२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

नयाँ प्रोजेक्टमा स्कोरपियन्स

हेभिमेटल संगीतको लागि चर्चित जर्मन ब्यान्ड स्कोरपियन्सले सन् २०२० मा नयाँ एल्बम ल्याउने अपेक्षा गरिएको छ ।
हिमेश

धेरैका लागि खुबै मन परेको गीत हुन सक्छ, ‘विन्ड अफ चेन्ज’ । भनिरहनु पर्दैन्, यो स्कोरपियन्सको सबैभन्दा लोकप्रिय गीतमध्ये एक हो । अझ पश्चिमेली संगीतकै सबैभन्दा बढी सुनिने गीतमा पर्छ, यो । त्यसैले त यो सबैभन्दा बढी बिक्री भएको सिंगल्समा फर्छ । सन् १९९० को एल्बम ‘क्रेजी वर्ल्ड’ को गीत हो, यो । यसमा सन् अस्सी र नब्बेको दशकमा पूर्वी युरोपमा आएको राजनीतिक परिवर्तनको बयान गरिएको छ । अहिले पनि यो गीत गुनगुनाउँदा उत्तिकै मिठास महसुस हुन्छ ।

नयाँ प्रोजेक्टमा स्कोरपियन्स

केही नयाँ र केही पुराना भन्न मिल्ने अधिकांश ब्यान्डका लागि पनि प्रिय ब्यान्ड हो, स्कोरपियन्स । यो ब्यान्डले वास्तवमै कति धेरै प्रभाव पारेको थियो भनेर सोधे हुन्छ, गन्स एन्ड रोजेजदेखि मेटालिका, मोट्ली क्रयुदेखि डेभ लेपार्डसम्मका ब्यान्डलाई । यी सबैका लागि प्रिय छ, स्कोरपियन्स । त्यसैले त पुस्तौ पुस्ताका ब्यान्ड, गायक र गीत लेखकहरू यो ब्यान्डबाट धेरै प्रभावित रहेका छन् । त्यसै पनि रोलिङ स्टोनले स्कोरपियन्सलाई हेभिमेटल संगीतको नायक भनेको होइन । न त एमटीझीले स्काारेपियन्साई विनाकारण रक संगीतको राजदूत नै भनेको हो ।


साँच्चै निकै प्रभावशाली ब्यान्ड रहँदै आएको छ, यो स्कोरपियन्स । सन् सत्तरी तिरका ब्यान्डको चर्चा गर्दा यिनीहरूमध्ये लगभग अधिकांस कि त अमेरिकाका हुन्छन्, होइन भने इंग्ल्यान्डतिरका । स्कोरपियन्स भने फरक छ, यो जर्मन ब्यान्ड हो, अझ ठ्याक्कै भन्दा हानओभरको । सन् १९६५ मा रुडोल्फ सेन्करमा यो ब्यान्डको स्थापना गरेका थिए र संयोगले उनी नै यो ब्यान्डको सुरुदेखि अहिलेसम्मका एक मात्र सदस्य हुन् ।

सेन्‍कर बाहेक अरू धेरै आए र गए पनि । त्यसमध्ये पनि उनीपछि यो ब्यान्डमा लामो समय टिकेका सदस्य हुन्, गायक ख्लस मेइन । स्थापनाको केही समयपछि उनी ब्यान्डमा आबद्ध भए । ब्यान्डका जति पनि स्टुडियो एल्बम छन्, ती सबैमा उनकै स्वर छ । त्यो अर्थमा ब्यान्डका जति पनि मौलिक गीत छन्, सबै उनकै स्वरले भरिएका छन् । उनीहरू दुई जना बाहेक ब्यान्डका अहिलेका सदस्य हुन्, म्याथिस ज्याब्स, पावेल मासिवडा, मिकी डे ।


ब्यान्डका सबैभन्दा लोकप्रिय लाइनअपमा सेन्‍कर, मेइन र ज्याब्स त परे नै । त्यस बाहेक यसमा फ्रान्सिस बुचोल्ज र हर्मन रारबेल पनि मानिन्छन् । सन् १९७८ देखि १९९२ सम्म यिनै पाँच जना ब्यान्डका लागि सक्रिय रहे । त्यो त भयो, उहिलेको कुरा । ब्यान्ड आफै धेरै परिवर्तनबाट गुज्रिसकेको छ । पूर्वी युरोपमा भएको राजनीतिक परिवर्तन पनि त अब कहाँ नयाँ रह्यो र ! यी सबैबीच यो ब्यान्ड आफै कहाँनिर के गरिरहेको छ त ? स्कोरपियन्स ब्यान्डका प्रशंसकका लागि यो स्वभाविक प्रश्न पनि हो ।


तस्बिर : एजेन्सी


स्कोरपियन्सले सन् २०१७ मा अन्तिम पटक एल्बम निकालेको थियो र यसमा नयाँ गीत पनि थिएन भन्दा हुन्छ । यसको नाम नै थियो, ‘बर्न टु टच इयर फिलिङ्स, बेस्ट अफ रक ब्यालेड्स’ । खासमा यो गीतको संगालो नै थियो । यस्तोमा सन् सत्तरीका अरू ब्यान्डलाई जस्तै स्कोरपियन्सलाई पनि आरोप लाग्ने गरेको छ, कतै यो पनि अरू धेरै जस्तै सुस्ताएको त छैन ? उत्तर हो, ब्यान्ड अझै सक्रिय छ र नयाँ एल्बमको तयारी गर्दैछ ।


केही समय अगाडि मात्र ब्यान्डका फ्रन्टम्यान सेन्‍करले एउटा अन्तर्वार्तामा भनेका थिए, ‘ब्यान्ड पक्कै पनि नयाँ एल्बमको तयारीमा छ । ब्यान्डले कुरिरहेको खालि उपयुक्त समय मात्र हो ।’ के यो उपयुक्त समय सन् २०२० नै हो त ? सायद हो । रोलिङ स्टोन म्यागजिनलाई नै आधार मान्न हो भने नयाँ एल्बमको तयारी सुरु भइसकेको छ र यो हुनेछ, सन् २०२० मा सबैभन्दा धेरै प्रतीक्षा गर्न मिल्ने एल्बम ।


गिटारिस्ट ज्याब्सले भर्खरै मात्र आउने एल्बमलाई लिएर एउटा अन्तर्वार्ता दिएका छन् । त्यसमा उनले भनेका छन्, ‘हो, हामी नयाँ प्रोजेक्टमा काम गरिरहेका छौं ।’ वर्षको सुरुमा ब्यान्डले केही समय टुरमा बिताउने छ र त्यसपछि लस एन्जलस जानेछ, एल्बमको तयारीमा । यो एल्बम चाहिँ कस्तो हुनेछ त ? स्कोरपियन्स सुरुमा रक ब्यान्ड थियो, पछि विस्तारै मेटल संगीततर्फ लाग्न थाल्यो । फेरि विस्तारै यो पुरानै स्वरूपमा फर्कन थालेको छ । खासमा प्रश्न यही हो, स्कोरपियन्सको नयाँ काम रंगीन संगीतमा आधारित हुनेछ कि उही हेभिमेटल हुनेछ ?

प्रकाशित : माघ २४, २०७६ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?