३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पुरानो फोनलाई यसरी बनाउनुस् सीसीटीभी

हेलो शुक्रबार

केही वर्षमै स्मार्टफोन फेर्ने चलन बढ्दो छ । बजारमा आइरहने नयाँ–नयाँ फिचरसहितका स्मार्टफोनले प्रयोगकर्तालाई धेरै विकल्प दिएको छ । झन् अहिले त सस्तो मूल्यमा राम्रा फिचर भएका स्मार्टफोनहरू पाइन थालेको छ जसका कारण प्रयोगकर्तालाई पुरानो स्मार्टफोनले वर्षौं काम चलाउनुपर्ने बाध्यता छैन । नयाँ स्मार्टफोन किनेपछि पुरानोचाहिँ के गर्ने ?

पुरानो फोनलाई यसरी बनाउनुस् सीसीटीभी

बजारमा सस्तो र मध्यम मूल्यमा स्मार्टफोन पाइन थालेपछि पुरानो स्मार्टफोन खरिद गर्ने ग्राहक भेट्न पनि अब मुस्किल पर्न थालेको छ । नयाँ स्मार्टफोन लिएपछि पुरानोलाई के गर्ने भन्ने चिन्ता सधैं हुन्छ । पुरानो स्मार्टफोनलाई सदुपयोग गर्ने विभिन्न तरिका छन् । पुरानो स्मार्टफोन परिवारका कम उमेरका सदस्यलाई चलाउन दिने चलन पनि छ । तर, सधैं यस्तो अवस्था नहुन सक्छ ।


पुरानो फोनलाई सदुपयोग गर्ने धेरै तरिकामध्ये त्यसलाई सीसीटीभीका रूपमा प्रयोग गर्ने विकल्प पनि एक हो । पुरानो स्मार्टफोनलाई घरमा सीसीटीभीका रूपमा राख्ने र आफू जहाँ भए पनि घरको अवस्था भिडियोमार्फत हेर्न सकिने यो उपाय उत्तम पनि छ ।


पुरानो स्मार्टफोनलाई सीसीटीभी बनाउन कुनै रकम खर्चिनु पर्दैन । मात्र घरमा निरन्तर वाईफाई सुविधा भए पुग्छ । प्लेस्टोर वा आईओएस स्टोरबाट सीसीटीभीको सुविधा दिने एप डाउनलोड गरे पुग्छ । स्मार्टफोनलाई सीसीटीभीका रूपमा प्रयोग गर्न धेरै निःशुल्क एपहरू पाइन्छन् । तीमध्ये अल्फ्रेड एप पनि एउटा विकल्प हो । निःशुल्क र सशुल्क दुवै तरिकाले यसलाई प्रयोग गर्न सकिन्छ ।


स्मार्टफोनलाई सीसीटीभीका रूपमा प्रयोग गर्न उक्त स्मार्टफोनमा अल्फ्रेड एप डाउनलोड गर्नुहोस् । आफूले बोक्ने फोनमा पनि यही एप डाउनलोड गर्नुहोस् । दुवै स्मार्टफोनमा एउटै गुगल एकाउन्टबाट साइन अप गर्नुपर्ने हुन्छ ।


सीसी क्यामेराका रूपमा प्रयोग गरिने फोनमा डाउनलोड गरिएको एपमा गएर यसलाई क्यामेरा अप्सनमा क्लिक गर्नुहोस् र आफूले बोक्ने स्मार्टफोनलाई पनि भ्युअर मोडमा राख्नुहोस् । एपको सेटिङमा गएर मोसन डिटेक्ट अप्सन अन गर्न पनि सकिन्छ । जसका कारण क्यामेराले कुनै मानिस वा नयाँ वस्तु भेटेमा नोटिफिकेसन पठाउँछ । यस्तै, यसमा साउन रेकर्ड गर्ने अप्सन पनि छ । प्रयोगकर्ताले आफूले बोक्ने स्मार्टफोनको एपबाटै यी सबै फिचर अन र अफ गर्न मिल्छ ।


अल्फ्रेडको निःशुल्क भर्सनमा रेकर्ड गर्ने सुविधा हुन्न तर सशुल्क एप किनिएको छ भने भिडियो रेकर्ड गर्ने सुविधा पनि हुन्छ । विशेषगरी घरभित्र बालबालिका छन्, कुनै घरपालुवा जनावर पालिएका छन् भने आफू बाहिर हुँदा तिनले के गरिरहेका छन् भनेर हेर्न यो विकल्प उपयुक्त हुन्छ । घरायसी सुरक्षाको दृष्टिकोणले पनि यो उपयुक्त हुन सक्छ ।

प्रकाशित : फाल्गुन ३०, २०७६ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?