कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

डेटिङ एपमा ह्यापी इन्डिङ !

विजय तिमल्सिना

काठमाडौँ — च्याटमा गलत पहिचान राखेर अरुसँग कुरा गर्ने र त्यसलाई पत्याउने संख्यामा कमी आएको होला तर पूरै हटिसकेको छैन् । सामाजिक सञ्जालमा मात्रै होइन, यो क्रम डेटिङ एपहरुमा पनि उत्तिकै छन् । भ्यालेन्टाइन डे विशेष :

डेटिङ एपमा ह्यापी इन्डिङ !

च्याटमा कुरा गरी भेट्‍न जाँदा ससुरा–बुहारी परेपछि...

च्याटमा भेटिएकी केटी आफ्‍नै बहिनी परेपछि...

यस्ता खालका धेरै हेडलाइन समाचारको लागि मसला बन्ने गरेका छन् । यस्ता हेडलाइनसहित आउने अधिकांश समाचार नेपालको नभएर विदेशतिर भएको घटनाको उद्धृत गर्दै आएका हुन्छन् । पढ्नेहरुको मनमा लाग्छ, आफूलाई वा आफ्ना आफन्त र चिनेजानेकालाई यस्तो आपत् नपरोस् । यस्ता घटनाको उदाहरण दिने अनलाइनका कारण समाज बिग्रिएको, परिवारमा विग्रह भएको र मानिसमा व्यभिचार बढेको तर्कहरु बुनिन्छन् ।


चल्तीमा रहेका टिण्डर, ह्यापेन, टनटन, मिटमी, कफी मिट बेगल, बम्बलजस्ता डेटिङ एपमा प्रशस्त नेपाली प्रयोगकर्ता भेटाउन सकिन्छ । तर, कतिले यस्ता एपको प्रयोग गर्छन् भन्ने आधिकारिक तथ्यांक छैन् । यी सबै एपको आधारभूत अवधारणा आफ्नो प्रोफाइलसँग मिल्ने अर्को व्यक्ति अनलाइनमा भेट्ने र कुराकानी अघि बढाउने हो । खासमा डेटिङ एपको अवधारणा हुकअप अर्थात् सम्बन्ध अघि बढाउनको लागि सम्पर्क गराइदिने हो । विशेषतः यसको प्रयोग विपरीत लिंगीसँगको सम्पर्क र सम्बन्धसँग हुने गरेको छ ।


प्रयोगकर्तालाई यही विशेषता ज्यादा मन परेको हुनसक्छ यसका प्रयोगकर्ताहरु बढेको बढ्यै छन् । डेटिङ एपले आफूलाई विपरीत वा समलिङ्गीसँगको छोटो भेटघाट वा सम्बन्ध बनाउन सहज बनाएको त छ तर यसले मानसिक समस्या पनि उत्तिकै निम्त्याएको छ । यसको प्रयोगले मानिसमा चिडचिडाहट र डिप्रेसन बढाउने, डेटिङ एपमा आफूलाई कसैले लाइक नगर्दा आत्मविश्वास कमी हुने, यस्ता एपमार्फत छोटाछोटा सम्बन्ध गाँस्ने र बिर्सने बानीले मानिससँग लामो सम्बन्धमा रहने हराउँदै जाने तथा सम्बन्धहरूलाई सजिलै त्याग्ने बानीको विकास हुने विभिन्न अध्ययनले देखाएको छ ।


डेटिङ एपको प्रभाव कतिसम्म बढेको छ भने अधिकांश एपले आधारभूत फिचर निःशुल्क उपलब्ध गराए पनि धेरै मानिसहरुसँग कुराकानीको लागि पैसा तिर्नुपर्ने शर्त तेर्स्याउन थालेका छन् । मानिसहरु सजिलै साथी बनाउन चाहन्छन् र यसका निर्माताले उनीहरुको मनोविज्ञान बुझेका छन् ।


भर्चुअल संसारले वास्तविक संसारसँग दुरी छोट्याएजस्तै अनलाइन रोमान्स वास्तविक प्रेमको सुरुवात बन्न थालेको उदाहरण धेरै छन् । फेसबुकमा चिनजान भएर विवाह भएको घटना सामान्य हुन नपाउँदै डेटिङ एपमा भेटिएर प्रेम सम्बन्धमा हुने र विवाहसम्म पुगेको उदाहरण पनि छन् । तर विश्वभर नै डेटिङ एपमा भेटिएर गरेको प्रेम र विवाहलाई अनौठो रुपमा हेर्ने प्रवृत्ति हटेको छैन । छोटो सम्बन्ध गाँस्न प्रयोग गरिने एपलाई लामो सम्बन्धमा रुपान्तरण गरेकोमा धेरैले आश्चर्य मानेका होलान् ।

डेटिङ एपमा भेटिएका व्यक्तिहरु सधैं सही पहिचान भएका हुँदैनन् । डेटिङ एपमार्फत् हुने फोन नम्बर आदानप्रदान वा आफ्नो वास्तविक सामाजिक सञ्जालमा पुग्ने कथाहरु सधैं सुखदायी नहुन सक्छन् ।

भर्चुअल संसारमा सुरु हुने यस्ता कथामा सधैं ‘ह्पाप्पी ईन्डिङ’ नहुनसक्छ । डेटिङ एपमा भेटिएका व्यक्तिहरु सधैं सही पहिचान भएका हुदैनन् । डेटिङ एपमार्फत् हुने फोन नम्बर आदानप्रदान वा आफ्नो वास्तविक सामाजिक सञ्जालमा पुग्ने कथाहरु सधैं सुखदायी नहुन सक्छन् । डेटिङ एपमा भेटिएका व्यक्तिसँगको अन्तरङ्ग कुराकानी होस् वा तस्विर बाहिरिने वा दुरुपयोग हुने सम्भावना सधैं रहन्छ । यसको प्रयोग गर्नेहरुले डेटिङ एपमा भएका सबै प्रोफाइलहरु वास्तविक नहुन सक्छन् भन्ने यथार्थ बुझ्नुपर्छ ।


केही डेटिङ एपले वास्तविक मानिसको मात्रै फ्रोफाइल होस् भन्ने उद्देश्यले भेरिफाइड अप्सनको फिचर पनि राखेका छन् । नेपालमा धेरै चल्तीमा रहेको एप टनटनमा यस्तो फिचर राखिएको छ जसमा प्रयोगकर्ताले प्रोफाइल बनाउने क्रममा आफ्नो वास्तविक तस्विर खिचे भेरिफाइडको व्याच पाउँछन् । यस्ता भेरिफाइड व्याच पाएकाहरु कम्तिमा पनि आफ्नै तस्विर राखेर प्रयोग गरिरहेका हुन् भनेर छुट्याउन सजिलो हुन्छ ।


अहिले पनि सामाजिक सञ्जालमा लेख्न नहुने बिषय लेखेर जेल परेका वा दुःख पाएका प्रयोगकर्ताहरु धेरै छन् । केही व्यक्ति सामाजिक सञ्जालमा लेखेकै आधारमा जेल परेका छन् । नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत अरुलाई धम्की दिने, अरुको तस्विर दुरुपयोग गरी प्रयोग गर्ने, अरुको मानहानी हुने किसिमका पोष्ट गरेको आधारमा मुद्दा चलाइरहेका छन् ।


सामाजिक सञ्जालमा के राख्ने के नराख्ने ? के लेख्ने के नलेख्ने ? के गर्ने के नगर्ने ? प्रयोगकर्ताको व्यक्तिगत अभिरुचीको कुरा हो । तर, आफ्नो कारणले अरुलाई हानी नगर्नु र वास्तविक जीवनमा गर्न भन्नु र गर्न नसकिने बिषय त्यसमा नराख्नु, आफ्नो गोपनियता सार्वजनिक नगर्नु सामाजिक सञ्जालका सामान्य नियम हुन् । जसरी सामाजिक सञ्जाल यसैगरी प्रयोग गर्नुपर्छ भन्ने ठोस सूत्र छैन त्यसैगरी डेटिङ एपमा के गर्ने र नगर्ने भन्ने बिषयमा कुनै सूत्र छैन् । तर, केही सामान्य बिषयमा विचार गरे डेटिङ एपको प्रयोगबाट हुने नकारात्मक नतिजाबाट बच्न भने सकिन्छ ।


अहिले चल्तीका अधिकांश डेटिङ एपले पुरुषलाई भन्दा महिला प्रयोगकर्तालाई बढी सुविधा दिएका छन् । पुरुष प्रयोगकर्ताले कसैले च्याट गर्नुपूर्व महिला प्रयोगकर्ताले उक्त व्यक्तिको प्रोफाइललाई कुनै न कुनै रुपमा अनुमति दिनै पर्छ । डेटिङ एपहरु लैंगिकरुपमा विभेदकारी देखिन्छन् । तर, अनलाइनमार्फत हुने दुर्व्यवहार र आफूले नचाहेको व्यक्तिको म्यासेजबाट महिला प्रयोगकर्तालाई आजित हुन बाट बचाउन यो फिचर निकै उपयोगी पनि छ । टिण्डरले त कुनै समस्या परे जानकारी गराउनको लागि ‘प्यानिक’ बटनकै व्यवस्था गरिदिएको छ ।


विशेषगरी महिला प्रयोगकर्ताहरुले फिचरको बिषयमा जानकारी राखेर डटिङ एप प्रयोग गर्दा बढी सुरक्षित हुन सकिन्छ । एपमा आफ्नो प्रोफाइल स्वाइप गर्ने जोसुकै सँग कुरा नगर्ने सुविधा उनीहरुले पाउँछन् । च्याट गरेको व्यक्तिलाई आफ्नो व्यक्तिगत विवरण दिने नदिने र कतिसम्म दिने भन्ने कुरा पनि उनीहरुको स्वेच्छाको कुरा हो । तर डेटिङ एपको आधारभूत अवधारणा नै छोटो भेटको लागि सम्पर्क गराइदिने माध्यम मात्रै भएकाले अधिकांश प्रयोगकर्ता यही मनोभावमाबाट यसको प्रयोग गरेका हुनसक्छन् । त्यसैकारण छोटो सम्बन्धको लागि प्रयोग गरिने यस्ता एपमार्फत भेटिएका व्यक्तिसँग लामो समयसम्म प्रभाव पर्ने खालका जानकारी नखुलाउनु नै उपयुक्त हुन्छ, जबसम्म आफू विश्वस्त हुदैन कि कुरा गरिरहेको व्यक्ति सही हो ।


यस्ता एपमा प्रोफाइल बनाउनु अघि तिनका फिचरहरु बारे जानकारी राख्नु उपयोगी हुन्छन् । केही डेटिङ एपले आफ्नो मोबाइलमा भएको सम्पर्क नम्बरलाई नोटिफिकेसन नजाने र उनीहरुलाई आफ्नो प्रोफाइल देखाउन नमिल्ने खालको फिचर पनि उपलब्ध गराएका हुन्छन् । तर, कुनै एपले आफ्नो मोबाइलमा सेभ भएर रहेका सबै नम्बरहरुमा आफूले प्रयोग गर्न थालेको डेटिङ एपमा नोटिफिकेसन जाने व्यवस्था गरेका पनि हुन सक्छन् । यसबारे प्रयोग गर्नु अघि जानकारी पाएकै राम्रो हुन्छ । आफूले डेटिङ एप प्रयोग गर्न थालेको जानकारी आफ्नो परिवार, नातागोताको मोबाइलमा पनि नोटिफिकेसन गयो भने कस्तो हुन्छ ?


प्रयोग गर्नु अघि उक्त एपबारे जानकारी हासिल गर्नु त आवश्यक छ नै प्रयोग गर्न छाड्दा पनि सतर्कता अपनाउनु उत्तिकै जरुरी हुन्छ । यसबारे कुनै अध्ययन त भएको छैन तर नेपालमा डेटिङ एपमा अधिकांश प्रयोगकर्ता निस्क्रिय छन् । तर उनीहरुको प्रोफाइल ति एपका प्रयोगकर्तामाझ देखाइरहन्छ । कुनै डेटिङ एपमा आफ्नो प्रोफाइल बनाएपछि आफ्नो उद्देश्य पूरा भएपछि वा प्रयोग गर्न मन नलागेपछि प्रोफाइल डिलिट गर्न नबिर्सनु पनि उत्तिकै महत्वपूर्ण छ ।


डेटिङ एप प्रयोग गर्न छाड्दा मोबाइलबाट एप अनस्टल गरेर छाड्दैमा आफू त्यसबाट टाढा भए भन्ने ठान्नु हुन्न । प्रायः सबै एपमा एकपटक बनाएको प्रोफाइल आफूलाई मन लागेको बेलामा डिलिट गर्ने सुविधा राखिएको हुन्छ । यसो गर्न बिर्सदा भविष्यमा समस्या नआउला भन्न सकिन्न । डेटिङ एप प्रयोग गर्न छाडेपनि बनाइसकेको प्रोफाइल अरु प्रयोगकर्तालाई देखाइरहेको हुन सक्छ ।


कुनै बेलामा डेटिङ एपमा बनाएको प्रोफाइल कसैको विवाहपछि पनि कुनै आफन्तले देखे भने ? आफ्नो कार्यालयका साथीले डेटिङ एपमा आफ्नो प्रोफाइल भेटे भने ? यो कसैको लागि सामान्य पनि हुन सक्छ तर कसैको लागि लाजमर्दो अवस्था पनि सिर्जना गर्नसक्छ किनकी मानिसले डेटिङ एपमा आफूले चिनेको व्यक्तिको प्रोफाइल भेट्दा कुरा नकाटी कहाँ बस्न सक्लान् र ?

प्रकाशित : फाल्गुन २, २०७६ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?