कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

द स्काई इज पिंक

हिँड्डुल गर्न पनि नसक्ने आयशा चौधरीको बायोपिक ‘द स्काई इज पिंक’ बक्सअफिसमा फ्लप भयो । तर, यो फिल्मले सन्तान प्रेम र दम्पतीको उतारचढावपूर्ण सम्बन्धलाई रोचक ढंगले प्रस्तुत गरेको छ ।

गर्भमै हुँदा थाहा हुन्छ, छोरी जन्मिएको केही महिना वा वर्षमा मृत्यु हुन्छ  । तर आमाबाबुको अथाह हेरचाह र उपचारले १८ वर्षसम्म बाँच्छिन्  ।

द स्काई इज पिंक

त्यसपछि चाहिँ कलेजो प्रत्यारोपण गर्नुपर्ने हुन्छ । त्यसो गर्दा छोरीको आयु १० वर्ष बढ्न सक्छ तर चुनौती धेरै हुन्छ । बाँचे पनि हिँडडुल गर्न सक्दिनन् तैपनि बाबुको मन त हो, छोरीलाई बचाउन चाहन्छन् । तर छोरीलाई जीवन पुगिसकेको हुन्छ । भन्छिन्, ‘१८ वर्षभन्दा २८ वर्षमा मर्न सजिलो हुन्छ र ? मलाई अब योभन्दा बढी पीडा नदिनुस् ।’


हिन्दी फिल्म द स्काई इज पिंकको दृश्य हो यो । बाबु बनेका छन्, फरहान अख्तर । छोरी जायरा वसिम अनि आमाचाहिँ प्रियंका चोपरा । यो फिल्म तीन महिना अगाडि रिलिज भएको थियो तर नेपालमा आएन । अहिले नेट्फ्लिक्समा उपलब्ध छ । बाबु–आमाको सन्तानप्रतिको माया र त्याग अनुभूत हुन्छ यसमा । सँगै जीवनलाई अनेक कोणबाट हेर्न पनि प्रेरित गर्छ । निर्देशक हुन्, सोनाली बोस । उनी संवेदनशील फिल्म बनाउन कहलिएकी छन्, यो फिल्म पनि त्यसकै निरन्तरता हो ।


तर फिल्ममा सन्तान प्रेममात्र छैन । विवाहित दम्पतीको आन्तरिक द्वन्द्व र उतारचढावलाई पनि उत्तिकै महत्त्व दिइएको छ । छोरी आशा (जायरा) को उपचारका लागि आमा अदिति (प्रियंका) लन्डनमा हुन्छिन्, बाबु निरेन (फरहान) चाहिँ भारतमै । यो ‘लङ डिस्ट्यान्स रिलेसन’ ले उनीहरूमा शंका पैदा गर्छ, रोजै मनमुटाव हुन्छ । तर छोरीको उपचारका लागि कुनै कसर बाँकी राख्दैनन् । निरेन जागिरमा व्यस्त, अदितिले जीवनको सुनौलो समय आयशालाई समर्पण गर्छिन् । आयशाको प्रतिरक्षा प्रणाली एकदम कमजोर हुन्छ, छिट्टै ‘एलर्जी’ हुन्छ, भीडमा जानै हुन्न, बरोबर अस्पताल धाउनुपर्छ । अदितिको दैनिकी यही चक्रमा घुम्छ । कतिसम्म भने, सन्तानलाई राम्रो हुन्छ भनेर उनी धर्मसमेत परिवर्तन गर्छिन् ।


प्रियंका यस फिल्मकी अभिनेत्रीमात्र होइन, निर्माता पनि हुन् । जय गंगाजल प्रदर्शन भएको तीन वर्षपछि उनी यही फिल्मबाट बलिउडमा देखा परिन् । नत्र उनको ध्यान उतै हलिउडमा छ । यसबीच बलिउडकी ‘ग्लोबल स्टार’ को छाप बनाइसकेकी छन् । यस फिल्ममा उनको उपस्थिति जीवन्त लाग्छ । ‘दंगल’ मा जायरा वसिम शारीरिक रूपमा बलिष्ठ थिइन्, यसपटक ठ्याक्कै उल्टो । तर फिल्ममा सबैभन्दा बढी कसैले मन जित्छ भने उनकै चरित्रले हो । कथा वाचक पनि उनी नै ।


फरहानले पति र पिताका रूपमा आफूलाई सन्तुलनमा राखेका छन् । सोनाली बोसको पछिल्लो फिल्म ‘मार्गरिटा विद अ स्ट्र’ मा पनि शारीरिक रूपमा अशक्त पात्र केन्द्रमा थियो । यसपटक उनले पात्रको आन्तरिक संघर्षसँगै उसका अभिभावकका उल्झनलाई मूल कथामा बुनेकी छन् । यही कारण हुनुपर्छ, फिल्म हेर्ने जोकोहीले यसमा कहीं न कहीं आफूलाई पाउँछ । बाबुआमाको त्याग त साँच्चै वर्णन नै गर्न सकिँदैनजस्तो लाग्छ ।


र, अन्त्यमा तीन वटा तथ्य ।
पहिलो : यस फिल्मका चरित्र र कथा काल्पनिक हैन, वास्तविक हो । असाध्यै दुर्लभ मानिने ‘सेभियर कम्बाइन्ड इम्युनोडिफिसिएन्सी’ रोगबाट ग्रसित आयशा चौधरीको बायोपिक हो यो । आयशा सुन्दर पेन्टिङ गर्थिन्, मृत्युको एक दिन अगाडि उनको पुस्तक ‘द लिटिल इपफिनिस’ प्रकाशित भएको थियो । उनका प्रेरणादायी भाषणले युट्युबमा लाखौं भ्युज पाएका छन् । सन् २०१५ मा उनले संसार छाडेकी थिइन् ।


दोस्रो : यो बक्सअफिसमा सुपरफ्लप भयो । यसको विश्वव्यापी व्यापार भारु ३४ करोडमा सीमित रह्यो ।


तेस्रो : जायरा वसिमले यसअघि दंगल र सेक्रेट सुपरस्टारमा अभिनय गरेकी थिइन् । नेसनल अवार्डसँगै अन्य प्रतिष्ठित अवार्डहरू जितिन् । तर, अब उनलाई सम्भवतः पर्दामा देख्न पाइने छैन । उनले फिल्म नखेल्ने घोषणा गरेकी छन् । यही फिल्मको प्रमोसनमा समेत हिँडिनन् ।

प्रकाशित : पुस २५, २०७६ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?