कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

एट द इन्ड अफ द डे

हेलो शुक्रबार

 
बीबीसी मिडिया एक्सनको जागिर छाडेर दीपिका श्रेष्ठ अमेरिका पुगेकी थिइन्  । उनका श्रीमान् अनुज थापा पनि सञ्चारकर्मीको काम छाडेरै अमेरिका पुगेका थिए  ।

एट द इन्ड अफ द डे

मिडियाको अनुभव चाखेका यो दम्पतीलाई अमेरिका पुगेपछिका दिनहरू आफैंमा नौलो मात्रै थिएन, के गरौं र कसो गरौंको हुटहुटी पनि थियो ।


सन् २०१४ मा अमेरिका पुगेपछि नै उनीहरूले थाहा पाए, नयाँ मानिसका निम्ति अवसर खोज्न, करिअर बनाउन र आत्मविश्वासी भएर अघि बढ्न कति गाह्रो छ । यही भोगाइपछि यो दम्पतीलाई लाग्यो, हामीले जस्तै समस्या अरूले नभोगुन् भनेर केही गर्ने । उनीहरूले आपसमा यही कुरा साटे ।


कुरैकुरामा कुरा मिल्यो । अनि सुरु भयो न्युयोर्क सहरबाट ‘एट दि एन्ड अफ द डे’ नाममा पोडकास्ट । अमेरिका छिरेका आप्रवासीहरूलाई सहयोग गर्ने उद्देश्यले उनीहरूले हरेक आइतबार १० देखि १५ मिनेट लामो पोडकास्ट बनाउँछन् । अंग्रेजी भाषा कसरी सुधार्ने, के पढ्ने ? अनि करिअर अगाडि बढाउन के गर्ने ? अवसरलाई कसरी पछ्याउने ? यस्तै प्रश्नको उत्तर उनीहरूले अमेरिका छिरेर स्थापित भएका वा हुने बाटोमा लागेकाहरूको अनुभवबाट बटुल्छन् ।


युट्युबमा हेर्न सकिने र आइट्युन्स, स्पोटिफाइलगायत १० भन्दा बढी पोडकास्ट प्लाटफर्ममा सुन्न सकिने कार्यक्रम बनाउनुको दुःख आफ्नै ठाउँमा छ । तर अनुज र दीपिका त्यतिबेला खुसी हुन्छन्, जतिबेला कार्यक्रम सुनेकाहरूले मीठो प्रतिक्रिया पठाउँछन् । साप्ताहिक कार्यक्रमको ८५ इपिसोड पूरा गरेका उनीहरूले हालसम्म रुस, बेलारुस, सुडान, फिलिपिन्स, पाकिस्तान, एल साल्भाडोर, बुर्किना फासो, ताइवान, इथियोपिया, भारतलगायत विभिन्न देशका आप्रवासीसँग अन्तर्वार्ता लिइसकेका छन् ।

अमेरिकामा जागिर खोज्न के गर्ने ? कसरी नेटवर्क बनाउने ? यी र यस्तै प्रश्नहरूको उत्तर उनीहरूले पोडकास्टमार्फत दिइरहेका छन् । गत कात्तिकमा अमेरिकामा बस्न पुगेका आप्रवासीलाई सहयोग हुने काम गरेको भन्दै दीपिकाले ‘एलसीयू फन्ड प्रसिडेन्ट्स अवार्ड फर एक्सिलेन्स इन लिडरसिप’ समेत प्राप्त गरिन् । एक सय ६० वर्षको इतिहास बोकेको एलसीयू फन्ड फर वुमन एजुकेसनले दीपिकालाई अवार्ड दिएको हो । नेपाल छँदा बीबीसी मिडिया एक्सनमा ५ वर्ष बढी सञ्चारकर्मीका रूपमा काम गरेकी दीपिका अमेरिकामा इन्टरनेसनल अफेयर्समा स्नातकोत्तर पढ्दै छिन् । सञ्चारकर्मीको विगत र पछिल्लो सफलताले पनि उनीहरूलाई सफलता पछ्याइरहेका विभिन्न आप्रवासी भेट्न, उनीहरूका सुख, दुःख र संघर्षका कथा सुन्न सजिलो बनाएको छ ।


क्रेगन्युमार्क ग्र्याजुएट स्कुल अफ जर्नलिजमबाट पत्रकारितामा स्नातकोत्तर गरेका अनुज दि स्ट्रिट नामक आर्थिक समाचारसम्बन्धी वेबसाइटमा भिडियो प्रोड्युसरका रूपमा काम गर्छन् । आफ्नो पेसागत सञ्चारकर्मको समय जोगाएर पोडकास्ट बनाउन खटिन्छन् । उनीहरू दुवैले सल्लाह गरी विषय छनोट गर्छन्, उक्त विषयसम्बद्ध मान्छे खोज्छन्, अन्तर्वार्ता लिने व्यक्तिको पृष्ठभूमि खोतल्छन् । साँच्चै उक्त मान्छेको कथा अरूका निम्ति काम लाग्नेछ भने अन्तर्वार्ताका निम्ति समय लिने पहल थाल्छन् ।


अनुजले सुनाए, ‘सफल मान्छेसँग समय मिलाउनु पनि ठूलो कुरा हुन्छ । कहिलेकाहीँ त महिनौंपछि अन्तर्वार्ताको समय मिल्छ ।’ उनका अनुसार अनेकन भाषा, संस्कृति र परम्पराबाट आएर पनि अमेरिकाको मूलधारमा मिसिएर सफलता पछ्याएकाहरूको कथा आफैंमा प्रेरणादायी हुन्छ । त्यस्तो कथाले अरूका निम्ति पनि उपयोगी हुने थाहा पाएर उनीहरूले पोडकास्टको यात्रा जारी राखेका छन् ।


बसाइँ सरेर अमेरिका आएकाहरूलाई धेरै कुरा नौलो लाग्छ । सानो देशबाट आएकाहरूलाई ठूलो देशको परम्परा, पद्धति र आफू हिँड्ने बाटो पहिल्याउनै चुनौतीपूर्ण हुन्छ । अनुजले भने, ‘अलमलिएकाहरूले बाटो देखे भने वा प्रेरणा पाए भने त्यही सफलताको कुरा हो ।’

प्रकाशित : पुस २५, २०७६ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?