२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

भ्यालेन्टाइन्स डे : डेटिङ कहाँ जाने ?

विद्या राई

काठमाडौँ — १४ फेब्रुअरी । अर्थात् भ्यालेन्टाइन्स डे । जुन आज शुक्रबार परेको छ । प्रेम प्रस्तावदेखि डेटिङसम्मलाई धेरैले यही दिनको प्रतीक्षा गर्छन् । यस बेला शान्त वातावरणमा गफिँदै घुम्न सकिने सात प्रदेशका सात स्थान ?

भ्यालेन्टाइन्स डे : डेटिङ कहाँ जाने ?

भेडेटार


धरानको जिरोप्वाइन्टदेखि १७ किमि उकालो चढेपछि पूर्वको पर्यटकीय थलो भेडेटार पुगिन्छ । यहाँबाट पूर्वी तराईका फाँटहरू, सप्तकोसी, सगरमाथा, कञ्चनजंघा, मकालुलगायत हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । यो स्थान कोसी राजमार्गमा पर्ने भएकाले आवतजावत गर्न सहज छ । धरान, इटहरी, विराटनगर, झापाबाट आउनेले केही घण्टा बिताएर फर्कन सक्छन् । यहाँको हरियाली जंगल, डाँडाकाँडा र पहाडी परिवेश निकै लोभलाग्दो छ । चार्ल्स टावरबाट तराईका फाँट निकाल्न सकिन्छ । भेडेटार नजिकै नमस्ते झरना, काम्फेक, नाम्जे, ध्वजेडाँडा पनि घुम्न सकिन्छ ।


घडीअर्वा पोखरी


वीरगन्जको मुख्य भागमा पर्छ घडीअर्वा पोखरी । यो पोखरी शान्त र रमणीय छ । पोखरी वरिपरि बस्ने ठाउँहरू छन् । पोखरीमा बोटिङ गर्न सकिन्छ । पोखरी हाताभित्रै क्यान्टिन पनि छ । युवायुवतीहरूका लागि प्रेमिल कुराकानी गर्दै समय बिताउन उपयुक्त छ यो ठाउँ । वीरगन्जको घण्टाघर, माईस्थान चोकदेखि हिँडेर ५ देखि १० मिनेटमै पुगिन्छ ।


स्वप्‍न बगैंचा


काठमाडौंमा प्रेमिल जोडीहरूका लागि समय बिताउने प्रिय थलो हो– स्वप्न बगैंचा । यो ठमेलको प्रवेशद्वारमै पर्छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण बगैंचा शान्त र सफा छ । ऐतिहासिक वास्तुकला उस्तै आकर्षक छ । ६ ऋतुका नामबाट निर्माण गरिएका सदन, पोखरी, युरोपेली शैलीका बरन्डाले बगैंचालाई थप आकर्षक बनाएको छ । बगैंचा हाताभित्रै ‘केशर क्याफे’ पनि छ । तत्कालीन नेपाली सेनाका फिल्ड मार्शल केशरशमशेर जबराले युरोप भ्रमणका बेला बेलायतका राजा एडवार्ड सातौंको बगैंचा अवलोकन गरेपछि त्यसैबाट प्रभावित भएर निर्माण गरेका थिए ।


सराङकोट


मीठा गफ गर्दै समय बिताउनका लागि एकदमै उपयुक्त छ सराङकोट । पोखरा नजिकको यो स्थान मूल फेदीबाट हिँडेरै एक घण्टामै पुगिन्छ । सवारीसाधन लिएर जानेहरू आधा घण्टामै पुग्छन् । बाटोमा विश्राम स्थलहरू छन् । यहाँबाट पोखरा बजार, फेवाताल, अन्नपूर्ण, धौलागिरि, मनास्लु, माछापुच्छ्रेलगायत हिमशृङ्खलाहरूको अवलोकन गर्न सकिन्छ । पोखरा हेर्ने प्याराग्लाडिङ यहीँबाट सुरु हुन्छ । सूर्योदयको दृश्यावलोकनका लागि पनि सराङकोट चर्चित छ ।


वन वाटिका


प्रदेश ५ को मुख्य सहर बुटवल बजारमा पर्छ वन वाटिका । यहाँ चिडियाखाना, बोटानिकल गार्डेन, बाल उद्यान पार्कलगायत छन् । पूर्वपश्चिम राजमार्गको करिब १ किमि भित्रपट्टि ५१ हेक्टर क्षेत्रफलमा फैलिएको छ यो वाटिका । यहाँको शान्त र रमाइलो वातावरणले सबैलाई मोहित पार्छ । बस्ने ठाउँहरू प्रशस्तै छन् ।


कुपिन्डे दह


सुर्खेत र सल्यानको सिमानामा पर्छ कुपिन्डे दह । वरपर पहाडै पहाडले घेरिएको यो क्षेत्र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । हेर्दै सफा र चिटिक्क देखिन्छ । यहाँ फराकिलो चउर छ । बस्ने ठाउँहरू छन् । कर्णाली प्रदेशका मुख्य सहरहरू सुर्खेत र नेपालगन्जबाट कुपिन्डे घुम्न जानेले दुई–चार घण्टा बिताएर वा एकै दिनमा फर्कन सक्छन् ।


टीकापुर पार्क


जंगलको बीचमा चिटिक्क, शान्त, सुन्दर र हरियाली पार्क हो टीकापुर । थरी–थरीका फूलको बगैंचाले पार्क आकर्षक देखिन्छ । यहाँ महेन्द्र आरोग्य गृह, वीरेन्द्र विश्राम गृह (काठले बनेको बंगला), रत्न वाटिका, ऐश्वर्य वाटिका छन् । यो पूर्वपश्चिम राजमार्गको लम्की बजारदेखि करिब २० किमि दक्षिणमा पर्छ । कर्णाली नदीको पश्चिमी तट पनि हो यो । ३ बिघा १४ कट्ठामा फैलिएको यो नेपालकै सबैभन्दा ठूलो मानव निर्मित पार्क हो ।

प्रकाशित : फाल्गुन २, २०७६ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?