परिक्रमा र सोनाम

भारतमा पाश्‍चात्य संगीत, विशेषगरी रक म्युजिकको  ‘ट्रेन्ड सेटर्स’  ‘ब्यान्ड परिक्रमा’ का संस्थापक गितारिस्ट सोनाम शेर्पाको गत शुक्रबार निधन भएको छ ।
हिमेश

नब्बेतिर नयाँदिल्लीलाई आधार मानेर एउटा रक ब्यान्ड स्थापित भएको थियो, जसलाई भारतीय वेस्टर्न म्युजिकको सबैभन्दा ठूलो मोड मानिन्छ । र, यो ब्यान्ड हो, परिक्रमा । जति बेला इन्टरनेटको सुविधा थिएन, गीतहरू क्यासेट चक्काको मद्दतले सुन्नुपर्थ्यो, त्यही बेला यो ब्यान्डले भारतमा तहल्का मच्चाएको थियो । परिक्रमा भनेपछि हाम्रोतिर पनि उत्तिकै प्रशंसक थिए । यस पछाडि एउटा ठूलो कारण थियो, यस ब्यान्डका संस्थापक गितारिस्ट सोनाम शेर्पा । 

परिक्रमा र सोनाम

सोनाम हुन्, कालिङपोङका । पश्चिम बंगालको यो सानो सहरमा हुर्के बढेकाले संगीतलाई नै आफ्नो पेसा बनाउने आँट त्यही बेला कसरी गर्न सक्थे र ? सोनामले भने आँट गरे । बाँकी इतिहास भयो नै । यिनै सोनामको गत साता निधन भएको छ र पूरा भारतीय संगीत उद्योग स्तब्ध छ । उनी ४८ वर्ष मात्र बाँचे । उनी म्यासिभ कार्डियो एरेस्टको शिकार बनेका थिए । हाम्रोतिर पनि उनको निधनको समाचारले उनी र परिक्रमा ब्यान्डका प्रशंसकलाई पत्याइनसक्नु भएको छ ।


अरू धेरै ब्यान्डको तुलनामा परिक्रमा फरक छ किनभने यो ब्यान्डले कहिले पनि आफ्नो एल्बम रिलिज गरेन । कारण ? ब्यान्डको तर्क थियो, संगीत सबैका लागि निःशुल्क हुनुपर्छ । त्यसैले ब्यान्डका गीत मज्जाले डाउनलोड गर्न पाइन्छ र अहिलेसम्म दसौं लाखको संख्यामा ब्यान्डका गीत डाउनलोड पनि भइसकेका छन् । सम्भवतः ‘बट इट रेइन्ड’ र ‘आई बिलिभ’ यो ब्यान्डका सबैभन्दा चर्चित र लोकप्रिय गीत हुन् । तपाईं पनि सोनामको सम्झनामा यी गीत सुन्न सक्नु हुन्छ ।


संगीतसम्बन्धी म्यागजिन रोलिङ स्टोन्सले पनि सन् १९९६ को यो गीतलाई भारतको सबैभन्दा उत्कृष्ट रक गीतमध्ये एक भनेको छ । ब्यान्डको पहिलो गीत थियो, ‘जेरोक्स’ । यसलाई भारतीय रक संगीतको वास्तविक अनुहार भनिन्छ । सुविर र नितिन मलिक नयाँदिल्लीका दुई दाजुभाइ हुन् । नितिन लिड भोकलिस्ट भए । सोनामसँग यस ब्यान्डका अरू सदस्य हुन्, सौरभ चौधरी, सुविर मलिक, गौरव बलानी र सिर्जन महाजन । यसमध्ये मलिक दाजुभाइ नै यस ब्यान्डका फ्रन्ट म्यान हुन् ।


तर, उनीहरूजत्तिकै महत्त्वपूर्ण सदस्य हुन्, सोनाम । त्यसैले त उनलाई ब्यान्डको मेरुदण्ड भनिन्छ । उनको गितार बजाउने विशिष्ट आफ्नै कला पाइन्छ र यो नै उनको सबैभन्दा ठूलो पक्ष हो । फेरि यसलाई शब्दमा बयान गर्न त सकिन्न, यसका लागि उनका कला नै सुन्नुपर्ने हुन्छ । ब्यान्डले आफ्ना गीतमा तबलाजस्ता परम्परागत पूर्वेली बाजासँग फ्युजन गर्ने गरेका छन् । अनि ब्यान्ड आफैं जिमी हेनड्रिक्स, पिन्क फ्लोयड र डोर्सजस्ता ब्यान्डबाट प्रभावित छन् ।


सोनाम र परिक्रमा आफैं भने नयाँ पुस्ताका धेरैभन्दा धेरै ब्यान्डका लागि प्रेरणा रह्यो । नयाँदिल्लीमा पश्चिमेली संगीत सिक्ने एउटा प्रसिद्ध पाठशाला रहेको छ र त्यसको नाम हो, परिक्रमा स्कुल अफ म्युजिक । यसका संस्थापक अरू कोही होइनन्, सोनाम नै हुन् र यो पूरा नयाँदिल्लीमा यस्तोखाले पहिलो स्कुल हो । कालिङपोङ आफैं नाम चलेका स्कुलहरूका लागि प्रसिद्ध छ र यीमध्ये धेरै ब्रिटिस शासनकै बेला स्थापना भएका हुन् ।


त्यसमध्ये एउटा प्रसिद्ध सेन्ट अगस्टाइनमा सोनामले सुरुआती शिक्षा लिए र पछि थप अध्ययनका लागि नयाँदिल्ली गए । पछि उनले त्यही सहरलाई आफ्नो कर्मथलो बनाए । ‘रक अन’ सिनेमा प्रदर्शन हुने बेला फारहान अख्तरले सोनामसँग मिलेर टुर पनि गरेका थिए । उनको निधनमा अख्तरले ट्वीट गरेका छन्, ‘सोनाम ट्रू रक स्टार हुन् ।’ गितारिस्ट सौरभले भने जस्तै ब्यान्डका अरू सदस्य सोनामभन्दा कान्छा थिए, त्यसैले उनीबाट सिक्दै हुर्के ।


सोनामको सबैभन्दा बढी प्रभाव उनको जन्मथलो कालिङपोङमै रह्यो । उनको प्रभाव र सफलताका कारण उनलाई पछ्याएर संगीतलाई आफ्नो करियर बनाउन धेरै युवा कालिङपोङबाट निस्के । यसमध्ये एक त विपुल क्षत्री नै हुन् । विपुल क्षत्री एन्ड ट्राभलिङ ब्यान्डका लिड गितारिस्ट प्रनय गुरुङले ठीकै भनेका छन्, ‘हामी सबैका लागि सोनाम आदर्श हुन् ।’ यी लेजेन्डरी गितारिस्ट सोनाम हाम्रो पनि मनमा रहनेछ । उनलाई हार्दिक श्रद्धाञ्जली ।

प्रकाशित : फाल्गुन ९, २०७६ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?