२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

घरबाटै काम गर्ने कि ?

हेलो शुक्रबार

कोरोना भाइरस (कोभिड–१९) चीनबाट सुरु भए पनि यसले पछिल्लो महिना विश्वभरका एक सय बढी देशलाई प्रभावित पारिसकेको छ । पछिल्लो सातामात्रै विश्व चर्चित कम्पनी गुगलले दक्षिण अमेरिकी देशमा भएका आफ्ना कार्यालयका कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिएको छ । इटालीसहित धेरै देशका नागरिक कोरोनाको प्रभावसँगै घरमै आइसोलेसनमा बस्न थालेका छन् ।

घरबाटै काम गर्ने कि ?

कार्यालय नजाने, भीडभाडमा नजाने र घरमै बस्ने यो क्रम धेरै देशमा चल्न थालेको छ । कोरोनाको क्राससँगै धेरै नागरिक जानैपर्ने बाहेक अन्य कामको लागि आफ्नो घरबाट निस्कन छाडेका छन् ।


नेपालमा कोरोनाको संक्रमण नदेखिए पनि यसको त्रास बढ्दो छ । कार्यालयमा जाँदा भीडभाड हुने र एक जनालाई संक्रमण भएमा अर्कोलाई सर्ने सम्भावना बढी हुन्छ । त्यसको लागि नेपालमा पनि घरबाटै काम गर्ने अभ्यास सुरु हुन सक्छ । तर, घरबाट गर्ने काम कसरी गर्ने ? यहाँ त्यस्ता एपहरुको चर्चा गरिएको छ, जुन कार्यालय प्रयोजनको काम गर्न बढी प्रचलनमा छन् र कुनै कार्यालयले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न प्रेरित गरेमा यस्ता एप्लिकेसनको प्रयोगले काममा सघाउँनेछन् । यी एप्लिकेसनले एक भन्दा बढी व्यक्तिहरुबीच भुर्चअल संवादको लागि सहायता गर्छन् । कोरोना भाइरसको चर्चा चलेको बेला मात्रै होइन, अरु बेलामा पनि कार्यालयको काम घरमै बसेर गर्न यी टुलहरुले सघाउँछन् । कुनै टुल कार्यालयको व्यवस्थापनको लागि बढी उपयोगी हुन्छन् भने कुनै कर्मचारीहरुको लागि ।


स्ल्याक

स्ल्याक कार्यालय प्रयोजनको लागि प्रयोग भइरहेको टुल हो । यसको विशेषता के हो भने यसले कार्यालयका व्यक्तिहरुबीच विभिन्न शीर्षकमा पनि संवाद गर्ने अवसर दिन्छ । स्ल्याकको अर्को विशेषता भनेको यो सशुल्क र निःशुल्क दुवै रुपमा प्रयोग गर्न पाइन्छ । जतिसुकै धेरै कर्मचारी भएको संस्थाले पनि यसलाई प्रयोग गर्न सक्छ । स्ल्याक कार्यालयहरुमा लोकप्रिय हुनुको सबैभन्दा ठूलो विशेषता च्याट गर्ने मात्रै नभई विषय अनुसार च्याट गर्ने सुविधा हो । यसमा डकुमेन्ट सेयर, इडिटसहित काम लाग्ने अन्य सामाजिक सञ्जाल र टुलहरु पनि एकीकृत गर्न सकिन्छ । एप र वेब दुवै भर्सनमा यसलाई प्रयोग गर्न सकिन्छ ।


फ्लोक

यो पनि स्ल्याकजस्तै व्यवसायिक म्यासेजिङ प्लेटफर्म हो । यसले प्रयोगकर्तालाई च्याट गर्ने, भइरहेको कामको प्रगति तत्कालै उपलब्ध गराउने सुविधा दिन्छ । यसले एक भन्दा बढी व्यक्तिसँग सामूहिक रुपमा वा बिषय अनुसार छुट्टाछुट्टै च्याट गर्ने सुविधा दिन्छ । साथै, भिडियो च्याट गर्ने व्यवस्था पनि यसमा छ । कार्यालयको छुट्टाछुट्टै विभाग, छुट्टाछुट्टै काममा लागेका समूहलाई आफ्नो काम अनुसारको म्यासेज गर्ने सुविधा यसमा छ । फ्लोकलाई निःशुल्क वा शुल्क तिरेर प्रयोग गर्न सकिन्छ । यसको पूरा फिचर प्रयोगका लागि भने शुल्क तिर्नैपर्ने हुन्छ ।


माइक्रोसफ्ट टिम


माइक्रोसफ्ट टिम स्ल्याकको प्रतिस्पर्धी टुल हो । यसको उद्देश्य कार्यालयका कर्मचारीबीच र उनीहरुको कामलाई अनुगमन गर्नु हो । माइक्रोसफ्टले चार वर्षअघि यसको सुरुवात गरेको भए पनि दुई वर्ष अघि यसलाई निःशुल्क भर्सनमा पनि प्रयोग गर्न मिल्ने बनाएको थियो । यसमा आफ्ना कर्मचारीलाई एड गरेर भिडियो, अडियो कलसहित फाइल सेयरिङ, च्याट र प्रोजेक्ट अनुसारको जिम्मेवारी बाँडफाँड गर्न सकिन्छ भने त्यसको अनुगमन पनि सहजै गर्न सकिन्छ । साथै, कुन कर्मचारीको कुन सिफ्ट हो र उनीहरुले कति समय काम गरे भन्ने पनि सहजै थाहा पाउन सकिन्छ ।


टिम भ्युअर

घर र कार्यालय दुवै तिर काम गर्ने मानिसको लागि यो निकै उपयोगी टुल हो । यसले एक डिभाइसबाट अर्को डिभाइसमा पहुँच दिन्छ, जुन फाइल सेयरिङको लागि निकै उपयोगी हुन्छ । यसले घरमै बसेर पनि कार्यालयको आफ्नो कम्युटरमा काम गर्ने सुविधा दिन सक्छ । यसलाई निःशुल्क प्रयोग गर्न मिल्छ ।


ड्रपबक्स

कामकाजी मानिसको लागि उपयोगी टुल हो ड्रपबक्स । कार्यालयको आफ्नो कम्प्युटरमा भएको फाइल, डकुमेन्टलाई ड्रपबक्समा राखेमा जहाँ बसे पनि मजाले काम गर्न सकिन्छ, जसका कारण घरमै बसेर कार्यालयको काम गर्न पनि झन्झट हुन्न । ड्रपबक्समा भएका फाइल अरुसँग सेयर गर्न, इमेल गर्न, इडिट गर्न, कपी गर्न पनि मिल्ने भएकाले यसले काममा धेरै सहजता ल्याउँछ । यसलाई निःशुल्क प्रयोग गर्न मिल्छ ।

प्रकाशित : चैत्र ७, २०७६ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?