बसभित्रै रेस्टुराँ

पर्वत पाेर्तेल

झापा, बुद्धशान्ति गाउँपालिकाका २३ वर्षे लावाङ मोक्तानको सपना थियो । विदेश जाने, टन्न कमाएर मस्ती गर्ने । विदेश उड्नुअघि होटल म्यानेजमेन्टको प्रशिक्षण गर्न उनी पुगेका थिए, अफ्रिकी देश मौरिसस । यो गत वर्षको कुरा थियो ।

बसभित्रै रेस्टुराँ

मौरिससमा करिब ६ महिना बिताउँदा उनले बसमा सजाइएर खाना बेचेको प्रशस्तै देखे । बसभित्रै चिटिक्क परेको रेस्टुराँ । हेर्दै खाउँखाउँ लाग्ने परिकार । कसको पो मन नलोभिएला र ! ‘बसभित्रै रेस्टुराँ हुन्छ भन्ने कुरा पहिलो पटक थाहा पाएँ, त्यो मेरा लागि ठूलो कुरा थियो,’ उनले अनुभव साटे, ‘मौरिसस बसुन्जेल धेरैजसो फुड बसमै खाएँ ।’


बिर्तामोडको वाल्मीकि कलेजबाट १२ कक्षा पढेका लावाङ ट्रेनिङ सकेर जब घर फर्किए, उनलाई उस्तै ‘फुड बस’ को झझल्को आइरह्यो । अनि एक दिन उनले सोचे, विदेश जानुभन्दा यतै केही गर्ने । खासमा विदेश जाने अनि मनग्ये कमाउने उनको सोच मौरिससबाट फर्किएपछि बदलिएको थियो । ट्रेनिङलगत्तै कुवेततिर हानिने योजनामा थिए । जसका लागि एजेन्टलाई १२ लाख रुपैयाँजति बुझाउनु थियो । काम थियो, कुवेतको आर्मी क्याम्पभित्र खाना पकाउने ।


‘१२ लाख लगानी गरेपछि किन विदेशीको सेवा गर्ने, नेपालीकै सेवा गर्छु भन्ने सोच आयो,’ उनले सुनाए, ‘मौरिससमा देखेको फुड बसले धेरै आत्मविश्वास बढायो ।’गाउँमै फुड बस सञ्चालन गर्ने हुटहुटी जाग्यो । तर, अभिभावकको हठचाहिँ विदेश नै पठाउने थियो । मौरिसस बस्दा देखेको फुड बसबारे अभिभावकसँग अनुभव साटे । ‘त्यस्तै फुड बस सञ्चालन गर्छुभन्दा सुरुमा बुबा, आमा मान्नुभएको थिएन,’ उनले सुनाए, ‘अभिभावकलाई बुझाउन धेरै गाह्रो भयो ।’



बल्लतल्ल अभिभावक मञ्जुर भए, छोराको फुड बस योजनामा लगानी गर्न । तर, बस कहाँ खोज्ने ? बसलाई कसरी सजाउने ? उनलाई सकस भयो । नभन्दै एउटा थोत्रो बस फेला पारे ६ लाखमा । बस किनेर ग्यारेज लगे मोडिफाइड गर्न । बस काटेर किचन तयार गर्न भारतीय मिस्त्री बोलाए । थोत्रो बस रातारात चिटिक्कको रेस्टुराँमा परिणत भयो ।


बस मोडिफाइड, किचन आदिको काम सकिँदा २४ लाख जति खर्च भयो । गत मंसिरबाट फुड बस सञ्चालन गरेका उनले भने, ‘बस किनेदेखि किचनका सम्पूर्ण सामानसम्मको खर्च २५ लाख पुग्यो ।’


उनको काममा दिदी कुन्साङ तामाङ, अभिनय तामाङसहितका परिवारको सहयोग छ । झापामा आयोजना हुने गरेको मेला, महोत्सवमा बस हाँकेर पुग्छन् लावाङ । विभिन्न हटियाहरूमा पनि बाक्लै जान्छन् । अरू बेला घरै अघिल्तिर बस तेर्स्याएर रेस्टुराँ सञ्चालन गर्छन् । उनको रेस्टुराँमा फ्राई राइसदेखि ससेजसम्म पाइन्छ । विभिन्न किसिमका पेय र परिकारको मेनु पनि छ रेस्टुराँकै बगलमा । ‘अन्य रेस्टुराँमा पाइने सबै परिकार हाम्रामा पाइन्छ,’ फुड बसको किचन सम्हालेकी कुन्साङले सुनाइन्, ‘हाम्रो परिकार मीठो पनि छ ।’



लावाङका अनुसार फुड बसको आम्दानी चित्तबुझ्दो छ । कहिलेकाहीँ त दिनमा ७०–८० हजारसम्मको खानेकुरा बिक्री हुने गरेको छ । गत महिना सम्पन्न किच्चकबध पर्यकीय मेलामा एकै दिन ७२ हजारको बिक्री भएको थियो । ‘सामान्य मेलामा नभएको पनि ३०–४० हजारको त बिक्री हुन्छ,’ लावाङले सुनाए, ‘खर्चपानी कटाएर पनि आम्दानी राम्रै हुन्छ ।’


लावाङलाई विदेश नगएकामा कुनै पछुतो छैन । बरु आत्मसन्तुष्टि मिलेको छ । अनौठो ढंगको रेस्टुराँ सञ्चालनको सोच बनाएकामा धेरैले उनको प्रशंसा गर्ने गरेका छन्, जसले थप उत्साहित भएका छन् । ‘भविष्यमा अरू फुड बस थप्ने र धेरैलाई रोजगारी दिने लक्ष्य छ,’ लावाङले योजना सुनाए, ‘विदेशमा गुलामी गर्नुभन्दा देशमै पसिना बगाउँदा आनन्द लाग्नुपर्छ युवालाई ।’

प्रकाशित : फाल्गुन २३, २०७६ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?