कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कन्सेप्ट कारमा नजर

कान्तिपुर संवाददाता

भारतमा हरेक दुई वर्षमा अटो एक्स्पो हुन्छ र यसको १५ औं संस्करण गत साता सम्पन्न भयो । ग्रेटर नोयडास्थित एक्स्पो मार्टमा भएको अटो एक्स्पो भयो भने स्पेयर पार्टसको प्रदर्शनी प्रगति मैदान, उत्तरप्रदेशमा । पहिले दिन ‘मिडिया डे’ र दोस्रो दिन ‘बिजनेस डे’ पछि सर्वसाधारणका लागि प्रदर्शनी खुला गरिएको थियो ।

कन्सेप्ट कारमा नजर

अटो एक्स्पोमा प्रसिद्ध ब्रान्ड मर्सिडिज, फक्सवागन, मारुती सुजुकी, टाटा मोटर्स, महिन्द्रा, हुन्डाई, किया, रेनो, एमजी, स्कोडा, फोर्स मोटर्स र एफएडब्लू हाइमालगायत चीनको ग्रेटवाल मोटर्सका चार पांग्रे सवारी प्रदर्शनमा थिए ।

त्यस्तै, दुई पांग्रेतर्फ सुजुकी, भेस्पा, अप्रिलिया, हिरो इलेक्ट्रिक, ओकिनावा, मोटा गुजल, ग्रेटवाल मोटर्सलगायत थिए । एक्स्पोमा अन्य ११ वटा ब्रान्डको समेत उपस्थिति थियो । एक्स्पोमा अब आउने नयाँ प्रविधियुक्त कारको प्रोटोटाइप (कन्सेप्ट कार) देखि नयाँ मोडलका सवारी तथा फेसिलिटी मोडलसमेत सार्वजनिक गरियो । यसपालि बीएस–६ इन्जिनयुक्त सवारी सार्वजनिक गरियो ।


भारत सरकारले सन् २०२० अप्रिल १ देखि बीएस–६ भन्दा तलको प्रदूषण मापदण्डमा परेका सवारी दर्तामा रोक लगाउने निर्णय गरिसकेको छ । यसले विद्युतीय सवारीप्रतिको आकर्षण बढाइदियो । भारतको एक्स्पोजस्तै हो नेपालको नाडा अटो शो । तर, यी दुई प्रदर्शनीमा ठूलो भिन्नता छ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) का अध्यक्ष कृष्णप्रसाद दुलाल भन्छन्, ‘नेपालमा बिक्रेताले एक्स्पो गर्छ भने भारतमा उत्पादक आफैंले गर्छ । कारण भारतको व्यवसाय निकै ठूलो रहेको छ । साथै, हामीलाई प्रदर्शनी ठूलो क्षेत्रमा गर्न भृकुटीमण्डपको विकल्प पनि छैन ।’


अटो एक्स्पोको मुख्य आकर्षणका रूपमा कन्सेप्ट कार रहेको थियो । यसपालि मर्सिडिज, हुन्डाई, रेनो, मारुती सुजुकी, महिन्द्रा, टाटा, एमजीका कन्सेप्ट कार मुख्य आकर्षण बने । यो एक्स्पोमा बाइक र गाडीका ८० कम्पनी थिए भने स्पेयर पार्ट्सका ४२५ कम्पनी । उक्त एक्सपो २ लाख बढीले अवलोकन गरे । विश्वको सबैभन्दा सस्तो विद्युतीय कार ओरा आर वानले धेरैलाई आकर्षित गरेको थियो । त्यस्तै मर्सिडिज बेन्जको कन्सेप्ट कार मार्कोपोलोमा पनि अवलोकनकर्ताको निकै भीड रहेको थियो, जसमा मानिसको आवाजबाट सञ्चालित प्रविधि, गाडीभित्रै किचेन, बढाउन मिल्ने छत, गाडीभित्र सुत्न मिल्नेलगायत सुविधा छन् ।



‘अटो एक्स्पो– २०२० द मोटर शो’ को पछिल्लो संस्करण एक्सप्लोर द वर्ल्ड अफ मोबिलिटी थिममा आयोजना गरिएको हो । अटो एक्स्पो सोसाइटी अफ इन्डियन ओमोबाइल म्यानुफ्याक्चरर्स, अटोमोटिभ कम्पोनेन्ट म्यानुफ्याक्चरर्स एसोसिएसन अफ इन्डिया र कन्फिडरेसन अफ इन्डियन इन्डस्ट्रीले संयुक्त रूपमा आयोजना गरेको एक्स्पोमा नेपालका व्यवसायीहरू पनि पुगेका थिए ।


तस्बिरहरू : प्रकाशचन्द्र तिमिल्सेना

प्रकाशित : फाल्गुन ९, २०७६ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?