगारीलाई मर्यादित बनाउने कुरा छँदैछ । महिला र युवाका बारेमा पनि मेरो एजेन्डा छ । प्राथमिकताका आधारमा श्रमिक, लगानी, नागरिकता र युवा तथा महिलाका विषयहरू हुन् ।


‘पसिना फन्ड’ भन्नुभयो । कस्तो खालको अवधारणा हो यो ?

यो एक प्रकारको ‘च्यारिटी फन्ड’ हो । पसिना फन्डको कार्यक्रम म बेलायतबाटै सुरु गर्छु । मलेसिया र मध्यपूर्वी देशमा बस्नेमात्रै श्रमिक होइनन् । हामीजस्ता बेलायतमा बस्ने पनि पहिलोपटक विदेश जाँदा श्रमिक नै भएर गएका हौं । त्यसैले सबै श्रमिकको मन छोओस् । मैले त्यस्तो दु:ख भोगेको भए के हुन्थ्यो भन्ने महसुस गर्न सकौं र आपत् परेका बेला सहयोग गर्न सकौं भनेर फाउन्डेसनमार्फत च्यारिटीको अवधारणा बनाएको छु । त्यसलाई बेलायतमा दर्ता गर्ने तय गरिसकेको छु । संसारभर रहेका नेपालीलाई आपत्मा पर्दा त्यो फन्ड काम लाग्नेगरी बनाउन खोजिएको हो ।


यस्तै खालको फन्ड पहिला पनि एनआरएनएले घोषणा गरिसकेको छ । त्यसमा र यसमा के फरक छ ?

हामीले पहिला पनि घोषणा गरेका छौं । त्यसमा मैले पनि पैसा राखेको छु । अहिले केही व्यक्तिले रकम जम्मा गरेर त्यसलाई दोब्बर बनाऔं भनेर लागिरहेका छौं । त्यसलाई पनि दोब्बर पारौं । तर पसिना फन्ड भनेको चाहिँ च्यारिटीजस्तो हुन्छ । हरेक देशमा बस्नेले थोरै रकम त्यसमा जम्मा गर्न सक्नेछन् ।


एनआरएनएभित्र विभिन्न विकृति छन् । सुधारबारे तपाईंको कुनै एजेन्डा छैनन् ?

त्यसैको लागि मेरो उम्मेदवारी हो । सच्चा, पवित्र आत्माले समाजसेवाको हिसाबले संस्थालाई अघि बढाउनुपर्छ । यो संस्थामा अहिले पदको लागिमात्रै दगुरेको जस्तो महसुस भएको छ । संस्थाको सुधारका लागि मैले के गर्छु भन्नुभन्दा पनि सबैसँग मेरा कार्यलाई हेरेर मूल्यांकन गर्दिनुस् भन्ने अनुरोध गर्छु । निस्वार्थ भावनाले संस्थाको हितमा काम गर्न प्रतिबद्ध छु । संस्था अलि यताउता हुनथालेको पक्कै हो । यसलाई सुधार गर्नुपर्छ ।


सुधार गर्ने कुरा गर्नुभयो । तर अहिले नै बढी राजनीति र विकृति भयो भन्ने छ । यसमा तपाईं पनि त संलग्न हुनुहुन्छ नि ?

धेरैले मसँग ‘तपाईं कुन पार्टीको ?’ भनेर सोध्ने गर्नुहुन्छ । मैले सुरुदेखि नै मेरो पार्टी एनआरएनए हो भन्ने गरेको छु । अहिलेसम्म मैले कुन पार्टीमा, कुन समितिमा बसेर काम गरेको छु र ? सबै पार्टीले मलाई सहयोग गरेका छन् । कसैले अलि नजिक भएर सहयोग गरे होलान्, कसैले अघिपछि बसेर सहयोग गरेका होलान् । नेपालमा सबैभन्दा ठूलो उद्योग भनेको राजनीतिक उद्योग हो । धेरैले जागिर पाउने ठाउँ पनि राजनीतिक क्षेत्र नै हो । कसै–कसैले जागिर पाएको भए म केही भन्न चाहन्न । नत्र हामीचाहिँ गैरआवासीय नेपाली संघका सिपाही हौं र मेरो उम्मेदवारी भनेको गैरआवासीय नेपाली संघका लागि हो ।


तपाईंलाई कांग्रेस निकट उम्मेदवार भन्छन् नि ?

१२ वर्षसम्म मैले पार्टीले उठाएर काम गरेको हो र ? गैरआवासीय नेपाली संघमा स्वतन्त्र रूपमा काम गरिरहेको छु । अहिलेसम्म कुनै पनि पार्टीको सदस्यता लिएको छैन, एनआरएनएको सदस्यता बाहेक । मलाई पार्टीको उम्मेदवार कसले भन्न सक्छ ? कसरी भन्न सक्छ ? कसैले मलाई सहयोग गरे होलान् । सबै पार्टीका मानिसले सहयोग गरेका छन् । म पार्टीको उम्मेदवार होइन, एनआरएनएको उम्मेदवार हुँ ।


तपाईंले संघमा विकृति छन् त भन्नुभयो । तपाईंको नजरमा एनआरएनए भित्रका विकृति के–के हुन् ?

यो कार्यकालमा केही काम परिपक्व ढंगबाट गरौं भन्दा पनि केही साथीले अपरिपक्व निर्णय गरिदिनुभयो । जसका कारण संस्थालाई घाटा भएको छ । जस्तै– सचिवालयका एकजना कार्यकारी निर्देशकलाई अनाहकमा निकालियो, नयाँ वर्षको दिन । श्रम अदालतबाट उहाँको पुनर्बहाली भयो । फर्केर आउनुभयो । यही कारण एक वर्षसम्म काम पनि भएन । अहिले पनि हाम्रो एकजना कार्यकारी निर्देशक र एकजना प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुनुहुन्छ । त्यसले गर्दा संस्थालाई घाटा भयो । अहिले पनि चुनावलाई प्रभाव पार्ने हिसाबले गतिविधिहरू भइरहेका छन् । म बेलायत बस्दा होस् या अन्य कुनै देशमा हुँदा वा अध्यक्षको उम्मेदवार बन्दा पनि प्रभाव पार्ने उद्देश्यले अगाडि आइन, आएको छैन । मेरो कामलाई हेर्नुस् मात्र भनेंँ । त्यसकारण जोसुकैले गरेको भए पनि चुनावमा प्रभाव पार्ने कार्यलाई म विकृति भन्छु । विकृति भित्र्याउन ककसले प्रयास गरेको छ, त्यो तपाईंले बुझिसक्नुभएको छ ।


प्रभाव कसरी पार्न खोज्दैछन् । भोट किन्ने, भाडा तिरेर ल्याउने, खुवाउने हो कि अरु केही तरिका ?

त्यस्तो पनि अलिअलि देखिएको छ । त्यसका बावजुद पनि यो संस्थामा पद नभई नहुने आवश्यकता किन हो, मैले बुझिरहेको छैन । त्यो अवस्थामा गैरआवासीय नेपाली संघलाई कतै–कतै दुरुपयोग गर्ने काम भइरहेको हो कि भन्ने भान संसारभरका नेपालीलाई भइरहेको छ ।


यो त धेरै पैसा हुनेहरूले चुनाव उठ्ने संस्था भन्छन् । तपाईं चाहिँ यो चुनावमा कति खर्च गर्दै हुनुहुन्छ ?

खर्च गर्नेभन्दा पनि यो संस्थामा हिँड्नुपर्छ, घुम्नुपर्छ, खानुपर्छ, त्यो स्वाभाविक हो । मैले चुनावको लागि भनेर खर्च गरेको छैन । तर घुम्दा, साथीभाइहरूसँग खाँदा, बस्दा खर्च भएको छ । धेरै खर्च गरिँदैछ रे भन्ने सुनिँदैछ । तर सत्य हो कि होइन मलाई थाहा छैन । अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १० लाख लाग्छ । अर्को १०–२० लाख खान, बस्न लाग्ला । मेरो खर्च यति नै हो ।


अध्यक्षको उम्मेदवारले १५–२० करोड खर्च गर्नुपर्छ भन्छन् नि ?

यदि त्यो कसैले गरेका छन् भने तिनले बिगारिराखेका छन् । मैले गरेको छैन । कसले गरे मलाई थाहा भएन । त्यसो गर्नु हुँदैन ।


मतदाता ल्याउने, राख्ने, खुवाउने गर्दा तपाईंको खर्च भएको छैन ?

छैन ।

प्रसंग बदलौं । एनआरएनएको संरचना परिवर्तनबारे तपाईंका केही एजेन्डा छन् ?

यी कुरा साधारण हुन् । सम्मेलनमा सहभागी हुनेको सूची सम्बन्धित देशबाटै अन्तिम गराउन सकिन्छ । विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छ । विदेशबाट हामी राम्रो कुरा लिएर आउनुपर्‍यो, राम्रो उदाहरण दिनुपर्‍यो । हामीले विदेशमा सिकेको सीप, ज्ञानलाई लिएर आउनुपर्‍यो । नेपालमै भइरहेको प्रवृत्तिलाई बाहिरबाट आएर पनि देखायौं भने हामीले बाहिर सिकेको ज्ञान ल्याउँछौं भनेर के भन्ने ? एनआरएनएलाई हामीले पारदर्शी बनाउनुपर्छ । जग सफा र मजबुत बनाउनुपर्छ । नीतिगत संस्थाहरू बनाउनुपर्छ । जसको जे क्षमता छ, त्यसको सदुपयोग गर्दै नेपालतर्फ फर्काउनुपर्छ ।


भिजन २०–२० भनेर हामीले एउटा दस्तावेज पारित गरिसकेका छौं । त्यस अनुसार सचिवालयलाई बलियो बनाउने, प्रमुख कार्यकारी अधिकृतले राम्रोसँग नियन्त्रण गर्ने र योजना बनाउने, अध्यक्ष आलंकारिक होस् भन्ने छ । संस्था आफैं चल्ने होस् भन्ने छ । तर पास गरेर मात्रै भएन, त्यसलाई लागू पनि गर्नुपर्‍यो । सयुक्त राष्ट्र संघजस्तै सबै देशको झण्डा राखौं । सबै देशको एक–एक कार्यालय राखौं भनेका थियौं । यसो हुँदा सबैलाई अझ बढी एकीकृत गर्न सकिन्छ भन्ने थियो । संघको यो संस्थागत संरचनामा अझै केही व्यक्तिवाद हावी छ । व्यक्तिभन्दा संस्थालाई बलियो बनाउनुपर्छ ।


नेपालमा लगानी भित्र्याउने कुरा गर्नुभयो । तर आजसम्म एनआरएनएलाई लाग्ने आरोप चुनावमा एजेन्डा बनाउने र कार्यान्वयन नगर्ने भन्ने छ । यसमा कसरी विश्वास गर्ने ?

केही हुँदै नभएको होइन । व्यक्तिगत र सामूहिक रूपमा केही लगानी भएको छ । तर यति कुरा भुल्नुहुन्न कि हामी पहिलो पुस्ताका गैरआवासीय नेपाली हौं । पहिलो पुस्तालाई बलियो बन्न, आफ्ना पनि समस्या हुन्छन् । ती समस्या पार गरेर मजबुत बनिसकेपछि मैलेजस्तो दु:ख अरुले नपाओस् भनेर काम गर्ने हो । पहिलो पुस्ताका नेपालीले गरेको यो प्रयास सकारात्मक छ । यसलाई अझ प्रभावकारी ढंगले लिएर अघि बढ्नुपर्छ । हामी प्रत्यक्ष लगानी भित्र्याउन सक्ने जम्मा २/४ जना हौंला । तर समूहमा गर्‍यौं भने हजारौं र लाखौंले १/१ डलर हाले पनि मातृभूमिमा लाखौं डलर लगानी गर्न सकिन्छ । गैरआवासीय नेपाली संघ सामाजिक संस्था हो ।

संस्थाले लगानी गर्ने होइन । व्यक्ति, समूह वा कम्पनीले लगानी गर्ने हो । संस्थाले त्यसलाई प्रोत्साहन मात्रै गर्ने हो । पहिलो पुस्ताले जुन उदाहरण दिएको छ, यो सकारात्मक छ । गर्दै नगर्नुभन्दा जति गरिएको छ, त्यसलाई प्रोत्साहनको रूपमा लिने हो भने बढ्दै जान्छ ।


आशावादी हुने कुरा गर्नुभयो । तर भर्खरै मात्र एनआरएनए सचिवालय चलाउन चन्दा माग्नुपरेको विषय सार्वजनिक भएको थियो ?

साथीहरूले कसरी सार्वजनिक गर्नुभयो, त्यो उहाँहरूलाई नै सोध्नुपर्ला ।


तपाईं पनि त्यही कार्यसमितिको उपाध्यक्ष होइन र ?

म कार्यसमितिमा रहेकाले जिम्मेवारी त लिन्छु । तपाईंले भनेको वास्तविकता हो । हामीले यो कार्यकालमा पैसा धेरै उठाएका छैनौं । यद्यपि मैले संयोजन गरेको शंखमूल पार्कको लागि ३२ लाख रुपैयाँ खर्च भयो । यही कार्यकालमा जुटाइएको थियो । त्योभन्दा बढी प्रतिबद्धता गरिएका रकम आइरहेको छैन । यो सत्य हो । हाम्रा केही ठूला परियोजनाहरू थिए । ती परियोजना सक्दै गर्दा केही गाह्रो परेकाले ऋणधन गर्नुपर्ने अवस्था भएको हुनुपर्छ ।


अब यो समस्या समाधान हुन्छ त ?

हुन्छ । अहिले विभिन्न शुल्क बापत पैसा उठिरहेको छ ।


एनआरएनए सचिवालय भवनको जग्गाबारे विवाद आएको थियो । के हो ?

यो जग्गा खरिद गर्नेबेला म युरोप संयोजक थिएँ । तत्कालीन अध्यक्ष लगायत कमिटीका साथीहरूले निर्णय गर्नुभएको थियो । म के भन्न चाहन्छु भने तत्कालीन समयमा हामीले जग्गा किन्दा सबै प्रक्रिया पूरा भएको थियो । लालपुर्जा हामीले पाइसकेका छौं । नेपाल सरकारले पनि हामीलाई भवन बनाउने स्वीकृति दिइसकेको छ । तर त्यो ठाउँको जग्गामा सबै समस्या रहेछ भन्ने कुरा पछि आयो । जतिबेला हामीले किनेका थियौं, त्यतिबेला यो समस्या थिएन । फेरि पनि नेपाल सरकारको जग्गा हुनसक्छ । नेपालको डायस्पोराको यत्रो ठूलो संस्था, नेपाल सरकारसँगको सहकार्यमा काम गरेको संस्था हो । त्यो संस्थाले गरेको एउटा कामलाई अन्जानमा गल्ती भयो भनेर नेपाल सरकारले सकारात्मक रूपमा लिन्छ भन्ने आशा गरेका छौं । अन्जानमा भएको समस्यालाई कसरी समाधान गर्ने भनेर हामीले सोच्नुपर्छ ।


कार्यसमितिको कार्यकाल २ वर्षभन्दा बढी बनाउने कुरामा तपाईंको धारणा के छ ?

पहिले विधानसभा र ज्ञानसभा भएको बेलाको कुरा हो यो । त्यतिबेलाको सभाले नै ३ वर्ष नगर्ने भनेर पास गरिसकेपछि मेरो धारणा पनि त्यही नै हुन्छ । फरक वा अर्को धारणा छैन ।


तपाईंसित अध्यक्षमा प्रतिस्पर्धीलाई केही भन्नुछ ?

एकचोटि मलाई छाडिदिनुस् । फेरि तपाईंको पालो आउँछ भन्न चाहन्छु । हामी अनन्य मित्र पनि हौं । उहाँले पनि एनआरएनएमा लामो समय काम गर्नुभएको छ । ठूलो संस्था भइसकेपछि चाहना हुनु स्वाभाविक हो । मिल्छ भने मलाई एकचोटि उमेर र कामको आधारमा छाडिदिनुभयो भने अर्कोचोटि उहाँको पालो आउँछ ।


तर तपाईंका प्रतिस्पर्धी दुईपटक उपाध्यक्षमा काम गरिसकेकाले विकल्प नै थिएन भन्नेछ नि ?

यो आफू अनुकूलको व्याख्या हो । हिजो यस्ता विकल्पमा काम नभएका हुन् र ? भीम उदास, राम थापा, रातन रामेश्वर राय, हितमान गुरुङहरूको पालो मिचिएको होइन ? अनुकूलता पर्दा जे पनि भन्ने गरिएको मात्रै हो यो । संस्थामा पालो भनेर हुन्छ ? यसमा मेरो सहमति छैन ।


प्रकाशित : आश्विन २९, २०७६ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?