फाल्तु वस्तुको कमाल

पढाइ सकेपछि धेरैले आफ्नो विषयअनुसार काम खोज्छन् । तर, पढाइअनुसारै काम गर्नुपर्छ भन्ने छैन । अचेलका पुस्ता भने पढेको वा अरू नै कुनै क्षेत्रमा सिर्जनशील काम गर्न चाहन्छन् । त्यो पनि जागिरभन्दा आफ्नो बेग्लै उद्यमका रूपमा । यस्तै काम गरिरहेका युवाहरूको तीन समूह :

फाल्तु वस्तुको कमाल

कवाडी सामानमा कला

काठमाडौंस्थित नख्खुका ३१ वर्षीय नितेश शर्मालाई सन् २०१५ मा कवाडी सामान संकलन गरेर नयाँ काम थालेयता खासै फुर्सद हुँदैन । व्यस्तता बढ्दो छ । उनको काम संस्था ‘धासो’ ले रक्सीका खाली बोतल र काठबाट नयाँ–नयाँ सामान तयार पार्ने गर्छ ।


‘हेर्नेबित्तिकै वाह भन्ने काम गर्न मन थियो,’ नितेश भन्छन्, ‘त्यसैले संस्थाका नाम धासो राख्यौं, यसको अर्थ एकदमै राम्रो हो ।’ उनी ए लेभल गरेपछि होटल म्यानेजमेन्ट पढ्न पञ्जाव पुगेका थिए । त्यहाँ तीन वर्ष पढेपछि केही समय ताज होटलमा काम गरे । त्यसपछि जागिरका लागि धेरै चहारे । भारतको लामो बसाइपछि परिवारकै सल्लाहमा स्वदेश फर्किए पनि उनी जागिरकै खोजीमा भौंतारिए ।



केमु (हाल दराज) मा बिक्री प्रमुखको अनुभव बटुलेका उनले भने, ‘कवाडीवालाहरूले कसरी काम गर्छन्, खेर गएका सामानको पुनः प्रयोग गर्न सकिन्छ, सकिँदैन भन्ने कौतुहलता जाग्यो । अनि बियरका बोतलबाट केही बनाउन सकिने आइडिया आयो ।’ त्यसअघि ग्रिन लाइन सेन्टर, दरबारमार्गमा काम गर्दा उनलाई लाग्थ्यो, ‘सबैभन्दा महँगो ५ लाख रुपैयाँको रक्सी खाएपछि बोतल के गर्छन् भन्ने लाग्थ्यो ।’ उनले तीन महिना केमुमा काम गरेकै बेला रिसर्च गर्दै ज्याक डेनियल्सको बोतल प्रयोग गरी एउटा बत्ती बनाए । त्यो २० दिनभित्रै बिक्री भएपछि यस्ता सामग्रीको बजार छ भन्ने लाग्यो उनलाई । अनि छाडे जागिर र लागे कवाडी सामानको उपयोगतिर ।



सुरुमा उनीसँग टिम थिएन र त्यस कामप्रति उनलाई विश्वास नै गरेनन् । उनी कवाडी सामान जम्मा हुने ठाउँ र रेस्टुराँ धाउन थाले । रेस्टुराँ, घर, अस्पताल, होटललगायत धेरैमा प्रयोग गर्न मिल्ने सामान तयार गर्न थाले । हाल बखुन्डोलमा रहेको धासोको कार्यालयमा खोटाङकी २३ वर्षीया अलिशा राईले सोसल मिडिया र मार्केटिङको काम गर्छिन् ।



विराटनगरका ३३ वर्षीय प्रमोद खवासले कवाडी सामानलाई कलात्मक बनाउँछन् । ‘नाम कमाएको छु, दाम मलाई चल्न पुगेको छ,’ नितेशले भने ।


थोत्राको उपयोग

भरतपुर, चितवनका सौगात तिवारी सिभिल इन्जिनियरिङको तेस्रो वर्षमा अध्ययनरत छन् । उनी नै हुन्, ‘तिम्रो कवाडीवाला’ का सहसंस्थापक र सीईओ ।



‘कलेज जाँदा प्रायः सडक छेउमा टायर, पुराना साइकल फालिएको देख्थे, के गर्ने भन्ने दिमागमा क्लिक हुँदैनथ्यो,’ २१ वर्षीय सौगात भन्छन्, ‘पढ्दै जाँदा फाल्तु वस्तुलाई पुनः प्रयोग गर्न सकिने थाहा पाए । फालिएका सामानले ध्यान तान्न थाल्यो ।’ उनको रुचि सिर्जनशील काममै हो । अहिले उनी कवाडीबाट उठाएका थोत्रा साइकलको रिङ र टायरबाट कुर्सी–टेबल बनाउँछन् । उनको टिमले गुडाउन मिल्ने टेबल पनि बनाएको छ । तिम्रो कवाडीवालाले बनाएका सामग्री सप्तगण्डकी चोकस्थित ल्हायुल लाफिङ क्याफेमा देखिन्छ । कम्पनीको छुट्टै कार्यालय छैन । काम घरैबाट हुन्छ ।


‘पुरानो सामानलाई पुनर्जीवन दिने प्रयास हो,’ करिब डेढ वर्षअघि काम थालेका सौगात भन्छन्, ‘ठूला टायरलाई बस्ने ठाउँ बनाएका छौं । नाफा कमाउनेभन्दा पनि समाजका लागि केही गर्नुपर्छ भनेर फोहोर व्यवस्थापन थालेका हौं ।’ वाइनका बोतललाई बत्ती बाल्न प्रयोग गरिएको छ । सुरुमा उनलाई आशिकविक्रम खड्काले साथ दिए । उनी उच्च शिक्षाका लागि अस्ट्रेलिया गएपछि टिममा तीन जना छन् ।



भरतपुरकै श्वेता दुलाल र श्रेया पौडेलले साथ दिइरहेका छन् । यी दुवै बीबीए तेस्रो सेमेस्टरका विद्यार्थी हुन् । टिमका सदस्यहरूको भेट हरेक साता हुन्छ । के काम गर्ने भन्ने समूहमै कुरा हुन्छ । श्वेताले पुरानो जिन्सबाट ब्याग बनाउने आइडिया ल्याइन्, जसलाई धेरैले मन पराए । उनीहरूका उत्पादनलाई युवा व्यवसायीले रुचाएका छन् ।


हात्तीको डङबाट कागज

एमबीए अध्ययनरत सन्नी राजोपाध्याय र जोनेज शाक्यले ‘इकोअर्ब’ स्थापना गरी डेढ वर्षयता हात्तीको डङ (दिसा) बाट कागज बनाइरहेका छन् । त्यसबाट पुल्चोकमा कार्यालय रहेको इकोअर्बले प्याकेजिङ गर्ने बक्स, नोटबुक, बत्ती राख्ने सामग्री र झोला बनाइरहेका छन् । यी उत्पादनको माग बढिरहेको छ ।



मंगलबजार, पाटनका २८ वर्षीय सन्नीका अनुसार चितवनको सौराहाबाट लिडा संकलन गरिन्छ । त्यसमा ५ महिलाको टिम रहेको उल्लेख गर्दै सन्नीले भने, ‘लिडा ल्याएर पखालेपछि करिब ६० प्रतिशत घाँस राख्छौं । जसलाई उमालेर मेसिनमार्फत पल्प निकाल्छौं । त्यसलाई सुकाएर काठमाडौं ल्याएपछि कागज बनाउने गर्छौं ।’ उनका अनुसार कागज तयार पार्न ५ देखि ७ दिन लाग्छ ।



सन्नीले युट्युबमा श्रीलंकामा हात्तीको डङबाट कागज बनाएको देखेका थिए । ‘सौराहामा हात्तीको बच्चा हेर्न जाँदा डङ फालिरहेको देखेपछि यसबाट केही गर्नुपर्छ भनेर नै कागज बनाउन सुरु गरेका हौं,’ उनले भने, ‘कागज उत्पादन गर्न थालेपछि सबैले चासो दिइरहेका छन् । इकोअर्बको उत्पादन कोस्टारिकासम्म पुगेको पनि सन्नीले बताए ।



बा–आमासँग पैसा लिएर सुरु गरेको व्यवसाय राम्रो नभएको उल्लेख गर्दै उनले भने, ‘त्यसपछि उहाँहरूलाई विश्वास दिलाउन केही न केही गरौं भन्ने थियो र यो काममा हात हाले ।’ उनी इकोअर्बमा सीईओ हुन् । संस्थापक जानिज कार्यसञ्चालन हेर्छन् ।


प्रकाशित : माघ २४, २०७६ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?