झापा : घुम्नै पर्ने ७ स्थान


प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला हो, झापा । यो जिल्ला कम्युनिस्ट आन्दोलनको उद्गम स्थल पनि हो । २०२८ सालमा यहाँ भएको ‘झापा विद्रोह’ को बेग्लै इतिहास छ । कुनै बेला कम्युनिस्टहरूको आधार क्षेत्र रहेको झापा अहिले धार्मिक पर्यटनका लागि पनि महत्त्वपूर्ण मानिन्छ ।



महाभारतकालीन मिथ जोडिएका मठ–मन्दिरलगायत तीर्थस्थलहरू थुप्रै छन् यो जिल्लामा । नेपालमा कुल १२५ बढी जातजाति छन् । त्यसमध्ये झापामा मात्रै ११० जातजातिका मानिसहरू बस्छन् । त्यसैले झापा सांस्कृतिक हिसाबले पनि विविधायुक्त र निकै धनी छ । यहाँ घुमघामका लागि पनि थुप्रै गन्तव्य छन् । त्यसमध्ये हाल आकर्षण बनेका सात गन्तव्य :
अर्जुनधारा धाम
स्थानीय नगरपालिकाको नाम पनि यही धामबाट राखिएको छ अर्जुनधारा । पूर्वको पशुपतिनाथ पनि भनिन्छ यसलाई । लोकोक्तिअनुसार महाभारत कालमा विराट राजाका गाईहरू कौरवद्वारा हरिएका थिए । गाईहरू ज्यादै तिर्खाएका थिए । अर्जुनले शिवको आराधनापछि प्रर्जन्य अस्त्र (वाण) प्रयोग गरी यही स्थानमा पानी निकालेको र गाईहरूलाई पिलाएको भन्ने किंवदन्ती छ ।
यहाँ बाह्रैमास पानी बग्छ । त्यसैले अर्जुनले वाण हानेर पानी निकालेको ठाउँ भएकाले नाम अर्जुनधारा भएको धामका अध्यक्ष नवीन गट्टानीले बताए । यहाँ प्राचीन पोखरी छ, जहाँ अर्जुनले वाण हानेको र गाईलाई पानी पिलाएको मूर्तिमा देखाइएको छ । पोखरीको दक्षिणमा ५ वटा कलात्मक धारा छन्, जसबाट निरन्तर पानी बग्दछ । यो स्थल भद्रपुर विमानस्थलबाट २९ किमि उत्तरमा पर्छ ।
मिनी माउन्टेन
कमेरे ढिस्कोले बनेको सुन्दर र सानो पहाड, जसलाई मिनी माउन्टेन नाम दिइएको छ । काँकडभिट्टादेखि करिब २० किमि ग्राभेल बाटो छिचोलेपछि पुगिने यहाँ पनि आन्तरिक पर्यटकको भीड बढ्न थालेको छ । यो ठाउँ बाहुनडाँगी ७ र इलामको जिर्मले ८ मा पर्दछ ।करिब १० बिघा क्षेत्रमा फैलिएको यो क्षेत्रमा पहाड र तराई दुवैको मौसम अनुभव गर्न सकिन्छ ।
पहाड उक्लिएपछि चिसो र झरेपछि तातो अनुभूति हुन्छ । ‘२ वर्ष अघिसम्म यहाँ आउन स्थानीय पनि डराउँथे,’ मिनी माउन्टेन पर्यटन विकास समितिका अध्यक्ष सुकबहादुर तावाले भने, ‘अहिले थामिनसक्नुको भीड लाग्छ ।’ यहाँको मुख्य आकर्षण कमेरे माटोबाट बनेको पहाड नै हो । चिरा–चिरा परेको पहाड लोभलाग्दो छ । छेवैमा निन्दा नदी बग्छ ।
दोमुखा
दोमुखा वनभोज तथा रमणीय दृश्यावलोकनका लागि पूर्वाञ्चलकै प्रसिद्ध स्थल हो । उत्तरी सिमाना इलामसँग जोडिएको यसलाई अविरल बग्ने माई खोलाले थप सुन्दर बनाइदिएको छ ।
स्थानीयवासीका अनुसार झापाका अतिरिक्त, मोरङ, सुनसरी, सिरहा, सप्तरीलगायतका जिल्लाबाट वनभोज र अवलोकनका लागि यहाँ दैनिक ५ हजार बढी मानिस आउँछन् । यो क्रम असोजदेखि वैशाखसम्म चल्छ । दोमुखा आउने पर्यटकहरूले वैष्णव देवीको दर्शनको मौका पनि पाउँछन् । दोमुखाबाट कन्काई माई नदी तथा विभिन्न प्राकृतिक दृश्यलाई नियाल्न सकिन्छ । नजिकै इलामका मनोरम पहाडी दृश्य पनि हेर्न सकिन्छ । पूर्व– पश्चिम राजमार्गको माईधारबाट करिब ३ किमि उत्तरको ग्राभेल बाटो पार गरेपछि दोमुखा पुगिन्छ ।
किच्चकवध
भद्रपुर नगरपालिकामा अवस्थिति छ किच्चकवध । धार्मिक एवम् ऐतिहासिक महत्त्वको अर्को महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो यो । सदरमुकाम भद्रपुरबाट करिब १० किमि कालोपत्रे तय गरेपछि यहाँ पुग्न सकिन्छ ।देउनिया र मेची नदीको किनारमा रहेको यो स्थल महाभारतकालीन कथासँग नजिक मानिन्छ ।
महाभारतको रचनामा यहीं किच्चक नामका राक्षसको हत्या गरिएकाले यस स्थलको नाम किच्चकवध रहेको बताउँछन्, किच्चकवध धार्मिक, ऐतिहासिक पर्यटकीय स्थल संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेबे । उनका अनुसार महाभारतकालमा यो स्थल विराट राजाको नाट्य घर थियो । यस क्षेत्रमा षटकोण आकारको पोखरी छ । विभिन्न देवी–देवताको मन्दिर, मूर्तिहरू पनि छन् । यहाँ स्वस्थानी पूर्णिमाका दिन बृहत् धार्मिक मेला लाग्छ ।
कचनाकवल
नेपालकै होचो भूमि कचनाकवल झापाको मुख्य पर्यटकीय गन्तव्य हो । समुद्री सतहदेखि ५८ मिटर उचाइमा रहेको कचनाकवलमा २०४४ सालताका कछुवा आकृतिको २० फिट अग्लो स्मारक बनाइएको थियो ।
यहाँबाट करिब ३ सय मिटरमा पर्दछ भारतको विहार प्रान्त । यहाँ दुई वटा ऐतिहासिक पोखरीहरू छन् । महाभारतकालमा भीमले किच्चकलाई वध गरेपछि यी दुई पोखरी पुर्ने प्रयत्न गरेको किंवदन्ती छ । सदरमुकाम भद्रपुरबाट करिब २० किमि कालोपत्रे र २ किमि ग्राभेल बाटो दक्षिणतिरको यात्रापछि पुगिन्छ कचनाकवल । स्थानीयवासी रत्न बुढाथोकीका अनुसार झापाको अन्तिम विन्दु केचना बजारदेखि करिब १ किमि पूर्वोत्तरमा अवस्थित कचनाकवलको अवलोकन गर्न हिउँद याम उत्तम मानिन्छ ।
जामुनखाडी सिमसार
कन्काई नगरपालिका क्षेत्रमा पर्ने जामुनखाडी सिमसार जिल्लाकै आकर्षक गन्तव्यमा पर्दछ । यहाँ आन्तरिक तथा सीमापारि दार्जिलिङ, मिरिक, सिलिगुडीबाट गरी दैनिक ५ हजार बढी पर्यटक आउँछन्, वनभोज, बोटिङ र जंगली जनावरको अवलोकन गर्न ।‘कहिलेकाहीँ वनभोज खाने स्थान पाउन पनि गाह्रो पर्छ,’ जामुनबारी सामुदायिक वनका अध्यक्ष ख्याम सिटौलाले भने । ४० वर्ष अघिसम्म यो क्षेत्र विशाल तालका रूपमा रहेको थियो ।
ताल पुरिएर अस्तित्व मात्रै बाँकी रहेको क्षेत्रलाई जामुनबारी सामुदायिक वनको पहलमा सिमसार क्षेत्रमा विकास गरिएको हो । मनोरम वन–जंगलसँगै सिमसार क्षेत्र र रबर प्रशोधन केन्द्रको अवलोकन गर्न सकिन्छ । यहाँ अजिंगर, चरी बाघ, निगाले बाघ, वन हुचिल, मलाह हुचिल, पानीऔत, पाखाऔत, मृग, सालक, दुम्सी र बाँदर पनि संरक्षण गरिएको छ । यो स्थान भद्रपुर विमानस्थलबाट २० किमि उत्तर पश्चिममा पर्छ ।
सुखानी सहिद पार्क
अर्जुनधारा नगरपालिकामा पर्छ सुखानी सहिद पार्क । झापा विद्रोहताका राज्य पक्षबाट हत्या गरिएका तत्कालीन कम्युनिस्ट पार्टीका नेताहरूको स्मृतिमा यो पार्क स्थापना गरिएको हो । पार्कमा ती सहिदहरूको सालिक बनाइएको छ, जहाँ सेल्फी खिच्नेको भीड लाग्ने गरेको छ ।
२०५८ सालमा निर्मित पार्कमा राज्यबाट पनि लगानी भएको छ । पार्कभित्र रहेको ताललाई व्यवस्थित गरी पोखरीका रूपमा विकास गरिनुका साथै बोटिङसमेत गर्ने व्यवस्था छ । बिर्तामोडबाट ३ किमि उत्तरमा रहेको यो पार्कलाई सालका रूखहरूले ढाकेको छ । यहाँ कछुवाको संरक्षण गरिएको छ । पार्कभित्रको पोखरीमा झोलुंगे पुल बनाइएको छ । एकदिने बिदामा यो स्थल उपयुक्त गन्तव्य बन्न थालेको छ ।
प्रकाशित : फाल्गुन ९, २०७६ १२:४३