कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

संसार हल्लाइरहेको कोरियन ब्यान्ड

अनेकौं रेकर्ड बन्दै छ, बीटीएसको नाममा । कतिसम्म भने, विश्वविख्यात ब्यान्ड द बिटल्ससँग यसको तुलना हुन थालेको छ । कतिले त बिटल्सलाई बीटीएसले उछिनिसकेको दाबी गरिरहेका छन् ।
हेला शुक्रबार

दुई वर्ष अगाडि टाइम म्यागजिनले दक्षिण कोरियन ब्यान्ड बीटीएसलाई कभरमा राख्यो र लेख्यो– ‘नेक्स्ट जेनेरेसन लिडर्स ।’ अर्को वर्ष यही म्यागजिनको संसारका सय प्रभावशाली व्यक्तिको सूचीमा बीटीएस पनि अटायो । त्यतिबेला ब्यान्डले ‘प्रिन्सेस अफ पप’ को उपमा पायो ।

संसार हल्लाइरहेको कोरियन ब्यान्ड

यसअगावै संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा बीटीसले आफ्नो ‘लभ योरसेल्फ’ अभियानबारे बोलेको थियो । टाइमको कभरमा पर्ने मात्र होइन, राष्ट्रसंघको महासभामा निम्तालु बन्ने पहिलो गैरअंग्रेजीभाषी सांगीतिक समूह थियो, बीटीएस ।


यस्ता अनेकौं रेकर्ड बन्दै छ, बीटीएसका नाममा । कतिसम्म भने, विश्वविख्यात ब्यान्ड द बिटल्ससँग यसको तुलना हुन थालेको छ । कतिले त बिटल्सलाई बीटीएसले उछिनिसकेको दाबी गरिरहेका छन् । कुनै समय एकै वर्षमा बिटल्सका तीन एल्बम विलबर्ड चार्टको अग्रस्थानमा पुगेका थिए, अहिले बीटीएसले यो इतिहास दोहोर्‍याएको छ । यसबीच कुनै ब्यान्डले यो उपलब्धि हासिल गरेका थिएनन् । यसको पछिल्लो एल्बम ‘म्याप अफ सोल सेभेल’ को बिक्री र्‍यापर इमिनेमको ‘म्युजिक टु बी मडर्ड बाई’ र जस्टिन बिबरको ‘पर्पस’ भन्दा माथि छ । लन्डनको प्रतिष्ठित वेम्ले स्टेडियमको कन्सर्टको टिकट ‘सोल्ड–आउट’ हुने पहिलो गैरअंग्रेजी ब्यान्ड पनि यही हो । संगीत पण्डितहरू भन्दैछन्– ‘विश्व संगीतमा विद्यमान अंग्रेजी भाषाको हालीमुहाली बीटीएसले तोडेको छ ।’


खासगरी टिनएजरमा ‘के–पप’ अचाक्ली लोकप्रिय मानिन्छ । बीटीएस के–पपको अघोषित सद्भावना दूत हो, संसारका लागि । नेपालमा पनि यसका पारखी टन्नै छन् । प्रायः सबै गीत नेपालको युट्युब ट्रेन्डिङमा छाउँछ । बीटीएसको ‘ब्ल्याक स्वान...’ गीतले युट्युबमा ५ दिनमा ३ करोड १० लाख भ्युज बटुल्यो भने ‘अन...’ ले दुई सातामा १२ करोड १० लाख । त्यसैले त न्युयोर्क टाइम्सले लेख्यो, ‘बीटीएस उच्च उडानमा छ ।’


ब्यान्डमा सात सदस्य छन्, २२ देखि २७ वर्षसम्मका । जिन, सुगा, जे–होप, आरएम, जिमिन, भी र जुङकुक । आरएमबाहेक अरू अंग्रेजी जान्दैनन् । हलिउड शोमा सबै सहभागी हुन्छन्, अरू कोरियन भाषामा बोल्छन्, आरएम अनुवाद गरिदिन्छन् । टिम लिडर र प्रवक्तासमेत रहेका आरएमले भनेका छन्, ‘हामीलाई कोरियन हुनुमा गर्व छ अनि हाम्रो देशमा हामीप्रति गौरव छ ।’


यो ब्यान्डको सन् २०१० मा स्थापना भएको थियो । पहिलो स्टुडियो एल्बम ‘टु कुल फो स्कुल’ ले कोरियामा तहल्का मच्चायो । दोस्रो एल्बमपछि चाहिँ उनीहरू अमेरिकाको विलबर्ड चार्टमा देखापरे । तर, त्यतिबेला उनीहरूलाई गम्भीरतापूर्वक लिइएको थियो । टिनएज ब्यान्ड हुनुको नाताले केही वर्षमै हराउँछन् भन्ने आकलन गरियो । ‘के–पप’ का कतिपय ब्यान्डको हकमा यस्तै भएको थियो तर बीटीएस कहिल्यै ओझेलमा परेन । कोरियन र जापानिज गीत गाएर संसारभर प्रशंसक कमाइरहे । लोकप्रियताको यो ग्राफ अझ उकालो लागिरहेको छ ।


टिनएजरलाई भुतुक्क बनाउने गीत र डान्सले मात्र बीटीएसलाई विशिष्ट बनाएको भने होइन । उनीहरू जति चर्चित छन्, त्यति नै समाजप्रति सचेत र जिम्मेवार पनि । जब उनीहरू हिट हुँदै गए, कोरियासहित संसारभरका युवा पुस्ता कसरी डिप्रेसनसहित अन्य मानसिक समस्याबाट पीडित छन् भन्ने थाहा पाए । त्यसैले गीतहरूमा कहीं न कहीं मानसिक स्वास्थ्यको विषय उठाइरहेका हुन्छन् । आफूलाई माया गरौं भन्ने सन्देश बोकेको ‘लभ योरसेल्फ’ अभियान चलाउनुको कारण त्यही थियो । यसबाहेक हिंसाविरोधी अभियानमा पनि ब्यान्ड सक्रिय छ । सदस्य सुगाले भनेका छन्, ‘पहिले आफूलाई माया गरौं । संसारले तपाईंबाट के चाहेको छ भन्नेतिर लाग्नुभयो भने निराश हुनुपर्छ । त्यसैले आफ्नो भित्री इच्छा र चाहना पहिल्याउनुपर्छ ।’


यो वर्ष ओस्कार अवार्डमा दक्षिण कोरियाली सिनेमा ‘प्यारासाइट’ ले कमाल गर्‍यो । धेरैको दाबी छ, केही वर्षमा संगीतको ओस्कार मानिने ग्रामीमा बीटीएसले यस्तै कमाल गर्छ ।


-(एजेन्सीको सहयोगमा)

प्रकाशित : फाल्गुन ३०, २०७६ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?