१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

२ सय ५१ केजीको लड्डु

लड्डुमा ८० किलो शुद्ध घिउ, ६० किलो बेसन, १ क्विन्टल चिनी, पिस्ता, बदाम, काजु, किसमिस प्रयोग

पर्सा — खुसियाली साटासाट गर्न अनि चाडपर्वमा देउतालाई चढाउन प्रयोगमा आउने सहज र सुलभ मिठाई हो लड्डु । धेरैको प्रिय यो मिठाई खान सहज छ । प्राय: यसको आकार सानो हुन्छ । सामान्यतया लड्डुको आकार ५० देखि ७५ ग्रामको हाराहारी हुन्छ ।

२ सय ५१ केजीको लड्डु

तर एउटै लड्डु २ सय ५१ किलोको छ भन्दा झट्ट कसैले पत्याउँदैन । वीरगन्जको घडिअर्वाका बासिन्दाले भने यस वर्ष गणेश चतुर्थी महोत्सवमा भगवान गणेशलाई २ सय ५१ किलोको लड्डु चढाएका छन् ।


वर्षेनी यस अवसरमा भगवान गणेशलाई ठूलो लड्डु चढाउने परम्परालाई निरन्तरता दिँदै आयोजक जय गणेश झंकार मण्डलले यस वर्ष पनि ठूलो आकारको लड्डु चढाएको हो । आयोजकले घडिअर्वा पोखरी छेउ भव्य पण्डाल बनाइ भगवान गणेशको करिब १५ फिट अग्लो मूर्तिको अघिल्तिर यो भीमकाय लड्डु चढाएका छन् । बिहीबारबाट सुरु भएको यो महोत्सव असोज १ सम्म चल्नेछ । २ सय ५१ किलोको लड्डु भक्तजन मात्र नभई सर्वसाधारणका लागि पनि आकर्षणको केन्द्र बनेको छ ।


प्रश्न उठछ यो लड्डु बनाउन कति समय लाग्यो र कति जनाले मिलेर बनाए होलान् । आयोजक जयगणेश झन्कार मण्डलका सदस्य प्रणय कुमारका अनुसार बुधबार रातभरि निरन्तर ४ जना हलुवाइको समूहले मिहिनेत गरेर यो लड्डु तयार पारेका हुन् । लड्डुमा ८० किलो शुद्ध घिउ, ६० किलो बेसन, १ क्विन्टल चिनी, पिस्ता, बदाम, काजु, किसमिस प्रयोग गरिएको छ ।


महोत्सव अन्तर्गत दैनिक आरती,पाठ,भजनकीर्तन, झाँकी आदि प्रस्तुत गरिँदैछ । झन्डै डेढ दशकदेखि यहाँ गणेश चतुर्थी महोत्सव मनाउन थालिएको उनले बताए ।

प्रकाशित : भाद्र २९, २०७५ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?