कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुधालु गोरु !

अनिश तिवारी

इचोक (सिन्धुपाल्चोक) — भनाइ नै छ– ‘गोरु ब्याउँदैन, दूध पनि दिँदैन ।’ तर, यति बेला हेलम्बु गाउँपालिकाको इचोक, पुरानागाउँका सोनाम तामाङको घर पुग्ने जोकसैलाई यो भनाइ झूटो लाग्न सक्छ । तामाङ दिनहुँ गोरु दुहुन्छन्, त्यसको दूध गाउँलेलाई ‘प्रसाद’ बाँड्छन् । भन्छन्– ‘बिहान–बेलुकी गरेर एक मानाजति दिन्छ ।’

दुधालु गोरु !

पहिले कहीँकतै नदेखेको–नसुनेको यो घटनाले स्थानीय छक्क परेका छन् । अनि तामाङचाहिँ दंग । उनको घरमा गोरुले दूध दिएको हेर्न आउनेको भीडै लाग्न थालेको छ । सुरुमा तामाङ पनि कम्ती चकित परेका होइनन् । उनका अनुसार गत जेठदेखि गोरुको अण्डकोषछेउको थुनबाट दूधको थोपा खस्न थाल्यो ।


‘गोरुको तन्तुबाट सेतो पदार्थ झर्न थालेपछि दूध हो कि भनेर दुहेको त हो रहेछ, चार थुनमध्ये दुईवटा बिहान–बेलुकै दुहुने गरेको छु,’ उनले भने, ‘सबैले भगवान् शिवजीको साढे नन्दी भनेर पूजा गर्न थालेका छन् ।’


गोरुको दूध गाईको भन्दा खासै फरक देखिँदैन । अरूभन्दा कैलो र अलग्गै देखिने गोरु एक वर्षअघि किनेर ल्याएको तामाङका जेठा बाजे म्वाइ लामाले बताए । ‘यसमा केही चमत्कार नै हुन सक्छ, त्यसैले माया गरेर राखेका छौं,’ उनले भने । गोरुले दूध दिएको देखेपछि अचम्म लागेको हेलम्बु गाउँपालिकाका प्रमुख निमा ग्याल्जेन शेर्पाले बताए ।
स्वास्थ्यकर्मीले भने गोरुबाट दूध आउनुको सम्बन्ध हर्मोनसँग जोडिएको अनुमान लगाएका छन् । ‘हर्मोनको गडबडीले गोरुको तन्तुबाट दूध आएको हुन सक्छ,’ हेलम्बु पशु
सेवा कार्यालयका प्रमुख टोपबहादुर बरालले भने ।


वरिष्ठ पशु चिकित्सक डा. शरदसिंह यादव भने गोरुले दूध दिनु विज्ञानसम्मत नरहेको बताउँछन् । ‘गोरुले दूध दिनु विज्ञानअनुसार सम्भव नै नभएको कुरा हो,’ उनले भने, ‘त्यस्तो हो भने सम्बन्धित निकायको विस्तृत अध्ययन–अनुसन्धानपछि मात्र केही भन्न सकिन्छ ।’

प्रकाशित : भाद्र १५, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?