स्वाद फेर्दै धरान

गोपाल दाहाल

धरान घुम्न आउनेहरु प्रायः कालो बङ्गुरको मासुसँगै तोङ्बा र बियरको चुस्की लाउन चाहन्छन् । बियर, रक्सीको बढी खपत हुने बजार पनि हो धरान । तर, पछिल्लो समय स्थानीयवासी स्वाद फेर्दै कफी र चियातिर आकर्षित देखिएका छन् । गफगाफको जमघट हुने थलो पनि कफी र चिया पसल नै बन्न थालेको छ ।

स्वाद फेर्दै धरान

कफी मोह

धरानमा कफी पिउने चलन सुरु भएको धेरै भएको छैन । पहिला चियापसलमै तातोपानी वा दुधमा बजारमा पाइने सामान्य कफी हालेर कफी बनाइन्थ्यो । मेसिनबाटै कफी बनाएर बिक्री हुन थालेको एक दशक जति हुन लाग्यो ।


बुद्धचोकमा सञ्चालित ‘एमसी कफी शप’ धरानमा कफी पियाउने पुरानो रेस्टुराँमा पर्छ । यहाँ करिब ३० प्रकारका कफी पाइन्छन् । तीमध्ये ‘क्यापुचिनो’, ‘अमेरिकानो’, ‘क्याफे लाते’ बढि चल्ने गर्छन् । पुतलीलाइनको ‘कामना बेकरी’, ‘फ्रेन्ड्स गार्डेन’, भानुचोकको ‘धरान किचन, ‘बराह किचन’ लगायत दर्जनभन्दा बढी रेष्टुराँको मुख्य आकर्षण नै अहिले कफी बनेको छ । अन्य धेरै खाजाघर तथा रेष्टुरेन्टहरुले पनि मेनुमा कफी थप्न थालेका छन् ।


कफी पसलहरु बिहानैदेखि गफगाफ गर्ने र जमघट गर्ने केन्द्र बनिरहेका छन् । एमसी कफी शपकी सञ्चालिका कुन्दन राईका अनुसार कतिपय कफी पारखी बिहान सात बजेअघि नै आएर पर्खिरहेका हुन्छन् । उनी भन्छिन्, ‘पहिला रक्सी भट्टी धाउनेहरु पनि अहिले नियमित कफी पिउन आउँछन् ।’ पहिले चिया पसल वरिपरि जम्मा हुनेहरूको भेटघाटको थलो पनि कफी पसल नै हुन थालेको छ ।


मट्कामा सुरुप्प

धरानमा पछिल्लो समय ‘मट्का चिया’ खुबै लोकप्रिय बनेको छ । धरान–१९ मा किरण राईले सञ्चालन गरेको ‘चिया स्टेशन’को विशेषता के हो भने यहाँ पुगेर चिया मागे अन्यत्र जस्तो सिसाको कपमा होइन, माटोको कपमा दिइन्छ । सानो कपमा खाए ३० रुपैयाँ र ठूलो कपको चियाको मूल्य ६० रुपैयाँ तिर्नुपर्छ ।


तीन महिनाअघि खुलेको ‘चिया स्टेशन’मा नियमित ‘मट्का चिया’ पिउन जानेहरु धेरै छन् । शिक्षिका गुनसरी तामाङ, प्रतिक्षा शाक्य र मदन राई ‘मट्का चिया’को स्वाद लिइरहेका भेटिए । पहिलो पटक त्यहाा पुगेका मदनले भने, ‘चियाको स्वाद उस्तै भएपनि मट्कामा खाादा अलि भिन्न लाग्यो ।’ गुनसरीलाई चाहिं चियामा मिसिएको नरिवलको स्वाद विशेष लाग्छ रे । चौथो पटक आएको बताउने उनी भन्छिन्, ‘मट्कामा खाँदा स्वादै मिठो लाग्छ ।’


सञ्चालक किरणका अनुसार चिया दिने कप मधेसमा बनाउन लगाएर धरान ल्याइन्छ । एक जनाले चिया पिएको कप फेरि प्रयोग गरिंदैन । चिया पिइसकेपछि त्यो कपमा चिया पिउनेको नाम लेखेर राखिन्छ । अहिले पसल अगाडि राखिएका ती ग्राहकको नाम लेखिएका कपलाई सजाएर राख्ने योजना छ किरणको । उनी भन्छन्, ‘पहिला काठमाडौंतिर देखेको थिएँ । अरुले भन्दा फरक तरिकाले चिया बेचौं भन्ने लागेर धरानमा सुरु गरें । सबैले मन पराएका छन् । हामी चियामा नरिवल पनि हाल्छौं ।’ चिया पिउनुमा फरक अनुभवका लागि यहाँ आउने बढिरहेको उनले बताए ।


चोकचोकमा ग्रिन टी

धरानमा पछिल्लो समय चोक चोकमा ‘ग्रिन टी’ शपहरु खुलेका छन् । स्वास्थ्यप्रति सचेत धरानेहरुको जमघट ग्रिन टी पसलहरुमा देखिन्छन् । धरानका सदनरोड, धनकुटे रोड, कलेज रोड, बुद्धचोक लगायत धेरै ठाउँमा खुलेका ग्रीन टी पलसमा ग्रिन टीसँगै गोल्डेन टी, सिल्भर टीलगायत अर्गानिक चियाका विभिन्न आइटम पाइन्छन् ।


यस्ता पसलहरुमा तातो पानी थप्दै ग्रिन टी पिउनेहरु बिहानदेखि बेलुकासम्मै भेटिन्छन् । पहिला दूध, चिनी र चियापत्ती मिसिएको चिया पिउने प्रचलन बढी थियो । केही वर्षयता त्यसको विकल्पमा ग्रिन टी पिउनेहरु बढिरहेका छन् । धरानमा चार पाँच वर्षयता ग्रिन टी पसलहरु खुल्न थालेका हुन् । विशेषगरी उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोलजस्ता समस्या भएकाहरु र यस्ता समस्याहरुबाट टाढा रहने प्रयासमा भएकाहरूको लत ग्रिन टीमा बसेको हो ।


ग्रिन टीलाई एन्टिअक्सिडेन्टको स्रोतका रुपमा लिइन्छ । त्यसैले पनि शहरी क्षेत्रमा विभिन्न रोगबाट बच्न ग्रिन टीतिर आकर्षित हुनेहरुको संख्या बढिरहेको छ । बुद्धचोकमा सञ्चालित ह्यापी ग्रीन मार्टमा ग्रीन टीसागै विभिन्न अर्ग्यानिक समान बेच्दै आएकी सविता राई भन्छिन्, ‘पसलमा आएर गफ गर्दै पिउने मात्र होइनन्, ग्रिन टी घरमै लगेर खानेहरु पनि बढिरहेका छन् ।’

प्रकाशित : चैत्र ७, २०७६ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?