स्वदेशमै सम्भावना
काठमाडौँ — बैंकर बन्ने सपना छ निर्मल मगरको । पोखरा, नयाँ गाउँका १८ वर्षीय उनी आफ्नो सपना साकार गर्नका लागि व्यवस्थापन विषय लिएर १२ मा अध्ययनरत छन् । नेपालमै बैंकिङ क्षेत्रमा भविष्य बनाउनलाई उनी यति बेलादेखि नै मिहिनेत गरिरहेका छन् ।
दुर्गम ठाउँका आम नागरिकसम्म बैंकिङ पहुँच पुर्याउने आफ्नो योजना रहेको निर्मलले सुनाए, ‘अहिले धेरै बैंक सहर केन्द्रित मात्र भएका देखिन्छन् । सबैको हातैमा बैंकको सेवा पुर्याउने सपना छ ।’ स्वदेशमै पढेर सफलता प्राप्त गर्न सकिने आत्मविश्वास बढेको उनले बताए ।
कसैलाई व्यवसाय गर्न कर्जा चाहियो । गाउँको साहुसँग किन ऋण माग्ने ? उनले आफैंले गरेको प्रश्नलाई स्पष्ट पारे, ‘किसानलाई कृषि, व्यवसाय सुरु गर्ने र बढाउनेलाई सहज तरिकाले कर्जा उपलब्ध गराउने वातावरणको सिर्जना गर्नु छ । धेरैले ऋण लिएर पनि तिर्न सकेका हुँदैनन्, यसका लागि कर्जा उपलब्ध गराउने संस्थाले उपयोग हुन नसक्नुका कारण पत्ता लगाई समाधानतर्फ जानुपर्छ ।’
गत २४ माघमा माध्यमिक विद्यालय र स्नातक तहमा अध्ययनरत विद्यार्थीका लागि काठमाडौंका ५ कलेजले संयुक्त रूपमा प्रज्ञा प्रतिष्ठान, कमलादीमा दोस्रो काठमाडौं युथ कनक्लेभ २०२० आयोजना गरेको थियो । त्यसमा २० वटा विद्यालय तथा कलेजबाट ३ हजार विद्यार्थीको उपस्थिति थियो । कार्यक्रमको उद्देश्य विद्यार्थीलाई सही दिशा निर्देश, सामाजिक संलग्नतामा उत्प्रेरित र स्वदेशमै सफलता पाएका व्यक्तिबाट प्रेरित गर्ने थियो ।
भेलामा सहभागी सबै विद्यार्थीमा भविष्यप्रति चिन्ता स्पष्ट देखिन्थ्यो । अन्योल हटाउनकै लागि कार्यक्रममा सहभागी भएको पोखरा, रामबजारका मनीष गुरुङले बताए । १८ वर्षीय उनी म्यारिगोल्ड बोर्डिङमा १२ कक्षामा कम्प्युटर साइन्स पढिरहेका छन् । नेपालमा इन्फरमेसन टेक्नोलोजी (आईटी) मा धेरै सम्भावना देख्ने उनी यसै क्षेत्रमा भविष्य बनाउने योजनामा छन् ।
‘नेपालमा आईटी क्षेत्रको सम्भावना धेरै देख्छु,’ मनीष आफ्नो भविष्यमा के बन्ने भन्नेमा स्पष्ट छन्, ‘सफ्टवेयर इन्जिनियर बन्ने चाहना छ । नेपाल टेक्नोलोजीमा धेरै पछाडि छ । त्यसैले यसको प्रयोगको सम्भावनालाई अवसरमा रूपान्तरण गर्नु छ ।’ प्रविधिको समय भएकाले यसको प्रयोगबाट फाइदा लिन सक्नुपर्ने उनको भनाइ छ, ‘हार्डवेयर, सफ्टवेयर, प्रोग्रामिङ तथा एप्सको विकासमा नेपाल अगाडि बढ्न जरुरी छ । यसमा अहिलेदेखि नै केन्द्रित हुनुपर्छ ।’
न्याय र सत्यको पक्षमा बोल्न मन पराउने तीनकुने (काठमाडौं) का १८ वर्षीय अप्सना खड्का कानुन लिएर १२ कक्षामा अध्ययन गर्दै छिन् । अहिले देशमा बढिरहेको बलात्कार जस्तो घटनामा कसैले न्यान नपाएको उल्लेख गर्दै उनी भन्छिन्, ‘धेरै पीडितहरूले न्याय पाउन सकेका छैनन् । दोषीलाई सजाय र पीडितलाई न्याय दिलाउन प्रधानन्यायाधीश बन्न चाहन्छु ।’ समाजमा अधिवक्ताले राम्रो भूमिका खेल्नुपर्ने पनि उनी बताउँछिन् ।
कानुन पढेर धेरै क्षेत्रमा काम गर्न सकिन्छ । यसबाट राजनीति, सरकारी र निजी क्षेत्र तथा प्रशासन सबैमा कानुन जान्नुपर्ने भएकाले यो विषय पढेर भविष्य निर्माण गर्न सकिने अप्सनाले सुनाइन्, ‘यहाँ वकिल बन्न नेपालको कानुन पढ्न आवश्यक छ । विदेशका विश्वविद्यालयबाट यहाँको कानुन राम्ररी थाहा पाउन सक्दैनौं । सिद्धान्तको कुरालाई व्यावहारिक परीक्षणका लागि पनि नेपालमै पढ्न आवश्यक छ ।’ नेपालमै धेरै राम्रो विश्वविद्यालय र शैक्षिक गुणस्तर राम्रो भएको उनको तर्क छ ।
गाईघाट, उदयपुरकी २० वर्षीया सुस्मिता कटुवाल नपढेका र सीप नभएकालाई रोजगार दिन आफ्नै व्यवसाय सुरु गर्न चाहन्छिन् । व्यवस्थापन संकायको स्नातक तहको तेस्रो वर्षमा अध्ययनरत उनी भन्छिन्, ‘आफ्नै बिजनेस चलाउने विचार छ । सबै सुविधाका साथ रेस्टुराँ र हाउजिङको व्यवसाय सञ्चालन गर्ने चाहना हो । सुरुमा कुनै कर्जा वा साझेदारीमा भए पनि व्यवसाय गर्न समस्या छैन ।’ आफ्नो व्यवसायलाई सफलतामा पुर्याउन मिहिनेत गर्नुपर्ने उनले बताइन् । उनी लगातार दोस्रोपल्ट यो युथ कनक्लेभमा सहभागी भएकी हुन् । कक्षा १२ अथवा स्नातक गरेपछि पढ्नलाई विदेश नै रोज्नुपर्छ भन्ने छैन । पढेपछि काम गर्न र आफैंले केही गर्नका लागि नेपालमै अवसर देखेकी छन् सुस्मिताले ।
रूपन्देहीस्थित बुटवलदेखि विज्ञान पढ्न १८ वर्षीय विपिन ज्ञवाली काठमाडौं आएका छन् । काठमाडौं मोडल कलेजमा १२ कक्षामा होस्टेल बसेर पढिरहेका उनी सिभिल इन्जिनियर बन्न राजधानी आएको बताउँछन् । भौतिक विकास निर्माणका लागि सिभिल इन्जिनियरको महत्त्वपूर्ण भूमिका हुने उनको बुझाइ छ । ‘विकासका संरचना बनाउने भनेको इन्जिनियरले हो,’ उनले भने, ‘नेपाल विकासोन्मुख देश भएकाले अवसर धेरै छ । यहाँ विकास निर्माणका लागि धेरै काम हुन बाँकी छ । त्यसका लागि आफूले नै संरचनाको नक्सा बनाउने सपना छ ।’ प्रतिस्पर्धासँगै अवसर पनि भएकाले पढ्नलाई राजधानी आएको उनले बताए ।
न्यु समिट कलेज, शान्तिनगरकी सरिसा घिमिरे कम्प्युटर साइन्समा स्नातक तहको चौथो वर्षमा अध्ययनरत छिन् । दोलखाकी २२ वर्षीया उनी आफ्नै सफ्टवेयर कम्पनी चलाउने सोचमा छिन् । भन्छिन्, ‘हार्डवेयर, सफ्टवेयरसम्बन्धी कम्पनी चलाउने चाहना पूरा गर्न विभिन्न क्लास र ट्रेनिङ लिइरहेकी छु, जसले पढेको कुरालाई व्यवहारमा उतार्न सजिलो बनाउँछ । आफ्नो लक्ष्यमा पुग्न मद्दत गर्छ ।’
प्रविधिको युग भएकाले प्रविधिबिना केही गर्न नसक्ने अवस्था आएको सरिसा बताउँछिन् । नेपालमा इन्टरनेटको पहुँच सबैको हातमा पुर्याउन नसकेको र यसैलाई विस्तार गर्ने माध्यमका रूपमा काम गर्न चाहन्छिन् उनी । ‘सबै इन्टरनेटको पहुँचमा छैनन्, भएकाले पनि सुरक्षित महसुस गर्न सकेका छैनन्,’ उनले भनिन्, ‘व्यक्तिको व्यक्तिगत डाटा सर्भरबाट सुरक्षित हुन सक्ने वातावरण छैन । यो अन्योल हटाउन जरुरी छ ।’
तस्बिरहरू : विजु महर्जन
प्रकाशित : फाल्गुन २, २०७६ १३:१७