२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

जस्टिन बिबर भर्सन २.०

जस्टिन बिबर तीन वर्षको गुप्तवासपछि नयाँ एल्बम ‘चेन्जेज’ लिएर आएका छन् । यसलाई उनको सांगीतिक यात्राको अर्को अध्यायको सुरुवात मानिएको छ ।
गोकर्ण गौतम

जस्टिन बिबरको सातौं एल्बम ‘चेन्जेज’ भ्यालेन्टाइन्स डेमा सार्वजनिक भयो । यो एल्बमले जति धमाका मच्चाउँछ भनेर संगीत पण्डितहरूले ठोकुवा गरेका थिए, त्योभन्दा ज्यादै भइरहेको छ । सबभन्दा ठूलो उपलब्धिचाहिँ अमेरिका बिलबोर्ड चार्टमा कीर्तिमान राख्नु हो ।

जस्टिन बिबर भर्सन २.०

सातौं एल्बम चार्टको शिखरमा पुर्‍याउने उनी सबैभन्दा कम उमेरका एकल गायक बनेका छन् । यससँगै ५९ वर्षअगाडि एल्भिस प्रिन्स्लेले राखेको रेकर्ड तोडिएको छ । त्यतिबेला एल्भिस २६ वर्षमा थिए, जस्टिन अहिले २५ मा हिँड्दै छन् । बेलायतको बिलवर्ड चार्टमा पनि अग्रपंक्तिमा छ एल्बम । एक सातामा २ लाख ३१ हजार प्रति बिकेको बीबीसीले जनाएको छ । इमिनेमको ‘म्युजिक टु बी मर्डर्ड बाई’ पछि यसलाई यो वर्षको सबभन्दा ठूलो एल्बम मानिएको छ ।


के भनिन्छ भने, जस्टिन कहिल्यै संगीत करियरलाई लिएर गम्भीर भएनन्, उनको सफलता मेहनतभन्दा पनि भाग्यको फल हो । तर, यसपटक यो एल्बमको तयारी गर्दै जस्टिनले त्यो छवि बदल्दै थिए । एल्बमको बजारीकरणका लागि विभिन्न तौरतरिका अपनाए । त्यसमध्ये १० भागको युट्युब डकुमेन्ट्री सिरिज सबैभन्दा प्रभावकारी भयो । जहाँ उनले आफ्नो व्यक्तिगत जीवन, सुख–दुःख अनि कमजोरीहरूलाई बडो मार्मिक शैलीमा पोखेका छन् । जसले गर्दा हिजोका गतिविधिका कारण उनलाई घृणा गर्नेहरूमाझ पनि एल्बम प्रतीक्षित बनिदियो । र, यसरी रणनीतिक रूपमा लाग्नु यसपटक उनका लागि बाध्यता नै थियो । किनभने धेरैले दाबी गर्न थालिसकेका थिए, जस्टिनको युग सकियो । यस्तो निष्कर्षमा पुग्नुपछाडि अनेक कारण छन् ।


सन् २०१५ मा जस्टिनले ‘पर्सस’ एल्बम ल्याएका थिए । भनेजस्तो लोकप्रियता पाइरहेको थियो । उनी वर्ल्ड टुर गर्दै थिए, तामझामका साथ प्रचारप्रसार हुँदै थियो । तर, जस्टिनले एक्कासि वर्ल्ड टुर रद्द गरे । ठ्याक्कै कारण यही हो भन्ने थिएन तर जस्टिनमा अनेक बदलाव देखियो । उनी विभिन्नखाले मानसिक समस्याबाट गुज्रिए, लागूऔषधको लतबाट निस्कनै हम्मेहम्मे पर्‍यो । त्यतिबेला उनी पश्चतापको दलदलमा फसेको खबरहरू प्रकाशित भएका थिए । आफ्ना हरेक सम्बन्ध र सम्पर्कबाट टाढा रहे । शरीरभरि ट्याटु खोपे । बेपरवाह हिँड्न थाले । अर्थात्, जस्टिनले जे–जे गरे, त्यो कुनै स्टारका लागि सुहाउँदिलो थिएन ।


त्यसको केही अगाडि जस्टिनलाई अमेरिकाबाट निकाला गर्नुपर्ने मागसहित २ लाख ७० हजारले हस्ताक्षर गरेको पत्र ह्वाइटहाउसमा बुझाइएको थियो । उनको आनीबानी पछ्याउँदा किशोरकिशोरी बिग्रिएको भन्दै अभिभावकहरूले विरोध गरेका थिए । तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामाले जस्टिनको बचाउ गर्नुपरेको थियो । उनीप्रति ओबामाको प्रेम र सहानुभूति किन थियो भने राष्ट्रपति भएको केही समयपछि जस्टिनले उनका लागि ‘समडे एट क्रिसमस’ गाएका थिए । यो भड्खालोबाट उन्मुक्ति पाए पनि जस्टिनले लय पकड्न सकेनन् ।


तस्बिर : रोयटर्स

सेलेना गोमेजसँग ‘ब्रेकअप’ र त्यसपछिको आनीबानीले ‘हेटर्स’ ह्वात्तै बढे । केसम्म भनियो भने जस्टिन माया गर्न लायक छैनन्, उनी बिस्तारै गुमनाम हुनेछन् । नभन्दै उनी गुमनाम नै भए । तर, त्यो जस्टिनकै चाहना थियो । तीन वर्षअगाडि आफ्ना लागि समय चाहिएको भन्दै मिडिया र हरेक सार्वजनिक प्लेटफर्मबाट टाढा बसे । यसबीच केही गायक–गायिकासँग सहकार्य त गरे तर आफ्नो एकल एल्बम निकालेनन् । स्टेजमा उक्लिदै–उक्लिएनन् । अनि, उनको निरन्तरतालाई लिएर प्रश्न नउठोस् पनि कसरी ?


यसबीच जस्टिनमा आमूल परिवर्तन आयो । मुख्य कुरा त विवाह गरे । अघिल्लो वर्ष सुपरमोडल हेली वल्डविनसँग उनको विवाह भयो । विवाहपछि उनमा सकारात्मक बदलाव आउन थालेको बताइन्छ, जसलाई जस्टिन स्वयंले स्विकारेका छन् । केही समय क्यानडाको आफू हुर्किएको सहरमा बिताए । शरीरको हुलिया बदलिएको छ । जुँगा पालेका छन् । आत्मसमीक्षा गर्न थालेका छन् । कतिसम्म भने सेलेनासँगको सम्बन्धमा आफू लापरवाह रहेको समेत स्विकारे । यस्तै–यस्तै बदलावको कारण हुनुपर्छ, उनले एल्बमको नाम पनि ‘चेन्जेज’ राखेको ।


एल्बमका अधिकांश गीतहरूमा पत्नी हेलीप्रति प्रेम दर्शाएका छन् । व्यावसायिक सफलतासँगै समीक्षकबाट पनि तारिफ मिलेको छ एल्बमलाई । उमेरसँगै जस्टिनका गीतहरू परिपक्व भएको तर उनको मौलिक मिठासमा अन्तर नआएको प्रतिक्रिया व्यक्त भइरहेका छन् । यो एल्बम रिलिजको पूर्वसन्ध्यामा जस्टिनले भनेका थिए, ‘अहिले म उत्साही हुँ तर नभर्स पनि । यो एल्बम फरक छ ।’


उनी १२ वर्षका थिए, संगीत उद्यमी स्कुटर ब्राउनले युट्युबमार्फत भेट्दा । जब ‘बेबी...’ गीत आयो, ‘ग्लोबम स्टार’ मा भइहाले । उनले जसरी लोकप्रियताको स्वाद असाध्यै कम सेलेब्रिटीले चाखेका छन्, त्यो पनि टिनएजमै । त्यो घनघोर स्टारडम जोगाउन भने उनलाई हम्मेहम्मे परिरह्यो । विवादले कहिल्यै छोडेन । १३ वर्षदेखि जस्टिनको रेखदेख गरिरहेका ब्राउनको भनाइ छ, ‘मानव इतिहासमा जस्टिन बिबरझैं कोही हुर्किएनन् । इन्टरनेटबाट उनको जस्तो ख्याति कसैले कमाएनन् ।’


ब्राउनले भनेजस्तै जस्टिनको सफलता साँच्चै जादुयी छ । २५ वर्षको उमेरमा एक ग्रामी अवार्ड, १५ अमेरिकन म्युजिक अवार्ड, २० बिलवोर्ड म्युजिक अवार्ड, २ ब्रिट अवार्ड र २१ एमटीभी युरोप म्युजिक अवार्ड जितिसके । सन् २०११ देखि लगातार तीन वर्ष फोर्ब्सको संसारका प्रभावशाली सेलेब्रिटीको उत्कृष्ट १० सूचीमा अटाए । इन्स्टाग्राममा सबैभन्दा धेरै पछ्याइने पुरुष संगीतकर्मी हुन् उनी । उनलाई १२ करोड ८० लाखले पछ्याएका छन् ।


युट्युब सिरिजमा जस्टिनले भावुक हुँदै भनेका छन्, ‘हाम्रो जीवनमा धेरै उतारचढाव आउँछ । कहिले राम्रो समय चलिरहेको हुन्छ, कहिले नराम्रो । कहिलेकाहीँ हामीले हार मान्न चाहन्छौं ।’ सायद तीन वर्षअगाडि उनले हार चाहेका थिए किनभने उनलाई फेरि जितको तयारी गर्नु थियो । त्यो तयारी भव्य थियो भनेर नयाँ एल्बमको सुरुवाती सफलताहरूले पुष्टि गरिसकेको छ । वर्ल्ड टुरको अधुरो सपनालाई पनि यही वर्ष मूर्त रूप दिँदै छन् ।


–एजेन्सीको सहयोगमा

प्रकाशित : फाल्गुन १६, २०७६ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?