परिक्रमा र सोनाम

भारतमा पाश्‍चात्य संगीत, विशेषगरी रक म्युजिकको  ‘ट्रेन्ड सेटर्स’  ‘ब्यान्ड परिक्रमा’ का संस्थापक गितारिस्ट सोनाम शेर्पाको गत शुक्रबार निधन भएको छ ।
हिमेश

नब्बेतिर नयाँदिल्लीलाई आधार मानेर एउटा रक ब्यान्ड स्थापित भएको थियो, जसलाई भारतीय वेस्टर्न म्युजिकको सबैभन्दा ठूलो मोड मानिन्छ । र, यो ब्यान्ड हो, परिक्रमा । जति बेला इन्टरनेटको सुविधा थिएन, गीतहरू क्यासेट चक्काको मद्दतले सुन्नुपर्थ्यो, त्यही बेला यो ब्यान्डले भारतमा तहल्का मच्चाएको थियो । परिक्रमा भनेपछि हाम्रोतिर पनि उत्तिकै प्रशंसक थिए । यस पछाडि एउटा ठूलो कारण थियो, यस ब्यान्डका संस्थापक गितारिस्ट सोनाम शेर्पा । 

सोनाम हुन्, कालिङपोङका । पश्चिम बंगालको यो सानो सहरमा हुर्के बढेकाले संगीतलाई नै आफ्नो पेसा बनाउने आँट त्यही बेला कसरी गर्न सक्थे र ? सोनामले भने आँट गरे । बाँकी इतिहास भयो नै । यिनै सोनामको गत साता निधन भएको छ र पूरा भारतीय संगीत उद्योग स्तब्ध छ । उनी ४८ वर्ष मात्र बाँचे । उनी म्यासिभ कार्डियो एरेस्टको शिकार बनेका थिए । हाम्रोतिर पनि उनको निधनको समाचारले उनी र परिक्रमा ब्यान्डका प्रशंसकलाई पत्याइनसक्नु भएको छ ।


अरू धेरै ब्यान्डको तुलनामा परिक्रमा फरक छ किनभने यो ब्यान्डले कहिले पनि आफ्नो एल्बम रिलिज गरेन । कारण ? ब्यान्डको तर्क थियो, संगीत सबैका लागि निःशुल्क हुनुपर्छ । त्यसैले ब्यान्डका गीत मज्जाले डाउनलोड गर्न पाइन्छ र अहिलेसम्म दसौं लाखको संख्यामा ब्यान्डका गीत डाउनलोड पनि भइसकेका छन् । सम्भवतः ‘बट इट रेइन्ड’ र ‘आई बिलिभ’ यो ब्यान्डका सबैभन्दा चर्चित र लोकप्रिय गीत हुन् । तपाईं पनि सोनामको सम्झनामा यी गीत सुन्न सक्नु हुन्छ ।


संगीतसम्बन्धी म्यागजिन रोलिङ स्टोन्सले पनि सन् १९९६ को यो गीतलाई भारतको सबैभन्दा उत्कृष्ट रक गीतमध्ये एक भनेको छ । ब्यान्डको पहिलो गीत थियो, ‘जेरोक्स’ । यसलाई भारतीय रक संगीतको वास्तविक अनुहार भनिन्छ । सुविर र नितिन मलिक नयाँदिल्लीका दुई दाजुभाइ हुन् । नितिन लिड भोकलिस्ट भए । सोनामसँग यस ब्यान्डका अरू सदस्य हुन्, सौरभ चौधरी, सुविर मलिक, गौरव बलानी र सिर्जन महाजन । यसमध्ये मलिक दाजुभाइ नै यस ब्यान्डका फ्रन्ट म्यान हुन् ।


तर, उनीहरूजत्तिकै महत्त्वपूर्ण सदस्य हुन्, सोनाम । त्यसैले त उनलाई ब्यान्डको मेरुदण्ड भनिन्छ । उनको गितार बजाउने विशिष्ट आफ्नै कला पाइन्छ र यो नै उनको सबैभन्दा ठूलो पक्ष हो । फेरि यसलाई शब्दमा बयान गर्न त सकिन्न, यसका लागि उनका कला नै सुन्नुपर्ने हुन्छ । ब्यान्डले आफ्ना गीतमा तबलाजस्ता परम्परागत पूर्वेली बाजासँग फ्युजन गर्ने गरेका छन् । अनि ब्यान्ड आफैं जिमी हेनड्रिक्स, पिन्क फ्लोयड र डोर्सजस्ता ब्यान्डबाट प्रभावित छन् ।


सोनाम र परिक्रमा आफैं भने नयाँ पुस्ताका धेरैभन्दा धेरै ब्यान्डका लागि प्रेरणा रह्यो । नयाँदिल्लीमा पश्चिमेली संगीत सिक्ने एउटा प्रसिद्ध पाठशाला रहेको छ र त्यसको नाम हो, परिक्रमा स्कुल अफ म्युजिक । यसका संस्थापक अरू कोही होइनन्, सोनाम नै हुन् र यो पूरा नयाँदिल्लीमा यस्तोखाले पहिलो स्कुल हो । कालिङपोङ आफैं नाम चलेका स्कुलहरूका लागि प्रसिद्ध छ र यीमध्ये धेरै ब्रिटिस शासनकै बेला स्थापना भएका हुन् ।


त्यसमध्ये एउटा प्रसिद्ध सेन्ट अगस्टाइनमा सोनामले सुरुआती शिक्षा लिए र पछि थप अध्ययनका लागि नयाँदिल्ली गए । पछि उनले त्यही सहरलाई आफ्नो कर्मथलो बनाए । ‘रक अन’ सिनेमा प्रदर्शन हुने बेला फारहान अख्तरले सोनामसँग मिलेर टुर पनि गरेका थिए । उनको निधनमा अख्तरले ट्वीट गरेका छन्, ‘सोनाम ट्रू रक स्टार हुन् ।’ गितारिस्ट सौरभले भने जस्तै ब्यान्डका अरू सदस्य सोनामभन्दा कान्छा थिए, त्यसैले उनीबाट सिक्दै हुर्के ।


सोनामको सबैभन्दा बढी प्रभाव उनको जन्मथलो कालिङपोङमै रह्यो । उनको प्रभाव र सफलताका कारण उनलाई पछ्याएर संगीतलाई आफ्नो करियर बनाउन धेरै युवा कालिङपोङबाट निस्के । यसमध्ये एक त विपुल क्षत्री नै हुन् । विपुल क्षत्री एन्ड ट्राभलिङ ब्यान्डका लिड गितारिस्ट प्रनय गुरुङले ठीकै भनेका छन्, ‘हामी सबैका लागि सोनाम आदर्श हुन् ।’ यी लेजेन्डरी गितारिस्ट सोनाम हाम्रो पनि मनमा रहनेछ । उनलाई हार्दिक श्रद्धाञ्जली । प्रकाशित : फाल्गुन ९, २०७६ १२:२८

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

च्याम्पियन मोडहरू

'जसरी खेले पनि १ करोड सकिने रहेछ, हारे पनि झरे पनि । लिग खेल्‍नै पर्ने हुन्छ, चुनौती लिएर उठ्छ भनेर टिम आँटिएको हो ।'
राजु घिसिङ

घरेलु फुटबलकै सर्वाधिक प्रतिष्ठित सहिद स्मारक ‘ए’ डिभिजन लिगको नयाँ च्याम्पियन हो मछिन्द्र क्लब । उसले अन्तिम खेलमा आर्मीलाई १–० ले हराएर शनिबार इतिहास कोरेको हो । उपाधि जित्न मछिन्द्रलाई त्यो खेलमा जितको विकल्प थिएन भने आर्मीलाई बराबरी वा विजयी दुवै नतिजा ट्रफी चुम्न पर्याप्त हुन्थ्यो । तर, बाजी मार्‍यो मछिन्द्रले । राजधानीको ४७ वर्ष पुरानो यो क्लबको सफलताका ५ आधार :

चर्चित खेलाडीहरूको आगमन
लिगको दौरान थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले भनेका थिए, ‘नेपालमा कुन खेलाडीलाई स्टार मान्ने, कसलाई नमान्ने ? ठूलो लगानी गरेर खेलाडीलाई स्टार भन्ने खालको खेल कहाँ छ र ?’ हुन पनि नेपाली फुटबलको अवस्था त्यस्तै छ । खेलाडीहरूलाई स्टारभन्दा पनि नाम चलेका भन्नुपर्ने अवस्था छ किनभने नामअनुसारको खेल मैदानमा विरलै देख्न पाइन्छ ।

यस्तै परिस्थितिमा पनि मछिन्द्रले चर्चित खेलाडीहरूलाई अनुबन्ध गर्‍यो ठीक लिगअघि । जति बेला कीर्तिमान आठपल्टको ए डिभिजन लिग च्याम्पियन मनाङ–मर्स्याङ्दीमा उसका पुराना खेलाडीहरूले ‘बार्गेनिङ’ गरिरहेका थिए । उनीहरूलाई क्लब व्यवस्थापनप्रति चित्त बुझेन । ठीक यसै बेला खेलाडीहरूलाई मछिन्द्रले आकर्षक पारिश्रमिक दिने प्रस्ताव गरिरहेको थियो ।

विशाल श्रेष्ठ, विशाल राई बी, सुजल श्रेष्ठ, विराज महर्जन, दीपक राई, हेमन गुरुङ, एडेलाजा सोमिडे मनाङबाट मछिन्द्र पुगे । मनाङकै जर्सीमा एएफसी कप खेलेका देवेन्द्र तामाङ र अभिषेक रिजालले पनि मछिन्द्रलाई नै गन्तव्य बनाए । थ्रीस्टारले खर्चिलो टिम राख्ने हिम्मत गरेन र त्यसको फाइदा मछिन्द्रलाई नै भयो । रन्जिन धिमाल, विजय धिमाल, बुद्ध चेम्जोङ र पिटर सेगुनले पाटने क्लब छाडे । अनि बलियो बन्यो मछिन्द्र । योगेश गुरुङ, विशाल राई ए जस्ता अनुभवीसँगै युवा खेलाडीहरूलाई पनि ल्याइयो ।


सात वर्ष मनाङमा खेलेका मिडफिल्डर विशाल बी ले भने, ‘ऐतिहासिक क्लब मनाङमा जस्तै दबाब त भएन तर सबैले स्टार स्टार भनिरहेपछि मछिन्द्रमै पनि दबाब महसुस हुन थाल्यो । मछिन्द्रले जित्दा थप खुसी किन पनि लाग्यो भने जुन हामीले खेल्दाखेल्दै बीचमा बजारमा हल्ला जति खर्च गरे पनि हुँदैन रहेछ भन्ने थियो । हाम्रो यो सफलताले भविष्यमा अरू खेलाडीलाई पनि राम्रो हुन्छ ।’ लिगको अन्तिम खेलमा आर्मीलाई १–० ले हराएर च्याम्पियन भएपछि उनीसहित गोलकिपर विशाल श्रेष्ठ, सुजल र फरवार्ड दीपक राईले ए डिभिजन लिगको उपाधिमा ह्याट्रिक गरे । उनीहरूले अघिल्ला दुई उपाधि (२०७० र ०७५) मनाङबाट जितेका थिए ।

व्यक्तिगत कौशल र उमेर समूह तथा सिनियर राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरू लिएर यसपालि मछिन्द्रको टिम जसरी बन्यो, त्यसले उसलाई प्रतियोगिताअघि नै उपाधिको मुख्य दाबेदारका रूपमा प्रस्तुत गरेको थियो । लिगमा तेस्रो चरणदेखि उसले अन्त्यतिर गोल गर्ने, पछाडि परेको अवस्था उल्ट्याउने, दबाबमै पनि अनुकूल नतिजा निकाल्ने गर्दै च्याम्पियन बन्ने छनक पनि देखाउन थाल्यो । अन्त्यमा आएर जित्नैपर्ने खेल जितेपछि मछिन्द्रले १६ औं विजेताका रूपमा इतिहास बनाएको हो ।

अब्बल विदेशी
मछिन्द्रले नाम चलेका स्वदेशी खेलाडी त भेला पारेका थिए नै, विदेशी खेलाडी पनि राम्रै स्तरका अनुबन्ध गर्‍यो । नाइजेरिन डिफेन्डर पिटर सेगुन, फरवार्ड एडेलाजा सोमिडे र क्यामरुनी मिडफिल्डर आन्द्रेस निआलाई भित्र्यायो । शारीरिक रूपमा बलिया यी तीनै खेलाडीले लिगमा राम्रै प्रभाव देखाए । देवेन्द्र, विशाल बीसँगै पिटर र निआ २–२ पल्ट म्यान अफ द म्याच भए । रञ्जित र दीपकसँगै सोमिडे एकपल्ट म्यान अफ द म्याच चुनिए ।


मछिन्द्रले एकमात्र हार सातौं चरणमा हिमालयन शेर्पाविरुद्ध २–० को बेहोर्‍यो । त्यसलाई लिएर पिटरको आलोचना भएको थियो । तर, अरू खेलमा उनले त्यस्तो नराम्रो प्रदर्शन गरेनन् । पिटर र सोमिडे नेपाली फुटबलका अनुभवी खेलाडी हुन् र त्यो अनुभवलाई उनीहरूले मछिन्द्रका लागि उपयोग गरे । निआले गत वर्ष मोफसलका प्रतियोगिताहरू ‘दाउफिन्स’ नाम दिइएको अफ्रिकी खेलाडीहरूको टिमबाट खेलेका थिए । पूरा लिगमै छाएका उनी निर्णायक खेलमा आर्मीविरुद्ध म्यान अफ द
म्याच चुनिएका थिए । विदेशी खेलाडीको प्रदर्शनलाई तुलनात्मक रूपमा हेर्ने हो भने अरू क्लब मछिन्द्रभन्दा निकै पछाडि देखिए ।

खेलाडी बुझेका प्रशिक्षक
प्रवेश कटुवालले कुनै बेला मछिन्द्रका यी खेलाडीहरूसँगै खेलेका थिए र उनीहरूलाई प्रशिक्षकका रूपमा सम्हालेका पनि थिए । त्यसैले हुन सक्छ, मछिन्द्रले खेलाडीहरूलाई बुझेका र नजिक रहेका प्रवेशलाई नै प्रशिक्षक बनायो । तीन वर्षअघि एएफसी ‘ए’ लाइसेन्स कोचिङ कोर्स गरेका उनले सैनिक युथ क्लबलाई प्रदेश १ च्याम्पियन बनाएका थिए भने झापा फुटबल क्लबलाई गत वर्ष राजधानीको सी डिभिजनमा छनोट गराएका थिए ।


झापा ११ फुटबल क्लबको सिनियर र युवा टिमका प्रशिक्षक पनि हुन् प्रवेश । मछिन्द्रका अधिकांश खेलाडीले यसअघि नै प्रवेश प्रशिक्षक रहेको टिमबाट खेलिसकेका थिए । उनले लिगमा मछिन्द्रका २० खेलाडी उपयोग गरे । त्यसमध्ये ५ खेलाडी झापाका हुन् भने ११ खेलाडी पूर्वका । देवेन्द्र, विशाल बी, योगेश, विशाल ए, विमान राई झापाका हुन् भने दीपक, विजय, रञ्जित, सूर्य अधिकारी मोरङका तथा सुजल र बुद्ध धनकुटाका । फुटबल खेलाडी उत्पादनको उर्वर भूमि प्रदेश १ हो । त्यसैले पनि राजधानीको क्लबले पूर्वकै खेलाडी र प्रशिक्षक रोजेको हुन सक्छ ।

थ्रीस्टारबाट २०६९ मा खेलाडीका रूपमा र यसपालि मछिन्द्रबाट प्रशिक्षकका रूपमा ए डिभिजन लिग च्याम्पियन भएका प्रवेशले भने, ‘धेरै खेलाडीसँग पहिला सँगै खेलेको थिएँ, प्रशिक्षकका रूपमा पनि खेलाएको थिएँ । उनीहरू मेरा लागि मैदानमा खेलाडी हुन् भने बाहिर साथी । त्यसैले स्टार खेलाडीलाई सम्हाल्न गाह्रो भएन । व्यवस्थापनले पनि टिमका लागि आवश्यक हरेक कुरामा साथ दियो ।’ शीर्ष डिभिजनको उनको यो नै पहिलो लिग हो प्रशिक्षकका रूपमा । उनले ४–३–३ को आक्रामक शैलीमा लिग सुरु गरेका थिए । हेमन गुरुङ अस्ट्रेलिया गएपछि र मनाङसँगको

तनावमा तीन खेलाडी निलम्बनमा परेपछि ३–५–२ र ४–४–२ को संरचना पनि अपनाए । उनले अभिषेक माल्दिभ्सको बी डिभिजन खेल्न गएपछि फरवार्डको खोजीमा नाइट क्लब काण्डबाट फर्किएका विमल घर्तीमगरलाई एक खेलका लागि पनि ल्याए ।

फ्रि–स्कोरिङ
व्यक्तिगत कौशल र पोजिसनका आधारमा बलियो देखिए पनि मछिन्द्रको सेन्टर फरवार्ड खासै प्रभावशाली भएन । सुजल, विराज, दीपक, रेजिनको चोटले पनि मछिन्द्रलाई पीडा दियो । तर, ‘डेड बल’ मा राम्रो गर्‍यो । विशेषगरी रञ्जित धिमालले प्रहार गर्ने फ्रि–किक, कर्नर विपक्षीका लागि निकै खतरनाक बन्यो ।


२०७५ सालमा अन्तिमबाट दोस्रो हुँदा यसपालि १ अंक गुमाउनुपरेको मछिन्द्रले १३ खेलमा १० जित, २ बराबरी र १ हारको नतिजा निकाल्ने क्रममा २५ गोल गरेर ८ गोल बेहोर्‍यो । उसले १ गोल विपक्षीको आत्मघाती पायो भने २४ गोल ११ खेलाडीले गरे । दीपक, सोमिडे र विशाल बीले ४–४ गोल गरे भने देवेन्द्रले ३ । रञ्जित र रेजिनले २–२ गोल । योगेश, पिटर सेगुन, सुजल, निआ र विशाल ए ले १–१ गोल गरे । त्यसैले मछिन्द्रलाई ‘फ्रि–स्कोरिङ’ टिम भन्न मिल्छ । मछिन्द्रले १८ गोल दोस्रो हाफमा गरेको थियो । गोलकिपर विशाल श्रेष्ठले ७ खेलमा ‘क्लिन सिट’ राखे ।

ठूलो लगानी
मछिन्द्र क्लबका अध्यक्ष प्रवोध वीरसिं कंसाकार यसपालि चुनौती मोलेरै ठूलो टिम बनाएको बताउँछन् । ‘हामीले जोखिम नै लिएको हो, पैसा भएर होइन,’ उनले भने, ‘जसरी खेले पनि १ करोड सकिने रहेछ, हारे पनि झरे पनि । लिग खेल्नै पर्ने हुन्छ, चुनौती लिए उठ्छ भनेर भाइहरू तयार भएपछि टिम आँटिएको हो । यो सबै फुटबलको प्यासनका लागि गरिएको हो ।’

उनका अनुसार क्लबले यो ए डिभिजन लिगमै केन्द्रित भएर १ करोड ५० लाख रुपैयाँको बजेट बनाएको थियो, जुन गत वर्षभन्दा दोब्बर हो । ‘फुटबलमा यताउति थुप्रै खर्च हुने रहेछ, १ करोड ७५ लाखसम्म पुग्ला,’ कंसकारले भने । मोफसलमा हुने नकआउट प्रतियोगिताबाट राम्रै आम्दानी आशा गरेको क्लबले प्रायोजकहरू सानमिगेल, पेपे पिज्जा, नेपा टप, गुडविल फाइनान्स, भिजन सफारीबाट करिब ३० लाख पाएको बताइन्छ ।

मछिन्द्रको मुख्य स्रोत भने केलटोल क्षेत्रको बजार व्यवस्थापनबाट संकलन गरिने रकम नै हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले तयारी खर्च २० लाख र काठमाडौं महानगरले १० लाख दिन्छन् । लिग च्याम्पियनको पुरस्कार ५० लाख पायो । त्यसैले मछिन्द्रलाई फुटबल खेलेरै लगानी उठाउन भने मुस्किल छ । खेलाडीको अनुबन्ध चैतसम्मलाई छ । मनाङ र थ्रीस्टारबाट चर्चित खेलाडीहरूलाई भित्र्याएर बलियो बन्ने क्रममा मछिन्द्रले एउटै खेलाडीलाई मासिक १ लाखसम्मै दियो । ए डिभिजन लिगमा नयाँ च्याम्पियन बनाएर ती खेलाडीहरूले क्लबप्रति न्याय नै गरे । अब वैशाखदेखि हुने भनिएको राष्ट्रिय लिगमा मछिन्द्रको टिमको स्वरूप कस्तो हुन्छ, च्याम्पियन टिमलाई हेर्न बाँकी नै छ ।

प्रकाशित : फाल्गुन ९, २०७६ १२:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×