माल्दिनीका तीन पुस्ता- हेलो शुक्रबार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माल्दिनीका तीन पुस्ता

इटालीको चर्चित क्लब एसी मिलनाका लागि सिजर माल्दिनीले खेले । उनको छोरा पाओलो माल्दिनीले पनि खेले । हालै नाति ड्यानिएल पनि मिलानको जर्सीमा मैदानमा उत्रिन थालेका छन् ।
हिमेश

फुटबल मन पराउनेको एक पुस्ता पाओलो माल्दिनीको खेल हेर्दै हुर्के । बूढा पनि भए । यो पुस्ताले भन्ने गर्छ, ‘खेलाडी होस् त माल्दिनी जस्तो ।’ जति बेला यी जब्बर डिफेन्डरले एसी मिलानका लागि खेल्थे, क्लब विश्वकै नम्बर १ जस्तै थियो । इटालीको फुटबल आफैंमा सुखद समयबाट गुज्रिरहेको थियो । अनि सिरी ‘ए’ सफलता र लोकप्रियताको शिखरमा थियो । यो भनेको सन् अस्सीको मध्यबाट दुई दशकको समय हो ।

माल्दिनीलाई मन पराउनुको एउटा ठोस कारण पनि छ । माल्दिनीले आफ्नो पूरा खेल जीवन एउटै क्लबका लागि खेले । मिलान छाडेर उनी अन्यत्र कतै गएनन् । उनी ‘वान क्लब म्यान’ हुन् । उनी क्लबका ‘ट्र्यु लेजेन्ड’ हुन् । अचेलका खेलाडीलाई आरोप लाग्ने गर्छ, केही बढी पैसा पायो कि क्लब फेर्न हतार गर्छन् । यसमा माल्दिनी सर्वथा अपवाद रहे । त्यसैले पनि उनी खुबै लोकप्रिय रहे । मिलान समर्थक नभएकाका लागि पनि उत्तिकै प्रिय । उनले मिलानका लागि सबथोक जिते, घरेलु लिग र कपदेखि च्याम्पियन्स लिगसम्म ।


अहिले यी भेट्रान माल्दिनीको चर्चा किन भने उनका छोरा ड्यानिएल माल्दिनीले हालै सिरी ‘ए’ मा डेब्यु गरेका छन् । जति बेला ड्यानिएलले भेरोनाविरुद्ध खेले, चारैतिर माल्दिनी परिवारको चर्चा भयो । नहोस् पनि किन र ? आखिरमा उनी मिलानका लागि खेल्ने तेस्रो पुस्ताका खेलाडी हुन् । मिलानलाई मायाले ‘रोसेनेरी’ भनिन्छ । यो क्लबका लागि बाजे सिजर माल्दिनी पनि खेले । त्यसो भनेको माल्दिनीका तीन पुस्ताले मिलानका लागि खेलेको कीर्तिमान बनाए ।


ड्यानिएल भर्खर १८ वर्षका भए । उनी ‘क्रियटिभ मिडफिल्डर’ का रूपमा खेल्ने गर्छन् । उनी जेठो छोरा हुन । संयोगले उनको बुबा अझै मिलानसँग आबद्ध छन् । उनी खेलाडी त थिए नै, कप्तान पनि भए । अचेल क्लबका निर्देशक छन् । बुबा यो ठूलो भूमिकामा छँदा उनले डेब्युको सुखद अवसर पाए । ड्यानिएलका भाइ क्रिस्टियन माल्दिनी पनि फुटबल खेल्छन् । अहिले भने उनी सिरी ‘सी’ क्लब प्रो सेस्टञोका लागि खेलिरहेका छन् ।


बुबा माल्दिनीले सन् १९८५ को जनवरी २० मा मिलानका लागि डेब्यु गरेका थिए र त्यति बेला उनको उमेर थियो, १६ वर्ष र छ महिना मात्र । प्रतिद्वन्द्वी टिम थियो, उडिनेजी । उनले मिलानका लागि ९ सय १ पल्ट खेले, ३३ गोल पनि गरे । उनले सन् २००९ को जुनमा मात्र संन्यास लिएका हुन् । उनलाई विश्व फुटबलकै सर्वकालीन महान् खेलाडीमध्ये एक मानिन्छ । इटालीको फुटबलमा डिफेन्डरको सबैभन्दा बढी महत्त्व हुन्छ, उनी ठ्याक्कै यही पाराले खेल्ने खेलाडी थिए । त्यसमाथि हदैले भलाद्मी मान्छे ।


अब बाजे माल्दिनीको पालो । सिजर माल्दिनीले पनि मिलानका लागि मात्र खेलेनन्, कप्तान पनि भए । उनी त यस क्लबका प्रशिक्षक पनि बने । अझ उनी त मिलानका लागि युरोपेली कप उचाल्ने पहिलो कप्तान पनि थिए । पछि उनले इटालीको टिम पनि सम्हाले, प्रशिक्षकका रूपमा । उनी पनि खेलाडी छँदा डिफेन्डर नै थिए । माल्दिनी परिवारको फुटबलको वास्तविक जग बसाउने उनी नै थिए, यसको श्रेय उनलाई दिनैपर्छ, उनले भने सन् १९५३ मा पहिलोपल्ट सिरी ‘ए’ मा खेलेका थिए ।


मिलानका लागि भने उनले सन् १९५४ मा डेब्यु गरे । उनको निधन भएको चार वर्ष भयो । त्यति बेला उनी ८४ वर्षका थिए । दुःख केमा रहनेछ भने उनले नाति ड्यानिएलको मिलानका लागि खेलेको हेर्न पाएनन् । तर उनी के तथ्यमा ढुक्क थिए भने ड्यानिएल पनि मिलान जर्सीका लागि योग्य छन् । यी नाति माल्दिनीले आफ्ना बुबा र बाजे जत्तिको प्रसिद्धि र सफलता हात पार्न अझै लामो यात्रा तय गर्नुपर्नेछ । तर समग्रमा माल्दिनीका तीन पुस्ताको फुटबल कथा आफैंमा अद्वितीय र दुर्लभ छ ।

प्रकाशित : फाल्गुन २३, २०७६ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्

बसभित्रै रेस्टुराँ

पर्वत पाेर्तेल

झापा, बुद्धशान्ति गाउँपालिकाका २३ वर्षे लावाङ मोक्तानको सपना थियो । विदेश जाने, टन्न कमाएर मस्ती गर्ने । विदेश उड्नुअघि होटल म्यानेजमेन्टको प्रशिक्षण गर्न उनी पुगेका थिए, अफ्रिकी देश मौरिसस । यो गत वर्षको कुरा थियो ।

मौरिससमा करिब ६ महिना बिताउँदा उनले बसमा सजाइएर खाना बेचेको प्रशस्तै देखे । बसभित्रै चिटिक्क परेको रेस्टुराँ । हेर्दै खाउँखाउँ लाग्ने परिकार । कसको पो मन नलोभिएला र ! ‘बसभित्रै रेस्टुराँ हुन्छ भन्ने कुरा पहिलो पटक थाहा पाएँ, त्यो मेरा लागि ठूलो कुरा थियो,’ उनले अनुभव साटे, ‘मौरिसस बसुन्जेल धेरैजसो फुड बसमै खाएँ ।’

बिर्तामोडको वाल्मीकि कलेजबाट १२ कक्षा पढेका लावाङ ट्रेनिङ सकेर जब घर फर्किए, उनलाई उस्तै ‘फुड बस’ को झझल्को आइरह्यो । अनि एक दिन उनले सोचे, विदेश जानुभन्दा यतै केही गर्ने । खासमा विदेश जाने अनि मनग्ये कमाउने उनको सोच मौरिससबाट फर्किएपछि बदलिएको थियो । ट्रेनिङलगत्तै कुवेततिर हानिने योजनामा थिए । जसका लागि एजेन्टलाई १२ लाख रुपैयाँजति बुझाउनु थियो । काम थियो, कुवेतको आर्मी क्याम्पभित्र खाना पकाउने ।

‘१२ लाख लगानी गरेपछि किन विदेशीको सेवा गर्ने, नेपालीकै सेवा गर्छु भन्ने सोच आयो,’ उनले सुनाए, ‘मौरिससमा देखेको फुड बसले धेरै आत्मविश्वास बढायो ।’गाउँमै फुड बस सञ्चालन गर्ने हुटहुटी जाग्यो । तर, अभिभावकको हठचाहिँ विदेश नै पठाउने थियो । मौरिसस बस्दा देखेको फुड बसबारे अभिभावकसँग अनुभव साटे । ‘त्यस्तै फुड बस सञ्चालन गर्छुभन्दा सुरुमा बुबा, आमा मान्नुभएको थिएन,’ उनले सुनाए, ‘अभिभावकलाई बुझाउन धेरै गाह्रो भयो ।’


बल्लतल्ल अभिभावक मञ्जुर भए, छोराको फुड बस योजनामा लगानी गर्न । तर, बस कहाँ खोज्ने ? बसलाई कसरी सजाउने ? उनलाई सकस भयो । नभन्दै एउटा थोत्रो बस फेला पारे ६ लाखमा । बस किनेर ग्यारेज लगे मोडिफाइड गर्न । बस काटेर किचन तयार गर्न भारतीय मिस्त्री बोलाए । थोत्रो बस रातारात चिटिक्कको रेस्टुराँमा परिणत भयो ।

बस मोडिफाइड, किचन आदिको काम सकिँदा २४ लाख जति खर्च भयो । गत मंसिरबाट फुड बस सञ्चालन गरेका उनले भने, ‘बस किनेदेखि किचनका सम्पूर्ण सामानसम्मको खर्च २५ लाख पुग्यो ।’

उनको काममा दिदी कुन्साङ तामाङ, अभिनय तामाङसहितका परिवारको सहयोग छ । झापामा आयोजना हुने गरेको मेला, महोत्सवमा बस हाँकेर पुग्छन् लावाङ । विभिन्न हटियाहरूमा पनि बाक्लै जान्छन् । अरू बेला घरै अघिल्तिर बस तेर्स्याएर रेस्टुराँ सञ्चालन गर्छन् । उनको रेस्टुराँमा फ्राई राइसदेखि ससेजसम्म पाइन्छ । विभिन्न किसिमका पेय र परिकारको मेनु पनि छ रेस्टुराँकै बगलमा । ‘अन्य रेस्टुराँमा पाइने सबै परिकार हाम्रामा पाइन्छ,’ फुड बसको किचन सम्हालेकी कुन्साङले सुनाइन्, ‘हाम्रो परिकार मीठो पनि छ ।’


लावाङका अनुसार फुड बसको आम्दानी चित्तबुझ्दो छ । कहिलेकाहीँ त दिनमा ७०–८० हजारसम्मको खानेकुरा बिक्री हुने गरेको छ । गत महिना सम्पन्न किच्चकबध पर्यकीय मेलामा एकै दिन ७२ हजारको बिक्री भएको थियो । ‘सामान्य मेलामा नभएको पनि ३०–४० हजारको त बिक्री हुन्छ,’ लावाङले सुनाए, ‘खर्चपानी कटाएर पनि आम्दानी राम्रै हुन्छ ।’

लावाङलाई विदेश नगएकामा कुनै पछुतो छैन । बरु आत्मसन्तुष्टि मिलेको छ । अनौठो ढंगको रेस्टुराँ सञ्चालनको सोच बनाएकामा धेरैले उनको प्रशंसा गर्ने गरेका छन्, जसले थप उत्साहित भएका छन् । ‘भविष्यमा अरू फुड बस थप्ने र धेरैलाई रोजगारी दिने लक्ष्य छ,’ लावाङले योजना सुनाए, ‘विदेशमा गुलामी गर्नुभन्दा देशमै पसिना बगाउँदा आनन्द लाग्नुपर्छ युवालाई ।’

प्रकाशित : फाल्गुन २३, २०७६ १३:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×