२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

अभिनयको भोक

गोकर्ण गौतम

अनेक हन्डर सहँदै अभिनयको मूलधारमा आइपुगेका एउटा प्रतिभाशाली कलाकार अंकित खड्काको संघर्षको कथा : 

अभिनयको भोक

कक्षा आठमा पढ्थे, उमेरचाहिं १८ पुगिसकेको थियो, स्कुल ड्रेसमै सिन्धुपाल्चोकको लप्सेबाट काठमाडौं आए, अंकित खड्का । हुटहुटी थियो– सिरियल खेल्ने ।

कसैले अंकितलाई सुनाइदिएको थियो, काठमाडौंमा नयाँ सिरियल ‘अब त अति भयो’ सुटिङ हुँदैछ, त्यसका लागि नयाँ कलाकार चाहिएको छ, एक महिना अभिनय सिकाउँछन्, अनि सिरियल खेलाउँछन्् । यत्ति सुनेको भरमा खल्तीमा २५० रुपैयाँ बोकेर राजधानी हान्निएका थिए । यहाँ आएपछि थाहा भयो, अभिनय सिक्न पैसा चाहिन्छ, त्यसपछि मात्र सिरियल खेल्न पाउँछ । तर, पैसा कहाँबाट ल्याउने ?

दिदी भक्तपुरमा बस्थिन्, उनले आफ्नो पीडा पोखे । दिदीले झुम्का बन्धकी राखेर ५ हजार दिइन् । त्यही पैसा लगेर बुझाए । कमलविनायकबाट हरेक बिहान हिडेरै कालिकास्थान आउँथे । समय कति जान्थ्यो, ज्यान कति दुख्यो, हिसाब हुन्नथ्यो, गाडी भाडा कति बच्यो, त्यसले अर्थ राख्थ्यो । फेरि उनलाई सिरियल खेल्न यति हतारो थियो कि जस्तै कष्ट सहन पनि तयार थिए । १५ दिनपछि सुचना आयो, बाँकी पैसा नतिर्ने हो भने भोलिदेखि सिक्न नआउनू । दिदीको झुम्का त गइसक्यो, अब कहाँबाट दाम ल्याउनु ! विकल्प एउटै थियो, भोलिबाट नआउने । अंकितले त्यही गरे ।

जति सिके, त्यहीबीच अंकितले आफूलाई अरुभन्दा अब्बल सावित गरेका थिए । त्यसैले आश थियो, सिरियल खेल्न पाउने । तर, कहाँ त्यस्तो हुनु ? सिरियल सुटिङ भयो, कसैले वास्ता गरेन । उनी सम्झन्छन्, ‘पहिलो पाइलामै ठेस लागेपछि अति गाह्रो हुनेरहेछ । त्यसपछि धेरै समय तनावमै बित्यो ।’ घर फर्कन मन लागेन, यता अरु काम थिएन । त्यहीं प्रशिक्षण लिने कतिपयले आफ्नो समूह बनाइसकेका थिए, एकअर्कालाई सहयोग–सिफारिस गर्थे तर उनी कुनै समूहमा थिएनन् । एक्लै–एक्लै । उनलाई पश्चताप हुनथाल्यो, फोकटमा काठमाडौं आइएछ ।

डेढ दशक बित्न लाग्यो । अहिले पनि त्यस्तै लाग्छ ? अंकित मुस्कुराउँदै भन्छन्, ‘लाग्दैन । केही गर्छु भन्ने उर्जा छ ।’ भलै यसबीच कति ठक्कर खाए, त्यसको लेखाजोखा छैन । तर, रंगमञ्च र सिनेमामा आफ्नो अभिनय कौशल पस्किएर धेरै प्रसंशक कमाइसकेका छन् । सहायक भूमिकाबाट आफ्नो पहिचान बनाउन सफल थोरै अभिनेतामा पर्छन् उनी । उनी जब पर्दामा देखिन्छन्, वा स्टेजमा चढ्छन्, केही न केही विशेष लागिहाल्छ । पात्रमा पुरापुर आफूलाई रुपान्तरित गर्नु उनको खुबी हो । संघर्ष अझ बाँकी छ, त्यसका लागि हरेक कोणबाट आफूलाई तम्तयार राखेका छन् । भन्छन्, ‘अहिलेसम्मको उपलब्धि यही हो ।’

अंकितका बुबा भारतमा नोकरी गर्थे । उनी उतै जन्मिए । तर, पढ्ने मेलोमेसो मिलेन । आठ वर्षको उमेरमा सिन्धुपाल्चोक घर फर्किएपछि नै हो, उनले कखरा सिकेको । कक्षामा सबैभन्दा ठूलो उनी नै । वार्षिकोत्सवदेखी वातावरण दिवस, बालदिवसम्म आयोजना हुने कार्यक्रमको उनलै नेतृत्व गर्नुपर्थ्यो । कक्षाको ‘मनिटर’ उनैलाई खटाइन्थ्यो । आफैंले कथा लेख्थे, आफू खेल्थे, साथीहरुलाई खेलाउँथे, केही न केही सन्देश हुन्थ्यो त्यसमा । अंकित हाँस्दै भन्छन्, ‘त्यसलाई नाटक भनिदोरहेछ, त्यतिबेला केही थाहा थिएन, पछि पो थाह भयो ।’

गायक बन्ने की आरजे ? तीनताका बडो दोधारमा थिए अंकित । तर, ‘अर्जुन’ फिल्म हेरेपछि उनी निश्चिन्त भए– अब हिरो बन्ने हो । गायक र आरजेको भूत त्यही उत्रियो । लेदरको ज्याकेट र बुट लगाएर जब राजेश हमाल भुइँमा खुट्टा बजार्थे, चारैतिर धुलो उठ्थ्यो । हो, अंकितलाई त्यस्तै स्टाइलिस हिरो बन्नुथियो ।

उनलाई थाहा थियो, गाउँमा बसेर यो सपना पुरा हुन्न । त्यसैले त स्कुल ड्रेसमै काठमाडौं हुइकिएका थिए । तर, उनलाई थाहा नभएको कुरा के थियो भने त्यहाँसम्म पुग्न यो विरानो सहरमा कति हन्डर खानुपर्छ भन्ने ।

मौका नपाएपछि त्यत्तिकै हल्लेर बसिरहेका थिए । एउटा जागिरको बन्दोबस्त मिल्यो– रातभर सुरक्षा गस्ती गर्नुपर्ने । पैसो थिएन, गर्नैपर्ने बाध्यता थियो । भक्तपुरको एउटा टोलको सुरक्षा गर्न खटिन थाले । काममा मन लगाउन खोज्थे तर हिरो हुने सपनाले चिमोट्थ्यो । यो पाराले हिरो भइन्न भन्ने निर्क्योल गर्दै जागिर छोडे । भक्तपुर छोडे, कालीमाटीमा बस्न थाले । केहि दिनपछि एउटा सुनौलो अवसर आयो– ‘पालेदाई’ फिल्मको कोरसमा नाच्ने । हिरो पनि अरु होइन, राजेश हमाल नै । अंकितलाई लागेछ, अबचाहिं मेरो दिन आयो ।

कोरसमा पछाडि राखिएको थियो उनलाई, तैपनि दंग थिए, तीन दिन मस्त नाचे । चाउचाउको झोल खुब खाए । तर, न पैसा पाए, न हमालसँग चिनजान भयो । हमालसँग दश हात पर बसेर खिचेको फोटोमै चित्त बुझाउनुपर्‍यो । उनी हाँस्दै भन्छन्, ‘२५ रुपियाँ तिरेर धुलाएको त्यो फोटो अझै मेरो पर्समा छ ।’ त्यसपछि डान्स सिक्न थाले, शंकर बिसीसँग । उनकाअनुसार त्यतिबेला सिताराम कट्टेल, कुञ्जना घिमिरे त्यहीं डान्स सिक्थे । डान्स सिकेर बचेको समय हार्डवेयरमा काम गर्थे । पैसा जोगाएर दिदीको बन्धकी राखेको झुम्का उकासे । तर, त्यसको बदलामा ‘फी’ बुझाउन नसक्दा डान्स कक्षाबाट निकालिए ।

डान्स सिकेकै दौरान अंकितले थाहा पाएका थिए, बागबजारमा बस्यो भने हिरो हुन पाइन्छ । जिम गरेको ज्यान, लामो कपाल, ‘हिरो’ झैं देखिने गरी श्रेष्ठ टेलरिङ अगाडि उभिन्थे । तीन–चार वर्ष यत्तिकै बित्यो । अहँ, उनलाई कसैले पत्याएन । जब पैसा नहाली हिरो बनाउँदैनन् भन्ने थाहा पाए, बागबजार धाउन छाडे । त्यतिबेला उनको सम्पर्क भयो– चौतारी भिजनसँग । यसले लोकगीत र म्युजिक भिडियो बनाउँथ्यो । मौका पाउने आशमा अफिस धाउन थाले । अफिस खोल्ने, झाडु लगाउनेदेखि साँझ बन्द गर्नेसम्म गर्थे तर सुटिङमा समेत जान पाएनन् । केही समयपछि लोकगीतको कोरसमा नाच्न पाए, एउटा विज्ञापनमा झुलुक्क देखिन पाए । पारिश्रमिक त के पाउनु !


बाहिरको सुताइ

त्यतिबेला काठमाडौं छोडेर भागुम–भागुम लाग्थ्यो तर कहाँ जाने ? अंकितसँग विकल्प थिएन । भोकै बस्नु सामान्य हुन्थ्यो । सुत्ने ठाँउ नभएर वीर अस्पताल बाहिरसमेत रात बिताए । कालिपाटीतिर चिनेको मान्छेको गाडीमा सुत्न पायो भने फुरुङ पर्थे । तर, हिरो बन्ने हुटहुटीले छोड्दै–छोडेन । अलिपछि लोकगीतमा नाचे, ‘धर्तीपुत्र’ र ‘इशारा’ फिल्म पनि खेले । फिल्म ‘पागल बस्ती’ बन्ने भयो । यसमा रोल ठूलै थियो, त्यसैले अंकित दंग थिए । दुर्भाग्य ! फिल्म बीचैमा रोकियो । तर, यसलाई सुखद घटना पनि मान्छन् उनी । कारण, यसपछि नै हो, उनी मन्डला थिएटरसँग जोडिएको । ‘पागल बस्ती’ खेल्नेक्रममै उनको आर्जेश रेग्मीसँग भेट भएको थियो ।

उनीजस्तै संघर्षरत कलाकार आर्जेश जहिल्यै ‘मन्डला थिएटर तिर आउन’ भन्थे । अंकित ढाँट्दैनन्, ‘गुरुकुलको नामचाहिं सुनेको थिएँ की जस्तो लाग्छ । बाँकी थिएटरबारे केही थाह थिएन ।’ स्ट्रेट कपाल, जिम गरेको गठिलो ज्यान, लोकगीत र फिल्म खेलेको, मन्डला जाने बेला अंकित आफूलाई खत्रै हिरो हुँ भन्ने थियो । ‘तर, दुईचार दिन सुनील पोखरेल सरको कक्षा लिएपछि मैले आफ्नो असली औकात थाहा पाएँ, घमण्ड सखाप भयो,’ उनले हाँस्दै भने । खासमा मन्डलाको सिकाईले उनको अभिनय होइन, जीवनप्रतिको दृष्टिकोण नै बदल्यो । सोच्ने प्रक्रिया र बानी व्यवहार अलग बनायो ।

अंकितले अभिनय गरेको पहिलो नाटक हो, ‘जार’ । त्यसमा उनले रुद्रमानको भूमिकाबाट तारिफ पाएका थिए । ‘जार’देखि हाल मञ्चन भइरहेको ‘झिम्केमामा’सम्म आइपुग्दा एक दर्जन नाटक खेले । ‘युमा’, ‘वैतरणी क्याफे’, ‘माथापञ्चर’, ‘छिद्र क्यानभासा’, ‘सलेदो’ आदि–आदि । तर, मन्डलाका हरेकजसो नाटकमा सेट डिजाइन, लाइटिङ, साउन्ड कतै न कतै जोडिएका हुन्छन् ।

‘घामपानी’, ‘चंगा’, ‘गोपी’, ‘डमरुको डन्डिबियो’, ‘हुर्रे’ जस्ता फिल्ममा उनलाई महत्वपूर्ण भूमिकामा देखिन्छ । यी फिल्मबाट उनको अभिनयको दायरालाई थप फराकिलो भयो । अहिले नयाँ फिल्मको तयारीमा जुटेका छन् । लाग्छ, बल्ल उनको जीवनले लय पकड्दैछ ।

अंकितको भोगाइले भन्छ, ‘आफ्नो काम इमानदारीतापूर्वक गर्ने हो, गल्तीबाट सिक्दै जाने हो । बाँकी त आफ्नो हातमा हुन्न रहेछ ।’

प्रकाशित : माघ २४, २०७६ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?